(कथा)नोकरीभित्रको पीडा-सुमल कुमार गुरुङ

(कथा)नोकरीभित्रको पीडा-सुमल कुमार गुरुङ


काम नपाएर भौतारिरहेको बेलामा उसले एउटा क्लिनरको नोकरी सेन्ट्रल लण्डनको वेस्ट मिनिस्टर किङ्सवे कलेजमा पाउँछ । मोहम्मद असलमको आत्मविश्वास पलाउँछ । धेरै सपनाहरुको पोका मनको कन्तुरभित्र बोकेर परदेश लागेको निकै महिना भयो । हिजो अस्तिसम्म काम नपाउन्जेल उसले बंगलादेशको आफ्नो गाउँघर र रोगी बृद्ध बुवाआमालाई सम्झन्थ्यो । तर, केही दिनदेखि उसको आँखाहरुमा मैले नयाँ चमक, उत्साह र जाँगरहरु देखेको छु । स्टुडेन्ट भीसामा लण्डन छिरेको ९ महिना बितिसक्दा पनि काम नपाउँदा निकै विचलित भएको थियो । जीवनको उर्जाशील समयमा नै विदेशिएर आफ्नो कमजोर आर्थिक अवस्थालाई सुदृढ गर्न र ठूलो उपलब्धि हासिल गर्नको लागि विदेश पलायन भएका लाखौं युवाहरुको जमातमा असलम पनि भाग्य अजमाउन पोहोर ढाका छाडेको अहिले उसलाई हिजो जस्तै लागिरहेको छ । उसको अनुभूति र दुःखका छालहरु म सधै उसको अनुहारभरि उर्लिरहेका पाउँथे । साँच्चै मनभित्रका पीडाहरु आँखाले यदि देख्न सकिन्थ्यो भने हाड-मासुले बनेका यी दुःखी मानिसहरु कति विभत्स् देखिन्थे होलान् । म यस्तै सोंच लिंदै कदमहरु हतारहतार बढाउँदै कलेजतर्फ जाँदैछु, ।

एक तमासले चिसोहावा मेरा गालाहरुलाई चड्कन मार्दै, हातका औंलाहरु टोक्दै मलाई आवेशमा हुत्याउँदै, ठेल्दै गरेको प्रतीत हुन्छ । म सधैंझै आठ बज्नु १५ मिनटअघि नै कलेज परिसरमा पुग्छु । शिशिरको कठ्याङ्ग्र्रिने बतासको झोक्का खेप्दै म कलेजभित्र प्रवेश गर्छु । मलाई न्यानो कलेजभित्रको वातावरणले आलिंगन गरेझैं महशुस हुन्छ । एउटा आनन्दित सकुन मिल्छ । बेलायतको कट्कट्ती मुटु छिचोल्ने जाडोमा हिटरले तताइरहेको भवनभित्र पस्दा मलाई मानौं स्वर्गभित्र प्रवेश गरेझैं लाग्छ । असलम कोरिडोरमा हुभर लगाउँदै थियो र मुसुमुसु हाँस्दै मलाई सम्बोधन गर्छ ।

“दादा गुड मर्निङ …” ।
मैले उसलाई, “गुड मर्निङ… आज तिमीलाई ठीकै छ-” भने ।
उसले जवाफ दियो, “आज म एक्लै छु दादा, क्लिनर सुपरभाइजर र अर्की महिला क्लिनर आइनन्… म एक्लैले तिनीहरुको काम पनि गर्नु छ”
मलाई मनमनै ठीक लागेन, “तिमी एक्लैले कसरी ३ घण्टाभित्र सफा गर्छौ यति ठूलो विल्डिंग ?”
“होइन, खाली बिन ब्यागहरु ब्द्ल गर्ने हो … म गर्छु” भन्दै सुस्तरी काममा लाग्यो ।

भर्खरै काममा लागेकोले म्यानेजरले लगाएका कामहरु ऊ खुरुखुरु गर्दै थियो । मलाई कता कता श्रम शोषण गरेको अनुभूति हुन्छ, तर, यस्तो विषयमा म उसको पक्ष लिएर क्लिनर म्यानेजरसँग बोल्ने मेरो अधिकार बाहिरको कुरा हो । केवल मैले उसलाई सहानुभूति दिँदै सहँदै काम गर्ने सुझाव मात्र दिन्छु । क्लिनर सुपरभाइजरचाँहि २०,२२ वर्षको ब्राजिलियन ठिटा युवक थियो र अर्की महिला क्लिनर पनि ब्राजिलियन युवती थिईन् । उनीहरु ठगठाग गर्ने र विचरा असलमलाई शुरुबाट नै पेलिरहेको थियो । असलम विवश थियो, मुश्किलले पाएको काम जे भन्छ त्यही खुरुखुरु गर्दै थियो । कलेजभित्रका प्रायसबै सफाइका कामदारहरु ब्राजिलियन नै थिए त्यसकारण जति पेले पनि कसैको विरुद्ध केही बोल्ने थिएन । केही कम्प्लेन गरे नौकरीबाट निकाली दिन्छ कि भन्ने पीर असलमलाई थियो । उसको मबाहेक अरुलाई आफ्नो दुखेसो पोख्ने व्यक्ति नै थिएन ।

एकपटक चौतर्फी आँखा लगाउँछु र ट्वाइलेटतिर लाग्छु, फर्केर आएपछि म आफ्नो सिस्टम खोल्छु, सीसीटीभी क्यामेरा चेक गर्छु, इमेल चेक गरेपछि रिसेप्सनमा बसेको मात्र के थिएँ असलम आएर मलाई हाँस्दै, खुशी हुँदै फेरि भन्छ,
“दादा मलाई आज २ जनाको काम गरेबापत कम्पनीले २ घण्टाको पैसा थप दिन्छ भनेको छ”
“तिमीले २ जनाको काम जुन ६ घण्टाको हुन्छ… गर्छौ- र खाली २ घण्टा कामको पैसा ?” भनेँ ,
उसले हुभरको ता रबेर्दै भन्यो, “ओ दादा मलाई ठीकै छ…पैसा चाहिएको छ”
उसको आँखामा खुशी देखँ किनभने उसलाई जति बढी घण्टा काम गर्यो उति नै बढी पैसा पाउने थियो । क्लिनरहरुको साधरण काम गर्ने कन्ट्राक्ट विशेष लण्डनका स्कुल, कलेजहरुमा प्राय बिहान ३ घण्टाको ६ बजेदेखि ९ बजेसम्मको हुन्छ । भीसाको समय बितिरहेको छ । उसको डिजर्टेशन बुझाउने समय आइरहेको छ । उसले मलाई भन्छ, “दादा अब ८, १० महिनापछि फेरि भीसा थप्न सकिएन भने देश फर्केर जानुपर्छ, त्यसकारण जति सकिन्छ काम गर्ने हो” । तर, उसको मनको पीडा मैले बुझिरहेको छु । ९ महिनासम्म काम नपाएको मान्छे, मुश्किलले ३ घण्टाको काम पाइरहेको छ र ऊ अतासमा छ कसरी आफूले लगानी गरेका पैसा असुल गर्ने । शोषणको परोक्ष तरिका, म प्रष्ट बुझ्दै छु क्लिनर कम्पनीले कलेजलाई ठगिरहेको छ र क्लिनरहरुलाई शोषण गरिरहेको छ । ३ जनाको अनुबन्ध भएको पैसा कलेजले तिरीरहेको हुन्छ, तर, ३ जनामध्ये एकजना छुट्टीमा बसेको छ भने त्यो एकजनाको काम २ जना मिलेर गर्ने आदेश दिने गरेको देखेको थिएँ । तर, आज २ जना अनुपस्थिति हुँदा प्राप्त पैसाको केही पैसा दिएर विचरा असलमलाई दलिरहेको छ, तर पनि असलम २ घण्टाको पैसा बढी पाउँदा प्रफुल्लित देख्छु । यसैले भन्छन् समुन्द्रमा ठूलो माछाले सानो माछालाई निलेझै बलियाले कमजोरलाई कुनै न कुनै हिसाबमा शोषण गरिरहेकै हुन्छ ।

मैले देखिरहेको छु विगत २ वर्षभित्र यसकलेजमा कामगर्ने क्लिनरहरु र उनीहरुका दैनिकी । असलम जस्ता दर्जनौ कामबाट निकालिए र कतिले काम छोडेर गए । शायद कम्पनीको व्यवस्थापनपक्ष कमजोर भएकोले हो कि जस्तो लाग्छ । नयाँ आउने अथवा मन नपर्नेलाई सुपरभाइजरले जहाँ बढी काम हुन्छ सधैं त्यहाँ कज्याउँछ । असलमले केही कम्प्लेन नगरी एक महिना जति काम ग-यो । उसको मिहेनेत र इमान्दारिताले साथ दियो । काम गर्ने कुरामा कलेजका स्टाफलगायत म्यानेजरले पनि मनपराउन थाल्ो । यसैबेला दिनमा काम गर्ने क्लिनर, भिक्टरले अर्को ठाउँमा राम्रो काम पायो । असलमको लागि यो अवसर राम्रो थियो यदि बिहान ६ बजेबाट बेलुकि ५ बजेसम्मको काम पाए उसको लागि राम्रो पैसा आउँथ्यो । मलाई सुस्तरी असलम भन्छ, “दादा मलाई दिनको लागि काम म्यानेजरसँग भनेर मद्दत गरिदिनोस् न”
“हुन्छ, असलम यदि मैले भनेर हुन्छ भने म भनिदिउँला” भनेर आश्वसान दिएँ । कता कता मलाई किन हो कुन्नी, असलममाथि दया पलाइरहेको थियो । त्यसपछि सधैं दिनमा एकपटक सोध्ने गर्थ्यो, मलाई कामको बारेमा म्यानेजरलाई भन्नकालागि । एकहप्तापछि म्यानेजर साइट भिजिटमा कलेज आएका थिए । मैले असलमको लागि सिफारिश गरेँ, म्यानेजरले पनि हुन्छ म यो काम असलमलाई नै दिन्छु भनेका थिए । मैले यो कुरा असलमलाई भने ऊ साह्रै खुशी हुँदै मलाई भन्यो, “दादा मेरो अंगमा आज घामजून सबै उदाएको छ, तपाईंको यो गुण म कहिल्यै भुल्दिनँ” । मान्छे खुशी हुँदा व्यक्त गर्ने क्रममा अनुहारभरि खुशीका फूलहरु प्रष्फुटित हुँदा जस्तो सुकै मान्छे पनि सुन्दर देखिन्छ । असलमको अनुहार खुशीले अलोकित भइरहेको थियो ।
खुशी र पीडा जीवनको २ वटा पाटाहरु हुन् । मैले प्रत्येक दिन असलमको अनुभूतिहरु महशुस गर्ने थिएँ । फुर्सदको बेलामा ऊ आफ्नो जीवनबारे धेरै कुराहरु भन्ने गर्थ्यो । स्ट्राटफोर्डदेखि आधा घण्टा टाढा ऊ एउटा सानो कोठामा ३ जना अरु पाकिस्तानी केटाहरुसँग बसेको थियो । डेढ घण्टाको यात्रा तय गरेर बिहान ६ बज्नुअघि कलेज आउथ्यो । उसले काम नपाउँदा साँझबहान खानाको जोहो गर्न एकजना सिलेटिया बंगालीको रेस्टुरेन्टमा मद्दत गर्दोरहेछ । तर, उसलाई साँझिबहानको खानाबाहेक पैसा नदिएको उसको गुनासो आफ्नो ठाउँमा थियो । बंगलादेशी टाका सातआठलाख खर्च गरेर पढ्न आएको असलमको अब केही महिना मात्र भीसा बाँकी थियो र अर्कोतर्फ बेलायत सरकारले विदेशी विधार्थीहरुका लागि नियम कडा बनाउँदै आएकोले असलम एक प्रकारले हतासिएको थियो ।

दिनको सफाइकर्मी अर्को राम्रो नोकरी पाएर गएपछि असलमलाई दिनको काम गर्नलाई म्यानेजरले भने र ऊ खुशी हुँदै काम गर्दै थियो । तर, त्यतिबेला क्लिनर सुपरभाइजर खलनायक बनेर सामने आयो । उसले असलमलाई होइन, मलाई दिनको कामगर्न दिनुपर्छ भनेर म्यानेजरसँग अड्डी लिएको रहेछ । असलमले जब यो कुरा थाहा पायो, ऊ फेरि निराश हुनथाल्यो । क्लिनर सुपरभाइजरले असलमको कुनै न कुनै कामको खोट निकालेर कामबाट निकाल्नलाई खेदो गर्नथाल्यो । मलाई यो कुराले बिझ्यो । किनभने केही दिन अघि मात्र म्यानेजरले दिनको काम असलमलाई नै दिने कुरा गरेका थिए, तर, सुपरभाइजरको कारणले गर्दा म्यानेजरले बोली फेर्न थालेका थियो । म्यानेजरले अब अन्तरवार्ता लिनुपर्छ, त्यसपछि एकजनालाई छनौट गरेर मात्र दिनको काम दिनेछु भन्न थालेका थिए ।

दिनको काम पाउने होडबाजीमा क्लिनर सुपरभाइजरले असलमलाई निकाल्ने खेदो गर्न थाल्यो । बिहानदेखि मरिमरि काम गरिरहेको असलमलाई ससानो कुरामा खोट लगाउँदै आफूभन्दा माथिको कन्ट्राक्ट सुपरभाइजरलाई पर्तुगिज भाषामा सधै केही न केही दोष दिने गर्दथ्यो । केही दिनसम्म खुशी भएको असलल यतिबेला उसको जिउमा घाम थिएन । ऊ सधै डराइरहेको महशुस मैले गर्थेँ । यो अन्तर्राष्ट्रिय शहरमा ससाना कामका लागि पनि जात, छालाको रग हावी भइरहेको मलाई पनि प्रतीत हुनथाल्यो । मैले सोचिरहेको थिएँ कुनै सम्बन्धबिना गतिलो काम पाउन गाह्रो हुने यी अघिल्ला पंक्तिका कामदारहरु यसरी नै पिल्सिरहेका छन् । यो पीडा व्यक्त गर्ने कसलाई-
असलमले मलाई भन्यो, “तीनघण्टाको काम मुश्किलले पाएको थिएँ.. अब यो दिनको कामको लोभले गर्दा यो कामबाट पनि हात धुनु पर्छ होला… बित्थैमा दिनको कामको लोभ गरें…”
“फिकर नगर म भनिदिउँला नि म्यानेजरलाई” भनेर ढाड्स दिएँ ।

“दादा ! लण्डन शहरको फराकिलो अकाशमुनि आफैलाई नाङ्गो भएको महशुस हुँदैछ, बंगलादेशमा म्यानेजर काम गरेर १५, २० जनालाई कज्याएको थिएँ …. यहाँ मलाई एउटा फुच्चेले हकार्दै काम लगाउँछन्” भनेर दुखेसो पोख्यो ।

“यो समय समयको कुरा हो… यहाँ यस्तै छन् सबैको कथा-व्यथा” मैले शान्त हुँदै हाँस्दै भनँे ।
तर, मलाई उसको नोकरीभित्रको पीडाबोध मनमनै महशुस भइरहेको थियो ।