अनटिफको गर्जन : खेलकुदको श्रीवृद्धिमा राखेपसँग हातेमालो

अनटिफको गर्जन : खेलकुदको श्रीवृद्धिमा राखेपसँग हातेमालो


Shree Bikram Bhandari
:: श्रीविक्रम भण्डारी ::

पैसा भएर मात्रै केही हुँदैन । त्यसका लागि सिंहको जस्तो मुटु हुनुपर्छ । समुद्र र आकाशजस्तो विशाल मन हुनुपर्छ । अहिले यस्तै आँट, साहस र मन देखाएका छन् पूर्वतेक्वान्दो खेलाडीहरूले । नेपाली माटोमा तेक्वान्दोलाई फल्न र फुलाउन विशेष योगदान गरेका यी तेक्वान्दोका हस्तीहरूले विदेशमा रहेर पनि तेक्वान्दोको श्रीवृद्धिमा कुनै कसर बाँकी राखेका छैनन् । पछिल्लो समयमा नेपाली तेक्वान्दोको समग्र विकासका लागि हातेमालो गर्दै आएका यी हस्तीहरूले नेपाली खेलाडीलाई पुरस्कृत गरेर आफ्नो उद्देश्य के हो, त्यसलाई प्रस्ट पारिसकेका छन् । र पनि, दोषी चश्माको प्रयोग गर्नेहरूले यो कार्यको गलत व्याख्या गर्न छाडेका छैनन् । उल्टै तेक्वान्दोमा विवादको बीउ रोप्न भूमिगत गिरोहको भूमिका देखिएका छन् । तर, अहिले पनि हात्ती लम्किरहेको अवस्था छ । नेपालमा युनिभर्सल युनाइटेड तेक्वान्दो महासङ्घले आफ्नो जरो गाडिसकेको छ । त्यसलाई मलजल गर्ने काम खुद खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ ।

युनिभर्सल युनाइटेड तेक्वान्दो महासङ्घको गठन सन् २०१४ मा भएको हो । नेपालमा तेक्वान्दो खेल र खेलाडीको विकास र विस्तारका लागि यो सङ्घको स्थापना भएको हो । गत महिना नेपालमा तेक्वान्दोको विकासमा हातेमालो गर्ने उद्देश्यअनुरूप अनटिफका ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएका थिए । उक्त प्रतिनिधिमण्डल अनटिफका अध्यक्ष राजकुमार राई (क्यानडा)को नेतृत्वमा आएको थियो । अन्य चारजना प्रतिनिधिहरूमा बोर्ड अफ डाइरेक्टर दिवाकर महर्जन (अमेरिका), महासचिव लव गोर्खाली (अमेरिका), बोर्ड अफ डाइरेक्टर राष्ट्र राई (युके), प्रोजेक्ट इन्जिनियर रामकुमार राई (युके), सदस्य शैलेन्द्र राई (हङकङ), सदस्य उमेश राजभण्डारी (बेल्जियम) रहेका थिए । सो प्रतिनिधिमण्डलले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टसँग भेटघाट गरी तेक्वान्दोको विकासमा अनटिफ सहयोग गर्न तयार रहेको जानकारी गराएको थियो । अनटिफको स्थापनासँगै अहिले विश्वका ११ मुलुकमा यसका शाखा संङ्घ गठन भइसकेका छन् । ती शाखाहरू अस्ट्ेरलिया, क्यानडा, युुके, अमेरिका, कोरिया, हङकङ, जापान, बेल्जियम, कतार र नेपालमा छन् । गत महिना यस संस्थाको नेपाल च्याप्टरको साधारणसभा सम्पन्न भएको थियो ।
Khelkud
‘हामी विदेशमा छौँ, तर हाम्रो मन स्वदेशमै छ, हामी तेक्वान्दो खेलको विकासका लागि केही गर्न चाहन्छौँ,’ अध्यक्ष राजकुमार राईले भने । ‘त्यसका लागि हामी नेपाल तेक्वान्दो सङ्घसँग सहकार्य गर्न तयार छौँ । हामी तेक्वान्दो सङ्घको विरोधी होइनौँ, हामी त शुभचिन्तक हौँ । राज्यको आँखा पुग्न नसकेको, सङ्घले गर्न नसकेकोलाई सबै मिलेर मौका दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । गाउँगाउँमा प्रतिभाको कुनै कमी छैन, तर तिनीहरूले अवसर पाएका छैनन् । त्यस्ता अवसरबाट वञ्चित खेलाडीको प्रोत्साहनको लागि हामी केही गर्न चाहन्छौँ । त्यसका लागि सम्बन्धित निकाय र राज्यले हामीलाई होस्टेमा हैँसे गर्नुपर्छ,’ अध्यक्ष राईले भने । अहिले आशा होइन, विश्वास पलाएको छ । सदस्यसचिव विष्टले जुन सकारात्मक कुरो गर्नुभएको छ, त्यसले हामी निकै हौसिएका छौँ । हिजोसम्म अर्थात् नेपाल आउँदासम्म विश्वास थिएन, तर आज पूर्ण विश्वस्त भएका छौँ । यसर्थमा कि हामीले देखेको सपना पूरा हुने भएको छ । जसका लागि राखेपले अनटिकलाई २० रोपनी जग्गा दिने भनेर पत्रसमेत दिएको छ– राईले भने । जग्गा प्राप्त हुनासाथ उक्त जग्गामा मल्टिप्रपोजको हल निर्माण गरिने भएको छ । त्यसका लागि ६ महिनाभित्रै शिलान्यास गरेर कार्य अगाडि बढाउने राईको दाबी थियो ।

नेपाल तेक्वान्दो सङ्घसँग सहकार्य गर्दै नेपालका तेक्वान्दो खेलाडीलाई आर्थिक, प्राविधिक तथा भौतिक सहयोग गर्ने उद्देश्यअनुरूप स्थापित भएको अनटिफले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि सहयोग गर्ने महासङ्घका महासचिव लवकुमार गोर्खालीले बताए । ‘हामी नेपाली हौँ, हामीलाई नेपालको माया छ, हामी तेक्वान्दोका लागि केही गर्न चाहन्छौँ,’ गोर्खालीको प्रतिबद्धता थियो । महासङ्घको कदमलाई सकारात्मक रूपमा हेरिनुपर्‍यो, हामी तेक्वान्दो सङ्घको विरोधी होइनौँ, सहयोगी हौँ, यो कुरा सङ्घका पदाधिकारीले बुझ्नुपर्‍यो । गोर्खालीले भने– हामी कसैको भाग खोस्न नेपालमा तेक्वान्दोको गतिविधि बढाउन लागेका होइनौँ, हाम्रो पवित्र उद्देश्य एउटै छ, ‘त्यो हो तेक्वान्दो विकास र सहयोग ।’ जसलाई प्रमाणित गर्न कुनै कसी लगाउनुपर्छ जस्तो लाग्दैन । यसर्थमा कि अनटिफको स्थापनासँगै यो संस्था तेक्वान्दोमा मात्र सीमित नभई अन्य खेलका खेलाडीलाई सम्मान र पुरस्कृत गर्दै आएको छ । जसमा गत वर्ष इन्चोक एसियाली खेलकुदमा नेपाललाई एक मात्र कांस्य पदक दिलाउने विमला तामाङलाई अनटिफले नगद पचास हजारसहित सम्मान गरेको थियो । त्यस्तै हालै सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्न सफल उसुकी निमा घर्तीमगर र जुडोकी फुपुलाम्हु खत्रीलाई नगद पचास हजारसहित सम्मान गरेको थियो । यसैगरी विश्व अल्ट्रा च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गर्न सफल धाबिका मीरा राईलाई ७५ हजार नगदसहित सम्मान गरेको थियो ।

राखेपले अनटिफको उद्देश्य बुझेर सहयोगीको हात बढाएकोमा बोर्ड अफ डाइरेक्टर दिवाकर महर्जन प्रसन्न थिए । महासङ्घको उद्देश्य स्वार्थरहित थियो भन्दै महर्जनले यसमा राखेपको सहयोग सुनमा सुगन्ध हुने उनको विश्वास थियो । अहिले सकारात्मक पक्षको शुभारम्भ भएको छ, अब दुवै पक्ष यसमा खरो उत्रिनुपर्छ । जग्गा दिने ग्यारेन्टी राखेपले पत्रमा उल्लेख गरेको छ । जुन हाम्रा लागि सकारात्मक पाटो बनेको छ । अब हामीलाई सहयोग जुटाउने मार्ग प्रसस्त भएको छ । यसका लागि हामी अब एनआरएन सदस्यहरूलाई पत्राचार गर्नेछौँ । मलाई विश्वास छ– एनआरएन सदस्य साथीहरूले खुलेर यो कार्यका लागि सहयोग गर्नेछन्– महर्जनले भने । हाम्रो तारगेट मल्टिपल प्रपोजको हल निर्माण गर्नु हो । जहाँ थुप्रै इन्डोर खेलका अन्तर्राष्ट्रिय खेल जस्तै साग र एसियन गेमको आयोजना गर्न सकियोस् । यसले तेक्वान्दो मात्रै नभई अन्य खेलको विकासमा पनि सहयोग पुग्ने महर्जन दाबी थियो । महर्जनले यो मल्टिपल प्रपोजको हल निर्माण गर्न कम्तीमा पनि दशदेखि बीस करोड लाग्ने बताए । त्यस्तै अर्का बोर्ड अफ डाइरेक्टर राष्ट्र राईले नेपाली खेलकुुदको विकासका लागि महासङ्घले केही गर्ने जिम्मेवारी पाएको खुसी व्यक्त गर्दै त्यसका लागि आफूले जस्तोसुकै सहयोग जुटाउन पछि नपर्ने बताएका थिए । राखेपले खेलकुद विकासका लागि टेक्निकल सहयोग मागेको खण्डमा पनि आफूहरू सहयोग गर्न तयार रहेको राईको कथन थियो ।

मल्टिप्रपोजको हल निर्माण गर्न राखेपले निकट भविष्यमै जग्गा उपलब्ध गराउने भएपछि अनटिफका पदाधिकारीहरू निकै उत्साहित भएर आफू कार्यरत मुलुकमा फर्किएका छन् । अब उनीहरू राखेपको एक इमेलको पर्खाइमा छन् । राखेपले जतिसक्दो छिटो जग्गा उपलब्ध गरायो, त्यति नै छिटो आफ्नो कार्य शुभारम्भ गर्ने प्रतिबद्धता जाहेर गरेको अनटिफले आउँदो ६ महिनाभित्रमा शिलान्यास गरेर कार्य प्रारम्भ गर्नेसमेत जनाएको छ । तसर्थ राम्रो कामका लागि अबेर गर्ने पक्षमा राखेपका सदस्यसचिव विष्ट पनि छैनन् । उनी जतिसक्दो चाँडै जग्गा उपलब्ध गराएर कामको थालिनी गराउने पक्षमा छन् । यसका लागि विष्टले गरेको मिहिनेत र बनाएको खुला वातावरणले उनको आफ्नो कार्यकाललाई स्वर्णकाल बनाउने प्रतिबद्धतामा यसले ठूलो पिलरको कार्य नगर्ला भन्न सकिँदैन ।