युद्धका खाटाहरू – बबिता बस्नेत

युद्धका खाटाहरू – बबिता बस्नेत


‘अहिले साउनको महिना छ र म हरियो चुरामा छु, अरूबेला हातभरि टम्म राता चुरा र सिन्दुर-पोते लगाएर हिँड्छु, मेरो श्रीमान् बेपत्ता भएको सात वर्ष भयो, आज आउनुहोला, भोलि आउनुहोला भनेर दिन गन्दागन्दै यत्तिका वर्ष बिते । मानिसहरू भन्छन्- मेरो श्रीमान्लाई लानेबित्तिकै माओवादीले त्यतिबेला मारेका हुन्, तर लास नदेखुन्जेल कसरी विश्वास गर्ने – पाँच मिनेटका लागि छलफल गर्नुछ भनेर उनीहरूले घरबाट लगेका थिए । आँसुबिनाका चाडबाड नआएको धेरै वर्ष भयो, राति कुकुर भुक्दा पनि उहाँ आउनुभयो कि जस्तो लाग्छ र उठेर हेर्छु, भीडभाडमा कतै देखिनुहुन्छ कि भनेर मानिसहरूका अनुहार नियाल्छु । सिन्दुर-पोते लगाउने बेलामा सधंै झस्किन्छु, के मेरो सिन्दुर बाँकी छ – भनेर आफैंलाई प्रश्न गर्छु, काजकिरिया गरौँ आँखाले नदेखुन्जेल मनले मान्दैन, नगरौँ यदि उहाँको हत्या गरिएकै हो भने कतै आत्मा पो भड्किरहेको छ कि जस्तो लाग्छ । मनभरि अनेक तर्कना खेल्छन्, मजाले ननिदाएको धेरै वर्ष भयो ।’ बरि्दयाकी लक्ष्मी खड्काले आफ्नो कुरा यसरी सुनाउँदा सहभागी धेरैको मन पीडाले भरियो । ०६० साल फागुन ३० गते उनका श्रीमान्लाई माओवादीले ५ मिनेटका लागि भनेर लगेका थिए तर अहिलेसम्म फरि्कएका छैनन् । उनी अहिले पनि श्रीमान् फरि्कएलान् कि भनेर आश गरिरहेकै छिन्, वर्षौंदेखि न त उनको आँगनमा चाडबाड आयो न त आङमा घाम नै लाग्न सक्यो । ‘यत्ति भन्न पाउँदा पनि मन हलुका हुन्छ,’ आँसु पुछ्दै उनले यी शब्दहरू भनिरहँदा दक्षिण अफि्रकामा गठित सत्य निरूपण तथा मेलमिलाप आयोगले एउटी वृद्धाको छोराको हत्या गर्ने हत्यारालाई माफी दिने तयारी गरेर उनलाई समेत बोलाएर निष्कर्ष सुनाउँदा ती आमाले दिएको जवाफ र त्यसपछिको प्रतिक्रियाको सम्झना गरायो । सत्य निरूपण तथा मेलमिलाप आयोगसमक्ष ती आमाले भनेकी थिइन्- मेरो छोराको हत्यारालाई माफी दिने या सजाय दिने भन्ने कुरा निक्र्योल गर्ने तिमीहरू को हौ – मेरो छोरालाई रेटी-रेटी मार्ने अपराधीलाई के गर्ने भनेर निर्णय गर्ने अधिकार मेरो मनलाई मात्रै छ । म र मेरो मनलाई नसोधी माफी दिने अधिकार तिमीहरूलाई छैन । पछि मिडियासँगको प्रतिक्रियामा उनले भनेकी थिइन्- आयोगका अधिकारीहरूलाई त्यति भनेपछि बल्ल मेरो मनले अलिकति हलुका महसुस गर्‍यो । हामीकहाँ ती तमाम आमाहरू जसले आफ्ना हराएका या मारिएका सन्तान त प्राप्त गरेनन् नै, दक्षिण अफि्रकाकी ती आमाले झैं अधिकारीहरूसमक्ष आफ्ना कुरा राखेर मन हलुका बनाउन पनि पाएनन् । बरि्दयाकी लक्ष्मी खड्काजस्तै त्यस्ता धेरै श्रीमती वर्षौंदेखि अहिले पनि माओवादी द्वन्द्वका बेला हराएका आफ्ना श्रीमान् पर्खिएर बसिरहेका छन । र, उनीहरूभित्र गुम्सिएको पीडा व्यक्त गर्ने उचित ठाउँ पनि छैन ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं. १३२५ ले महिला, शान्ति र सुरक्षाको बारेमा धेरै कुराहरू उल्लेख गरेको छ । सशस्त्र द्वन्द्वका बेला महिलामाथि हुन सक्ने विभिन्न प्रकारका घटना, तिनमा अपनाइनुपर्ने सावधानीदेखि लिएर द्वन्द्वका समयमा खटाइने सुरक्षाकर्मीहरूलाई दिइनुपर्ने लैङ्गिक संवेदनशीलताका तालिमहरू हुँदै युद्धपछिको शान्तिप्रक्रियाका हरेक चरणमा महिलाको सहभागिता, राहत र सुरक्षा, क्षतिपूरि्तजस्ता कुराहरूमा सबै सदस्य राष्ट्रहरूलाई यो प्रस्तावले निर्देशन दिएको छ । सुरक्षापरिषद्को यो प्रस्ताव र सशस्त्र द्वन्द्वमा हुने यौनहिंसाविरुद्धको प्रस्ताव नं. १८२० को कार्यान्वयनका लागि नेपाल सरकारले राष्ट्रिय कार्ययोजना निर्माण गरिरहेको छ । शान्ति तथा पुनरि्नर्माण मन्त्रालयद्वारा तयार गर्न लागिएको यस कार्ययोजनाका बारेमा विभिन्न जिल्लामा छलफल गर्ने कार्य भइरहेको छ । यसै कार्ययोजनाको खाकामा छलफल तथा सुझाबहरू सङ्कलनको सिलसिलामा मन अशान्त बनाउने धेरै कुरा सुनियो । द्वन्द्वपीडितहरूका आ-आफ्नै अनेक कथा-व्यथाहरू छन्, कसैले हातखुट्टा गुमाएका छन्, कसैले सन्तान त कसैले पति । शरीरका अङ्ग र परिवारका सदस्यहरू गुमाउनेका अगाडि सम्पत्ति गुमाउनेहरू, घरजग्गा कब्जा गरिएकाहरूका कुरा साधारणझैं लाग्दारहेछन् । क्षतिपूरि्तका लागि जिल्ला प्रशासन धाउँदाधाउँदै वर्षौं बिताएकाहरू पनि छन्, आफ्नै छिमेकी र आफन्तहरू शत्रु बनेर यो त द्वन्द्वपीडित होइन है भनिदिँदा कतिले पाउनुपर्ने राहत पनि पाउन सकेका छैनन् । यौनहिंसामा परेकाहरूको पीडा त छुट्टै छ, न त उनीहरू आफ्नो कुरा भन्न सक्छन् न त उनीहरूलाई लक्षित गरेर कुनै क्षतिपूरि्तकै व्यवस्था गरिएको छ ।
बरि्दयाकै हेमराज थारू आजभन्दा ६ वर्षअघिसम्म मजाले दुई हात हल्लाएर कुरा गर्थे, बिहान-बेलुका मजाले हातले भात खान्थे, हातले गर्ने काम जे पनि गर्थे, ०६२ सालमा व्रि्रोही पक्षले उनलाई कुटपिट गरेर मरणासन्न अवस्थामा छोड्दा उनको दाहिने हातको माथिल्लो पाखुरामा गहिरो चोट लाग्यो । काठमाडौं ल्याएर वीर अस्पतालमा उपचार गर्दागर्दै एक दिन डाक्टरले भने, ‘माइण्ड नगर्नुस् है, तपाईंको हात काट्नुपर्छ ।’ रातारात अपाङ्ग बन्न लाग्दा उनी आत्तिए, रोए र अन्त्यमा स्वीकृति दिए । भन्छन्, ‘के गर्नु, मर्नुभन्दा बौलाउनु निको ठानेँ ।’ अहिले उनी स्थानीय शान्ति समितिका सदस्य छन् । यता बाँकेमा द्वन्द्वपीडित महिलाहरूको सङ्गठन शायद अन्य जिल्लाको भन्दा द्वन्द्वपीडित महिलाहरूको हकमा पुरानो सङ्गठन हो । एकमाया, शोभा बीसीलगायतका महिलाले त्यसलाई नमुना संस्था बनाउने कोसिस गरिरहेका छन् । नेपाली सेनाकी सिपाहीकी श्रीमती शोभा भन्छिन्- मेरो श्रीमान् तिजको दरखाने दिन अर्घाखाँची घटनामा पर्नुभएको थियो, म जस्तै थुप्रै सिपाहीका स्वास्नी त्यतिबेला एकल भए । तर, अहिले हामी द्वन्द्वमा परेर एकल भएका सबै महिलालाई समेट्ने कोसिस गरिरहेका छौँ । एकल माओवादी महिला पनि अहिले हामीकहाँ छन्, हाम्रा श्रीमान्हरूले राष्ट्रका नाममा जीवन दिएझैं उनीहरूका श्रीमान्हरूले पार्टीका नाममा जीवन आहुति दिएका थिए तर अहिले उनीहरूको दु:खसुख हेर्नलाई उनीहरूसँग आफूबाहेक अरू कोही पनि छैन । हामी चाहन्छौँ, हाम्रा सन्तानले फेरि युद्ध देख्नु नपरोस् ।