किन सम्भव छैन गाँउको विकास ?

किन सम्भव छैन गाँउको विकास ?


विश्वमान चित्रमा २८° ११’३७” उत्तरी अक्षांस र ८३° ३३” पुर्बी देशान्तरमा अवस्थित दमेकु बाग्लुङ जिल्लाको दक्षिणी भेगमा पर्दछ । लगभग ६ हजार ९०० बासिन्दा रहेको दमेकमा लगभग ११३७ घरधुरि रहेका छन् । काठमान्डाैंबाट करीब २७५ किमी र पोखराबाट ८३ किमी पश्चिममा अवस्थित दमेकमा करीब ९०% जनसंख्या कृषिमा आश्रित छन् भने अन्य बैदेशिक रोजगारी, ब्यापार र सेवामा रहेको देखिन्छ । करीव ६१% आवादी गरीबीको रेखामुनि रहेको दमेकमा ५७% मानिसहरु साक्षर रहेको अनुमान गरिएको छ ।

मुख्य भाषा नेपाली बोलिने यो क्षेत्रमा ब्राम्हण, क्षेत्री, छन्त्याल, मगर, दलित लगायतका जातिहरु बसोबास गर्दछन् । लिच्छबी कालको चौथो शताब्दिदेखि छन्त्याल र मगरहरु खानी मजदुरको रुपमा पश्चिम नेपालबाट आर्इ बसोबास गरिएको मानिए पनि यकीन तथ्य आहिलेसम्म फेला परेको छैन । राणा कालसम्म खानी मजदुर र ब्रिटिश इन्डिया कम्पनिको लाहुरेहरुको सेवा आंशिक रुपमा रहे पनि अहिले प्रायको मुख्य पेशा खेती किसान नै रहेको देखिन्छ ।

दमेकको एतिहासिक पृष्ठभूमि :

परापूर्व कालमा घना जङ्गलले भरिएको हुनाले त्यो भेगलाई दमाहार भनिएको कुरामा धेरै दमेकबासीको एक मत देखिन्छ। त्यही दमाहारको अपभ्रंस भएर कालान्तरमा दमेक भएको हुन सक्ने तर्कमा दमेकबासीको एकमत नै देखिन्छ । ऐतिहासिक पृष्ठभूमिबाट हेर्दा परापूर्वकालको ॠषि महर्शीहरुको तपस्यास्थलमध्य दमेकको गाजा लेक पनि एक थियो भन्ने पुराना लेखाेटहरुमा पाइन्छ । चार हजार अग्ला पहाडहरुको जिल्ला भनेर चिनिने बाग्लुङको सबैभन्दा सुन्दर दुश्यावलाेकन गर्न सकिने २७०० मीटर अग्लो त्यो धुरिवरपर घना जङ्गल छ । त्यहा सयौं प्रजातिका चराचुरुंगी, बन्यजन्तु, अत्यन्तै दुर्लभ उड्ने बिरालो र चरी बाघ तथा जडिबुटिहरु पाईन्छ ।

कथन छ कि ‘रुकुमेली राजा बाल्बमले तात्कालीक ब्रम्हचारी गुरु महाराज प्रजा पतन्जलीबाट त्यही गाजा कुटिमा पिताम्बर धारण गरेका थिए रे । त्यसपछि उनका छोरा जितु बमले बसन्त ॠतुमा २१ दिन त्यही पर्बतको शिखरमा रहेको दिगम्बर कुटीमा बसी गुरु प्रवचन श्रवण गर्दथे रे ।’

उनीहरु जुम्ली राजाका बंशजहरु थिए । पछि रुकुमेली राजा बाल बमले उनको कान्छो छोरा आनन्द बमलाई बाग्लुङको राजा घाेषित गरे । उनका भारदारको रुपमा पुरोहित पौडेल र भारदार मुडुला कार्कीहरु पनि उतैबाट ल्याइएको इतिहासमा उल्लेख छ । आनन्द बमले बिसं १५१० मा आफ्ना भाइ-भारदारहरुसहित सोलापार पहाडबाट शासन चलाउँथे भने भ्युरे राजा चन्द्र बमले गल्कोट, चन्द्रकोट, दमेक, थन्थाप र बलेवामा शासन गरे ।

आनन्द बम र चन्द्र बमपछि राजा दिलिप बमले ४००० पहाडहरुको राज्यलाई बिस्तार गरी १४००० पहाडको ठूलो राज्य बनाए । दिलिप बमले आफ्ना माहिला भाइलाई डाँडाकोट, साहिंलोलाई बिहुँकोट र कान्छो भाइलाई गल्कोटको प्रमुख बनाएर राज्य संचालन गरेको इतिहासमा उल्लेख छ ।

भनिन्छ, दिलिप बमले बर्षायाममा भ्युर र हिउँदमा ताकमबाट आफ्नो राज्य संचालन गर्दथे रे । त्यतिबेला दमेकमा जम्मा ६० कुरिया मात्र थिए । दमेकमा धेरै तामाखानीहरु संचालनमा थिए । तामाखानीमा काम गर्ने धेरैजसो मगरहरु थिए । उनीहरु लेकमा बसोबास गर्दथे । दमेकको दक्षिणी भेगमा कही घर सापकोटाहरु बसोबास गर्दथे । उनीहरु पर्वते राजाबाट बिर्ता प्राप्त गरी बिसं १२४० तिर बाग्लुङको बान्द्रेबाट आएको सापकोटा वंशावलिमा उल्लेख छ ।

बिसं १५९० तिर गल्कोटे राजा प्रतापी नारायणले पाल्पाली राजकुमारी विवाह गरेर ल्याउँदा कालिकाको मूर्ति र एक ठूलो खुँडा दाइजोमा ल्याए । त्यो खुँडा उचाल्न सक्ने कुँवर क्षेत्रीलाई राजा प्रतापी नारायणले खड्का उपनाम दिए । त्यसपछि उनका सन्तान दरसन्तानले आफ्नो थर खड्का लेखाउन थाले । राजआज्ञाअनुसार कालीको मूर्तिलाई बाग्लुङ बजारको पश्चिमको जङ्गलमा एक मन्दिर बनार्इ स्थापना गरियो ।

तर नेवारहरु भने १८ अाैं शदिमा ब्यापारको शिलशिलामा भक्तपुरबाट बाग्लुङ आर्इ बसोबास गरेको देखिन्छ ।

पर्वते राज्य कालिपारि खुम्चिएपछि दमेक पनि राजा प्रतापी नारायणको राज्य हिस्सा भयो । त्यति बेलाको दमाहारलाई राजाले आफ्नो शिकार आरक्षणको रुपमा प्रयोग गर्दथे । गाजा सरोबर बरपरको धार्मिक स्थल त्यतिबेला राजाको गर्मीयाममा बसन्त बिहार र रासलीला गर्ने एक स्थान बन्न गयो । लोककथनअनुसार सोही समयमा गाजाको धुरिको बाँयापट्टि एक अनन्त राम नामका हुग्दिशिरे पौडेलले एक आश्रम बनाएका थिए रे । राजा प्रतापी नारायणले बर्षमा एक पटक उनलाई भेटि लिएर दर्शन गर्न आउँथे । पृथ्वी नारायणको एकीकरणपछि मात्र त्यो राज्य गोर्खा राज्यमा गाभिन गयो ।

गाजाको सरोबर वरपर घना जङ्गल हुँदाहुँदै पनि तलाउमा पात पतिङ्गर केही देखिंदैन । ती पातहरु कहाँ जान्छन र कसरी त्यो तलाउको पानी अत्यन्त कंचन छ ? एउटा रहस्यको बिषय बनेको छ । स्थानीयका अनुसार तलाउका पातहरु राति चराले टिपेर लैजान्छन् र फोहरको सफाइ पनि चराहरुले नै गर्दछन् ।

दमेकको भू बनौट :

पहाडी भू बनौट भए पनि दमेकको जमीनको मोहडा उत्तर पूर्व फर्केको र शिरमा घना जङ्गल रहेकोले पहारिलो तथा अत्यन्त मलिलो छ । सोल्टे १३२* पश्चिम ढल्केकोले केही स्थानबाहेक दमेकमा पहिराेको जोखिम कम छ । पहारिलो, आग्नेय चट्टानको बलियो आधारमा खडा भएको, ठूलो भूभागमा जङ्गलले ढाकेको र प्रशस्त प्राकृतिक पानीका श्रोतहरु भएकोले दमेकबासीलाई उल्लेख्य मात्रामा प्राकृतिक सहयोग उपलब्ध छ भन्दा अत्युक्ति नहोला । बिराउनेको फाँट, फुँदी, बाँस्टारी, दराउदी, तल्लाथोक, चैराक र बनहुँको खेतीयोग्य जमीन तथा पोशिलो घाँसका लागि बाग्लुङभरि नै कहलाएका स्थान मानिन्छन । भनिन्छ, ’बिराउनेको बास, फुँदिका सीता, बनहुको गोरस, तल्लाथोकको रसिलो अनाज र ठूल्डाँडाका आलु सिमी स्वर्गमा पनि प्राप्त हुँदैनन रे ।‘दमेकमा जङ्गली फलफूल पनि प्रशस्त मात्रामा पाईन्छ । लब्सी, तिजु, हाडेकाफल, एँसेलु, चुत्रो, खनिम, निवारा, गुँएलो, अादि दमेकमा पाइने जङली फलफूलहरु हुन । यो क्षेत्रमा शीतोष्ण, समशीतोष्ण र उष्ण गरी ३ किसिमका हावापानी पाइन्छ । एउटै गाबिसभित्र लेकमा हुने बनस्पति खश्रुदेखि तराइमा हुने सालसम्म पाइन्छ ।

शैक्षिक अवस्था र प्राबिधिक जनशक्ति:

दमेकमा अहिले प्राबिधिक जनशक्तीको अवस्था नाजुक छ । बढी लगानी गर्न सक्ने र पढे लेखेको जनशक्ति बसाइ-सराइको कारणले पलायन भइसकेको छ भने बचेँखुचेको जनशक्ति युरोप, अस्ट्रेलिया, अमेरिका र खाडी मुलुकमा आफ्नो श्रम र शीप बेच्न विवश छ । एउटा उच्च माबी, दुई माबी र पन्ध्रवटा प्राबी स्कूल भएको दमेकमा पढाईको अवस्था र गुणस्तर पनि निम्न स्तरको देखिन्छ । कम शाक्षार गाउँलेहरु, ब्यस्त अवस्था र साधन श्रोतको कमीले गर्दा शैक्षिक गुणस्तरको बिकास हुन नसकेको त्यहाँका शिक्षकहरुको गुनासो सुनिन्छ । केही स्कुलहरुमा स्तर उन्नतीको पहल गरिए पनि राम्राभन्दा हाम्रा शिक्षक नियुक्तिको कारणले प्रयासरत स्कूलहरुमा खासै गुणात्मक परिवर्तनको छनक देखिएको छैन । त्यसको लागि जिल्लाबाट मात्र नभएर स्थानीय स्तरमा पनि स्तरोन्नतिको लागि आवश्यक परिक्षण, निरीक्षण, अनुगमन, वाब, अह्वान र पहल हुनु आवश्यक छ । उचित ठाउँ र उपयुक्त समयमा यि सबै प्रयासले पक्कै सार्थक परिणाम ल्याउने छ ।

प्राकृतिक सम्पदा:

दमेक प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ बिकासको लागि आवश्यक पूर्वाधारहरु प्राय सबै छ । स्वच्छ पिउने पानी, केरा खेतीलगायत पशुपालन, मौरिपालन, जटिबुटी खेती, तरकारी खेती, अङ्गुर, स्याउ नासपति खेती, धान खेती लगायतको लागि एउटै क्षेत्रमा प्रकृतिले बातावरण प्रदान गरेको छ । उन्नत गाई, बाख्रा, भेडा, मौरी, चराचुरुङ्गी पालनको लागि आवश्यक अनुकुल जमीन, चरिचरन, घाँस र प्राकृतिक बगैँचा छ । ठूलो क्षेत्रमा प्राकृतिक जङ्गल छ जसलाई वृक्षारोपणमार्फत अझै बढाएर लैजान सकिन्छ । त्यस्तै दमेकमा सन्सारमा पाइने धेरै थरिका फूल, चराचुरुङी, दुर्लभ किटपतङ्ग, बन्यजन्तु र दुर्लभ जडीबुटी पाइने हुनाले त्यसलाई आधुनिकिकरण गरेर पर्यटकीय गाउँको रुपमा बिकास गर्न सकिन्छ । तामाखानी, फलाम खानी, ढुङ्गा खानीहरु जीर्ण अवस्थामा भबिष्यलाई चियाएर थन्किएका छन् । बिजुली र बाटोको लागि अब दमेकबासीले आँशिक सफलता प्राप्त गरिसकेका छन् । अब केवल कच्ची बाटोलाई पक्की बनाउन सरकारको मुख ताक्नु पर्ने अवस्था देखिन्छा । ती सम्भावनाहरुलाई तल व्याख्या गर्ने प्रयास गरिएको छ :

जनस्तरबाट हुनु पर्ने तात्कालीक प्रयासहरु :

दमेकमा आधुनिक तरिकाबाट कुन कुन खेतीहरु गर्न सकिन्छ ? कुन भागको माटोको अवस्था र स्तर कस्तो छ ? सबै कुराको अनुसन्धान हुन जरुरी छ र त्यसको लागि भू तथा कृषि बिशेषज्ञको आवस्यकता पर्दछ । स्थानीय स्तरबाट पहल गरी दमेक भरिको हावापानी, माटो र भू अवस्थाको जानकारीको लागि राज्यसंग बिशेषज्ञको माग गर्नु पर्दछ । सर्वप्रथम त्यसको लागि स्थानीय स्तरबाट पहल गर्नु जरुरि देखिन्छ, बृहद भेलाबाट दमेक भरिका योग्य सामाजसेवीहरुको समिति निर्माण गरी योजनाबद्ध किसिमले अघि बढ्नु पर्दछ र बिशेषज्ञहरुले आ-आफ्नो बिषयमा अनुसन्धान गरेपछि मात्रै बैज्ञानिक खेतिको लागि प्रारम्भिक योजना बनाउन सजिलो हुन्छ । योजना, श्रोत, पुंजी, साधन र प्राबिधिक सहयोगको लागि सबैसँग मिडियामार्फत सहयोग माग्न सकिन्छ र राम्रो योजनालार्इ नै कुनै पनि कार्यको पहिलो सफलता मानिन्छ । अहिले हामीले परम्परागत तरिकाले अनुमानको भरमा खेती गरिरहेका छौ ।

चैराकको उचाइबाट तल सुन्तला र नास्पती खेती राम्रो हुन सक्छ भने त्योभन्दा माथिल्लो भूभागको हावापानी अङ्गुर, नास्पती, अलैची, स्टेवरी, चेरी जस्ता फलफूलको लागि उपयुक्त हुन सक्छ । माथि लेकमा स्याउ, भट्टे सिमी, आलु र पाच् अौले, सट्टुवा, पहेले लगायत अन्य दुर्लभ जटिबुटीको लागि उपयुक्त हुन सक्ने सम्भावना छ । तर यकीन रुपमा त हावापानी र माटोको गुणस्तर मापन र कृषि बिज्ञहरुको सल्लाहपछि मात्र भन्न सकिएला ।

वार्षिक १५०० मी.मी. देखि २६०० मी.मी. सम्म बर्षा हुने यो क्षेत्र चिया र कुरिलो खेतीको लागि पनि परीक्षण गर्न योग्य क्षेत्र हो । अत्यान्त दुर्लभ जातका जङ्गली फलफूलहरु जस्तै गुँयलो, लब्सी, चुत्रो, ऐसेलु, हाडे-काफल, निमारो, तिमिलो, खनिम, चिउरी र जङली तरकारी कुरिलो, निउरो, गिठा, तरुल, हल्हले-साग लगायतका यो क्षेत्रमा पाइन्छ । त्यसलाई आधुनिक प्रकारले उत्पादन गरी बिक्री बितरण गर्ने हदसम्म बिकास गर्न सकिन्छ ।

अर्कोतर्फ तत्काल देखिएको आवस्यकतालाई हेर्दा ताराखोलामा जस्तै दमेकमा पनि दुध, आलु र फलफूलको ठूलो चिस्यान राज्य स्तरबाट निर्माण गरिनु पर्ने देखिन्छ । जिल्लामा सबैभन्दा राम्रो अर्गानिक तरकारी तथा फलफूल खेतीको सम्भावना भएको यो क्षेत्रमा फलफूल, दुध र तरकारीको चिस्यान हुने हो भने त्यसले कमसेकम बाग्लुङ, कुश्मा र पोखरा बजारलाई अर्गानिक तरकारी, दुध, घिउ, र फलफूलको आपूर्तिमा ठूलो मद्घत गर्न सक्ने थियो ।

धार्मिक तथा प्राकृतिक पर्यटकीय विकास :

पर्यटकीय नगरीको रुपमा गाउँको बिकास गर्न गाउँमा पहिलो प्रार्थमिकता कृषिमा आधुनिकिरणलाई नै मान्नु पर्छ । त्यसपछि दमेकको मुहार फेर्न सक्ने सम्भावित बाटो धार्मिक तथा मनोरन्जनात्मक पर्यटकीय बिकास हुन सक्ने प्रशस्त सम्भावनाहरु छन् । यसको पहिलो प्रयास स्वरुप २०६६ सालको बाल चतुर्दर्शीको दिन गाज सरोवर तथा प्राकृतिक सम्पदा संरक्षण समिति र सामुदायिक बिकास केन्द्रको अगुवाइमा एक महोत्सव भएको थियो । तात्कालीक बाग्लुङका सभासद परी थापा र डाक्टर ओम गुरुङद्वारा संयुक्त रुपमा उदघाटित कार्यक्रममा दमेकको बिकासबारे कार्यपत्र पेश गरिए पनि त्यसले खासै ब्याबहारिक रुप लिन सकेन । दुई चार दिन चर्चा भयो र महोत्सबको समाप्तीसँगै दमेकको बिकासको चर्चा त्यसै सेलायो ।

भनिन्छ ‘दमेकको गाजा धुरिसहित संसार कोट, भकुन्डे धुरि, हाँडिकोट धुरि, पञ्चकोट धुरि, चमेरे गुफा, राम कोट, घुम्तेको धुरि, धोर्पाटनको प्राकृतिक बगैंचा बाग्लुङ जिल्लाका श्रीपेज हुन् । यी धुरिहरु प्राग ऐतिहासिक कालमा तपोभूमि तथा आध्यात्मिक केन्द्रहरु थिए । स्थलगत र सामाजिक फेरबदलले ती क्षेत्रको महत्वबारे जन चासो कम् भएको हो । ती स्थलको बारेमा थप अनुसन्धान, उत्खनन र सत्य तथ्य सार्वजनिक गर्दै जानु अति आवश्यक छ ।‘

बाग्लुङ जिल्ला समितिले पनि दमेक जस्ता ऐतिहासिक तथा धार्मिक महत्वका क्षेत्रहरुको बिकासको लागि आवश्यक पूर्वाधार निर्माणमा अब ढिला गर्नु हुँदैन । एक अनुसन्धानको हावाला दिंदै बाग्लुङ जिल्लाको दक्षिण भेगमा अवस्थित दमेकको हावापानी मानवको लागि सर्वोत्तम मानेको बताइन्छ । एउटै गाबिसभित्र नेपाल भरिका प्राय सबै हावापानीको नमुना पाइने बिरलै क्षेत्रमध्ये दमेक पनि हो । आध्यात्मिक योगीहरुको मतानुशार दमेकको ठूल्डाँडा, दह, ट्याम्का, चौरासेदेखि माथिल्लो क्षेत्रदेखि गाज धुरिसम्म एउटा आध्यात्मिक योगा र तप स्थलको रुपमा बिकास गर्न ब्यापक रुपमा बन जङ्गल, पशुपंक्षी र बन्यजन्तुको संरक्षणमा जोड दिनु पर्ने बताउँछन् । राज्यको पहुँचबाट टाढा भए पनि स्थानीय स्तरबाटै पूर्वाधार निर्माण गर्दै अगाडि बढे दमेकको धार्मिक पर्यटकीय बिकास बारे राज्यस्तरबाटै सम्बोधन हुन थाल्ने कुरामा कसैको दुर्इमत देखिंदैन ।

अन्य सम्भावनाहरुको खोजी :

त्यस्तै अर्कोतर्फ स्थानीय पहल र जिल्ला बिकास समितिको सहयोगमा प्राबिधिक पूर्वाधार निर्माण गर्दै दमेकलाई विश्वकै अर्गानिक खेती तथा मौरी पालन प्रयोगशाला बनाउन सकिने भूमि बिशेषज्ञहरुको राय छ । यी सबै योजनासहित स्थानीय स्तरबाट थालिने ब्यापक पहलले मात्रै राज्यको ध्यान आकृष्ट गर्न सक्ने छ । सर्वप्रथम त आफ्ना मूर्त योजनासहित स्थानीय स्तरबाट पहल हुनु जरुरी छ ।

दमेकमा प्राकृतिक पूर्वाधार प्रशस्त छ । चारैतर्फ घना जङ्गल, प्रयाप्त शुध्द पिउने पानी, प्रशस्त फलफूल, तरकारी, अन्नपात, कन्दमुल र दुध उत्पादन हुने र संसारभरि फुल्ने धेरै थरिका फूलहरु फुलाउन सकिने यो क्षेत्रमा भूकम्प, बाढी-पहिराे र अन्य प्राकृतिक प्रकोपले न्यून असार गर्ने समथर भूभागसमेत दिएको छ । जहाँ सबै दमेकबासी मिलिजुली बस्नको लागि आवश्यक बासस्थान निर्माण गर्न सक्ने कम जोखिमयुक्त जमीन छ । केबल आवस्यकता छ उपयुक्त योजना र सुन्दर दमेकको सपना देख्ने दूर दृष्टिवाला रथिको ।

आवश्यक पूर्वाधार निर्माणमा सकृयता :

सुन्तलाचौरको प्राङ्गणमा तीन दशकअगाडि भएको धान्याचल महायज्ञमा स्व. डाँडे प्रभु प्रमानन्द स्वामिले दमेकको बारेमा भनेका थिए – अहिले दमेक गुफा जस्तो छ, यहाँका बासिन्दा निसास्सिएर मरिन्छ भनेर क्रमश मधेस बसाइ सरिरहेका छन्। पछि गर्मी र अशान्तिले आक्रान्त भएर पानीको एक घुट्की पनि किन्नु पर्ने बेलामा पल पलमा दमेकको शान्ति, हावा र चिसो शुध्द पानीलाई सम्झी पछुताउने छन् । उनको सपना थियो – दमेक अबको सय बर्षमा नेपालका ठूला ठूला योगी, प्राकृतिक चिकित्सक र पौरखीहरु बैभबसँग बस्ने केन्द्र हुनेछ ।

हो, दमेकमा नपाइने केही छैन । पहिले बिजुली बत्ती र यातायातको असुबिधा थियो । अहिले त्यो पनि पूरा भएको छ । अब एउटा सुबिधा सम्पन्न अस्पातलको खाँचो छ । सबै स्थानीयबासी, प्रवासी र अन्य जिल्लाबासीहरुले आफ्नो माटोको लागि एक एक वटा मोती चुडेर अस्पातल निर्माणार्थ पहल गर्ने हो भने त्यो असम्भव पनि सम्भव देखिन्छ । त्यसको लागि स्थानीय जागरण र सबै दमेकबासीको चासोको जरुरी छ । एउटा सुबिधा सम्पन्न अस्पातल हुनेबित्तिकै दमेक नेपालकै एक नमुना गाउँ र बाग्लुङको एक सुबिधा सम्पन्न क्षेत्र हुने छ ।

ऐतिहासिक खोजबिन :

दमेकको पूर्बी उत्तर भागमा एउटा दाध्रा नामक जङ्गल छ । जहाँ बि. सं. पन्ध्रौ शताब्दिअगाडि केही घर गुरुङहरु आएर बसोबास गरेका थिए । त्यतिबेला उनीहरुले त्यहाँको झाडीलाई फाँडेर खेतीयोग्य गह्राहरु बनाएका थिए । घर र गुम्बाहरु पनि बनाए । अहिले त्यो ठाउमा घना जङ्गल छ । गाउँलेका मतानुसार त्यहाँ उनीहरुको बसाइ २०० देखि २५० बर्षसम्म भएको थियो । उक्त ठाउँमा उत्खनन गरेर अनुसन्धान गर्ने काम अझै हुन सकेको छैन । अनुमानित् १४धौ शताब्दिपछि दमेक आएका सापकोटाको पहिलो घर कहाँ थियो ? त्यसको समेत अनुसन्धान र उत्खनन हुनुपर्ने जरुरी छ। दमेक, राएडाँडालगायत १६ तामा खानीहरु अहिले उत्खनन भग्नाबशेसको रुपमा सुदूर भबिस्यको नयाँ पिँढीलाई कुरेर बसेका छन् । त्यसको उत्खनन गर्न सके पक्कै नेपालको राष्ट्रिय आयमा सकारात्मक तेवा पुग्ने थियो ।

तपो भूमिको प्रचार प्रसार र संरक्षण:

भारतबर्षका हिन्दू ॠषिमुनिहरु, भीक्षु, भृगु, दुर्वासा र गर्ग ॠषिको तपस्या स्थल, काल्कुट सन्जिवनिसहित अनेकौ जडिबुटिले सुशाेभित पावन ॠषि धाम गाजा धुरि र वरपरका सरोबरहरुको संरक्षण, संबर्धन र पुनरुत्थानको लागि आवश्यक पहलकदमी अगाडि बढाउन जरुरी छ । यो धुरि बाग्लुङ बजारदेखि छ कि. मी. पश्चिम रहेको छ ।

बीसभन्दा बढी हिम श्रृंखलाको छातीको दुरिमा दृश्यावलाेकन गर्न पाइने उक्त तपोभूमिको अलिकति पश्चिम सधैं कन्चन देखिने सरोबर छ । प्राकृतिक छटाले भरिपूर्ण गाजाको धुरि र पवित्र सरोबरले कुनै पनि पर्यटकको मन लोभ्याइदिन्छ । अहिले गाजाको दह नामले प्रख्यात त्यो सरोबरसम्म गल्कोट दुधिलाभाटीबाट कच्ची राजामार्ग आइपुगेको छ । त्यो बाटोले गर्दा धार्मिक तथा अन्य पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयहरु बताउँछन् । यदी उक्त राजामार्गलाई दमेकबाट गइरहेको मार्गले जोड्ने हो भने बाग्लुङको दक्षिणी भेगको बिकासमा यो मार्ग कोशे ढुङ्गा साबित हुने देखिन्छ । अतः नेपाल सरकारले त्यो कच्ची मार्गलाई पक्की बनाउन पहल गर्नु पर्ने हो । त्यसमा स्थानीय तथा जिल्ला बिकासको दवाबले महत्वपूर्ण भूमिका खेल्ने छ । २.६६५ को दरमा भएको दक्षिणी बाग्लुङको आर्थिक वृद्धि दरलाई अगाडि बढाउन सबै पूर्वाधार निर्माणमा आधुनिकिकरणको खाचो अनिबार्य भइसकेको छ ।

दुःखको कुरा बाग्लुङ जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थल गाजा वरपर अहिले मानव अतिक्रमण बढेको जनगुनासो छ । जथाभाबी जङ्गल बिनास गरी वरपरको बातावरण फोहर बनाउने, जमीनमा अनावश्यक टहरा निर्माण गरी जमीन हडप्ने होडबाजी जस्ता समस्याहरुलाई रोक्न जिल्ला बिकास र स्थानीयहरु पनि सकृय हुनु जरुरी भइसकेको छ। २६०० मी अग्लो गाजा धुरिबाट दृश्यावलाेकन गर्न अग्ला रुखको करणले अलिक असजिलो भएकोले दूर दर्शन यन्त्रजडित टावर निर्माणलाई जिल्लाले अबको योजनाभित्र पार्न स्थानीयको दवाब जरुरी छ ।

निष्कर्ष:

ठूला ठूला स्वदेशी तथा बिदेशी कृषि बिज्ञहरुको दमेकमा अनुसन्धान भ्रमण नभए पनि क्षेत्रीय स्तरका बिज्ञहरुले बाग्लुङ जिल्लाको कुश्मी शेरा, दमेक, बलेवा, गल्कोट, बिहुकोट र जैदीलाई लगानी र बिकासको प्रचुर सम्भावनायुक्त पहाडी भुभाग भएको बताएका छन् । भौगोलिक अवस्था र कृषिजन्य कच्चा पदार्थको बढी उत्पादन गर्न सकिने भएकोले यो क्षेत्र बिकासको लागि प्रचुर सम्भावना भएको मानिन्छ । यो क्षेत्रलाई यातायात, आधुनिक प्राकृतिक चिकित्सा अनुसन्धान केन्द्र, पशु अनुबांशिक-प्रजनन तथा अनुसन्धान केन्द्र, फलफूल बगैचा, सहकारी तरकारी खेती, प्राकृतिक पार्क तथा बगैंचा बनाउने बारे पनि ब्यापक रुपमा छलफल चलाऊनु जरुरी छ । अर्कोतर्फ प्राकृतिक गाजा सरोबर र झरनाहरुको उचित संरक्षण र संबर्धन, गाजा धुरिमा दृश्यावलोकनको लागि टावर निर्माण, सरसफाइको उचित प्रबन्ध, चोया तथा बाँसका पम्परागत बास्तु कला, सिस्नाको पुवाबाट बनाइने पर्यटकीय सामाग्री अादि निर्माणमा जिल्ला तथा राष्ट्रले प्रोत्साहन दिंदै बजार ब्यबस्थापन गरी दिने हो भने गाउको बिकासमा टेवा पुग्ने थियो । आधुनिक तथा पर्यटकीय गाउँ निर्माणको थालनी सँगै अन्तरराष्ट्रिय स्तरमा प्रचार प्रसारको पनि उत्तिकै महत्व रहेको हुन्छ । अतः दमेक लगायतका क्षेत्रलाई पर्यटकीय नेटवर्किङमा जोड्न र योजनासहित स्थानीय स्तरबाट प्रचार प्रसार थाल्नु उपयुक्त हुन्छ । त्यसको लागि पहिलो शर्त यहाँका स्थानीय जनमानसको दमेकलाई पर्यटकीय तथा स्थायी विकासको मार्ग चित्र भित्र समेट्ने अठोट सहितको सोच हुन जरुरी छ ।

सबैले गाउँ बिकासको एउटै लक्ष लिएर जिल्लादेखि केन्द्रसम्म झक्झक्याउँदै अगाडि बढ्ने बेला आइसकेको छ । अब पनि ढिला गर्नु भनेको आफ्ना पाइलाहरुलाई पछाडि धकेल्नुसरह हो । आँफै कुनै पनि गाउँको बिकास सम्भब छैन, कुनै न कुनै पुस्ताले पहलकदमी आफ्नो हातमा लिनै पर्छ । हाम्रा भाबी पुस्तालाई बिकसित दमेक हस्तान्तरण गर्नको लागि पाँचदेखि २० बर्षको योजना बनाएर अघि बढ्नु नै मातृभूमिको ऋणबाट मुक्त हुने उपाय हो ।