नेपाली कांग्रेसको १३औँ महाधिवेशन सुरु

नेपाली कांग्रेसको १३औँ महाधिवेशन सुरु


Congress 1
नेपाली कांग्रेसको १३ औँ महाधिवेशन एक भव्य समारोहबीच सुरु भएको छ । ‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बिहिबार राजधानीको खुलामञ्चमा आयोजित समारोहमा नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुद्घाटन गर्नुभयो । पार्टीकै सभापतिले महाधिवेशन उद्घाटन गर्ने परम्परा निर्वाह गर्दै कार्यवाहक सभापति पौडेलले ऐतिहासिक महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटनअघि नेपाल सांस्कृतिक सङ्घका कलाकारले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

महाधिवेशनका लागि खुल्लामञ्चलाई विशेष रुपमा सिङ्गारिएको छ भने राजधानीका प्रमुख सडक, गल्ली र चोकमा कांग्रेसको चारतारे झन्डाले राजधानी रङ्गिएको छ । चार दिनसम्म चल्ने महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । नयाँ नेतृत्वका लागि उद्घाटनकै दिनदेखि मनोनयन सुरु भएको छ । कांग्रेसको विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

महाधिवेशनका लागि देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ सदस्य गरी जम्मा तीन हजार १८८ महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।

महाधिवेशनमा शुभकामना मन्तव्य दिन प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता राजीव पराजुली, उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपप्रधानमन्त्री एवम् नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनाली सहभागी हुनुभएको थियो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलगायत राजनीति दलका नेताहरुले महाधिवेशनको उद्घाटन सत्रमा भाग लिनुभयो ।
Congress 2
महाधिवेशन सुरु हुनुअघि कांग्रेसले राजधानीका विभिन्न स्थानबाट आयोजना गरेको सांस्कृतिक, झाँकीसहितको ¥याली खुल्लामञ्च प्रवेश गरेको थियो ।
समारोहमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुक हजारौँको सङ्ख्यामा सहभागिता रह्यो ।
उद्घाटन समारोहमा भारतको विहारका मुख्यमन्त्री नीतिश कुमार, बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलालगायतका विशिष्ट पाहुनाले भाग लिनुभएको थियो ।

महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमा प्रवेश गर्ने दुबैतर्फबाट विशेष स्वागतद्वार निर्माण गरिएको छ । खुल्लामञ्च परिसर र आसपासका सडकमा संस्थापक नेताहरु बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला एवम् सुशील कोइरालाको चित्र अङ्कित फ्लेक्स ब्यानरले झकिझकाउ पारिएको छ ।
Congress 3
उद्घाटन समारोहमा मन्तव्य दिँदै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली कांग्रेसको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई सुरक्षित, सुदृढ तथा संस्थागत विकास गर्न राजनीतिक दलबीच थप सहकार्य, सहमति आवश्यक भएकामा पनि जोड दिनुभयो । विकास निर्माण र राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी सबै शक्तिसँग मिलेर अगाडि बढ्न चहने उल्लेख गर्दै प्रम ओलीले लोकतान्त्रिक संविधानमार्फत जनताका हकअधिकार संस्थागत र सुदृढ गरिएका छन्, जनता आर्थिक उन्नतिको नयाँ चरणमा प्रवेश गरेका छन्, अब विगतका तरिका र शैली परिवर्तन गर्नुपर्छ भन्नुभयो ।

अध्यक्ष ओलीले नेपाल हिमाल, पहाड, तराई, १२५ जनजाति, १२३ भन्दा बढी भाषाभाषी भएको देश, पूर्वदेखि पश्चिमसम्म विभिन्न व्यापार, व्यवसाय र संस्कृति अपनाएको देश भएको चर्चा गर्दै सबै भाषा, जाति र पेसालाई सम्मान गर्न जरुरी छ भन्नुभयो । उहाँले लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको इतिहासमा कांग्रेसले असाधारण योगदान दिएको चर्चा गर्दै नेपाली समाजलाई राणा शासनको अन्धकार युगबाट आधुनिक युगसम्म ल्याउन काँग्रेसले धेरै मिहिनेत, पसिना बगाएको, धेरै जुक्ति खियाएको र बलिदान गरेको छ भन्नुभयो । “काँग्रेसको यो महाधिवेशन कर्मकाण्डी र नियमित संवैधानिक प्रक्रिया मात्र हुनु हुँदैन, नीतिगत, व्यावहारिक र नेतृत्वगत रुपमा आफूलाई तयार राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

देउवाद्वारा उम्मेदवारी घोषणा

महाधिवेशन उद्घाटन हुनु केहीबेर अघि मात्र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो । पार्टी कार्यालय सानेपामा आयोजित उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री पदमा नेता अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवार घोषणा गर्नुभएको छ । उहाँहरुको प्रस्तावकमा पूर्वमहामन्त्री केवी गुरुङ र पूर्वकेन्द्रीय सदस्य खुमबहादुर खड्काले समर्थन गर्नुभएको थियो । यसअघि महामन्त्रीका उम्मेदवार केसी केन्द्रीय सदस्य र कोषाध्यक्षका उम्मेदवार यादव पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो ।

वरिष्ठ नेता देउवाले सभापति पदका लागि सहमति हुन्छ कि भनेर हिजोसम्म मैले पर्खेर बसेँ तर सहमति नभएपछि अन्तिम समयमा आफूले सभापति पदमा उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफू पार्टी सभापतिमा विजय भएमा एकजना कार्यकर्ताले पनि पार्टी छाड्न नपर्ने चर्चा गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजाने जानकारी दिनुभयो ।

वरिष्ठ नेता देउवाले पार्टीभित्र एकता नभई भर्खर प्रजातान्त्रिक र बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा प्रवेश गरेका वामपन्थी पार्टीहरुलाई रुपान्तरण गर्न सकिँदैन भन्नुभयो । तीनपटक प्रधानमन्त्री पद सम्हालेका वरिष्ठ नेता देउवाले आफू प्रधानमन्त्री भएका समयमा महिला, बालबालिका, दलित तथा युवा वर्गका क्षेत्रमा धैरै काम गरेको बताउनुभयो ।

यसैगरी महामन्त्री पदका प्रत्याशी केसीले अब देश राजनीतिक ‘सिन्डिकेट’ र विरासतका आधारमा नचल्ने धारणा राख्नुभयो भने कोषाध्यक्षका प्रत्याशी यादवले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गुट–उपगुटलाई अन्त्य गरिनुपर्ने धारणा अघिसार्नुभयो ।

कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पनि बुधबार नै आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । उहाँको समूहमा महामन्त्रीमा डा. सशांक कोइराला रहनुभएको छ । यसैगरी वर्तमान महामन्त्री कृष्ण सिटौलाले पनि गगन थापालाई महामन्त्री र उमाकान्त चौधरीलाई कोषाध्यक्षमा खडा गर्दै सभापतिमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्नुभएको छ । सभापतिमै दाबी गर्दै आएनुभएकी सुजाता कोइरालाले भने पौडेललाई समर्थन गर्दै आफ्नो दाबी फिर्ता लिनुभएको छ ।

यसैक्रममा नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उम्मेदवार मनोनयन दर्ता बिहिबारबाटै सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा आज बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता दिँउसो १ बजेसम्म विभिन्न पदमा ६२ उम्मेदवारको उम्मेदवारी परेको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

दर्ता भएकामध्ये खुल्ला केन्द्रीय सदस्यमा २२, केन्द्रीय सदस्य महिला आरक्षण नौ, प्रदेश सदस्य १४, दलित एक, दलित आरक्षण एक, मुस्लिम एक, आदिवासी-जनजाति नौ, मधेसी आरक्षण पाँचजनाको उम्मेदवारी परेको छ । अहिलेसम्म पदाधिकारीमा भने कुनै उम्मेदवारी परेको छैन । मनोनयन दर्ता फागुन २१ गते बिहान १२ बजेसम्म रहेकाले मनोनयन जारी रहेको घिमिरेले बताउनुभयो ।

मनोनयन दर्ताका लागि सभापति पदका लागि रु २० हजार, महामन्त्रीका लागि रु १५ हजार, कोषाध्यक्षका लागि रु १५ हजार र सदस्यका लागि रु पाँच हजार ५०० शुल्क तोकिएको छ ।