प्रचण्ड र अन्य नेताहरूको नाममा

प्रचण्ड र अन्य नेताहरूको नाममा


babita basnet 13

– बबिता बस्नेत

एउटै विषयमा कुरा फेरिरहने राजनीतिकर्मी ठीक कि एकपल्ट आफूले बोलेपछि सकियो भनेर कुनै ‘स्पेस’नै नदिई जंगेले बोलेपछि बोल्यो बोल्यो भन्ने जंगबहादुर ठीक ? नेपालको इतिहास पढ्ने र अहिलेका राजनीतिकर्मीहरूलाई व्यहोर्नेहरूको मनमा बेलाबेलामा आउने प्रश्न हो यो । बिहानदेखि बेलुकासम्ममा एउटै विषयमा धेरैपटक कुराहरू फेरबदल गरिरहने नेताहरू विशेषगरी नेता प्रचण्डका सवालमा धेरै अघि यो प्रश्न मनमा आएको हो । सुरुमा जतिबेला प्रचण्ड सार्वजनिक हुनुभयो, त्यतिबेला जंगबहादुरको भन्दा कम चार्म थिएन उहाँको ।

जंगबहादुरपछि कूटनीतिक क्षेत्रमा कसैले मुलुकको नाम राख्छ भने त्यो प्रचण्ड हुन सक्नुहुन्छ भन्ने अनुमान लाउँदै गर्दा जब प्रचण्डले दिनमा तीनपल्टसम्म आफ्नो कुरा आफँैले काट्न थाल्नुभो त्यसपछि एकप्रकारको निराशा नै छाएको थियो । सैद्धान्तिक हिसाबले प्रचण्डले अपनाएको बाटोसँग सहमत हुन नसकिए पनि सुरुसुरुमा प्रचण्डमा यो देशको राजनेता हुने केही लक्षणहरू देखिएको थियो । तर, समयक्रममा ती लक्षणहरू आफैँले मेटाउँदै गएर समुद्रको अपेक्षा गरिनुभएका प्रचण्ड खहरेमा परिणत हुनुभयो । खहरे हुन केही समय लाग्यो, तर एकपटक भएपछि उहाँ फेरि फर्किएर समुद्र बन्न सक्नुभएन, सक्नुभएको छैन । उहाँ अग्रपङ्क्तिमा हुनुभएको मात्रै हो, तर कुनै पनि बेला आफ्नो बोली बदल्ने नेताहरू हामीकहाँ धेरै छन् ।

प्रधानमन्त्री केपी ओली पनि बोलीलाई लिएर चर्चित राजनीतिकर्मी हुनुहुन्छ । तर, उहाँको बोली हास्यव्यङ्ग्यमा चर्चित छ । हाँस्ने या मुस्कुराउने पनि कहाँ कतिबेला भन्ने हुँदोरहेछ । रुनुभन्दा हाँस्नु राम्रो अवश्य हो, तर त्यो पनि कहाँ, कहिले, कुन परिस्थितिमा जस्ता कुराले महत्त्व राख्दोरहेछ । मुसुक्क मुस्कुराउनु या हाँस्नु राम्रो कुरा हो, तर आर्यघाटमा या मरिमराउ भएको ठाउँमा गएर मुस्कुराउँदा कति अशोभनीय हुन्छ, सहज अनुमान गर्न सकिने कुरा हो । नेपाली जनता अहिले धेरै कारणले दु:खमा छन् । भूकम्प होस् या नाकाबन्दी मुस्कुराउनुपर्ने खासै कारण थिएन, तर त्यस्तो अवस्थामा पनि प्रधानमन्त्रीले भने गम्भीरभन्दा हँसाउने कुरा नै बढी गर्नु भो । कतिपयले उहाँका भाषण र कुरालाई मुलुक र जनतामाथि गरिएको ठट्टाका रूपमा पनि लिने गरेका छन् । उहाँ खासै सोच्नुहुन्न, लेखेको कुराभन्दा अगाडि देखेकै कुरा बोल्ने बानी छ । कतिपय अवस्थामा त्यो राम्रो हो, तर समय र परिस्थितिअनुसार गर्न भने सकेको देखिँदैन । जतिबेला जनता ग्यासको चरम अभाव झेलिरहेका थिए त्यतिबेला पाइपबाट ग्यास ल्याउने कुरा सर्वसाधारणका लागि एउटा निर्मम ठट्टाबाहेक केही थिएन । अहिले त्यो परियोजना कहाँ पुग्यो, कतैबाट कुनै फलोअप छैन ।

‘एमाओवादी अध्यक्ष प्रचण्डलाई विश्वास गर्न हँुदैन, उहाँले कुनै पनि बेला जे पनि भन्न र गर्न सक्नुहुन्छ भनेर मानिसहरू कुरा गर्छन्, तर अचम्म लाग्छ, फेरि राजनीतिक दलहरू उहाँसँगै किन सम्झौता गर्न जान्छन् ?’ राजनीतिको जोड–घटाउभन्दा टाढा रहेका सर्वसाधारणको प्रश्न हो यो । ०७३ मध्यवैशाखमा आएको राजनीतिक झोकाले कतिलाई प्रत्यक्ष हल्लायो, कतिलाई छोएर गयो र कतिले चाहिँ पत्तोसम्म पनि पाएनन् । यसपटकको राजनीतिक हावाले प्रत्यक्ष असर गर्ने काङ्ग्रेसझैँ देखिए पनि काङ्ग्रेस या एमाओवादी समग्रलाई भन्दा ठूलो असर नेता प्रचण्डलाई परेको छ । उहाँमाथि विश्वास गर्नुहुन्न भन्नेहरूलाई यस घटनाले थप पुष्टि गर्ने ठाउँ बनाइदिएको छ । मानिसको चार्म घट्न कति समय लाग्छ ? भनेर कसैले सोध्यो भने जवाफ उसको कामको प्रकृति र उमेर हेरेर हुन्छ भन्ने हुन सक्छ । तर, नेता प्रचण्डको सवालमा यसले धेरै दूरी नाप्नै सकेन । कुनै बेला यो देशका नायकझैँ प्रस्तुत हुनुभएका प्रचण्ड आफ्नै बोलीका कारण सस्तिँदै जानुभयो । अहिले पनि कतिपय कुरा उहाँँको ठाउँबाट नबोलिदिए हुन्थ्यो या त बोलेपछि उक्त कुरा पूरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ । निर्वाचन र भोटको कुरालाई छोडेर हेर्ने हो भने मान्छेको प्रतिस्पर्धा प्राय: आफैँसँग हुने हो । राम्रो लेख्नेका लागि अझ राम्रो कसरी लेख्ने, कसरी बोल्ने, बोलेको कुरा कसरी पूरा गर्ने, पूरा गर्न सकिएन भने के गर्ने ? एउटा काम राम्रो भएपछि त्योभन्दा राम्रो कसरी गर्ने ? जब मानिसले आफैँसँग प्रतिस्पर्धा गर्न छोड्छ त्यसपछि ऊ तल पर्न थाल्छ । अरूको मात्र होइन, आफ्नै नजरमा पनि ।

हामीकहाँ नेताले कामभन्दा कुरा बढी गर्ने भएका कारण त्यही कुराको आधारमा उसको व्यक्तित्व र सफलताको मापन गर्ने गरिएको छ । काम गर्ने नेतृत्व भएका मुलुकहरूमा तिनले गरेका कामहरू, स्थापित गरेका मूल्य–मान्यताहरू हेरिन्छ, तर हामीकहाँ ती सब नभएका कारण उसले के बोल्छ र उक्त बोलीलाई व्यवहारमा उतार्छ कि उतार्दैन भन्ने हो । बोली र व्यवहार फरक हुनेहरूको मूल्याङ्कन पनि त्यसरी नै हुने गरेको छ । जस्तो, नेता चित्रबहादुर केसीले सङ्घीयताको खुव विरोध गर्नुभो, तर संविधानमा सङ्घीय राज्य उल्लेख भएपछि सोही संविधानअन्तर्गतको मन्त्रिमण्डलमा आफैँ सामेल हुनुभयो । उहाँले गर्नुभएको सङ्घीयताको विरोध र मन्त्री पदमा आफ्नै उपस्थिति, बोली र व्यवहारबीच फरक कुरा थियो । यसैकारणले नेता चित्रबहादुर केसीलाई सर्वसाधारणले हेर्ने दृष्टिकोण पनि फरक भइसकेको छ ।

उहाँ जतिबेला पनि जे पायो त्यही बोल्नुहुन्न, उहाँले बिहान बोलेको कुरा बेलुका फेरेको पनि सुनिएको छैन, तर बोली र व्यवहार फरक भइदिँदा उहाँले आफूप्रतिको विश्वास टिकाइराख्न सक्नुभएन । नेता कमल थापाको सन्दर्भमा पनि यस्तै कुरा आउँछ । उहाँले धर्मनिरपेक्षताको सवालमा विपक्षमा रहेर आवाज उठाउनुभो, हिन्दूधर्म राज्यको वकालत गर्नुभो, तर धर्मनिरपेक्षता उल्लेख भएको संविधान जारी हुनासाथ मन्त्री मात्र हुनुभएन, संविधानको व्याख्यातासमेत बन्नुभो । उहाँको सवालमा पनि बोली र व्यवहारमा फरक पर्‍यो । अहिलेसम्म आफ्नो बोली र व्यवहार एउटै गर्ने नेताका रूपमा नारायणमान बिजुक्छेलाई लिन सकिन्छ । उहाँ सोचेर बोल्नुहुन्छ र आफ्नो बोलीमा प्राय: अडिग रहनुहुन्छ ।
जंगबहादुर या प्रचण्ड या भनौँ आफ्नो बोलीलाई लाहछाप ठान्ने र आफ्नै बोलीको सम्मान नगर्ने यी दुवै प्रवृत्ति राजनीतिकर्मीका लागि ठीक या सही होइनन् । बोल्नुअघि सोच्ने र बोलेपछि आफ्नो वचन पूरा गर्ने मानिसचाहिँ ठीक र सही हुन् । हाम्रो मुलुकको राजनीतिमा वर्षौंदेखि यस्ता मान्छेको खोजी जारी छ ।