ओली शासनलाई केही सवाल

ओली शासनलाई केही सवाल


GB Acharya 1

– अधिवक्ता जीबी आचार्य

लगाम खिँचेर घोडालाई टक्क रोक्न सकिएझैँ वा फ्याप्प ब्रेक थिचेर वेगवान् सवारीसाधनलाई आफ्नो अधीनस्थ पार्न सकिएझैँ समयको वेगलाई स्थिर बनाउन सकिने भए पक्कै पनि संसारभरका शासक र तानाशाहहरूले समयलाई अगाडि बढ्न दिने थिएनन् । आफू सत्तासीन भएपछि समयको प्रवाहलाई त्यहीँ रोक्ने थिए र आफूलाई सर्वशक्तिमान बनाएर सदासदा सत्ताको मादकतामा रमाइरहने थिए । शासकहरूको हर्कतलाई नियाल्दा त्यो आभाष प्रस्ट हुन्छ । तर, समयको प्रवाह असीमित बलवान् छ । यसको क्रममा कमजोर मानिस पनि शक्तिशाली बन्छ अनि समयान्तरमा ऊ शक्तिहीन हुन पुग्छ । ऊ पतन हुन्छ र समाप्त हुन्छ । इतिहासको कुनै कालखण्डमा सम्पूर्ण रूपमा मेटिनु उसको नियति हो । तर, शासकले यो शाश्वत सत्य स्वीकार गरेको देखिन्न । त्यसैले शासकले आफ्नो वरिपरि चाकरहरूको पर्खाल खडा गरे पनि विरोधीलाई फाँसी दिएर आफ्नो सत्तालाई लम्ब्याउन हरसम्भव प्रयास गरेको हो ।

मानवसभ्यताले समयको यो अविराम यात्रामा बर्बर पाषाण युगदेखि कहिल्यै घाम नअस्ताउने साम्राज्यको युग पनि देखेको छ । सिकन्दरदेखि हिटलरसम्मका तानाशाहको उत्थान र पतनको सम्पूर्ण इतिहास गर्भस्थ गरेर समयको क्रम अविराम बगिरहेको छ । समयको यो गति न त कुनै तानाशाह शासकले रोक्न सक्यो न त आफूलाई समयभन्दा बलवान् नै सावित गर्न सक्यो । दुनियाँ जित्ने उच्च महत्त्वाकाङ्क्षा बोकेका थुप्रै बादशाह जसरी शीतको थोपा प्रभाती किरणको स्पर्शमा विलीन भएर जान्छन्, समयक्रममा त्यसरी नै पुरिएर गए । शासकको दम्भलाई देख्ता यस्तो लाग्छ, अर्को मानिसलाई बध गरेर उसको आयु आफूलाई थप्न सकिने प्रकृतिको कुनै नियम भइदिएको भए, आज संसारमा रावण, कंश वा सिकन्दर वा हिटलर वा इदिअमिनजस्ता एकाध तानाशाह मात्र जीवित हुने थिए । तर, प्रकृतिको अनिवार्य नियमले मानिसलाई मरणशील बनाइदियो । चाहे त्यो राजा होस् वा रङ्क, चाहे त्यो अर्बपति होस् वा कङ्गाल, एक दिन सबैले मर्नैपर्छ, तर शासकहरू यो सत्य स्वीकार्न तयार छैनन् । बरु आफूलाई समयभन्दा अगाडि र मृत्युभन्दा बलवान् भएको आत्मरतिमा रमाइरहेका छन् । यही शासकी कमजोरीबाट नेपालका प्रधानमन्त्री खड्ग ओली पनि ग्रस्त छन् ।

खड्ग ओली व्यक्तिगत रूपमा एक आममानिस हुन्, तर जब उनी देशको प्रधानमन्त्री हुन पुगे, उनी देशको सार्वजनिक व्यक्तित्वमा परिणत भए । उनको जीवन, आनीबानी र स्वभाव पनि साझा हुन पुग्यो । उनीमाथि सबै मानिसको आशा, आकाङ्क्षा, चासो, सरोकार, चिन्ता हुन जति स्वाभाविक हो उनको समर्थन वा विरोध, तारिफ वा निन्दा हुनु पनि त सर्वथा स्वाभाविक हो । उनी कुनै पार्टीको संसदीय दलको नेता भएर प्रधानमन्त्रीमा नियुक्त भए पनि उनको पद सार्वजनिक सरोकारको पद हो । तसर्थ उनको भाषण एमाले नेताको मात्र भाषण होइन, देशको प्रमुख कार्यकारीको भाषण हो । उनको भाषा पनि त्यस्तै हो । उनले देशको प्रमुख कार्यकारीको हैसियत कायम राख्न सके त ?

कतिपय मानिस खड्ग ओलीले प्रधानमन्त्रीको रूपमा शपथ लिँदा देश विषम परिस्थितिमा थियो, त्यही भएर उनले पूर्ण क्षमतामा काम गर्न सकेनन् भन्ने भ्रममा छन् । यो देश इतिहासदेखि आजसम्म सधैँ विषम परिस्थितिबाट गुज्रिरहेको छ । ‘देश विषम परिस्थितिमा छ, शासकहरू व्यक्तिगत स्वार्थमा लागेका छन्, आमजनता गाँस, बास र कपासको आधारभूत आवश्यकताबाट वञ्चित छन्’ भनेर नै खड्ग ओली पनि राजनीतिमा लागेका हुन् । विकसित मुलुकमा जस्तो कुनै पेसा वा व्यवसायमा दक्षता हासिल गरेर राजनीतिमा प्रवेश गर्ने अभ्यास हामीकहाँ विरलै छ । राष्ट्रियता, जनजीविका, सुशासन, विकास, न्याय, सार्वजनिक शिक्षा, स्वास्थ्य, बाटोघाटोलगायत राज्यका सबै क्षेत्र विषम परिस्थितिमै गुज्रिरहेका छन् । हो, तत्कालीन रूपमा केही असहज भएकाले थप विषमचाहिँ भन्न मिल्छ ।

नेपालको शासनसत्ता जनताको समस्याबाट पूरै निस्पृह रहेको इतिहास छ । जनताले पाउनुसम्म दु:ख पाएका छन्, तर शासक वर्ग जनताको दु:ख, पीडा र अभावग्रस्त जीवनबाट पूरै बेखबर छ । सामाजिक अन्याय सहरमा भन्दा गाउँमा सहिनसक्नु छ । देशीय सामन्तवाद र अन्तर्राष्ट्रिय आर्थिक साम्राज्यवाद (कर्पोरेट उत्पादन प्रणाली) को संयोजनबाट जन्मेको चरम अवसरवादी कमिसन तन्त्रको मारमा जनता हिजो पनि पिल्सिएका थिए, आज पनि पिल्सिएका छन् । प्राकृतिक साधन र स्रोतमाथि पहिला स्थानीय सामन्तको मात्र हैकम थियो भने आज बहुराष्ट्रिय कमिसनखोरहरूले कब्जा जमाएका छन् । विकास परियोजना राजनीतिक पार्टीका स्थानीय कार्यकर्ताको भर्तीकेन्द्र बनेका छन् । अराजकता संस्कृति बनेको छ । सार्वजनिक संस्थान आवश्यकताभन्दा अधिकाधिक कर्मचारीको नियुक्तिको बोझले कहिल्यै उठ्न नसक्ने गरी थला परेका छन् ।

खड्ग ओली उच्च राजनीतिक चेतना भएका नेता हुन् भनेर नेपाली जनतालाई भ्रम रहेछ । पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय भएर जेल, नेल भोगेका नेता भएका हुनाले दुई दशक अगाडिदेखि मुलुकमा व्याप्त राजनीतिक अस्थिरता समाप्त पार्न खड्ग ओलीले निर्णायक पहल गर्लान् भन्ने नेपाली जनताको आशामा तब तुषारापात भयो जब उनले सरकार टिकाउनका लागि जनविरोधी सम्झौता गरे । जनताको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई पञ्चायती व्यवस्थाले कहिल्यै सम्मान नगरेकाले सो व्यवस्थालाई बदली जनवादी व्यवस्था ल्याएर जनतालाई अधिकाधिक शक्तिशाली बनाएर राष्ट्रिय पुँजीको समुचित विकास गरी समाजवादमा प्रवेश गर्नुपर्छ, उत्पादनका सबै साधन र स्रोतमाथि सामूहिक स्वामित्वको विकास गर्नुपर्छ भन्ने खड्ग ओली र उनको कम्युनिस्ट नामधारी पार्टीले आजभन्दा साढे दुई दशकअगाडि सारेका एजेन्डा थिए, तर आज गोल्छाहरूका प्रतापले यी एजेन्डाहरू कुन नालीमा झरे, देउमाईको किनारमा छरिएका रत्नकुमार बान्तवाहरूका सपना के थिए, सुखानीका जङ्गलमा तातो गोली खाएका सहिदको सहादतको औचित्य के थियो भनेर एमालेका कोही इमानदार कार्यकर्ताले खड्ग ओलीलाई प्रश्न सोधे के जवाफ दिँदा हुन् उनी ?

KP-OLi

‘आमश्रमजीवी सर्वहारा जनताले दु:ख पाएको दमनकारी राज्य संयन्त्र र शोषणकारी उत्पादन प्रणालीले गर्दा हो, तसर्थ विद्यमान सामन्ती उत्पादन प्रणालीलाई अन्त्य गरी समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्छ’ भनेर कुनै समयमा अभियान चलाएका खड्ग ओलीले सामन्ती उत्पादन प्रणाली अन्त्य गर्न राष्ट्रिय स्वाधीन अर्थतन्त्रको विकास गर्न के गरे ?

खड्ग ओली आज नेपालको सत्तामा छन् । नेपालको राजनीतिक इतिहासरूपी पात्रोमा एउटा अनुहार बदल्नेबाहेक उनले देश र जनताको हितमा कुनै सिन्कोसम्म भाँच्न सकेका छैनन् । जनमतलाई पूरै कुल्चेर सरकार कसरी टिकाउने भन्ने त्रासदीयुक्त संसदीय शासन व्यवस्था जनतालाई लाद्न सफल उनी आज दुनियाँका अगाडि नेपाली जनतालाई लज्जित तुल्याउने गरी ६–६ जना उपप्रधानमन्त्री भएको जम्बो मन्त्रिमण्डलमा सवार छन् । तैपनि धाकभन्दा धक्कु ठूलो भनेझैँ देशमा दशकौँ अघि नै असफल भइसकेको अनि आर्थिक अराजकता र अनैतिक राजनीतिको पराकाष्ठा बनिसकेको उही संसदीय प्रणाली कायम गरेर देशलाई राजनीतिक अस्थिरताको भड्खालोमा हाल्ने काम मात्र भएको छ । मिलिजुली सरकारको नाममा राजनीतिक समीकरण निर्माणमा अनावश्यक ध्यान दिने, तर भूकम्पले छानोविहीन बनेका जनताप्रति पटक्कै संवेदनशील हुन नसक्ने खड्ग ओली नेपालका अहिलेसम्मका प्रधानमन्त्रीमध्ये सबैभन्दा असफल प्रधानमन्त्री हुन् भन्ने प्रमाणित भइसकेको छ ।

प्रधानमन्त्री पद देशको सर्वोच्च कार्यकारिणी पद हो । यसको आफ्नै गरिमा, भूमिका र महत्त्व छ । यो व्यक्तिगत रहर वा मनोविनोदको विषय होइन र हुनु पनि हुँदैन । तर, बहुदलीय प्रजातन्त्रका नाममा मुलुकले जुन सत्ताको लुछाचुँडी, छिनाझप्टी, अस्थिरता, अराजकता र मनोमानीको गतिहीन यात्रा पायो त्यसले मुलुकमा चलेको प्रणाली र प्रधानमन्त्री पदको गरिमामाथि नै प्रश्न उठाइदिएको छ । पहिला एउटा परिवारले शासन गथ्र्यो, अहिले एउटा समूहले छानेको व्यक्तिले शासन गर्छ । वैयक्तिक योग्यताको प्रश्न हिजो पनि गौण थियो, आज पनि त्यसको कुनै मूल्याङ्कन छैन । यसको अर्थ खड्ग ओली पनि परम्पराको केवल एउटा पात्र मात्र बनेका छन् । यिनको पालामा पदीय गरिमा कायम हुनै नसक्ने गरी संवैधानिक अङ्गमाथि राजनीतीकरण भएको छ । देशको परराष्ट्र नीति इतिहासमै सर्वाधिक लज्जित हुने गरी असन्तुलित भएको छ । एउटा असफल पात्रको राजनीतिक भूमिका मुलुकले कहिलेसम्म भोग्न बाध्य हुने हो सो कुरा समयले नै बताउला ।