बीपीपथमा देउवाको यात्रा

बीपीपथमा देउवाको यात्रा


Indra Baral
:: इन्द्रबहादुर बराल

नेपाली कांग्रेसको १३औँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ । भिन्न परिस्थिति र परिवेशमा सम्पन्न भएकाले महाधिवेशनबारे सर्वत्र चासो र चिन्ता पनि निकै देखियो । पहिलो कुरा, निवर्तमान नेतृत्वले पार्टीको विधानबमोजिम निर्णायक ढङ्गले महाधिवेशन गर्न नसक्दा वा गर्ने इच्छा नराख्दा झन्डै पार्टीको वैधानिक अस्तित्व नै सङ्कटमा परेको अवस्थामा विशेष संवैधानिक व्यवस्थाका कारण मात्रै नेपाली काङ्ग्ेरसले आफ्नो पार्टीको वैधानिकता बचाउन सफल भएको हो ।

अत्यन्तै सङ्कटपूर्ण घडीमा सम्पन्न १३औँ महाधिवेशनले नेपाली कांग्रेसको एउटा ऐतिहासिक परम्परालाई तोड्दै नयाँ युगमा प्रवेश गरेको छ । पार्टीको स्थापनाकालदेखि हालसम्म (आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराईबाहेक) नै नेतृत्व कोइराला परिवारमा नै अविछिन्न रह्यो । पार्टीका संस्थापक नेता जननायक बीपी कोइरालाको मन र मस्तिष्कबाट स्थापित पार्टीमा कोइरालाबिनाको कांग्रेस कल्पनासम्म हुन नसक्ने एकथरी विचारलाई थाती राखेर यसपटक नेता देउवाको अपराजित यात्रामा कहीँ कतै अवरोध सिर्जना हुन पाएन । यसरी अन्तत: १३औँ महाधिवेशनमार्फत् सङ्घर्षशील नेता देउवाले नेपाली कांग्रेसको परम्परागत विरासतबाट पार्टीलाई बाहिर ल्याउन सफल हुनुभयो ।

नेपाली समाजलाई आर्थिक–सामाजिक रूपान्तरण पूर्ण पार्टी आफैँ रूपान्तरित हुन जरुरी थियो र त्यो आवश्यकतालाई पार्टी प्रतिनिधिहरू (महाधिवेशन प्रतिनिधिहरू)ले त्यसरी नै बुझेकाले पार्टी नेतृत्व जनताको हातमा आइपुगेको छ । हुन त पार्टी सभापतिका अर्का प्रत्याशी रामचन्द्र पौडेल पनि साधारण परिवारबाट उठेर आउनुभएकाले जसले जितेको भए पनि नेपाली कांग्रेसजनमा दुवैमा लड्डु बन्ने अवस्था हुँदाहुँदै पनि तत्कालीन कथित संस्थापनबाट वंशपरम्पराको उत्तराधिकारीको घोषणाले उहाँको भूमिका परम्परागत रूपमा मात्रै सीमित रहने सम्भावना थियो । नेता रामचन्द्र पौडेलले आफूलाई पार्टीभित्रको विचारक वा चिन्तक जेसुकै भन्न रुचाए पनि उहाँको विचारले महाधिवेशन प्रतिनिधिको मन जित्न सकेन परिणामत: नेता देउवासँग पराजित हुन पुग्नुभयो । बीपीपुत्र डा. शशांक कोइरालालाई टिममा लिएर पनि रामचन्द्र पौडेलले कांग्रेसको १३औँ महाधिवेशनरूपी सागर पार लाउन सक्नुभएन । जे होस्, धैर्यतापूर्वक रहन सके १४औँ महाधिवेशनमा सभापति बन्न सक्नुहोला, अग्रिम शुभकामना छ ।
Deuwa NC Flag4
नेता देउवाको अपराजित यात्राको मुख्य–मुख्य कारण के–के थिए भन्नेतर्फ दृष्टि लगाउँदा यसपटकको अधिवेशनमा विगतका भन्दा केही फरक र रोचक दृश्यहरू देखिए । यो अधिवेशन केवल परम्परागत र कर्मकाण्डीय मात्रै नभई परिवर्तनलाई संस्थागत गर्ने दिशामा अत्यन्तै सफल रह्यो । समाज परिवर्तन आफैँमा त्यति सजिलो विषय होइन । मानिसको मन र मस्तिष्कलाई परिवर्तन नगरुञ्जेल समाजले चाहेको सकारात्मक परिवर्तन सम्भव छैन । त्यसैले सबैभन्दा पहिले पार्टी आफैँ परिवर्तनको संवाहक बन्नुपर्छ । त्यसका लागि पार्टीमा पहिलो सर्त थियो समावेशिता बनाउनुपर्ने । यही दिशामा नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्नुभयो । यही समावेशिताको सन्देश सम्पूर्ण पार्टी प्रतिनिधिहरूमा दिन सक्नु नै जितको प्रमुख कारणमध्ये एक बन्न पुग्यो । कर्णाली, दलित, महिला, मधेसी, जनजाति, मुस्लिमलगायत सम्पूर्ण क्षेत्र र वर्गको सहभागिताले नै पार्टी समावेशी हुन्छ भन्ने विश्वास नेता देउवामा थियो । त्यसैले धेरै पहिलेदेखि अर्थात् ११औँ महाधिवेशनबाटै औपचारिक रूपमै समावेशी सहभागिताको वकालत गर्दै आउनु नै सफलताको आधार बन्यो । यद्यपि यति मात्रै पर्याप्त थिएन । यसका अतिरिक्त नेता देउवाको विद्यार्थी राजनीतिदेखि पार्टी र सरकारको नेतृत्व गर्दासम्म गरिएका जनपक्षीय कामहरू पनि त्यत्तिकै महत्त्वपूर्ण छन् ।

उदाहरणका लागि भूमिसुधार कार्यक्रमअन्तर्गत जग्गा हुन्छ जोत्नेको । बीपीका विचारबाट प्रभावित नेता देउवाले जोताहा किसान (मोही)लाई जमिनको स्वामित्व समान कायम गरेर प्रशंसायोग्य काम गर्नुभएको थियो । दोस्रो, नेपाली जनता ०७ सालमै रैतीबाट नागरिक बने–बनायौँ भने पनि राप्तीपश्चिमका पाँच जिल्लामा देखिएको कमैया, कमलरी प्रथा कायम थियो । नेता देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा उक्त कमैया, कमलरी मुक्त गराएर पुनस्र्थापनाको कार्य प्रारम्भ गर्नुभएको थियो । यो अधिवेशनमा विजयी हुनुको पछाडि यो पनि एउटा कारण बनेको छ । प्रजातन्त्रको पुनस्र्थापना भए पनि समाजमा जातीय एवम् लैङ्गिक उत्पीडनको खोजीमा समाज सङ्घर्षरत थियो । त्यसैलाई आत्मसात् गरी नेता देउवाले जातीय विभेद र छुवाछुतजस्तो घृणित व्यवहारलाई गर्न राष्ट्रिय दलित आयोग नै बनाएर न्यायको खोजी गरिदिने आधिकारिक निकाय खडा गरिदिनुभएको थियो । आफू उपेक्षित र अपमानित महसुस भएमा हारगुहार गर्ने वा न्यायको ढोका ढक्ढकाउने बाटो बनाइदिनु पनि सामान्य कुरा थिएन ।

साथै महिलामाथिको हिंसा हाम्रोजस्तो समाजमा विद्यमान छँदै छ । त्यसैले महिलाको अधिकारमाथि कहीँ कतै अङ्कुश नलागोस् र लागिहाले पनि त्यसलाई पन्छाउनका निम्ति राष्ट्रिय महिला आयोगमार्फत काम गर्न सजिलो होस् भनी नेता देउवाले राष्ट्रिय महिला आयोग गठन गर्नुभएको थियो । त्यस्तै, मानवअधिकारका रक्षार्थ राष्ट्रिय मानवअधिकार गठनदेखि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकारसम्पन्न गर्नेजस्ता काम विगतमा नेता देउवाले नै गर्नुभएको थियो । यस्ता अन्य धेरै काम गरेको आधारमा प्रबुद्ध महाधिवेशन प्रतिनिधिहरूले नेता देउवालाई परम्परागत आधार र शैली छाडी कामको उचित मूल्याङ्कनको आधारमा आगामी चार वर्षका लागि नेतृत्व सुम्पेका हुन् ।

महाधिवेशनका दौरानमा आफ्ना धारणा व्यक्त गर्ने क्रममा नेता देउवाले कार्यकर्तालाई आश्वस्त पार्दै भन्नुभएको थियो, ‘मैले पार्टीमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्तो गरी पार्टी त्याग्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गर्न दिने छैन र कुनै पनि सदस्यको साधारण सदस्य खोसिने छैन ।’ यस भनाइप्रति कांग्रेसजन विश्वस्त हुन गई देउवाको अपराजित यात्राले सार्थकता पायो । त्यसैले आमजनताको भावनाअनुसार काम गरेको खण्डमा पार्टी वा सरकारको नेतृत्व कुनै दुरुहको कुरा होइन भन्ने उपरोक्त कथनबाट प्रस्ट हुन्छ । नेता देउवाले जे–जति काम गरेर पार्टीमा विश्वास आर्जन गर्नुभयो, ती सबै काम जननायक बीपी कोइरालाकै मार्गदर्शनबाट प्रेरित भएर गरिएको हो भन्नेमा शङ्का गर्नैपर्दैन । तसर्थ, आगामी चार वर्षका लागि स्वयम् बीपीपुत्र डा. शशांक कोइरालाको सहयोग, समर्थन र साथले नि:सन्देह नेपाली कांग्रेस नै यस्तो पार्टी बन्ने छ जसले नेपाली समाजलाई सकारात्मक छलाङ मार्न बेरोकटोक बाटो खुल्ला रहनेछ । नेता देउवाको यस अपराजित यात्राले पार्टीभित्र पन्पनाएको अन्याय, विभेद, काखापाखा तथा परिवारवादको गन्धलाई मेटाउँदै गुट–उपगुटको रोगबाट मुक्त रहन सकोस्, यही शुभकामना ।