सहयात्री शब्दहरू र भावयात्रा

सहयात्री शब्दहरू र भावयात्रा


Dipendra Singh Thapa

सत्यसँग सत्य सम्मुख हुनु मात्र पर्छ
जीवनसँग जीवन उन्मुख बन्नु मात्र पर्छ
एउटै बिन्दुबाट आरम्भ भएको यात्रा
एउटै बिन्दुबाट सुरुवात भएको सम्भावना
काफी बन्छ–
एउटा सिङ्गो आकृति बन्न
एउटा सिङ्गो कृति बन्न

हो ! ठयाक्कै यस्तै लाग्छ कवि दीपेन्द्रसिंह थापाको एउटा बिन्दुबाट सुरुवात भएको विराट सम्भावनासहितको साहित्यिक यात्रा जीर्ण पर्खाल हुँदै सहयात्री शब्दहरूसम्म पुगेको छ । अझ यसो भनौँ– एउटा बिन्दुबाट सुरुवात भएको सम्भावित यात्राले दुईवटा सिङ्गा–सिङ्गा आकृतिहरू अर्थात् दुईवटा सिङ्गा कृतिसम्मको गन्तव्य पूरा गरिसकेको छ । त्यसैले त साहित्यिक यात्री थापाका यी भावहरू साहित्यिक यात्राकै लागि कुँदिएर दीर्घकालीन योजनामा तल्लीन भएझैँ लाग्छ —
एउटा यात्रा न हो
आरम्भ भएपछि
कतै पुग्नु नै पर्छ त्यसले
एउटा सम्भावना न हो
आरम्भभन्दा अघिदेखि अन्त्यभन्दा पछिसम्म पनि
कतै ढाक्नु नै पर्छ त्यसले

कविकै भाषामा एउटा बिन्दु अर्थात् फुटकर कविताबाट तय भएको काव्यिक यात्रा जीर्ण पर्खाल हुँदै सहयात्री शब्दहरूसम्म पुगेको छ र अझै धेरै अघि बढ्नुछ र बढी नै रहने छ । आशा गरौँ यो यात्रा न त बीचमा रोकिनेछ न त रोक्न हुने नै छ । मानवता र कर्मलाई दीपेन्द्रसिंह सर्वोपरि ठान्दछन् त्यसैले त कवितामा पनि मान्छेको खुसी जीवनको आयाम र कविताको गन्तव्यबीच त्रिकोणात्मक सम्बन्ध देखाउँदै कवि प्रश्न गर्छन् —
के मान्छेका खुसीभन्दा
अर्को अभीष्ट हुन्छ र कविताको ?
के जीवनका आयामभन्दा
भिन्न गन्तव्य बन्छ र कविताको ?

त्यसो त माटोमा कर्म र मानवतामा धर्म खोज्दै कविले यसो पनि भन्न पछि परेका छैनन् —
माटोभन्दा पर अर्को कर्म देख्दिनँ म
मान्छेभन्दा टाढा अर्को धर्म देख्दिनँ म

स्वतन्त्रताको पक्षधर कवि समानताको वकालत गर्दै भन्छन् —
पर्खालबाहिर नै
बसुधैव कुटुम्बकम्का गीतहरू
लेखिएका हुन्छन्
पर्खालबाहिर नै
मान्छे—मान्छेका विभाजित रेखाहरू
मेटिएका हुन्छन्

विशेष गरी विभिन्न बिम्ब र प्रतीकका माध्यमबाट कवितामा आशावादी भावकै केन्द्रीयता देखाउने कविका एकाध कवितामा नैराश्यसूचक अनुभूति पनि रहेछ भन्ने आशय यी भावले पुष्टि गर्दछन् —
नमिल्दा नमिल्दै
गणित अगणित बन्छ
उत्तर अनुत्तर हुन्छ
भेटिन्न अर्थ जब सूत्र नै
सारहीन बनिसक्छ

Sahayatri

सङ्ग्रहको सुरुवातमै ‘समयको प्रतिध्वनि र सहयात्री शब्दहरू’ शीर्षकसहितको कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालको पुस्तकसम्बन्धी विश्लेषणात्मक अभिव्यक्ति भूमिका लेखन खण्डमा रहेको छ । प्रतीकमय ३६ वटा सुन्दर कविता सङ्ग्रहित यस कवितासङ्ग्रहमा पूर्ण रूपमा गद्य कविता मात्र समाष्टि छन् । कतिपय कवितामा कवि थापाले देशका समकालीन विसङ्गति पनि चित्रित गरेका छन् ।
यहाँ हतियारसँग
सुरक्षा होइन सन्त्रास हिँड्छ
सजीव हुनुको अर्थमा
आवाज होइन आतङ्क हिँड्छ
अभm हत्या हिँड्छ अपहरण हिँड्छ
लुटपाट र अवैध धन्दाहरू हिँड्छन्

यात्रा र सहयात्रालाई भावनात्मक उचाइ दिएर कविले गरेको जोडदार अभिव्यक्तिले मनमा आनन्द तुल्याउँछ —
कस्तो एकाकार यात्रा हो यो
तनभरि पनि सँगसँगै
मनभरि पनि सँगसँगै
कस्तो आयाम हो यो यात्राको
भावनाभरि पनि सँगसँगै
सम्भावनाभरि पनि सँगसँगै
कस्तो सौन्दर्य हो यो सहयात्राको
एकैसाथ उचाइ छोएर गहिराइ बुझिने
एकैसाथ गहिराइ छोएर उचाइ अग्लिने

कविको बौद्धिकता, भावनात्मकता र शाब्दिक सहयात्राको गहिराइ अझै गहिरो बन्ने र काव्यिक उचाइ अझै चुलिने निश्चित छ । प्रत्येक कविता पढ्दा क्लिष्टतादेखि टाढा रहेर सरसतापूर्वक भावनात्मक अभिव्यक्ति सम्प्रेषित गर्दै लयात्मकतादेखि विमुख नभईकन कवि थापाले काव्यिक उचाइ लिएको प्रस्ट हुन्छ ।

अत्यन्तै सम्प्रेषणीय भाषाशैली र कलात्मकताको प्रयोगद्वारा कवितालाई मिठासपूर्ण बनाउने कवि थापाले समसामयिक र सामाजिक विसङ्गति मात्र उजागर नगरेर भावनात्मकता, बौद्धिकताका साथै बिम्बप्रतीकको समुचित प्रयोग गर्दै गठिलो कविता रचना गर्नमा कुशलता देखिएका छन् । त्यसो त धादिङमा जन्मिएका कवि थापाको यो पहिलो कृति होइन, यस अघि पनि उनले जीर्ण पर्खाल (२०६४) पाठकमाझ ल्याइसकेका छन् ।

शब्दहार क्रियसन्सद्वारा प्रकाशित यस कृतिमा विचार, भावना र काव्यकलाको सन्तुलित अभिव्यक्ति रहेकाले वास्तवमै पठनीय बनेको छ ।

– उर्मिला कोइराला