एउटा कठिन वर्ष

एउटा कठिन वर्ष


babita basnet 15

:: बबिता बस्नेत ::

०७२ मुलुकका लागि एउटा कठिन वर्षका रूपमा रह्यो । त्यसो त, कुन समय कसरी बित्यो भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन सक्छ । कसैका लागि जिन्दगीकै महत्त्वपूर्ण बनेको वर्ष कसैका लागि अत्यन्तै कष्टपूर्ण हुन सक्छ । समय र जीवन दुवै उस्तैउस्तै कुरा हुन् जसको मूल्याङ्कन मानिसले भोगेको परिस्थितिमा भर पर्छ । कसले कसरी बितायो त्यसैअनुसार हुन्छ । तर, ०७२ नेपालका लागि निकै सकसपूर्ण वर्षका रूपमा रह्यो । मूलत: वर्षको सुरुमै गएको भूकम्प र त्यसपछिको नाकाबन्दीको वरिपरि यो वर्ष घुम्यो भन्दा हुन्छ । भूकम्पले जनजीवन त्रसित त बनाएकै थियो, त्यसपछिका परकम्पभन्दा धेरै अप्ठ्याराहरू लिएर आएको नाकाबन्दीले थप कष्टकर बनायो । इन्धनलगायतका विभिन्न उपभोग्य तथा अन्य आधारभूत कुराहरूको अभावले पारेको असर भौतिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि त्यत्तिकै पर्‍यो, परिरहेको छ । नेपालको एउटा सिङ्गो पुस्ताले छिमेकीप्रतिको धारणामा परिवर्तन ल्यायो, जुन यसअघि यस रूपमा भएको थिएन । कूटनीतिमा हाम्रा पनि कमी–कमजोरी भए होलान्, तर निर्मम तरिकाले गरिएको नाकाबन्दीको असर नेपाली र नेपालवासी अन्य नागरिकको मानसपटलबाट हट्न निश्चय नै त्यति सहज छैन । भूकम्पको असर त झन् रहने नै भयो । पुनर्निर्माणदेखि आत्मसम्मानपूर्ण जीवनयापनसम्म धेरै कुरा गर्न बाँकी नै छन् । आठ हजारभन्दा बढी ज्यान गएकाको परिवार र घाइतेहरू तथा तिनका परिवारको अवस्था त दु:खद् अवस्थाबाट गुज्रियो नै, भूकम्पले अन्य धेरैलाई धेरै कुराको पाठ सिकाएको छ ।

नाकाबन्दी र भूकम्पले ल्याएका अप्ठ्याराहरूसँग जसरी सामना गरियो त्यो हामी सबै नेपालीको सबल पक्ष हो । हामीसँग दु:खहरूसँग लड्ने क्षमता कतिसम्म रहेछ भन्ने कुरा यो वर्ष अनुभव गर्न पाइयो । कहिलेकाहीँ आफूसँग के छ भन्ने कुरा थाहा हुँदैन, तर यस्ता घटनाले आफूसँग भएका राम्रा, सबल र सशक्त कुराहरूबारे जानकारी पनि दिँदारहेछन् । नत्र त प्राय: हामी आफूसँग के छैन ? भनेर मात्र हेर्ने गर्छौं । सबैभन्दा ठूलो कुरा त हामीसँग सहयोगी भावना रहेछ । अरूलाई दु:ख पर्दा आफैँलाई परेको महसुस गरी हातमा हात मिलाउने भावना र संवेदशीलता रहेछ । परेको बेला एक हुनु, एक–अर्कालाई सहयोग गर्नु, अर्काको दु:खलाई आफ्नै सम्झिनु हाम्रा मौलिक गुण रहेछन् । जुन कुरा हामीलाई यसअघि व्यक्तिगत रूपमा थाहा भए पनि सामूहिक रूपमा हामीसँग के छ ? भन्ने थाहा थिएन । आफ्ना छिमेकीकै बारेमा कुनै जानकारी नराखी दौडधुपपूर्ण जीवन बाँचिरहेका सहरवासीलाई आफ्ना छरछिमेक कति सहृदयी रहेछन् भन्ने कुरा पनि यी दुई घटनाले पुष्टि गर्ने मौका दिए । गाउँघरमा मात्रै चल्दै आएको ऐंचो–पैंचोले सहरमा पनि यो वर्ष स्थान पायो । भूकम्पले जमिन हल्लाएको थियो, नाकाबन्दीले मन नै हल्लाइदियो । हामी कुन स्थानमा रहेछौँ, देश कहाँ रहेछ, देश सबल नबनी आफू मात्र सबल हुनुको केही अर्थ रहेनछ लगायतका अनेक कुराको अनुभव पनि यो वर्षले गरायो ।

संविधान जारी भएलगत्तै अनेक समस्या आए पनि यसका उपलब्धि पनि ऐतिहासिक बन्न पुगेका छन् । संविधान जारी भएपछि यो देशले महिला राष्ट्रपति प्राप्त गर्‍यो, जुन यति चाँडै सम्भव होला भनेर सोचिएको थिएन । अमेरिकाजस्तो मुलुकमा बल्ल राष्ट्रपति अबचाहिँ महिला हुने परिस्थिति बनिरहेको छ । राष्ट्रप्रमुखका रूपमा महिला हुनु यो पुस्ताले देखेको, तर यति चाँडै पूरा होला भन्ने नठानिएको सपना हो, जुन यही वर्ष पूरा भयो । महिला सभामुख यो वर्षको अर्को उपलब्धि हो । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पनि यसै वर्ष सिफारिस भयो । समानताको दृष्टिकोणले हेर्दा ०७२ निकैनै उपलब्धिपूर्ण वर्ष हो । कुनै पनि उपलब्धिलाई कसरी जोगाएर राख्ने भन्नेचाहिँ सम्बन्धित व्यक्तिहरूमै भर पर्छ । सम्बन्धित व्यक्तिहरूले निर्णयकर्ताका रूपमा निर्वाह गरेको भूमिकाले आगामी पुस्तालाई समेत सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने हुँदा सोहीअनुरूपको भूमिकाको अपेक्षा गरिएको छ । कुनै पनि स्थानमा कोही पुग्नुमा सहभागितासँगै भूमिकाले बढी अर्थ र महत्त्व राख्छ । इतिहासले अहिले सुम्पिएको गौरवपूर्ण यो जिम्मेवारीलाई कसरी प्रभावकारी र अविष्मरणीय बनाउने भन्ने उत्तरदायित्व पनि उहाँहरूलाई त्यत्तिकै छ ।

अब ०७३ साल अनेक चुनौती र अवसर लिएर आउँदै छ । प्राकृतिक प्रकोप कति बेला हुन्छ भन्न नसकिए पनि मानिसले गर्ने कुरा भने कति बेला के गर्दा के हुन्छ भन्ने पहिल्यै थाहा हुन्छ । विश्वका विभिन्न मुलुकमा भएको समृद्धि यस्तै पहिल्यै थाहा पाएर गरिएको भिजनका कारणले सम्भव भएको हो । हामीकहाँ वर्षौंदेखि सरकार बनाउनु र ढाल्नुलाई आफ्नो उपलब्धि मानियो । जुन कार्यले अहिलेसम्म निरन्तरता पाइरहेको छ । हरेक राजनीतिक दलहरू सरकारकेन्द्रित बनेका कारणले यो देश र नागरिकमा जुन ताकत छ त्यसको उपयोग नै गर्न सकिएन । प्रकृतिले भरिपूर्ण नेपालमा पानीको दु:ख छैन, समयसँगै पानी बगेर गइरहेको छ । तर, त्यही पानीबाट बन्ने बिजुली नपाएर हामी घन्टौं लोडसेडिङ भोग्न बाध्य छौँ । यदि हाम्रो नेतृत्वलाई सरकारभन्दा बढी नागरिक र विकासबारे चिन्ता हुने हो भने भइरहेको सम्पदालाई प्रयोग गरेर विकास गर्न कसैले रोक्न सक्दैन ।

विगतबाट हामीले सिकेको पाठलाई अब विकासकेन्द्रित गर्नु आवश्यक छ । राजनीतिक दलहरूले चाहे भने यहाँ धेरै कुरा गर्न सक्छन् । नागरिक तहमा मात्रै एकता हुँदा राम्रो र सभ्य समाज निर्माण गर्न सहयोग पुगे पनि मुलुकलाई समृद्ध बनाउनचाहिँ नेतृत्व तहमै एकताको आवश्यकता पर्दोरहेछ । यो मुलुकमा धेरै उथलपुथलहरू भए । तिनले राजनीतिक चेतना त दिए, तर धेरै कुरामा मुलुक पछि नै छ । हाम्रोजस्तो सानो मुलुकलाई विकासको धारमा लाने हो भने समृद्धि त्यति टाढा छैन । अभावका कारण नकारात्मक झैँ देखिए पनि सकारात्मक सोच भएका र आफूलाई मात्र नभएर यो देशलाई केही गरूँ भन्ने भावना भएका मानिसहरू यहाँ धेरै छन् । राम्रो काममा सहयोग गर्नेहरूको अभाव छैन । ०७३ विकासका दृष्टिले उपलब्धिमूलक वर्ष बनाउन राजनीतिक दलहरूको एकताबद्ध भिजन जरुरी छ ।