बास्केटबलमा नेपालको ‘चुरीफुरी’ समाप्त !

बास्केटबलमा नेपालको ‘चुरीफुरी’ समाप्त !


24 Sport pic 1

– श्रीविक्रम भण्डारी

‘हाम्रो लक्ष्य उपाधि जित्ने हो, ढुक्क हुनुहोस्, हामी उपाधि जित्छौँ, महिला बास्केटबललाई ऐतिहासिक सफलता दिलाउँछौँ,’ नेपाल बास्केटबल सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पाले पत्रकार सम्मेलनमा गर्जेको गर्जन हो यो । अध्यक्ष लामाको गर्जन सुन्दा महिलाले सनसनीपूर्ण प्रदर्शन गर्ने कुरामा सायदै कसैलाई दुईमत थियो । भयो पनि त्यस्तै, प्रथम दक्षिण एसियाली बास्केटबलमा अन्तिम स्थान हासिल गरेको बंगलादेशलाई नेपालले दोब्बरभन्दा बढीको अन्तरले पराजित गरेर लामाको कथनलाई सही साबित गर्‍यो । त्यसपछि माल्दिभ्स र भुटानलाई पनि नेपालले सहजै धुलो चटाउँदा साँच्चिकै महिला खेलाडीले केही गर्छन् जस्तो भान भएको थियो । तर, विडम्बना, श्रीलंकाविरुद्धको अन्तिम खेलमा सर्मनाक पराजय भोगेपछि नेपालको चुरीफुरी समाप्त भएको थियो । नेपालको पहिलो उपाधि जित्ने सपना चकनाचुर भएको थियो । अध्यक्ष लामाको भविष्यवाणी पनि गोलखाडी पुगेको थियो । फाइनलमा महिला खेलाडीले अपेक्षाकृत कमजोर र निरस प्रदर्शन गर्दै पहिलो उपाधि जित्ने सुवर्ण अवसर गुमाएका थिए ।

कमजोर टिम बंगलादेश, माल्दिभ्स र भुटानमाथि नेपालले विजय हासिल गर्दा प्रशिक्षक विकास शाहीको दम्भ हेर्न पनि लायक थियो । शाहीले सञ्चारमाध्यमलाई दिएको अभिव्यक्ति सुन्दा नेपाल च्याम्पियन बन्नेमा कसैलाई शङ्का थिएन । यसर्थमा कि शाहीले नेपालले जित्ने कुरामा लालमोहर लगाइदिएका थिए । यति मात्रै कहाँ हो र, शाहीले महिला बास्केटबल टोलीलाई दक्षिण एसियाकै उत्कृष्ट टोलीको संज्ञा दिएका थिए । तर, फाइनलमा श्रीलंकासँग लज्जाजनक पराजय भोगेपछि शाहीले आफ्नो सुरुवाल फुस्केको चाल पाएका थिए । जब श्रीलंका चारै क्वार्टरमा नेपालमाथि हावी भयो तब शाही भिजेको मुसो बनेका थिए । त्यसपछिको शाहीको प्रतिक्रिया थियो, ‘खेलाडी दबाबमा परे, खराब प्रदर्शन गरे, रक्षात्मक र आक्रमण निकै कमजोर भयो र हामी पराजित भयौँ ।’ उनले सारा दोष खेलाडीमाथि थुपारेर आफू पानीमाथि ओभानो बने । आफूलाई दूधले नुहाउँदै खेलाडीकै कारण उपाधि जित्नबाट चुकेको भन्न पछि परेनन् । तर अन्य टोलीसँगको खेलमा जितको खुद जस लिने प्रशिक्षक शाहीले अन्तिम खेलमा भोगेको पराजयलाई किन आत्मसात् गरेनन् त्योचाहिँ अहिले चासो र चर्चाको विषय बनेको छ ।

हालै सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा विवादका कारण बास्केटबललाई हटाइएको थियो । विवादका कारण बास्केटबल सागबाट हटेपछि अध्यक्ष लामाले अफशोच प्रकट गर्दै करोडौँ लगानी डुबेको पर्दाफाससमेत गरेका थिए । स्मरण रहोस्, बजेटका कारण सम्भावित पदक जित्ने खेल १२औँ सागमा वैदेशिक प्रशिक्षणको सुविधाबाट वञ्चित भएको अवस्थामा बास्केटबलका खेलाडी भाग्यमानी साबित भएका थिए । उनीहरूले थाइल्यान्डको बैंककमा डेढ महिना प्रशिक्षण गर्ने अवसर पाएका थिए । यही प्रशिक्षणको मापदण्डको आधारमा अध्यक्ष लामाले १२औँ सागमा बास्केटबलले उत्कृष्ट प्रदर्शन गर्ने र पदक जित्ने घोषणासमेत गरेका थिए । सीमित वैदेशिक प्रशिक्षणकै भरमा बास्केटबललाई १२औँ सागमा पदकको दाबेदार मान्ने लामाले अहिले प्रथम दक्षिण एसियाली महिला च्याम्पियनसिपमा महिला खेलाडीले गरेको प्रदर्शनलाई कसरी आत्मसात् गरेका छन् र चित्त बुझाएका छन् त्यो आफैँमा प्रश्नचिह्नको घेरामा परेको छ ।

प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा दक्षिण एसियाली मुलुकका पाँचवटा राष्ट्र नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागी जनाएका थिए । नामले दक्षिण एसियाली मुलुक भए पनि श्रीलंकाबाहेक अन्य टिमहरू नेपालका विद्यालय र कलेजस्तरीय टिमभन्दा पनि कमजोर टिम थिए भन्दा अतिसयोक्ति नहोला । उनीहरूको प्रदर्शन हेर्दा भर्खरै बास्केटबल खेल्न सिकेका टिमजस्ता देखिन्थे । अन्यथा यो च्याम्पियनसिपमा श्रीलंकाले तेस्रो स्थान हासिल गरेको माल्दिभ्सलाई १०५–३९, चौथो स्थान प्राप्त गर्ने भुटानलाई ११२–३१ र पुछारमा रहेको बंगलादेशलाई ११५–११ ले यति ठूलो अन्तरले कदापि पराजित गर्ने थिएन । त्यस्तै उपाधिको प्रबल दाबेदार नेपाली टिमलाई समेत श्रीलंकाले ७५–४९ को ठूलो अन्तरले पराजित गरेको थियो । यस्तो अवस्थामा यति लामो समयसम्म वैदेशिक प्रशिक्षण रहेको नेपाली महिला टिमको प्रदर्शन आफैँमा प्रश्नचिह्नको घेरामा परेको छ । यसर्थमा कि नेपाली टिमले अन्य तीन टिमलाई पराजित गरे पनि सयको आँकडा भने पार गर्न सकेको थिएन । यस्तो अवस्थामा नेपाललाई उसैको घरेलु मैदानमा धुलो चटाउने श्रीलंकाको प्रदर्शन र स्तरीयता कस्तो थियो त्यसबाट नेपालले पाठ सिक्नु अनिवार्य भएको छ । बोलेर जित्नु भन्नु र खेलेर जित्नुमा आकाश–पातालको फरक छ । यसमा अहिले अध्यक्ष लामा र प्रशिक्षक शाही चुकेका छन् । उनीहरूको कथन एकादेशको कथामा परिणत भएको छ ।

साँचो रूपमा भन्नुपर्दा यो बास्केटबल च्याम्पियनसिप नामले दक्षिण एसियाली च्याम्पियनसिप भए पनि स्तरीयताको हिसाबले कुनै पनि कोणबाट त्यस्तो मान्न सकिने थिएन । यसर्थमा त्यहाँ अन्तर्राष्ट्रिय रौनकता, झलक र स्तरीयता थिएन । खालि नामले मात्रै दक्षिण एसियाली थियो । कुनै पनि कार्यले आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ । यो च्याम्पियनसिपले आफ्नो औचित्य कति हदसम्म पुष्टि गर्न सक्यो त्यसको लेखाजोखाचाहिँ पक्कै हुनुपर्छ । राज्यले लाखौँ लगानी गरेको र आर्थिक दृष्टिकोणले पनि निकै खर्चिलो मानिएको यो च्याम्पियनसिप नेपालका लागि कति फलदायी बन्यो त्यसको पनि सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले हिसाब किताब राख्नुपर्छ । अन्यथा यस्तो रहर अन्य खेलकुदका सङ्घले पनि गर्न सक्छन् । जुन राखेपको विकास र विस्तारका लागि रोडा बन्नेछन् ।

तसर्थ राखेपले खेलको औकात र त्यसले खेलकुदको समग्र विकासका लागि पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभावलाई ध्यानमा राखेर आर्थिक सहयोग गर्नुपर्ने देखिन्छ । हालै सम्पन्न दक्षिण एसियाली बास्केटबल च्याम्पियनका लागि राखेपले २४ लाख सहयोग गरेको थियो । यहाँ प्रतियोगिताको सफलता र असफलताभन्दा वर्तमान परिप्रेक्ष्यमा नेपालमा बास्केटबल च्याम्पियनसिपको कत्तिको आवश्यकता थियो त्यसलाई सम्बन्धित निकायले आत्मसात् गर्नु आवश्यक भएको छ । हो, प्रतियोगिताको आयोजना गर्नु आफैँमा सकारात्मक कुरा हो । र पनि, प्रतियोगिता गर्नुको औचित्य र त्यसको पुष्टि गर्ने जिम्मेवारी जहिले पनि अहम् सवाल बन्छ । के यसमा नेपाल बास्केट सङ्घ खरो उत्रियो ? के बिनामौसममा विन बजाएर जोकर साबित भयो यसको जवाफ र राखेप र सम्बन्धित सङ्घले दिनुपर्छ ।
24 Sport pic  20 Lakh