सरकारको एउटा सकारात्मक काम

सरकारको एउटा सकारात्मक काम


ghatana

वर्तमान ओली सरकारको बोली चर्को सुनियो, बोलीअनुसारको काम देखिएन भन्ने जनगुनासो यतिबेला व्यापक छ । सर्वसाधारण मात्र होइन, सचेत वा बुद्धिजीवी वर्गका साथै यावत् अन्तर्राष्ट्रिय निकायबाट समेत नेपाल सरकारको मुढ, शैली र क्षमतामाथि औँला उठाइएको अवस्था छ । भूकम्प गएको वर्ष दिन बित्दा पनि पीडित नागरिकले राहत नपाएको, नवनिर्माण त कहाँ हो कहाँ पुनर्निर्माणको रूपरेखासम्म कोर्न नसकेको भन्दै अन्तर्राष्ट्रिय समुदायका दातृनिकायले दान–दातव्य नै फिर्ता गर्ने चेतावनी दिन थालेको मामला चर्चा र चिन्ताको सन्दर्भ बनिरहेका छन् । पीडित जनता च्यातिएको पाल र चुहिने छानोका टहरामुनि कष्टपूर्ण जीवन गुजार्दै गर्दा बालुवाटारमा करोडौँको भोजभतेरमा मस्त प्रधानमन्त्री जनतालाई राहत दिएको, समृद्धिको सहकाल निम्त्याउन विकासको विजारोपण गरेको र इतिहासमै हुन नसकेको कदम चालेर देश–दुनियाँ चकित पर्नेगरी सफलता हासिल गरेको हास्यास्पद वक्तव्यबाजी सार्वजनिक गरिरहेका छन् ।

पुनर्निर्माणको शिलान्यासको निम्ति वर्ष दिन कुरेर भूकम्प गएको दिनकै साइत निकाल्ने प्रधानमन्त्रीले राहत र पुनर्निर्माण कार्यमा ढिलाइ भएको र दातृ–समुदायले दिएको रकम सदुपयोग गर्न नसकेकोमा पश्चात्ताप मान्नुको साटो नेपाल भूकम्पीय जोखममा अवस्थित मुलुक भएकाले यस्ता समस्या बारबार आइपर्ने र यस्तोमा सरकारको मात्र मुख नताकी जनता स्वयम्ले आफ्नो खुट्टामा उभिने प्रयास गर्नुपर्ने उपदेश दिए । रातारात घर बन्न नसक्ने भन्दै भूकम्पपीडित जनताको आलो घाउमा नुनचुक छर्किनसमेत देशका कार्यकारी प्रमुख हिच्किचाएनन् । दातृनिकायले भूकम्पपीडितको नाममा प्रदान गरेको रकम सदुपयोग गर्ने खुवी प्रदर्शन गर्न नसके पनि फजुल खर्च र त्यसको पक्षपोषण गर्ने कौशल यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भरपूर प्रदर्शन गरेकै हुन् ।

यसरी जगहँसाइको पात्र बनिरहेको परिवेशबीच असफल एवम् आलोच्य सरकारको एउटा प्रशंसनीय कदम देखिएको छ । सरकारले कहिलेकाहीँ राम्रो र सकारात्मक काम पनि गर्छ भन्ने एउटा उदाहरण बनेको छ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा डा. भाइकाजी तिवारीजस्ता व्यक्तिलाई नियुक्त गरेको सन्दर्भ । भाइकाजी यस्ता कर्मचारीका रूपमा चिनिएका पात्र हुन् जसको सोच–समझ र साहसका कारण दशकौँदेखि हुन नसकेको राजधानीका सडक फराकिलो पार्ने कामले साकार रूप पायो । तात्कालिक सत्तापक्षीय शक्तिशाली सांसदहरू नै बाटो छेक्न उद्यत् देखिएका र जनस्तरबाटै पनि अवरोध–प्रतिरोध उत्पन्न गरिएको अत्यन्त उहापोहको अवस्था थियो त्यो । राजनीतिक व्यक्ति–व्यक्तित्वका साथै नागरिक तप्काका केही व्यक्तिहरूको पनि चर्को अवरोध थियो । शक्तिशाली व्यक्तिहरूको अस्वस्थ र असामान्य कसरत तोड्नु सामान्य कुरा थिएन, तर त्यो सबै कुरा टाउकामा कफन बाँधेर भाइकाजीले चुनौती मोले । सडक विस्तारको मोर्चा सम्हालिरहेका उनको टिमले विभिन्न किसिमका धाक–धम्की व्यहोर्ने मात्र नभई हातपात वा शारीरिक आक्रमण नै झेल्नुपथ्र्यो ।

त्यतिबेला यो स्तरको दबाब झेल्नु एउटा सरकारी कर्मचारीको निम्ति कम्ती चुनौतीको विषय थिएन । तर, राजधानीको बाटो फराकिलो तुल्याएर यसको सुन्दरता, सुविधा र ख्याति बढाउने ध्येय अन्तस्करणदेखि नै पालेका भाइकाजीहरू डग्मगाएनन् । किनकि, व्यक्तिगत लाभका लागि यो चुनौती मोलिरहेका थिएनन् उनीहरू । विकास र देशप्रेम उनको हृदयमा टाँसिएको हुँदा उक्त कर्मलाई आफ्नो ध्येय नै बनाएका थिए उनले । हो, फिल्डमा उत्रिने या सडकमा उत्रिएका नागरिकको आक्रोश फेस गर्ने भाइकाजीहरू भए पनि तात्कालिक प्रधानमन्त्री हुनुको नाताले डा. बाबुराम भट्टराईलाई त्यस कार्यको क्रेडिट मिल्यो । तर, कर्तव्यपरायण भाइकाजीहरू पछिल्तिर फर्किएनन् र कामले निरन्तरता पायो, जसले गर्दा राजधानीको मुहार नै फेरिएको छ, फेरिने क्रम जारी छ ।

यसरी देशको विकास–निर्माणका निम्ति प्राण नै दाउमा राखेर लागिपर्ने, मुलुकलाई सुन्दर र समृद्ध तुल्याएर विश्वसामु देखाउन चाहने यिनै राष्ट्रभक्तलाई उपत्यका विकास प्राधिकरणको दायित्व सुम्पिएको छ सरकारले । मुलुक नै राजनीतिक भागबन्डाको सिकार बनेको यतिबेलाको परिवेशमा कसैको गोटी या हतियारका रूपमा नभई नितान्त एक सक्षम नेपाली सपुतको रूपमा जिम्मेवारी पाएका छन् डा. भाइकाजी तिवारीले । भाइकाजीजस्ता व्यक्तिलाई महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्छ भन्ने जनदबाब पनि एकातिर थियो भने उनको नियुक्तिले उनीजस्तै इमानदार र कर्तव्यपरायण कर्मचारी एवम् मुलुकको समृद्धि चाहने सबै तहतप्काका नागरिकलाई प्रेरणा र आशाको सञ्चार गराएको छ भन्न हिच्किचाइरहनुपर्दैन । तथापि, यहाँनेर योचाहिँ औँल्याउनैपर्छ कि राज्यले योग्य व्यक्ति खोजेर नियुक्तिपत्र थमाउने मात्र होइन, आवश्यक स्रोत–साधन पनि समयमै उपलब्ध गराएर विकास–निर्माणका काम तीव्र तुल्याइहाल्नु अपरिहार्य छ । कोरा भाषणप्रति जनता वाक्कदिक्क भइसकेका छन्, यो यथार्थ मनन गरी कर्मक्षेत्रमा जुटे मात्र राजधानी उपत्यका र सिङ्गै मुलुकको मुहार फेरिन सक्छ ।