‘खर्चिलो छ आजको गीतियात्रा’

‘खर्चिलो छ आजको गीतियात्रा’


उनी व्यावसायिक गीतकार होइनन्, कहिलेकाहीँ गीत कोर्नचाहिँ मन पराउँछन् । त्यसका लागि उनलाई कुनै एकान्त र शान्त वातावरणको आवश्यकता पर्दैन । मनले कामना गरे गीत जहाँ पनि लेख्न सक्छन् । उनै सौखिन गीतकार प्रकाशचन्द्र घिमिरेले हालै ‘आरम्भ’ नामक आधुनिक गीतिसङ्ग्रहको विमोचन गरेका थिए । यसैको सेरोफेरोमा रहेर उहाँसँग सङ्क्षिप्तमा गरेको कुराकानी :

० भर्खरै ‘आरम्भ’ नामक आधुनिक गीतिसङ्ग्रहको विमोचन गर्नुभएको छ, कस्तो महसुस गरिरहनुभएको छ ?
– साँचो रूपमा भन्नुपर्दा म खुसीले गद्गद् छु । मेरो आधुनिक गीतिसङ्ग्रह निकाल्ने सपना पूरा भएको छ । आरम्भ एल्बममा ६ वटा गीत छन् । सङ्गीतकार आलोकश्री, शान्तिराम राई र कल्याण आलेले सङ्गीतबद्ध गरेका गीतलाई रामकृष्ण ढकाल, सत्यराज आचार्य, प्रमोद खरेल, शिव परियार र मल्लिका कार्कीले स्वर दिएका छन् ।

० तपार्इंका गीतका भाव त कुनै व्यावसायिक गीतकारका भन्दा कम छैनन् । गीतलेखनको आरम्भ कहिलेदेखि गर्नुभएको हो ? प्ेररणाको स्रोत कसलाई मान्नुहुन्छ ?
– म सानैदेखि गीत–कवितामा रुचि राख्ने व्यक्ति हुँ । साथीहरू खासगरी चिनु रानाभाट, महेश श्रेष्ठ, सुनील मास्के र आलोकश्रीको सम्पर्कले गीत लेखनतर्फ आकर्षित गराएको हो । त्यस्तै, हाम्रो परिवार नै साङ्गीतिक परिवार हो । खासगरी मेरो आमा र दाजु माधवप्रसाद घिमिरे मेरो प्रेरणाका स्रोत हुन् ।

० एउटा गीतकारको नजरमा गीत कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
– आजभोलि निराशावादी गीतहरू धेरै आएका छन् । गीतले मानवलाई तरङ्गीत आत्मसम्मान, हर्षित र खुसी बनाउनुपर्छ । जीवन बाँच्ने आधारको सन्देश दिन सक्नुपर्छ ।

० कति समय लाग्यो आरम्भ निकाल्नलाई ?
– धेरै होइन, तीन वर्ष लाग्यो । ७० सालदेखि सुरु गरेको थिए । साँच्चै निकै गाह्रो हुँदोरहेछ एल्बम निकाल्न । प्रसव पीडाजस्तै । हामीजस्तो मान्छेले आँट नगरे पनि हुन्छ ।

० त्यसो भए अर्को एल्बम ननिकाल्ने ?
– ज्यादै सङ्घर्ष गर्नुपर्‍यो आरम्भलाई । यसले प्रवेग खोजेको छ । हेरौँ समयले साथ दियो भने अवश्य निकाल्नेछु ।

० नयाँ क्षेत्रलाई आत्मसात् गर्दा कस्तो लाग्यो ?
– गीत लेख्नभन्दा पनि यसलाई उजागार गर्न निकै गाह्रो रहेछ । कुनाकाप्चामा धेरै राम्रा प्रतिभाहरू छन् । तर, आर्थिक अवस्थाले गर्दा उनीहरूले अवसर पाएका छैनन् । गीतियात्रा अलि खर्चिलो हुँदोरहेछ ।

Aarambha