कनकमणिको गिरफ्तारीले अनपेक्षित तरङ्ग

कनकमणिको गिरफ्तारीले अनपेक्षित तरङ्ग


कति पूर्वाग्रह, कति सही कदम ?

कनकमणि दीक्षित 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पत्रकारितामा समेत संलग्न साझा यातायात सञ्चालक समितिका अध्यक्ष लाई अनुसन्धानका क्रममा बयानका लागि पक्राउ गरिएपछि अनपेक्षित तरङ्ग पैदा भएको छ । नेकपा एमालेसम्बद्ध पक्षले दीक्षितको गिरफ्तारीलाई पूर्वाग्रही कदमको रूपमा प्रचार गरेको छ भने केही अधिकारकर्मी तथा अन्य कतिपयले पनि यस घटनालाई अनुचित कदमका रूपमा टिप्पणी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात महिनाअघि कनकमणिसँगै अकुत सम्पत्ति आर्जन गरेको आशङ्कामा राजनीतिक, प्रशासनिक र अन्य विभिन्न क्षेत्रसम्बद्ध २९ व्यक्तिमाथि एकसाथ अनुसन्धान सुरु गरेको थियो । छानबिनको दायरामा परेका सबैले अख्तियारमा उपस्थित भएर त्यहाँ उपलब्ध गराइएको तेह्रपाने फाराम भरी बुझाएका थिए । दीक्षितले सम्पत्ति विवरण फाराम भरी बुझाउन सुरुमा आनाकानी गरेका भए पनि अन्तत: उनले समेत फाराम भरेर बुझाएका थिए । त्यसरी सम्पत्ति विवरण फाराम भरी अख्तियारमा बुझाउने अन्य २८ जनालाई अख्तियारले पक्राउ गरेन, दीक्षितलाई मात्र के कारणले पक्राउ गरियो भन्ने प्रश्न दीक्षितप्रति विशेष सहानुभूति राख्नेहरूले उठाएका छन् ।

किन पक्राउ परे दीक्षित ?

कनकमणि दीक्षित 2
अकुत सम्पत्ति कमाएको आशङ्कामा अख्तियारको छानबिन तथा अनुसन्धानको दायरामा परेकाहरूले तेह्रपाने फाराम भरेर बुझाएपछि त्यसमाथि आयोगले अनुसन्धान सुरु गर्ने गर्दछ । यता, तेह्रपाने फाराम भराउने क्रमसँगै अख्तियारले सम्बन्धित व्यक्ति तथा परिवारका सदस्यको नाममा स्वदेश तथा विदेशमा रहेको नगद र सम्पत्तिको विवरण गुप्त रूपमा सङ्कलन गर्ने गर्दछ । तेह्रपाने फाराममा उल्लेख गरिएको विवरण स्पष्ट नभए या अख्तियारले प्राप्त गरेको विवरणभन्दा फरक भए सम्बन्धित व्यक्तिलाई आयोगको कार्यालयमै बोलाएर बयान लिने अख्तियारको कार्यशैली छ । अवैध ढङ्गले अकुत सम्पत्ति आर्जन गरेको आशङ्कामा परी अनुसन्धानको दायरामा परेका २९ जनालाई पनि अख्तियारले टेलिफोन र पत्रमार्फत बोलाएर स्पष्ट हुने क्रम आरम्भ गरेको थियो । अन्य सबैले अख्तियारमा उपस्थित भएर बयान दिँदै आएका भए पनि कनकमणि दीक्षित भने त्यसका लागि तयार भएनन् । सर्वोच्च अदालतमा रिट निवेदन दिएर पनि उनले अख्तियारको अनुसन्धान प्रक्रियामा सामेल हुनबाट जोगिन चाहेका थिए ।

तर, अदालतले दीक्षितको इच्छा पूरा गर्न सकेन । सम्बन्धित अनुसन्धान अधिकृतले टेलिफोन सम्पर्क गर्दा दीक्षितले विभिन्न बहानाबाजी गरी अख्तियारमा उपस्थित हुन आनाकानी गर्दै आएको बताइन्छ । गत माघ महिनाको पहिलो सातादेखि नै अनुसन्धान अधिकृतले कहिले टेलिफोन र कहिले पत्रमार्फत आयोगमा उपस्थित भई स्पष्ट गर्न दीक्षितलाई आग्रह गर्दै आएकोमा दीक्षितले वैशाख २ गते अख्तियारमा एक निवेदन दिई आफूमाथि छानबिन गर्ने अधिकार अख्तियारसँग नभएको भन्दै आयोगको कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । दीक्षितले आयोगमा बुझाएको विवरण र अख्तियारले प्राप्त गरेको विवरणमा अन्तर परेकोले उनलाई स्पष्ट गर्ने मौकास्वरूप उनलाई बोलाइएकोमा लिखित निवेदन दिएरै उनले आयोगमा उपस्थित नहुने जानकारी गराएपछि प्रहरी प्रयोग गरी दीक्षितलाई झिकाउनुपरेको आयोग सूत्रले जनाएको छ ।

यसअघि पूर्वगृहमन्त्री गोविन्दराज जोशीमाथिको अनुसन्धानका क्रममा पनि यस्तै घटना भएको थियो । भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आशङ्कामा अख्तियारले अनुसन्धान सुरु गरेको र त्यसक्रममा जोशीलाई आयोगको कार्यालयमा उपस्थित हुन आग्रह गर्दा उनले पनि अटेरी गरेपछि अन्तत: अख्तियारले सशस्त्र प्रहरीको सहयोग लिएर जोशीलाई गिरफ्तार गर्नुपरेको थियो । अख्तियारको पञ्जामा परिसकेपछि पनि जोशीले ‘मौनताको अधिकार’ भन्दै १८ दिनसम्म बयान दिन मानेका थिएनन् । कुनै अस्त्रले काम नगरेपछि अन्तत: जोशी बयान दिन बाध्य भएका थिए । उनीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

किन गौशाला प्रहरीमा पठाइयो ?

कनकमणि दीक्षित 3
अख्तियारद्वारा पक्राउ गरिएका व्यक्तिहरूलाई अख्तियार दुरुपयोग अनुसन्धानकै हिरासतमा राख्ने गरिएको भए पनि यसपटक कनकमणि दीक्षितले गौशालास्थित प्रहरी परिसरको थुनुवा कोठामा कोचिएर रात बिताउनुपर्‍यो, जहाँ पकेटमारी र चोरीलगायत विभिन्न अपराधमा पक्राउ परी थुनिएका दुई दर्जनभन्दा बढी व्यक्ति थिए । त्यसरी अपराधीहरूसँग एउटै कोठामा थुनिएपछि तनावमा परेका दीक्षितले बिहान अस्वस्थ महसुस गरेको खबर पुगेलगत्तै प्रमुख आयुक्त लोकमानसिंह कार्कीबाट उनको स्वास्थ्य परीक्षणका निम्ति गौशाला प्रहरी कार्यालयमा चिकित्सक पठाउन निर्देशन भएको र स्वास्थ्य परीक्षणको क्रममा दीक्षितको रक्तचाप बढेर तलको १२० र माथिको १८० पुगेको पाइएपछि प्रमुख आयुक्तकै आदेशमा दीक्षितलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षण हुँदा उनको मुटुमा पनि समस्या भएको पत्ता लागेको छ । त्यसपछि दीक्षितलाई अख्तियारको निगरानीमा अस्पतालमै भर्ना गरेर उनको उपचार चलिरहेको छ । स्वस्थ भइसकेपछि आयोगको कार्यालयमा उपस्थित गराएर दीक्षितको बयान सुरु गरिने भएको छ ।

दीक्षितलाई सोझै अख्तियारको हिरासतमा नलगेर गौशाला प्रहरी थानामा लैजानुको कारण अख्तियारको हिरासत कक्षको मर्मत–सम्भार कार्य भइरहेकोले भन्ने बुझिएको छ । महाभूकम्पका कारण हिरासत कक्ष रहेको भवनमा क्षति पुगेको र त्यसको मर्मत भइरहेकोले दीक्षितलाई गौशाला प्रहरी हिरासतमा राख्नुपरेको अख्तियार स्रोतले जनाएको छ ।

कस्तो भिन्नता भयो विवरणमा ?

कनकमणि दीक्षितले भरेको तेह्रपाने सम्पत्ति विवरणमा विदेशमा भएको नगद तथा सम्पत्ति र स्वदेशमै दीक्षित परिवारको नाममा फेला परेको सम्पत्ति विवरण उल्लेख नभएकोले अख्तियारले त्यस विषयमा स्पष्ट हुन चाहेको बुझिएको छ । कनकमणि दीक्षितको नाममा अमेरिकाको चेज बैंकमा खोलिएको दुईवटा खातामा रहेको १७,२०८.७४ अमेरिकी डलर, दीक्षितपत्नी शान्ताको नाममा एचएसबीसी बैंक ब्रिटेनमा एक र एपल बैंक अमेरिकामा दुईसमेत जम्मा तीनवटा खातामा रहेको ६८,९२६.४८ अमेरिकी डलर तथा पाउन्ड स्टर्लिङ ४,१२६.३९, कमलमणि दीक्षित, अञ्जु दीक्षित र कनकमणि तथा कमलमणिको नाममा लन्डनस्थित एचएसबीसी बैंकमा रहेको खाताबाट नयाँदिल्लीस्थित म्याट्रिक्स टीभी प्रालिको नाममा पठाइएको ५० हजार अमेरिकी डलर तथा कनकमणि र शान्ताको नाममा एचएसबीसी बैंंक लन्डनमा खोलिएको दुईवटा खातामा रहेको २७,६३८.८८ स्टर्लिङ पाउन्डबारे कनकमणि दीक्षितले अख्तियारमा तेह्रपाने फाराम भर्दा विस्तृत रूपमा उल्लेख नगरेको र ब्रिटेनस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कनकमणिको नाममा ३६ हजार कित्ता तथा कनकमणि/शान्ताको संयुक्त नाममा एचएसबीसी बैंकमा १२ हजार कित्ता साधारण सेयर रहेकोबारेमा पनि कनकमणिले अख्तियारलाई स्पष्ट जानकारी नगराएको बुझिएको छ । त्यसैगरी सन् २०१० को नोभेम्बर १० मा शान्ता दीक्षितको नाममा ४,३५,००० अमेरिकी डलरमा अमेरिकामै खरिद गरिएको अपार्टमेन्टबारे पनि आयोगलाई जानकारी नगराएको बताइन्छ । कनकमणि र उनकी पत्नी शान्ताको हालसम्मको आम्दानी रु. पाँच करोड देखिएको, तर उनीहरूले विभिन्न शीर्षकमा बाह्र करोड रुपैयाँभन्दा बढी खर्च गरेको अनुसन्धानका क्रममा पाइएकोले सात करोड रुपैयाँ कहाँबाट कसरी आयो भन्नेबारेमा पनि अख्तियार स्पष्ट हुन चाहेको बताइन्छ ।

कमलमणि दीक्षित साल्ट ट्रेडिङ लिमिटेडको अध्यक्ष रहँदा जगदम्बा प्रेस र हिमाल मिडिया प्रा.लि. सँग भएको कारोबारमा कम्पनीलाई तिर्न बाँकी रकम हालसम्म नतिरेको, साझा यातायातलाई मनोमानी ढङ्गले सञ्चालन गरी पैतृक सम्पत्तिझैँ जथाभावी निर्णय गरेर अनियमितता गरेको, महँगो विद्यालय सञ्चालन गरी राजस्व छलेको, गुठीको जग्गा गैरकानुनी रूपमा रैकर तुल्याएर आफ्नो निजी सम्पत्तिमा रूपान्तरण गरकोलगायतका आरोप कनकमणि दीक्षित र उनको परिवारका सदस्यमाथि लागेको छ । सम्बद्ध स्रोतका अनुसार अख्तियारको फाराम भर्दा हल्का रूपमा लिई हेलचेक्य्राइँ नगरेको र आफ्नो सम्पूर्ण सम्पत्ति विवरण खुलाएको भए कनकमणि यतिबेला पक्राउ नपर्ने निश्चित थियो । सम्पत्ति विवरण लुकाउनु र अख्तियारलाई नटेर्नुको परिणाम उनको गिरफ्तारी भएको बुझिएको छ ।
कनकमणि दीक्षितले स्वास्थ्यलाभ गरेपछि अख्तियारले उनीसँग बयान लिई अनुसन्धान प्रक्रिया अगाडि बढाउने भएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दीक्षित स्वस्थ नभएसम्म उनलाई सकस हुने प्रकारका कुनै व्यवहार नगर्न मातहतलाई निर्देशन दिनुभएको छ ।

अनुसन्धानपश्चात् साझा यातायात सञ्चालक समितिका अध्यक्षका हैसियतमा दीक्षितबाट भएका अनियमिततामा केन्द्रित रही अख्तियारले आफ्नो कारबाही अगाडि बढाउने तयारी गरेको जानकारीमा आएको छ । राजस्व छली सम्बन्धमा आवश्यक कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई, मुद्रा अपचलनमा नेपाल राष्ट्र बैंक तथा सम्बद्ध निकायलाई, स्रोत नुखलेको अकुत सम्पत्तिबारे छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउन सम्पत्ति शुद्धीकरणलाई अख्तियारले जिम्मा लगाउने सम्भावना छ । यतिबेला दीक्षित दश दिनका लागि हिरासतमा त छन्, तर उपचारको क्रममा रहेकोले उनको बयान सुरु हुन सकेको छैन । बयान नलिएसम्म अख्तियारले दीक्षितलाई आफ्नो नियन्त्रणमा राख्ने बुझिएको छ ।

अख्तियारको एक सूत्रका अनुसार भ्रष्टाचार तथा अनियमितता गरी अकुत सम्पत्ति कमाएको आशङ्कमा आयोगले कसैलाई उपस्थितिका लागि बोलाउनुअगावै सम्बन्धित व्यक्तिबारे आवश्यक जानकारी प्राप्त गरिसकेको हुन्छ । स्वदेश तथा विदेशमा रहेका बैंकखाता र मौज्दात रकम, स्वदेश र विदेशमा घरजग्गा एवम् सेयर तथा अन्य लगानी रहे–नरहेको जानकारी प्राप्त गरेसँगै व्यक्तिमाथि औपचारिक ढङ्गले अनुसन्धान सुरु गर्ने अख्तियारको कार्यशैली रहेको देखिन्छ । तेह्रपाने फाराम भर्न लगाइनु भनेको एकप्रकारले स्पष्ट हुने मौका दिनु नै हो भन्ने अख्तियारसम्बद्ध अधिकारीहरूको भनाइ छ । फाराम भर्न आनाकानी गर्नु, झारा टार्नु या अख्तियारलाई छल्न खोज्नुले सम्बन्धित व्यक्ति स्वयम्लाई हानि पुर्‍याउने पनि उनीहरूको भनाइ छ । अख्तियारलाई अटेरी गर्नु र छल्न खोज्नुको परिणाम गोविन्दराज जोशीपछि यतिबेला साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले पनि भोग्नुपरेको छ ।