दलीय राजनीति :: बुद्धिचालमा ‘कुबुद्धि’ हावी

दलीय राजनीति :: बुद्धिचालमा ‘कुबुद्धि’ हावी


:: श्रीविक्रम भण्डारी

chess 1

नेपाल बुद्धिचाल सङ्घको महाधिवेशन नजिकिँदै गर्दा बुद्धिचालमा ‘कुबुद्धि’ को खेल प्रारम्भ भएको छ । हिजोसम्म नङ र मासुजस्तै देखिने बुद्धिचालका पदाधिकारी यतिबेला पानी बाराबारको स्थितिमा पुगेका छन । अहिल्यै एकले अर्कोलाई आरोप–प्रत्यारोप गरिनहाले पनि भित्रभित्रै एकले अर्कालाई सिध्याउने खेलमा भने लागेका छन् । कुबुद्धिको चपेटामा परेका बुद्धिचालका पदाधिकारी गुट–उपगुट खडा गरेर एकले अर्कालाई सिध्याउने षड्यन्त्रमा लागेका छन् । यसरी बुद्धिचालमा कुबुद्धि हाबी हुँदा हिजोको मित्रता दाउमा लागेको छ । सहमति र सद्भाव खलबलिएको अवस्था छ । साँचो रूपमा भन्नुपर्दा बुद्धिचालको सङ्गठित संरचनामा अहिले निकै कमजोर बन्न पुगेको छ । बुद्धिचाललाई यसरी कमजोर बनाउने कार्य खुद बुद्धिचालका पदाधिकारीले गरिरहेका छन् भन्दा अतिसयोक्ति नहोला । बुद्धिचालका पदाधिकारी भएर पनि उनीहरूले व्यक्तिगत र दलीय स्वार्थ पूरा गर्न गरेको प्रदर्शन हेर्दा …..गर्नेलाई भन्दा देख्नेलाई लाज भएको छ ।

नेपाल बुद्धिचाल सङ्घको महाधिवेशन यही चैत १३ गते हेटौँडामा हुँदै छ । जसको तयारी अहिले अन्तिम चरणमा पुगिसकेको छ । तर, विडम्बना यसपालिको महाधिवेशन विगतको जस्तो आत्मीय छैन । अर्थात् बुद्धिचाल सङ्घमा पनि दलीय स्वार्थ र राजनीति भित्रिएको छ । पहिले सबै दलका व्यक्ति बुद्धिचालका पदाधिकारी भन्न रुचाउने भए पनि अहिलेको अवस्था त्यस्तो छैन । उनीहरू आफूलाई बुद्धिचालको भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको रूपमा बुद्धिचालको पदाधिकारी बन्ने दाउ र होडमा लागेका छन् । जसले गर्दा बुद्धिचाल एउटा खेल भएर पनि राजनीतिक हस्तक्षेपबाट अछुतो रहन सकेको छैन । त्यहाँ पनि राजनीतिले प्रवेश पाएको छ । अहिले बुद्धिचाल पनि राजनीतिक गन्धले विषाक्त भई बिटुलिन पुगेको छ । जसलाई खेलकुदको विकासका लागि राम्रो सङ्केत मान्न सकिँदैन । र पनि, खेल र खेलकुदको विकासभन्दा खेलकुदमा राजनीति गर्न चाहनेहरूका लागि भने यो एउटा सुनौलो अवसर बनेको छ । जुन भविष्यमा खेलकुदको नियति र परम्परा बन्यो भने अन्यथा मान्नुपर्ने छैन । किनकि यो सतीले सरापेको देश हो, यहाँ राम्रो गर्नेको कहिल्यै भलो हुँदैन र राम्रो भएको कसैले देख्न पनि चाहँदैन ।

अहिले बुद्धिचाल सङ्घमा ‘आँखा’ लागेको छ भन्दा अतिसयोक्ति नहोला । तर, त्यो आँखा बाहिरको मान्छेले नभई भित्रकै मान्छेले लगाएका छन् । जसलाई शक्तिको पुजारी भन्दा फरक नपर्ला । सङ्घमा भाँडभैलो मच्चाउन बाँदरे भूमिका देखिएका ती तत्त्वहरू शक्तिको दुरुपयोग गर्न साम, दाम, डण्ड, भेद चारै नीतिको अवलम्बन गरेर लागेका छन् । तर, जानेर–बुझेर पनि बुझ पचाइरहेका बुद्धिचालका पदाधिकारीहरूको लाचारी देख्दा उनीहरू यसैका हकदार थिए भन्दा अन्यथा नहोला । अन्यथा मिलेर चिटिक्क परेर बनेको आफ्नो घरमा कसैले आगो लगाउन खोज्दा बुद्धिचालका पदाधिकारीले सङ्गठित रूपमा प्रतिवाद गर्नुको साटो उल्टै उनीहरूलाई पेट्रोलियम पदार्थको व्यवस्था गरेर किन बुद्धिचाललाई खरानी बनाउन उद्यत् देखिएका हुन् त्यो अहिले बुझिनसक्नु भएको छ । आलुको बोरामा एउटा कुहिएको आलु पर्‍यो भने त्यसले सबै आलुलाई कुहाउँछ भनेझैँ अहिले बुद्धिचालमा भित्रिएको अवसरवादी र शक्तिरूपी गुटले बुद्धिचाललाई नसिध्याउलाचाहिँ भन्न सकिँदैन । तसर्थ बुद्धिचाललाई जोगाउन खुद बुद्धिचालका पदाधिकारीले नै विशेष भूमिका निभाउनुपर्नेछ । अन्यथा रामराम भन्नु नै उचित हुनेछ ।

अहिले सरकार एमालेको छ, खेलकुद मन्त्रालय एमालेको छ, नेपाल ओलम्पिक कमिटी एमालेको छ, राष्ट्रिय खेलकुद परिषद् एमालेको छ । साँचो रूपमा भन्नुपर्दा अहिले नेपाली खेलकुद एमालेमय बनेको छ । यस्तो अवस्था पनि एमालेले खेलकुदका सबै निकाय हाँक्नुपर्छ भनेर खेलकुदको कुनै ऐन–नियममा लेखेको छैन । र पनि, खेलकुदमा विवाद ल्याउन र अस्थिरता ल्याउन एमालेको एउटा गुट खेलकुदमा सदा सक्रिय भएर लागेको छ । जसले अहिले आफ्नो निशाना बुद्धिचाललाई पनि बनाएको छ । साङ्गठनिक रूपमा कुशलताका साथ कार्य गर्दै बुद्धिचालको विकास र विस्तारमा चार चाँद लगाइरहेको परिप्रेक्षमा दलगत राजनीतिको बिउ रोपेर बुद्धिचालको हुर्मत लिने कार्य गरिन थालेको छ । यसको मोहरा बनेका छन् नेपाल बुद्धिचाल सङ्घका वर्तमान सचिव हेराकाजी महर्जन । महर्जनको मनसाय के छ सबैलाई थाहा छ, तर एमालेका कार्यकर्ता उनलाई बलिको बोका बनाउन पूरा शक्तिको परिचालन गरिरहेका छन् । महर्जनलाई गुटको राजनीति गर्न उस्काइरहेका छन् । यस्तो अवस्थामा असमन्जस्यमा परेका महर्जनले खुलेर केही बोल्न सकेका छैनन् । राजनीतिक आस्थाका कारण एमाले महर्जनको पहिलो रोजाइ बनेको छ भने बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशीलाई पनि दोस्रो रोजाइमा राख्ने पक्षमा छैनन् उनी । तसर्थ दलीय राजनीतिको प्रभावमा बुद्धिचाल सङ्घ नराम्रोसँग गाँजिन पुगेको छ ।

साँचो रूपमा भन्नुपर्दा अहिले बुद्धिचाल सङ्घ एमाले र काङ्ग्रेस गरी दुई राजनीतिक गुटमा विभाजित हुन पुगेको छ । एमाले गुटको नेतृत्व सचिव हेराकाजी महर्जनले गरेका छन् भने काङ्ग्रेसको नेतृत्व राजेशहरिले गरिरहेका छन् । यही राजनीतिक गुटबन्दीका कारण बुद्धिचालको महाधिवेशन पनि चर्चित बन्न पुगेको छ । एमालेका कार्यकर्ता राजेशहरि जोशीको विकल्प राजेशहरि जोशीसँगै मागिरहेका छन् भने जोशी आफ्नो विकल्पभन्दा पनि अझ बिनाविवाद अर्को कार्यकालका लागि एमालेका साथीसँग सहयोग मागिरहेका छन् । यसका लागि जोशीले हेराकाजीको साथलाई अपरिहार्य मानेका छन् । जोशीले यसका लागि हेराकाजीलाई खुलेर लाग्नसमेत अनुरोध गरेका छन् । तर, अहिलेको स्थिति मित्रताको भन्दा पनि राजनीतिको बनेको छ । हेराकाजीको गुटले जोशीलाई विस्थापित गर्न कम्मर कसिसकेको अवस्था छ । तर, अहिलेसम्म जोशीको विकल्पमा कसलाई उतार्ने त्यसबारे भने सार्वजनिक गरेको छैन । प्राप्त जानकारीअनुसार जोशीको विकल्पको रूपमा बुद्धिचाल सङ्घकै महासचिव एकलाल श्रेष्ठलाई उतार्न लागेको थाहा भएको छ । तर, बुद्धिचाल सङ्घमा एकलाल श्रेष्ठभन्दा हेराकाजी महर्जनको लोकप्रियता र पकड धेरै भएकाले महाधिवेशनमा जोशीको विरुद्धमा महर्जन नै मैदानमा नउत्रिएलान् भन्न सकिँदैन ।

जोशी र महर्जन बुद्धिचाल सङ्घका एक रथका दुई पाङ्ग्रा हुन् । यदि बुद्धिचालमा भोलि राजनीति र गुट भित्रिएर यी दुई पाङ्ग्रामध्ये एउटै पनि अलग भए बुद्धिचाल खेल सङ्घ थला पर्ने प्राय: निश्चित छ । यस्तो अवस्थामा फुटेर बुद्धिचालको विकासको सपना देख्नुभन्दा जुटेर समस्याको समाधान गरे सबैको कल्याण हुने देखिन्छ । अन्यथा दलीय राजनीतिमा बुद्धिचाल फस्यो भने त्यसको अन्त्य पनि भयङ्कर हुने कुरामा दुईमत छैन । तसर्थ मिलेर बुद्धिचालको विकास गरेका हस्तीहरूले राजनीतिक स्वार्थसिद्ध गर्न बुद्धिचाललाई बलिको बोका कदापि बनाउनुहँुदैन । दुवैले मिलेर समस्याको समाधान गर्नुपर्छ । बुद्धिचाललाई विवादरहित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा विकास र विस्तार गर्नुपर्छ । यसैमा बुद्धिचाल र बुद्धिचालका खेलाडी र पदाधिकारीको कल्याण हुनेछ । अन्यथा बुद्धिचालमा राजनीति त अवश्य घुस्नेछ, त्यसबाहेक बुद्धिचालको अर्को सङ्घ खडा भए त्यसलाई अन्यथा मान्नुपर्ने छैन । तसर्थ यतिबेला सीमित राजनीतिक स्वार्थ र व्यक्तिस्वार्थभन्दा माथि उठेर बुद्धिचालको विकास र विस्तारमा लाग्नु नै बुद्धिचाल सङ्घका पदाधिकारीका लागि उत्तम हुनेछ ।