चारित्रिक चेतनाको जागरण अपरिहार्य किन ?

चारित्रिक चेतनाको जागरण अपरिहार्य किन ?


Kishor Silwal-
:: किशोर सिलवाल ::

साधारण अर्थमा चरित्र भन्नाले सरलता, नम्रता, कोमलता, मधुरता, प्रेम, सहयोगी, आस्था, परोपकारी, समाज वा देशका लागि सेवामा समभावले आफ्नो जीवन अर्पण गर्दछ र गरिरहन्छ भने त्यो व्यक्ति वा साधकमा देखापरेको परिवर्तन नै अमूल्य मानवयि गुण ‘चरित्र’ भन्ने बुझ्नुपर्छ । ‘चर’को अर्थ चल्नु हो भने ‘इत्र’को अर्थ सुगन्ध हो । चलाई या गतिबाट जुन सुगन्ध निस्कन्छ, त्यसैलाई चरित्र भनिन्छ । त्यसैले चल्नुको अर्थ सुमति, सुभावना र सुश्रम धारण गरेर सन्मार्गमा दीक्षित भएर चल्नु हो । सुमति मस्तिष्कको गुण हो र जो मनुष्यसँग भएको बुद्धि र विवेकलाई सही निर्णय र सही सदुपयोग गरेर निष्ठापूर्वक कर्तव्य–कार्य गर्दछ, त्यसैलाई यो सुमति प्राप्त हुन्छ । त्यसैगरी सुभावना हृदयको गुण हो र सुमति देवको कृपाबाट जनचेतना विशुद्ध हुन पुग्छ, तब मानव हृदयमा श्रद्धा र निष्ठा अङ्कुरित हुन्छ, तब व्यक्तिहरूमा आन्तरिक परिवर्तनस्वरूप उसमा सद्गुणहरू ज्ञान, शुभसङ्कल्प, उदारता, क्षमा, सहनशीलता, विनम्रता र परोपकारीजस्ता महान् विलक्षणता प्रस्फुरित हुन पुग्दछ भने यसरी सुमति र सुभावनाको संयोगबाट मानव सुश्रमी बन्दछ ।

यो विराट विश्व ब्रह्माण्डको उत्पत्ति हुनुभन्दा अगाडि असिम शक्तिले सम्पन्न भएको शुद्ध र शान्त ब्रह्मऊर्जा व्याप्त थियो । फैलिने र खुम्चिने क्षमता भएको यो शक्तिशाली तथा व्यापक ऊर्जा त्यसबखत आफ्नो फैलिने र खुम्चिने सम्पूर्ण शक्तिलाई स्वयम्मा नै समेटेर रहेको थियो । ऊर्जाको यो शुद्ध र शान्त अवस्था (साम्य अवस्था) ब्रह्मको स्थिर अवस्था हो । यसैलाई ‘ब्रह्मको शिवस्वरूप’ अर्थात् ‘शिवस्वरूप ब्रह्म’ वा ‘निर्गुण निराकार ब्रह्म’ भन्छन् । ब्रह्मरूप ऊर्जामा यसरी सङ्कुचन र प्रसारणको परिणामस्वरूप सर्वप्रथम काल वा कम्पन पैदा भयो, कालबाट गति वा भावना पैदा भयो, गतिबाट चेतना वा प्राण पैदा भयो, गति र चेतना एक–अर्काको परिपूरक बन्यो, गतिबिना चेतना र चेतनाबिना गति क्रियाशील हुन सक्तैन । एउटै मूलशक्तिबाट स्फुरित यी तीन शक्तिको योगबाट ब्रह्मको क्रियात्मक प्रक्रिया चल्न थाल्यो जसलाई ‘ब्रह्मको क्रिया शक्ति’ भनिन्छ । यहाँबाट विश्व ब्रह्माण्डको रचनाको कार्य सुरु हुन थाल्यो ।

यस्तै, निराकार ऊर्जा साकार ऊर्जामा रूपान्तरित भएको यस्तो विषम, अशान्ति र अस्थिर अवस्था ब्रह्मको सिर्जनशील अवस्था हो, यसैलाई ब्रह्मको शक्तिस्वरूप ब्रह्म, कुण्डलिनी शक्ति र शास्त्रमा ब्रह्मको यही सिर्जनशील शक्तिलाई ‘कार्य–ब्रह्म’ तथा ‘मूल–प्रकृति’ भनिएको छ ।

वैदिक धर्म संस्कृतिमा ब्रह्माण्डनायक परब्रह्म परमात्मालाई चतुर्भुज नारायणको नामले पुकारिएको र उहाँको चार भुजाहरूमा शङ्ख, चक्र, गधा र पद्म चिह्नहरूलाई ब्रह्मको कला भनिन्छ । ब्रह्मको चार कलाको प्रतीक (क)शङ्ख भनेको गति वा भावना (ख) चक्र भनेको काल वा कम्पन (ग) गधा भनेको क्रिया वा कर्म र (घ) पद्म भनेको चेतना वा प्राणको प्रतीक हो ।

वास्तवमा ईश्वरको दर्शन भनेको आफ्नै आत्माको दर्शन हो । आफू (आत्मा)मा रहेको परम्तत्त्वको अनुभूति अर्थात् साक्षात्कार हुनु नै सच्चा अर्थमा दर्शन हो । यस आत्मानुभूतिका लागि सच्चा गुरुको मार्गदर्शनमा रहेर सही शिक्षा, दीक्षा, आशीर्वाद र उपासना प्राप्त गर्दै स्वयम् साधनारत हुनु भनेकै साधकले शुद्ध चित्त, शुद्ध भावविचार, शुद्ध खानपान, शुद्ध शरीर, शुद्ध रहनसहन, शुद्ध आचरणको ख्याल राख्दै मानवीय सद्गुण र सदाचारहरूको विकास गर्नुको सार्थ गुरुप्रेरणाबाट मर्यादित भई चल्ने निष्ठावान शिष्यले नै चरित्र निर्माण गर्दछ । जसले महामन्त्र मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी धारणा गरेर परमात्माको महान् आदर्शलाई आचरणमा उतार्ने व्यक्ति नै चरित्रवान् हुन्छ र उसको जीवनमा चरित्रविज्ञान पूर्ण रूपमा लागू भएको मानिन्छ । यो नै श्री चतुर्भुज नारायणको सर्वाङ्गीण रूपमा साक्षात् दर्शन हो, जो व्यक्तिले यो सूत्रलाई पूर्णत सिद्ध गर्दछ उसको जीवन सार्थक र सफल बनाई सौभाग्य प्राप्त गर्दछ । आत्मा साक्षात्कार + जीवन उद्दार = चरित्र आधार ।

चित्त भनेकै चेतनशक्ति जसले भावको कार्य गर्दछ । भावकार्य पैदा हुने र नाश हुने स्वत: भइरहेको हुन्छ । जस्तो प्रेमभाव, दयाभाव, करुणा, रिस, राग, द्वेष आदि हुन् । यसलाई दुई तरिकाले वर्णन गर्न सकिन्छ, एक सकारात्मक (सत्कर्म) अर्को नकारात्मक (दुष्कर्म) हुन् । नकारात्मक भन्नाले पागलपन, उन्माद, यौन विकृति, आत्महत्या, विक्षिप्तता या उन्मत्तता, दु:ख दिने, मार्न आउने, लुट्ने, हृदयरोग, रक्तचाप, धनलोलुपता, विषयवासनाको भोग, आपराधिक क्रियाकलापमा संलग्न, भ्रष्टाचार आदि कुराले सामाजिक जनजीवनमा विकृति पैदा गर्नु वा चेतनाको दूषितपना वा प्रदूषणले समाजमा नकारात्मक असर गरिरहेको हुन्छ, त्यसैले पनि यसलाई दुश्मन भनिएको हो भने सकारात्मक चेतना शुद्ध भाव विचार, शुद्ध खानपान, शुद्ध शरीर, शुद्ध आचरण, शुद्ध– बोलिवचन तथा मेलमिलापको चित्तसँग घनिष्ठ सम्बन्ध हुन्छ भने निष्ठा, नियम र अनुशासनको पालना गर्दै चित्तमा दया, प्रेम, क्षमा, स्थिरता र प्रसन्नताको विकास गर्दै आउनुलाई चित्तशुद्धि साधना भनिन्छ । यसरी चित्त शान्त भएपछि वृत्त पनि शान्त हुन्छ, चित्तवृत्ति शान्ति भएपछि शान्ति प्राप्ति गर्दछ, चित्तको यस्तो विशुद्ध अवस्था चेतन स्वयम् चेतनमै स्थित भई व्यक्ति चैतन्य हुन्छ । चेतन स्वयम् चेतनकै प्रति चैतन्य भएर जागेको यो अवस्था नै चारित्रिक चेतनाको जागरणको अवस्था हो ।

माथिका पङ्क्तिहरू यहाँ विस्तार गरिनुको विशेष अर्थ यो हो कि उल्लेखित गुण हासिल गर्न त्यति सरल र सजिलो छैन । सोच्दैमा वा इच्छा र आकाङ्क्षा गरेकै भरमा अथवा धन, रूप र शक्तिको बलले प्राप्त हुने वस्तु पनि होइन रहेछ । जसलाई प्राप्त गर्न साधककै दृढसङ्कल्प र गहन इन्छाबाट गुरुको सेवा र प्रेरणाबाट प्रेरित भई सत्संग, योग साधना, ध्यान र प्राणायाममा निरन्तर रूपमा लाग्नाले साधक चरित्र निर्माणतर्फ लागेको बुझिन्छ ।
अन्तर्राष्ट्रिय संस्था अक्सफामले गरेको अध्ययनअनुसार विश्वका पचासी जना उच्च धनीहरूको हातमा विश्वकै आधा जनसङ्ख्यासँग भएबराबरको सम्पत्ति रहेको छ ।

भन्नुको तात्पर्य आर्थिक असमानताको खाडल (धनी र गरिबबीचको दूरी) बढ्नुको कारण, आतङ्ककारीहरूको गतिविधिमा दिनपरदिन बढ्दै जानु, सिरिया सरकार र आईएसआईएस आतङ्ककारीहरूबीच युद्धले गर्दा १० लाख जनताको मृत्यु भइसकेको र करोडौँ जनता अर्काको देशमा सुकुम्बासी वा आप्रवासीको सङ्ख्या बढिरहेको अनि नेपाल एक सानो गरिब तर भौगोलिक विविधता, आर्थिक विपन्नता र अल्पविकसित देशमा वैशाख १२ गते गएको महाभूकम्पले आर्थिक अवस्था जर्जर र क्षतविक्षत पारिसकेकोलाई अझ अघोषित नाकाबन्दीले घत्रक्कै थला पार्‍यो । यसरी ठूलो देश र सानो देशबीचको राजनीतिक शक्तिको असमानता, व्यक्ति–व्यक्तिबीचको आर्थिक असमानता र चारित्रिक चेतनाको कमीको कारणले अति सर्वत्र बर्जियत भनेझँै अति नै असमानताले युद्ध र दुर्घटना निम्त्याउँछ । चैन हराउँछ, धनी र गरिबबीचको दूरी बढाएर दुवै वर्गको गिनिकोफिसिइन्ट (गरिबको गहिराइ) र अस्तित्वलाई नै सङ्कटमा पार्छ वा समाप्तै पार्दछ ।

त्यसकारण राज्य वा सरकारले देशका जनतालाई चारित्रिक चेतनाको जागरण गराई चरित्रवान, नैतिकवान, सत्यवान, समाजसेवक तथा परोपकारी र लोककल्याणकारी बनाई देश र समाजको निर्माण, उत्थान र विकास गर्नका लागि चरित्र निर्माण आश्रम वा विद्यालयस्तरमा नयाँ स्थापना गर्ने वा भएको आश्रमलाई राज्यको बजेटले सहयोग गरी विकसित गर्दै लगेमा अवश्य पनि यस्तो महान् अवस्था प्राप्त गरेपछि नै विश्वशान्ति, विश्वबन्धुत्व, मानवता, सत्य, न्याय, अहिंसा र परोपकार चारित्रिक मूल्यहरूको प्रस्फुटन, मानवको विकासको चरम र परम् अवस्था र कृष्ण–कन्ससनेस र क्राइष्ट –कन्ससनेस हुन गई नेताको बुद्धि र विवेकमा चेतना, देशको आर्थिक समृद्धि र जनताको सुखसुविधा हुन जानेमा दुईमत र शङ्का छैन ।

[email protected]