खेल पनि ‘प्योर’ हुँदो रै’छ !

खेल पनि ‘प्योर’ हुँदो रै’छ !


basket

हालै सम्पन्न दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा गरिएको बास्केटबलको प्रचार आफँैमा अनौठो र आश्चर्यजनक थियो । बास्केटबलको भन्दा रुस्लानको प्रचार बढी गरिएको उक्त च्याम्पियनसिपमा रुस्लान पानी हो कि भोड्का त्यसको कहीँ खुलासा गरिएको थिएन । अझ आश्चर्यजनक कुरा त रुस्लानको प्रचारप्रसार गर्ने क्रममा बास्केटबललाई पनि रुस्लानकै प्रोडक्टको रूपमा प्रचारित गरिएको थियो, ‘रुस्लान १०० प्रतिशत प्योर बास्केटबल भनेर ।’

खेल शुद्ध र अशुद्ध कहिल्यै हुँदैन, खेल खेल नै हुन्छ । तर, बास्केटबल च्याम्पियनसिपमा बास्केटबललाई सतप्रतिशत शुद्धताको मोहर लगाइएको थियो, त्यसमा पनि रुस्लानको । यो कुरा जानीजानी गरिएको हो कि अञ्जानमा त्यो आफ्नो ठाउँमा भए पनि उक्त च्याम्पियनसिपमा बास्केटबलभन्दा रुस्लानलाई बढी महत्त्व दिनुको कारण भने बुझ्न सकिएको छैन । मुख्य प्रायोजक, सहप्रायोजकको छुट्टै स्थान हुन्छ । उनीहरूले विशेष स्थान पाउनुपर्छ, यसमा सायदै कसैको दुईमत होला । तर, च्याम्पियनसिपलाई नै छायामा पार्ने काम कसैले भूलवश पनि गर्दैन । महिला बास्केटबलमा चाहिँ यस्तो दृश्य देखियो, त्यहाँ दक्षिण एसियाली महिला बास्केटबलभन्दा पनि ‘रुस्लान’लाई बढी महत्त्व दिएको देखियो । जसले गर्दा उक्त च्याम्पियनसिपको आयोजक बास्केटबल सङ्घले नभई ‘रुस्लान’ भएको प्रस्ट रूपमा देखिन्थ्यो ।

मेन ब्यानरदेखि साधारण ब्यानरमा समेत बास्केटबललाई रुस्लान सतप्रतिशत प्योर खेलको रूपमा आयोजक बास्केटबल सङ्घले प्रस्तुत गरेपछि एक सञ्चारकर्मी भनेका थिए, ‘यस्तो पनि हुँदो रै’छ, बास्केटबल पनि प्योर ।’ ती सञ्चारकर्मीको कुरा काट्दै अर्का सञ्चारकर्मीले भने, ‘हुनु त नपर्ने हो, यसपटक गरिहाले अर्कोपटक सच्याउलान नि ।’ मुद्दा मजाकको नभई गम्भीर थियो । आखिर कसरी हुनसक्छ बास्केटबल प्योर ? के योभन्दा अघि बास्केटबल अशुद्ध थियो । यसपटक रुस्लानले प्रायोजन गरेकै भरमा बास्केटबल शुद्ध तथा पवित्र भएको हो त ? यो कुरा आमखेलप्रेमीलाई बास्केटबल सङ््घले बुझाउनुपर्नेछ । अन्यथा कुनै पनि खेल पवित्र वा अपवित्र हुँदैन । जानिराखे राम्रो । बास्केटबलका पदाधिकारीलाई चेतना भया ।