केपीको चीन भ्रमण : अर्को कोणबाट हेर्दा

केपीको चीन भ्रमण : अर्को कोणबाट हेर्दा


Deva Prakash Tripathi 2

:: देवप्रकाश त्रिपाठी ::

सार्वभौमसत्तासम्पन्न कुनै पनि एउटा मुलुक आफ्ना विषयमा निर्णय लिन स्वतन्त्र हुन्छ भनेर आजको विश्वमा बेलिविस्तार लगाइरहनुपर्दैन । र, सार्वभौमिकता जतिसुकै सुदृढ र बलवान् भए पनि विश्वका हरेक मुलुकबीच अन्तरनिर्भरता स्वाभाविक ढङ्गले स्थापित हुँदै गएको छ, यो पनि सचेत समुदायको जानकारीकै विषय हो । आजको संसारमा मुलुकहरूको राष्ट्रियता स्वाभिमान र सार्वभौमिकता सम्बन्धित देशको सम्पन्नतामा निर्भर रहने महसुस हामी सबैले गरिरहेका छौँ । अमेरिका, क्यानडा, यूके, अस्ट्रेलिया, डेनमार्क, जर्मनी र नर्वेजस्ता मुलुकको पीआर, ग्रिनकार्ड या नागरिकता पाउँदा भोजभतेर गर्ने हामी नेपाली राष्ट्रियता र सार्वभौमिकताको मुद्दामा अति संवेदनशील छौँ । दक्षिणतर्फ ढल्किएको भूगोलका हामी खासगरी दक्षिणसँग झुक्नुलाई राष्ट्रिय स्वाभिमानमा भएको खतिका रूपमा बुझ्दछौँ र छिमेकी मित्रराष्ट्र भारतसँगको राजनीतिक एवम् आर्थिक व्यवहारमा निकै सतर्क रहने गर्दछौँ ।
नेपालमा प्रधानमन्त्री बन्नेहरू भारतको शुभेच्छा र साथ–सहयोगको अपेक्षा गर्दछन्, प्रधानमन्त्री बनेको कति मिनेटमा भारतीय प्रधानमन्त्रीबाट बधाई तथा भारत भ्रमणको निम्ता प्राप्त भयो या भएन भन्ने कुराको पनि यहाँ राजनीतिक अर्थ लगाइन्छ । तर, तिनै प्रधानमन्त्री जब भारतको भ्रमणमा जाने कुरा आउँछ, अनि जाग्न थाल्छ नेपाली राष्ट्रियता । प्रधानमन्त्रीले भ्रमणमा जानुअघि विज्ञ र जानकारहरूको सुझाव लिँदा उनीहरूमध्ये अधिकांशबाट भारतसमक्ष कुनै हालतमा झुक्न नहुने सल्लाह प्राप्त हुन्छ र भ्रमणमा निस्कनुअघि प्रधानमन्त्री सार्वजनिक घोषणा गर्ने गर्छन्, ‘भारतसमक्ष झुकिँदैन र झुकेर कुनै प्रकारको सन्धि–सम्झौता गरिँदैन ।’

केपी ओलीले पनि गत महिना भारत भ्रमणमा जानुअघि त्यसै गरे । भारतसमक्ष झुकेको अर्थ लाग्ला कि भन्नेप्रति सचेत ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साक्षात्कारका क्रममा मोदीले केही झुकेर हात जोड्दा पनि ओली ठाडो को ठाडै रहेर नमस्कार गरे । मोदीले झुकेर नमस्कार गर्दा ओलीले सम्भवत: आफूसमक्ष भारत झुकेको र आफू ठाडो को ठाडै रहेर स्वाभिमान जोगाएको अर्थ लगाए होलान् । ओलीले भारतसँग कुनै सन्धि–सम्झौता गरेनन् र नेपाल–भारत सम्बन्धमा उत्पन्न असहजतालाई सहज र सरल तुल्याउन पनि उनी असफल नै रहे । शिर झुकाएर प्रणाम गर्ने मोदीलाई नमस्कार गर्दा टाउको नझुकाउनु ओलीको अशिष्टता थियो या स्वाभिमान, त्यसको समीक्षा हुँदै गर्ला, यहाँ ओलीको चीन भ्रमणले नेपाल–भारत सम्बन्धमा पार्न सक्ने प्रभावबारे मात्र सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

भारतसँग नेपालको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विशिष्ट प्रकारको छ । विशिष्ट भएकैले यो सम्बन्धलाई विशेष भन्ने गरिएको छ । तर, ‘राष्ट्रवादी’ प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँदिल्लीमा दोहोर्‍याई–तेहेर्‍याई ‘भारत र चीनसँग हाम्रो समदूरीको सम्बन्ध छ’ भन्ने घोषणा गर्नुभयो । राजनीतिक या कानुनी रूपमा मात्र सम्बन्धलाई औपचारिकतावश भन्नुपर्दा ‘समदूरीको सम्बन्ध’ नै भन्न सकिन्छ । तर, त्यति बोल्नका निम्ति नयाँदिल्ली पुगेकै समय रोज्नुपर्छ भन्नेचाहिँ थिएन ।

नेपालको चीन र भारतसँग समदूरीको सम्बन्ध वास्तवमा कहिल्यै थिएन र अहिले पनि छैन, भविष्यमा हिमालको छेकवार हट्यो या नेपाली भूगोल उत्तरतर्फ कोल्टियो भने त्यसबेला कुन पक्षसँग कति निकट या विकटको सम्बन्ध रहन्छ त्यसैअनुरूप शब्दावलीहरूको प्रयोग पनि हुनसक्ला । वर्तमानको वास्तविकताचाहिँ नेपालको भारतसँग विशेष र चीनसँग मित्रवत् सम्बन्ध नै हो । ‘मोदीलाई झुकाएर’ दिल्ली भ्रमणमा जानुअघि र पछि केपी ओलीको ‘बडी ल्याङ्ग्वेज’ जुन प्रकारको थियो चीन जाने क्रममा र चीन पुगिसकेपछि बेग्लै देखियो । चीन जानुअघि नेपाली ‘विज्ञ’हरूले केपी ओलीलाई चीनसमक्ष नझुक्न सुझाव दिएनन् मानौँ, नेपालका प्रधानमन्त्रीले चीनसमक्षचाहिँ झुक्न मिल्छ या झुक्नुपर्छ । केपी ओलीले पनि चीन जानुअघि राष्ट्रिय स्वाभिमान राख्ने र आफू कुनै हालतमा नझुक्ने भनी सार्वजनिक घोषणा गरेनन् । यसप्रकार दुई छिमेकीप्रति पृथक् व्यवहार प्रकट हुँदा केपी ओली भारत र चीनसँग समदूरीको सम्बन्ध बनाउन चाहँदैनन्, बरु चीनसँग विशेष सम्बन्ध स्थापित गर्न चाहन्छन् भन्ने बुझिन्छ ।

भारतपट्टिको मात्र नाका सक्रिय हुँदा कुनै पनि समयमा कुनै पनि निहुँमा त्यो ‘बार्गेनिङ टुल्स’ बन्न सक्दो रहेछ र सम्भाव्य ‘बार्गेनिङ’बाट जोगिन विकल्पहरूको खोजी गर्नु स्वाभाविक छ । तर, चीनतर्फको नाका जतिसुकै सक्रिय भए पनि भारततर्फको नाका सक्रिय भएबराबरको उपयोगी हुन असम्भव छ । दूरी र मूल्य दुवै दृष्टिले चीनतर्फको व्यापार तथा पारवहन सुविधाले भारतर्फबाट प्राप्त सुविधालाई उछिन्न सक्दैन । भारतसँगको व्यापार तथा पारवहन सुविधा विस्तार गर्न सक्दा त्यसले हाम्रो दैनिक जीवन र राष्ट्रिय समृद्धिमा नै सकारात्मक प्रभाव पार्न सक्छ । चीनतर्फको व्यापार र पारवहन सुविधाले अप्ठ्यारो परेका बेला सास फेर्नेसम्मको अवस्था बनाइदिन सक्छ । हो, भविष्यमा चीनको ‘मेनल्यान्ड’सँग द्रुतगतिका रेल्वेले नेपाललाई जोडेछ भने त्यसले भारतबराबरको सुविधा पनि दिनसक्ला, तर तत्काल र आगामी कैयन वर्ष त्यस्तो सम्भावना देखिएको छैन ।

मधेसमा भएको आन्दोलन र त्यस क्रममा ‘आयोजित’ नाकबन्दी नेपालमा असोज ३ गते जारी गरिएको संविधानविरुद्ध काठमाडौंमा पैदा हुनसक्ने नकारात्मक प्रतिक्रिया र प्रतिरोधबाट बच्नका लागि रचिएको एउटा नाटक थिएन भने त्यो के थियो भन्ने प्रश्न मधेस आन्दोलनको दारुणिक र कारुणिक विसर्जनसँगै उठेको छ । काठमाडौंमा तेलको लाइनमा बस्ने अवस्था मधेसी नेताहरूले नबनाइदिएका भए यहाँ ‘संविधान’विरुद्धको बेग्लै आन्दोलन सम्भव थियो र काठमाडौंमा हुने आन्दोलनको प्रभाव देशव्यापी हुने हाम्रो यहाँको ऐतिहासिक परम्परा छ । रहस्यका यी पोकाहरू समयाक्रममा खुल्दै जाने अपेक्षा गर्न सकिन्छ, तर चीनसँग केपी ओलीले गरेका सहमति र सम्झौताबाट अर्को छिमेकी मित्रराष्ट्र प्रसन्न भएको विश्वास गर्न सकिँदैन । ओलीले चीनसँग गरेका सम्झौताको प्रतिक्रिया कसरी प्रकट हुने हो त्यसका निम्ति धेरै लामो समय प्रतीक्षा गर्नुपर्ने देखिन्न । भारतसँगको कुनै पनि प्रकारका सन्धि–सम्झौता गर्दा चीन सशङ्कित हुनु नपर्ने र चीनसँग नेपालले सम्झौता गर्दा भारत झस्किन नपर्ने विश्वासपूर्ण वातावरण बनाउन नेपाली कूटनीति चुकेको छ । केपी ओलीले चीनसँग गरेका सम्झौताबाट नेपाललाई तत्कालै कुनै प्रकारको लाभ पुग्ने विश्वास गर्न सकिँदैन, यसले भारतसँगको मनमुटाव र अविश्वासको खाडल भने थप गहिर्‍याउने सम्भावना देखिँदै छ ।
[email protected]