महिला पत्रकार कि पत्रकार महिला ?

महिला पत्रकार कि पत्रकार महिला ?


babita basnet 15
:: बबिता बस्नेत ::

कामको सिलसिलामा विभिन्न जिल्ला जाँदा र राजधानीमै पनि महिला र सञ्चारसँग सम्बन्धित कार्यक्रममा कतिपय पत्रकार साथीहरूले बोल्ने क्रममा ‘महिला पत्रकार’ उच्चारण गरिसकेपछि ‘सरी † पत्रकार महिला भन्नुपर्छ क्यारे’ भन्ने गरेको सुनिएको छ । महिला पत्रकारभन्दा जिन्दगीमा ठूलै गल्ती गरेझैँ गरेर ‘सरी’ नै भन्नुपर्ने कारणचाहिँ कतिपय महिला पत्रकारले ‘हामीलाई महिला पत्रकार होइन, पत्रकार महिला भन्नुस्’ भनेर गर्ने प्रतिकार रहेछ । हामी महिला पत्रकार होइनौँ, पत्रकार महिला हौँ भन्ने सन्देश दिनका लागि कतिपय साथीले पटक–पटक यस कुरालाई दोहोर्‍याउने गरेको र कसैले बोलिहाले भने त्यसको प्रतिकारै गर्ने गरेको पनि पाइएको छ । पत्रकार महिला नै भन्नुपर्ने कारणचाहिँ के रहेछ त भनेर बुझ्दा कतिले ‘महिला शब्दलाई अगाडि ल्याउँदा महिलाकै रूपमा बढी हेरिने, पत्रकार महिला भन्दाचाहिँ व्यावसायिक छवि अगाडि आउने तथा पत्रकारका रूपमा मानिसहरूले हेरून् र त्यहीअनुरूपको व्यवहार गरून्’ भन्ने चाहना रहेको पाइयो, जुन चाहना गलत होइन ।

तर, पहिला महिला भएरै व्यावसायिक पत्रकारका रूपमा चिनिनुमा त्यस्तो खराबी के छ र ? सन् १६५८ मा डेनमार्ककी पत्रकार सोफी मोर्सिङ समाचारपत्रको सम्पादक भएदेखि सन् १७८२ मा फिनल्यान्डकी पत्रकार अलग्रेन, १८औँ शताब्दीमै युरोपमा तहल्का मच्चाएका फ्रान्स, नर्वे, स्वीडेनका महिला पत्रकारहरूदेखि लिएर अमेरिका, बेलायत, एसिया, दक्षिण एसिया जहाँका महिला पत्रकारले पनि आफूलाई ‘महिला पत्रकार’ भनेकोमा आपत्ति गरेको पाइएको छैन । महिला पत्रकारका रूपमा गर्व गर्नेहरूको सङ्ख्या भने ठूलो छ । संस्थागत रूपमै हेर्दा पनि जर्नलिस्ट विमेन एसोसिएसन भनेर विश्वमा कुनै पनि संस्था दर्ता भएका छैनन् । विमेन जर्नलिस्ट एसोसिएसन भनेरै दर्ता भएका छन् । एसोसिएसन फर विमेन जर्नलिस्टदेखि इन्टरनेसनल विमेन मिडिया फाउन्डेसनसम्ममा अगाडि महिला नै जोडिएका छन्, त्यसपछि मात्रै पत्रकार या पत्रकारिता ।

कसैले पत्रकार महिला भनेर आफूलाई चिनाउन खोज्नु गलत होइन, तर महिला पत्रकार भन्नै हुन्न, महिला पत्रकार भन्नु भनेको महिला पत्रकारको पहिचानलाई स्वीकार नगर्नु हो भन्ने अर्थ लगाउनुचाहिँ गलत हो । महिला खेलाडी, महिला लेखक, साहित्यकार जुनसुकै पेसामा भए पनि अगाडि महिला नभनी उहाँ खेलाडी हुनुहुन्छ, पत्रकार या साहित्यकार हुनुहुन्छ भनेर परिचय दिँदा अगाडि महिला भनिरहनुपरेन । प्राय: सामूहिक रूपमा कुरा गर्दा भने व्यावसायिक महिलालाई अगाडि महिला भनेर जोड्ने गरिएको छ । पुरुषलाई चाहिँ पुरुष पत्रकार या पुरुष प्रहरी भनिरहनु नपर्ने, महिलालाई चाहिँ किन भन्नुपर्ने ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ, उठ्छ । पुरुषहरू सदियौँदेखि विभिन्न पेसामा रहेका र महिलाको प्रवेशपछि भएको तथा सङ्ख्यात्मक रूपमा कम रहेको अवस्थामा महिलालाई ‘महिला’ भनेर केन्द्रित गरिएको हो जस्तो लाग्छ । हेपाइसँग जसको कुनै सम्बन्ध छैन ।

हो, महिला पत्रकारका आफ्नै प्रकारका चुनौती छन् । हाम्रोजस्तो पितृसत्तात्मक समाजमा समाजले कोरिदिएका परिधिलाई तोड्न त्यति सहज पनि छैन । जसले तोडेर बाहिर निस्किएका छन्, ती साहसी मानिएका छन् । राम्रो काम गर्नेको सम्मान अघिपछि जहिले भए पनि हुन्छ नै, चाहे त्यो महिला होस् या पुरुष । महिला पत्रकारसँग सम्बन्धित अनेक समस्या र चुनौतीमध्ये अहिले देखिएको सबैभन्दा ठूलो चुनौती पेसामा टिक्नु, टिकाउनु हो । कतिपय स्थानमा बढ्नुको सट्टा महिला पत्रकारको सङ्ख्या घट्दो छ । सुदूरपश्चिमको धनगढीमा दुई वर्ष अघिसम्म महिला पत्रकारको सङ्ख्या राम्रै थियो, तर दिन प्रतिदिन यो सङ्ख्या घट्दो छ । पत्रिकामा त पहिलादेखि नै कम थियो नै, रेडियोमा पनि महिलाको सहभागिता घट्दै गएको छ । नयाँ गरिएका विज्ञापनहरूमा महिलाका निवेदन नै पर्न छोडेका छन् । किन यस्तो भइरहेको छ ? भन्ने कुरा स्थानीय पत्रकार र सञ्चार व्यवसायीहरूले नै पत्ता लगाउन सकेका छैनन् । तलबकै कारणले हो भनौँ भने मिडियामा भन्दा थोरै पैसा दिने निजी स्कुलहरूमा महिलाहरू बढिरहेकै छन् । कतिपय बैंकहरूले पनि राम्रो तलब दिएका छैनन्, तर महिलाको सङ्ख्या त्यहाँ घटेको छैन । मिडियामा महिलालाई मात्र होइन पुरुषलाई पनि त्यत्तिकै समस्या र चुनौती छन् । आर्थिक रूपले मिडिया सम्पन्न नहुँदा यसको असर दुवैलाई परेको छ । नियमित तलब, अवकाशपछि पेन्सन हुँदो हो त महिला यो पेसामा केही वर्ष काम गरेर पलायन हुने क्रम शायद यति धेरै हुने थिएन ।

समयको पाबन्दी नहुनुलाई महिला पत्रकारको चुनौतीका रूपमा लिइएको छ, कारण घरायसी काममा पुरुषको सहयोग छैन । घर पनि हेर्नुपर्छ, व्यावसायिक पनि बन्नुपर्छ, बच्चा हुर्काउनुपर्छ भन्ने हो । तर, अस्पतालहरूमा हेर्‍यो भने नर्सहरू रातभरि ड्युटी गरिरहेकै छन । के बिहान, के दिउँसो या राति नर्सहरूको आलोपालो ड्युटी हुने गर्छ र ती आफ्नो पेसामा टिकिरहेकै छन् । पत्रकारिता पेसामा महिलाको निरन्तरता कसरी गराउने ? सङ्ख्यात्मक तथा गुणात्मक वृद्धि कसरी गराउने ? सम्बन्धित सबैको चुनौतीको विषय बनेको छ । अन्य कतिपय क्षेत्रमा झैँ सहभागिता बढाइदिउँ न त भनेर सङ्ख्या बढाउँदैमा हुने पेसा पनि होइन यो । पत्रकारिता गर्नेहरूले अरूसँग भन्दा आफैँसँग बढी प्रतिस्पर्धा गर्नुपर्छ । आफूलाई पटक–पटक प्रमाणित गरिरहनुपर्छ ।

व्यावसायिक रूपमा सफल र घर धान्न सक्ने महिलालाई अहिले पनि ‘उहाँ त महिला भएर के गर्नु पुरुषले जस्तो काम गरिरहनुभएको छ’ भन्ने गरिन्छ । उहाँका छोरी त छोराजस्ता भनेको त धेरै सुनिन्छ । महिला पत्रकारले मात्र होइन कुनै पनि पेसा र व्यवसायका महिलाले आफू महिला भएरै महिलाजस्तो छु भनेर व्यक्त पनि गर्न सक्नुपर्छ । कसैले तपार्इं त महिला भएर के गर्नु पुरुषजस्तै बहादुर हुनुहुन्छ भन्दा मुस्कुराउँदै ‘थ्याङ्क्यु’ भन्न छोडर ‘होइन म त महिला भएरै महिलाजस्तो छु’ भन्न सक्नुपर्छ । आफूले अपनाएको पेसा या व्यवसायसँगै आफ्नो ‘फेमिनिटी’मा गर्व गर्न अहिलेको पुस्ताले पनि सकेन भने कहिले गर्ने ? व्यावसायिक महिलाले आफू व्यावसायिक व्यक्ति त हुँ नै, यसअघि म महिला हुँ र महिला हुनुमा मलाई कुनै हनिताबोध छैन भन्ने महसुस गर्दै यसप्रकारको सन्देश प्रवाह गर्न सक्यो भने महिलालाई हेर्ने दृष्टिकोण बदल्न सहयोग पुग्छ ।