संसदीय दलको नेतामा पनि देउवा सुनिश्चित

संसदीय दलको नेतामा पनि देउवा सुनिश्चित


sherbahadur-deuwa.
नेपाली काङ्ग्रेस संसदीय दलको नेता सर्वसम्मत ढङ्गले चयन गर्ने प्रयास भएको छ । त्यसनिम्ति रामचन्द्र पौडेललाई मनाउन कोइराला पक्षकै केही नेताहरू लागिपरेका छन् । पौडेलनिकटका सूत्रहरूले जनाएअनुसार रामचन्द्र पौडेल आफैँ दलको नेता बन्न चाहनुहुन्छ र आफूलाई सभापति शेरबहादुर देउवाले पनि छोडिदिनुपर्छ भन्ने उहाँको चाहना छ । आफूलाई संसदीय दलको नेता बनाइँदा पार्टीको एकता बलियो हुने पौडेलको बुझाइ छ । तर, काङ्ग्रेसको आन्तरिक स्थिति पौडेलले सोचेभन्दा भिन्न रहेको छ । पार्टीका अधिकांश नेता तथा सांसदहरूले सभापति देउवालाई दलको नेता बन्न दबाब दिइरहेका छन् । देउवाले व्यक्तिगत रूपमा चाहेर पनि नेता पद पौडेल या अरू कसैलाई छोड्न सक्ने अवस्थामा हुनुहुन्न, सहमति नभए चुनाव लडेर भए पनि दलको नेता बन्न उहाँमाथि दबाब परेको छ । त्यसैले यसबीचमा सहमति नबने पनि चैत २२ गते हुने भनिएको संसदीय दलको नेताको चुनावमा देउवा उम्मेदवार बन्नुहुने निश्चित भएको छ ।

नेपाली कांग्रेसका २०६ मध्ये देउवाको पक्षमा कम्तीमा ११० देखि बढीमा १३४ सांसदको समर्थन रहने देखिएको छ । जब कि कुल १०४ सांसदको समर्थन दलको नेता बन्न पर्याप्त हुनेछ । उता रामचन्द्र पौडेल पनि आफ्नो समर्थनमा १०६ सांसद रहेको दाबी गर्नुहुन्छ । खासगरी देउवाप्रति ज्यादा पूर्वाग्रह राख्नेहरूले उहाँलाई बहुमत रहेको देखाउँदै चुनावमा भिड्न उकासिरहेका छन् । तर, पौडेलका हितैषीहरूले भने पौडेललाई संसदीय दलको नेतामा देउवालाई समर्थन गरी ‘पावर सेयरिङ’मा जान सुझाव दिएको बुझिएको छ । पार्टीको मनोनीत महामन्त्री र उपसभापतिमध्ये एक लिने र केही मनोनीत सदस्यहरू तथा दलको उपनेता लिएर देउवासँग सहमति बनाउन सकिने र त्यसका लागि रामचन्द्र पौडेलले सभापति देउवासँग संवाद गर्नुपर्ने उनीहरूको भनाइ छ । तर, पार्टीभित्र भागबन्डाको राजनीति अन्त्य भइसकेको सन्दर्भमा निर्वाचन परिणामलाई उपेक्षा गरी पुन: भागबन्डाको राजनीति ब्युँताउन नहुने राय पनि पार्टीभित्र बलियो देखिएको छ । पटक–पटक प्रधानमन्त्री भइसकेका नेता देउवा वर्षौंदेखि केन्द्रीय सदस्यको हैसियतमा रहेर बस्न हुँदा अरूले किन नहुने भन्ने प्रश्न पनि कतिपयले उठाएका छन् ।

कोइराला पक्षभित्र रामचन्द्र पौडेललाई दलको उपनेता र उपप्रधानमन्त्री बनाउने गरी सहमति बनाउन सकिन्छ भन्नेहरू पनि छन् । तर, यसो भन्नुलाई पौडेलले आफ्नो अपमानको रूपमा लिने गर्नुभएको छ । त्यस्तै संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा नगर्न पनि पौडेललाई उहाँका शुभचिन्तकहरूले सुझाव दिइरहेका छन् । निर्वाचन हुने अवस्थामा सभापति देउवासँग डा. रामशरण महतलाई प्रतिस्पर्धा गराउनुपर्छ भन्ने मत पनि कोइराला पक्षमा यथेष्ट देखिएको छ । त्यस्तै सहमति बनेको अवस्थामा डा. महतलाई दलको उपनेता बनाइनुपर्छ भन्ने सोचसमेत उक्त पक्षमा रहेको पाइएको छ । उता प्रकाशमान सिंह पनि सहमति बनेको अवस्थामा उपसभापति या संसदीय दलको उपनेता आफैँ बन्नुपर्छ भन्ने पक्षमा रहनुभएको बताइन्छ ।

विचार र मत जे–जसरी प्रकट भइरहेका भए पनि कांग्रेस संसदीय दलको नेता पदमा सभापति शेरबहादुर देउवाको चयन निश्चित मानिएको छ । त्यसका निम्ति थप दुई साता मात्र प्रतीक्षा गर्नुपर्ने हुन्छ । देउवा संसदीय दलको नेता बन्नुभएपछि नेपाली कांग्रेस जनताको दैनिक जीवन सहज बनाउनका लागि सरकार परिवर्तन निम्ति सक्रिय हुने विश्वास गरिएको छ ।