देउवाको ऐतिहासिक विजयसँगै कांग्रेसले रच्यो नयाँ इतिहास

देउवाको ऐतिहासिक विजयसँगै कांग्रेसले रच्यो नयाँ इतिहास


देउवाको ऐतिहासिक विजय

नेपाली कांग्रेसको १३औँ महाधिवेशनले नयाँ इतिहास रचेको छ । दुई दशकदेखि कांग्रेसको एकछत्र नेतृत्व गर्दै आएको कोइराला परिवार अब रक्षात्मक अवस्थामा पुगेको छ । यस घटनालाई कतिपयले ‘गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको विजय’को रूपमा पनि लिएका छन् । पार्टीका संस्थापक नेता बीपी कोइरालाले अर्का संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई सभापतिको कार्यभार सुम्पनुभएपछि सम्पन्न पहिलो (आठौँ, झापा) महाधिवेशनले भट्टराईलाई सर्वसम्मत सभापति चयन गरेको थियो । भट्टराई सभापति हुनुहुँदा गिरिजाप्रसाद कोइराला पार्टीका महामन्त्री र सरकारमा प्रधानमन्त्रीको हैसियतमा हुनुहुन्थ्यो । त्यसैबेलादेखि कांग्रेसभित्रको विवाद चरमोत्कर्षमा पुगेको थियो र, विवाद बढ्दै जाँदा तात्कालिक सर्वोच्च नेता गणेशमान सिंहले कांग्रेस परित्याग गरेको घोषणा गर्नुपरेको थियो । गिरिजाप्रसादसँगको ‘शीतयुद्ध’मा पराजित महसुस भएपछि सर्वोच्च नेता सिंहले अन्तत: कांग्रेसमा आफू नरहेको सार्वजनिक घोषणा गर्नुपरेको थियो । ०६३ को राजनीतिक परिवर्तनसँगै कांग्रेस आफ्नो मौलिक, वैचारिक एवम् सैद्धान्तिक अडानबाट विचलित भएको ठहर गर्नुभएका सन्तनेता कृष्णप्रसाद भट्टराईले पनि आफ्नो मृत्युपूर्व कांग्रेस परित्याग गरेको सार्वजनिक घोषणा गर्नुभएको थियो । त्यसरी दुवै नेताहरू गिरिजाप्रसाद कोइरालासँगको लडाइँमा पराजित भएको महसुस गरी पार्टीबाट अलग्गिनुभएपछि कांग्रेसमा कोइरालाहरूको एकछत्र पकड कायम भएको थियो । यसपश्चात् गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईलाई बीपीपछिका आदर्श नेता मान्ने कार्यकर्ता र नेताहरू रक्षात्मक अवस्थामा पुगेका थिए ।

वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेस पराजित भएपछि ‘सक्ड’ हुनुभएका गिरिजाप्रसाद कोइराला संयुक्त सरकारको नेतृत्व गर्ने गरी कांग्रेस संसदीय दलको नेता बन्न तयार हुनुभएन र दलको नेता बनेर प्रतिपक्षी भूमिकाको नेतृत्व लिन पनि उहाँले सम्भवत: ‘लज्जाबोध’ गर्नुभयो । त्यसरी गिरिजाप्रसाद कोइराला भावावेशमा आएर पछि हट्नुभएपछि शैलजा आचार्य, शेरबहादुर देउवा र खुमबहादुर खड्का संसदीय दलको नेता बन्न इच्छुक हुनुभएको थियो । तर, दूरदर्शी नेता कृष्णप्रसाद भट्टराईले देउवालाई उम्मेदवारी फिर्ता लिन दिनुभएन । उता छोरी सुजाताको राजनीतिक भविष्यप्रति चिन्तित गिरिजाप्रसाद कोइराला शैलजा आचार्य दलको नेता बन्नुभन्दा आफ्नै पक्षका सोझा शेरबहादुर देउवा बन्दा आफ्नी पुत्रीको भविष्य सुरक्षित हुने ठान्दै हुनुहुन्थ्यो । कोइरालाले उम्मेदवारी फिर्ता लिन शैलजा आचार्यमाथि अलिक कडा दबाब दिनुभएपछि शैलजाले रुँदै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो । यसरी शैलजा र खुमबहादुर खड्का मैदानबाट पछि हट्नुभएपछि शेरबहादुर देउवा संसदीय दलको सर्वसम्मत नेता बन्नुभएको थियो । तर, २०५२ सालको भदौ १२ गते सर्वोच्च अदालतद्वारा विघटित संसद् पुनस्र्थापनाको निर्णय गरिएपछि गिरिजाप्रसाद कोइरालाले विपिन कोइराला र अर्जुननरसिंह केसीलगायतका नेताहरूलाई पठाएर संसदीय दलको नेता पद आफूलाई हस्तान्तरण गर्न प्रस्ताव गर्नुभएको थियो । तर, प्रधानमन्त्री बन्न आएको अवसर छोड्न देउवा तयार हुनुभएन र त्यो अस्वाभाविक पनि थिएन । आफ्नो प्रस्तावलाई देउवाले अस्वीकार गर्नुभएपछि त्यस कुराले कोइरालालाई निकै ठूलो चोट पुर्‍याएको थियो ।

देउवा त्यसबेला कोइरालासमर्थक नेताको रूपमा चिनिनुहुन्थ्यो, तर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग पनि उहाँको सौहार्दपूर्ण सम्बन्ध थियो । २०५३ को पुस महिनामा विश्वासको मत लिने क्रममा आफ्नै पार्टीका दुई सांसद (दीपकजंग शाह र चक्रबहादुर शाही) अनुपस्थित भएका कारण देउवा नेतृत्वको सरकार विस्थापित भई लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले गठबन्धनको सरकार बन्यो । दुई सांसद अनुपस्थित गराउने मुख्य योजनाकार स्वयम् गिरिजाप्रसाद कोइराला भएको स्पष्ट भएपछि कोइरालासँग देउवाको दूरी बढ्यो । पार्टीमा सबैसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्न चाहने देउवालाई ‘दरकिनार’ गर्न कोइरालाले निरन्तर प्रयास गरिरहनुभयो, कांग्रेसकै अर्को पक्षले भने उहाँलाई साथ दिँदै गयो । यसरी थाहै नपाई देउवा कोइरालाविपरीत धु्रवको नेता बन्नुभयो र अहिले सभापतिमा विजयी हुनुभएको छ । उहाँको विजयले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका हिमायतीहरूलाई त खुसी तुल्याएकै छ, पार्टीभित्रको ‘राजतन्त्र’ अन्त्य हुनुपर्छ भन्ने धारणा राख्नेहरू र एकताबद्ध कांग्रेसको पक्षधरहरूलाई पनि देउवाको विजयले उत्साहित बनाएको छ । देउवाको नेतृत्वमा कांग्रेसले अब नयाँ गति लिने विश्वास गरिएको छ ।

वामपन्थी कम्युनिस्टहरूसँग आवश्यकताअनुसार ‘मिल्न र भिड्न’ सक्ने क्षमता भएका देउवाको नेतृत्वमा कांग्रेस पार्टी सुदृढ हुने र उहाँको नेतृत्वको कांग्रेस बीपी कोइरालाको मार्गदर्शनप्रति विशेष संवेदनशील बन्ने पनि ठानिएको छ । ज्ञातव्य छ, बीपी कोइराला नेपालका कम्युनिस्टहरूलाई शङ्काको दृष्टिले हेर्नुहुन्थ्यो र कम्युनिस्टहरूसँगको सहकार्य राष्ट्र, प्रजातन्त्र र कांग्रेस स्वयम्का निम्ति घातक हुनसक्छ भन्नेबारे उहाँ स्पष्ट हुनुहुन्थ्यो । यस मामिलामा शेरबहादुर देउवा पनि बीपी कोइरालाजत्तिकै स्पष्ट मानिनुहुन्छ । तर, देउवा व्यवहारमा सरल र आफ्नोतर्फबाट सकेसम्म कसैसँग तनाव उत्पन्न हुने काम नहोस् भन्नेतर्फ सचेत हुनुहुन्छ । व्यवहारमा सरलता भए पनि विचारमा दृढता र स्पष्टता भएकोले उहाँबाट आवश्यकता र समय–परिस्थितिअनुरूप निर्णय लिइन सम्भव छ । आमकांग्रेसजनले देउवाबाट देशमा बढेको कम्युनिस्ट दबदबालाई कम गर्न–गराउन महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह हुने अपेक्षा राखेका छन् । त्यसैले कांग्रेस सभापतिका रूपमा देउवाको चारवर्षे कार्यकालभित्रै उहाँले राष्ट्रिय राजनीतिलाई नयाँ दिशा र गति दिनुहुने अपेक्षा गरिएको छ ।

यसरी आयो शीर्ष जिम्मेवारी देउवाको काँधमा
poudel and deuwa
नेपाली कांग्रेसको १३औँ अधिवेशन पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवालाई सभापति चयन गर्दै सम्पन्न भएको छ । सभापति पदका लागि गत आइतबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले पार्टीको विधानत: बहुमत पुर्‍याउन नसक्दा नयाँ नेतृत्वका लागि पुन: सोमबार निर्वाचन भएको थियो । दोहोर्‍याएर गरिएको निर्वाचनमा नेता देउवालाई १८२२ मत हासिल भयो भने देउवाका प्रतिद्वन्द्वी उम्मेदवार पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलले १२९६ मतमा चित्त बुझाउनुपर्‍यो । सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानत: बहुमत पुर्‍याउन नसक्दा कांग्रेस इतिहासमै पहिलोपटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो ।

नयाँ नेतृत्वका लागि आइतबार राजधानीको राष्ट्रिय सभागृहमा भएको मतदानमा सभापति पदमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त सकेका थिएनन् । पहिलो दिनको निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार पाँच सय ६४ र कावा सभापति रामचन्द्र पौडेलले एक हजार एक सय ५२ मत प्राप्त गरेका थिए । उक्त मत परिणामअनुसार वरिष्ठ नेता देउवाको अग्रता रहे पनि ११ मत नपुगेकाले विधानत: उनी पार्टी सभापति बन्न सकेका थिएनन् । नेका सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत अनिवार्य ल्याउनुपर्ने व्यवस्था कायम गरिएको छ । सभापतिका अर्का प्रत्याशी महामन्त्री कृष्णप्रसाद सिटौलाले तीन सय २४ मत ल्याएका थिए । दोस्रो दिनको निर्वाचनमा विधानले गरेको व्यवस्थाअनुसार सिटौला स्वत: बाहिरिएका थिए ।

कांग्रेसका यसअघिका महाधिवेशनमा सभापति पदमा दुईभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरे पनि यस्तो अवस्था भने कहिल्यै नआएको बताइन्छ । ०५७ मा पोखरामा सम्पन्न कांग्रेसको १०औँ महाधिवेशनमा नेताहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी सभापतिका उम्मेदवार थिए, जसमध्ये कोइराला सभापतिमा ठूलै मतान्तरले विजयी बनेका थिए । त्यस्तै, ०६१ मा काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र नरहरि आचार्य उम्मेदवार रहेका थिए भने यसमा पनि कोइराला ठूलो मतान्तरले विजयी बनेका थिए । काठमाडौंमै ०६७ मा सम्पन्न पार्टीको १२औँ महाधिवेशनमा सभापति पदमा नेताहरू सुशील कोइराला, देउवा र भीमबहादुर तामाङले प्रतिस्पर्धा गरेका भए पनि कोइराला पहिलो चरणमा नै विजयी बनेका थिए ।

सभापतिको दोस्रो चरणको निर्वाचनमा पहिलो दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने विधानको व्यवस्थाबमोजिम कावा सभापति पौडेल र वरिष्ठ नेता देउवाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा कम मत प्राप्त गरेकाले उनी दोस्रो चरणको निर्वाचन प्रक्रियाबाटै बाहिरिन पुगेका थिए ।