पुस्तकमा ‘डिभोर्स प्रचण्ड–बाबुराम’

पुस्तकमा ‘डिभोर्स प्रचण्ड–बाबुराम’


डिभोर्स प्रचण्ड–बाबुराम
मुसलमान समुदायको सरिया कानुनअनुसार तीन पटकसम्म ‘तलाक’ भनेपछि पति पत्नीबीचको सम्बन्ध विच्छेद हुन्छ । अन्य धार्मिक समुदायमा भने सम्बन्ध विच्छेद गर्न सहज छैन । नेपालको संविधानले पनि सम्बन्ध विच्छेदका सम्बन्धमा विभिन्न व्यवस्था गरेको छ ।

श्रीमान्–श्रीमतीबीचको सम्बन्ध विच्छेदले घर र परिवारलाई प्रभाव पार्छ । तर राजनीतिमा हुने गरेको सम्बन्ध विच्छेदले भने मुलुक, राजनीति र जनतालाई प्रभाव पार्छ कि पार्दैन त्यो इतिहासले मूल्याङ्कन गर्ने नै छ । एकीकृत नेकपा(माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले मातृ पार्टी परित्याग गरेर अहिले ‘नयाँ शक्ति’ अभियान सञ्चालन गरिरहनु भएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र डा भट्टराईबीचको सम्बन्ध माओवादी आन्दोलनको सबैभन्दा परिचित र विवादास्पद विषय हो । दुई एमाओवादी नेताको सम्बन्ध उतारचढावपूर्ण रहेको तथ्य छिपेको विषय होइन । यही विषयलाई समेटेर पत्रकार नेत्र पन्थीले लेख्नुभएको ‘डिभोर्स प्रचण्ड–बाबुराम’ नामक पुस्तकको मंगलबार राजधानीमा सार्वजनिक गरियो ।

तीस वर्षभन्दा बढी समय एउटै पार्टीमा रहेर सशस्त्र सङ्घर्षको नेतृत्वसमेत गर्नुभएका दुई नेताको सम्बन्ध र माओवादी आन्दोलनबारे पुस्तकमा चर्चा गरिएको छ । पुस्तकको सार्वजनिकीकरण गर्दै उपप्रधान एवम् ऊर्जा मन्त्री तथा एमाओवादीका सचिव टोपबहादुर रायमाझीले विचार, नीति र सिद्धान्त त्यागेर डा भट्टराईले नेपाली जनताप्रति धोका दिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – “पार्टी बनाउन विचार, सिद्धान्त, धरातल चाहिन्छ । उहाँसँग कुनै त्यस्तो आधार छैन । माक्र्सवादी पार्टी बनाउन खोज्दा गैरमाक्र्सवादी भड्केलान् भन्ने डर । गैरमाक्र्सवादी बनाउन खोज्यो, माओवादी सहभागी नहुने डर छ । त्यसकारण डा भट्टराई कहीँ जान सक्दैनन् ।” उहाँले विभिन्न समूहमा रहेका माओवादी शक्तिलाई एकजुट बनाएर मुलुक र जनताको समस्या समाधान गर्ने दिशामा आफूहरु लागेको उल्लेख गर्नुभयो ।

नेकपा(क्रान्तिकारी माओवादी)का प्रवक्ता पम्फा भुसालले माक्र्सवादभन्दा नयाँ र सर्वश्रेष्ठ विचार कुनै पनि नभएकाले त्यसैलाई परित्याग गरेर हिँड्नु डा. भट्टराईकै लागि गलत भएको बताउनुभयो । माओवादी आन्दोलनले उठाएका माग र कार्यसूची पूरा नगरेर अर्कै बाटो जाने प्रवृत्ति पूर्णतः गलत रहेको उहाँको भनाइ थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले डा. भट्टराईको माओवादी आन्दोलन परित्याग प्राकृतिक नभएकाले परिणाम पनि गलत नै आउने धारणा राख्नुभयो । नयाँ शक्ति अभियानका सङ्गठन विभाग प्रमुख देवेन्द्र पौडेलले आफूहरुले माक्र्सवाद नछाडेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले विगतका आन्दोलनले उठाएको माग र भावनालाई छाडेका छैनौँ । नयाँ ढङ्गले अगाडि बढ्न खोजेका हौँ । हामी टाढा पुगेका छैनौँ ।”

खोजी प्रकाशन गृहले प्रकाशन गरेको उक्त पुस्तकमा माओवादी आन्दोलनका विभिन्न पक्ष केलाउने प्रयास गरिएको लेखक पन्थीले जानकारी दिनुभयो ।

– रमेश लम्साल