अधिराजकुमारी बन्न नसकेकी पत्रकार

अधिराजकुमारी बन्न नसकेकी पत्रकार


babita basnet 15

– बबिता बस्नेत

एकादेशको राजकुमारको कथाझैँ लाग्ने वास्तविक राजकुमारसँग सम्बन्धको इतिहास बोकेकी पत्रकार बारबरा एडम्सको देहान्त भएको छ । भर्खरै २९ वर्ष पूरा गरेर ३० वर्षमा लाग्दै गरेकी एउटी सुन्दर अमेरिकी युवतीलाई दरबारमार्गस्थित भव्य शाही होटेलको बारमा देखेर सुरुमा राजकुमारले अन्य केटीलाई झैँ आमव्यवहार थिए । परिचयका क्रममा पत्रकार भन्ने थाहा पाएपछि आफ्नो देशको महत्त्व दर्शाउन हिमाल, पहाडमा आफूले हिँड्दै गरेका फोटोहरू देखाए । ५४ वर्षअघि बारमा भएको त्यो भेट बारबराका लागि जीवनभरको पर्खाइ बन्यो ।

अमर प्रेमको कथा भन्न मिल्ने त्यो पर्खाइ उनका राजकुमार फेरि आउलान् कि भनेर होइन, तिनै राजकुमारको जन्मभूमि र मृत्युपछि उनलाई जलाइएको ठाउँमै आफूलाई समाहित गर्न पाइयोस् भनेर थियो । ती राजकुमार तात्कालीन महाराजाधिराज श्री ५ महेन्द्रका भाइ अधिराजकुमार बसुन्धरा थिए, जसलाई मानिसहरू कान्छा सरकार भन्थे । बेलायतकी महारानी एलिजाबेथको नेपाल भ्रमणको रिपोर्टिङ गर्न आएकी बारबरा ट्रेन छुटेका कारण महारानी फर्किएको भोलिपल्ट आइपुगेकी थिइन् । त्यतिबेला उनी कलकत्तामा बसेर एउटा इटालियन अखबारका लागि रिपोर्टिङ गर्थिन् । जीवनमा लेखेको कुरा पुगेरै छोड्छ भनिन्छ । यदि महारानीको भ्रमणकै बेला आएकी भए त्यसरी राजकुमारसँग भेट हुने थिएन कि ? एक्लै बारमा बसेर ड्रिंक गर्ने फुर्सद उनलाई नहुन पनि सक्थ्यो ।

महारानी हिडिसकेकीले समाचार पठाउनुपरेन, फुर्सदले उनलाई राजकुमारसँगको सम्बन्धलाई अगाडि बढाउन समय दियो । सन् १९६१ मा भएको उनीहरूको भेट प्रेममा परिणत भएपछि करिब १७ वर्ष सँगै रहे । राजकुमारसँगको सम्बन्धपछि उनले अमेरिकालाई माइती र नेपाललाई कर्मघर ठान्न थालिसकेकी थिइन् । त्यसैले सन् १९७७ मा राजकुमारको मृत्युपछि उनले आफू सदाका लागि नेपालमै बस्ने निर्णय गरिन् । अमेरिकाको खानदानी परिवारकी छोरी उनी नेपाललगायत अन्य विभिन्न देशका पत्रपत्रिकाहरूमा लेख्थिन् । न्युयोर्क सहरका स्थायी बासिन्दा उनका बाबु राजनीतिकर्मी थिए ।

राजकुमार बसुन्धरासँगका यादहरू एकातिर थिए भने नेपालमा बस्नका लागि उनको सङ्घर्ष अर्कातिर । नेपाली नागरिकताका लागि उनले ठूलै लडाइँ लड्नुपर्‍यो । बसुन्धराको देहान्त हुँदा श्री ५ वीरेन्द्र राजा थिए । बडामहारानी ऐश्वर्य अत्यन्तै कट्टर, उनले सम्बन्ध स्वीकार नगर्दा जीवनमा कसैलाई प्रेम गर्नुको ठूलो भुक्तमान बारबराले खप्नुपर्‍यो । उनीमाथि अनेक आरोपहरू लगाइए । मुलुक नै छोड्न बाध्यसमेत पारियो । यद्यपि राजकुमारसँग उनको भेट फिल्मी स्टायलमा भएको थियो, तर राजकुमारको मुलुकलाई उनले माया गरिरहिन् ।
Barabara Adams 3
‘विदेशी’ उनलाई मन नपर्ने शब्द थियो । १४ वर्ष जतिअघि जस्तो लाग्छ, एकपटक बारबराको ‘काङ्ग्रेसहरूलाई घुँडामुनि गोली हान्नुपर्छ’ या यस्तै आशयको लेख छापिएको थियो । त्यतिबेला यो पङ्क्तिकारले ‘कसलाई, कहाँ, कसरी गोली हान्ने भनेर नेपालीलाई सिकाउने यी विदेशी महिला को हुन् ?’ भन्ने प्रश्न उठाएकी थिएँ । उनलाई त्यो कुराले धेरै चित्त दुखेको रहेछ । भेटमा उनले मैले विदेशी भनिदिँदा आफूलाई साह्रै नरमाइलो लागेको बताइन् । ‘तपाईंले मलाई विदेशी भनेर लेख्ने ?’ उनको प्रश्न थियो । कुराकानी गर्दै जाँदा एक–अर्काको तर्कमा हामी सहमत भएका थियौँ । कसैले म्याडम भने उनी ‘दिदी भन्नुस्’ भन्थिन् । पाँच वर्ष जतिअघि जस्तो लाग्छ, घरमा खान बोलाएकी थिइन् ।

कमलपोखरीस्थित उनको निवास पुग्दा कुनै राणा–शाहकै घरमा पुगेजस्तो लागेको थियो । फोटाहरू राख्ने स्टायल तथा अन्य सजावट पनि उस्तै थिए । उनी औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा आफ्नै कमाइमा अधिराजकुमारीको जीवन बाँचिरहेकी थिइन् । ट्राभल एजेन्सी, होटेल व्यवसाय हुँदै अन्य कामहरू गरे पनि पत्रकारितालाई उनले आफ्नै प्रकारले निरन्तरता दिइरहिन् ।

हामीकहाँ नेपालीसँग विवाह गर्ने महिलाले तुरुन्तै नागरिकता पाउने कानुन छ । वर्षेनी धेरै विदेशी महिलाले नेपालीसँग विवाह गरेको आधारमा नागरिकता पाउँदै आएका छन् । तर, बारबराले नागरिकताका लागि धेरै नै ठूलो लडाइँ लड्नुपर्‍यो । अन्तत: प्रचण्ड सरकारले उनलाई नागरिकता दियो । वामदेव गौतमले आफ्नो गृहमन्त्रीकालमा गरेको सबैभन्दा राम्रो काम थियो त्यो । अहिले मृत्युको मुखमा आएको बेला उनले सोही नागरिकता सिरानमा राखिदिनु भनिन् । त्यति मात्र होइन, जन्मँदै क्रिश्चियन उनले हिन्दूधर्म परम्पराअनुरूप आफ्नो अन्त्येष्टि गरिदिनु पनि भनिन् । क्रिश्चियनका लागि कट्टर पशुपतिनाथको विद्युतीय शवदाहमा हिन्दू परम्परामा उनको अन्त्येष्टि गरियो । जीवनमा अन्तिम इच्छाका रूपमा उनले राखेको नागरिकता सिरानमा राखेर हिन्दू परम्पराअनुसारको अन्त्येष्टिको इच्छाले नेपालीको मनलाई स्तब्ध बनाएको छ । राजकुमार बसुन्धरालाई मात्र होइन, उनी यो राष्ट्रलाई पनि त्यत्तिकै प्रेम गर्दिरहिछन् । यो देशप्रतिको उनको भावना, प्रेम र सम्मानलाई बुझ्न नसकी कुनै बेला विदेशी भनेर लेखेकोमा मलाई दु:ख छ ।

गत सोमबार कमलादीस्थित प्रज्ञा भवनमा उनको निष्प्राण शरीर चिरनिद्रामा थियो । मानिसहरू उनको पार्थिव शरीरमा फूलका गुच्छा र खादा ओढाइरहेका थिए । स्वदेशी–विदेशी उनका शुभेच्छुकहरूको भीडमा अधिराजकुमार बसुन्धराकी छोरी ज्योति राज्यलक्ष्मी शाह पनि थिइन् । मैले ज्योतिको छेउमा गएर आफ्नो परिचय दिँदै सोधेँ, ‘यहाँले बारबरालाई कहिलेदेखि चिन्नुहुन्थ्यो ?’ जवाफमा भावुक भएर उनले भनिन्, ‘म पाँच वर्षकी हुँदादेखि नै उनलाई चिन्छु, सानैदेखि काखैमा बस्दै आएकी हुँ । उनी त मेरो बुबाकी प्रेमिका हुन् नि । हामी सबै उनलाई त्यही रूपमा चिन्थ्यौँ । हामीलाई असाध्यै माया गर्थिन् । हामीबीच सधैँ राम्रो सम्बन्ध रह्यो । अकस्मातै उनको मृत्युको खबरले धेरै दु:ख लागेको छ ।’

अधिराजकुमार बसुन्धराकी पत्नी हेलेन शाह अधिराजकुमारीका रूपमा थिइन् भने साहित्यकार छिन्नलता कान्छी पत्नी । त्यतिबेला राजपरिवारका सदस्यहरूले चाहेको महिला विवाह गर्ने चलन थियो । राजा महेन्द्रकै पालामा मुलुकी ऐनमार्फत बहुविवाहलाई गैरकानुनी रूप दिइएको हो । अधिराजकुमारका लागि दुईवटी पत्नी र छोराछोरी हुँदाहुँदैको प्रेम कति महत्त्वको थियो यसै भन्न सकिन्न, तर बारबरा भने देहान्तपछि पनि उनकै नाममा जिन्दगी बिताएर विदेशीहरू जोसँग पनि सम्बन्ध राख्छन् भन्ने हाम्रो मान्यतालाई तोड्दै हदैसम्मको समर्पणको उदाहरण बन्न पुगिन् ।