साकेला नाच्दै किरात राज्यको माग

साकेला नाच्दै किरात राज्यको माग


manita chamling

– मनिता चाम्लिङ

‘सिन्कौली सेउली सिलिली
नाचिमै जाउँ है फिलिली
सोइसोइला है, हुर्रा हा..हा..
सोई ढोले सोई, किरात राज्य खोई…?’

वैशाखे पूर्णिमादेखि किरात राईहरूको चाड साकेला उँभौली सुरु भएपछि यतिबेला धरानका चोकचोकमा ढोल झ्याम्टासहित उल्लिखित स्वरहरू सुनिन थालेका छन् । के वृद्धवृद्धा, के बालबालिका तथा युवायुवती, तालमा ताल मिलाई सिली प्रदर्शन गरी साकेला नाच्दै किरात राज्य मागिरहेका छन् ।
पहिचानसहितको सङ्घीयता माग्दै आएका किरातीहरूले आफ्नो थातथलो खुलेको अवस्थामा पनि नेपाल सरकारले किरात प्रदेशलाई १ नं. प्रदेश मात्र भनेकाले पनि आफूहरू किरात प्रदेश माग्दै यसपटकको साकेला मनाउने निर्णय गरेको कुरा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले बताए । उनले आफ्नो गुमेको राज्य, पहिचान र इतिहासलाई साक्षी राखी अब बन्ने नयाँ सङ्घीय नेपालमा किरात स्वायत्त राज्य जित्ने लडाइँमा किरात राई यायोक्खा होमिएकोसमेत बताए ।

यसैगरी किरात सुनसरीका अध्यक्ष कमला राईले किरात राईहरूको पहिचान र अस्तित्वलाई सदासर्वदा बचाइराख्न किरात राईहरूको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले ०४५ मा स्थापना भएको किरात राई यायोक्खाले सांस्कृतिक अभियानको साथमा राजनीतिक अभियान पनि थालेको बताइन् ।
sak

उनका अनुसार साकेला उँभौलीको अवसरमा यसपटक किरात राई यायोख्खा सुनसरीले किरात स्वायत्त राज्यको माग गर्दै विभिन्न कार्यक्रमको आयोजना मनाउने भएको छ । त्यस्तै, यायोक्खा सुनसरीका सचिव हिन्दुहाङ राईले किरात राईहरूले बजाउने ढोल–झ्याम्टाका तालमा किरात स्वायत्त राज्यको आवाज भेटिनुपर्ने र किरात राईहरूले नाच्ने साकेला सिलीको प्रत्येक चालहरूमा किरात स्वायत्त राज्य देखिनुपर्ने बताए । विगतका साकेला पर्वहरू आफ्नो पहिचानलाई जोगाउनकै लागि निरन्तता दिइँदै आए पनि यसपटक भने संस्कृतिको माध्यमबाट किरात स्वायत्त प्रदेश स्थापनाका लागि राज्यपक्षलाई दबाब दिइने सचिव राई बताउँछन् ।

साकेला उँभौलीको अवसरमा यसपटक किरात राई यायोख्खा सुनसरीले किरात स्वायत्त राज्यको माग गर्दै विभिन्न कार्यक्रमको आयोजना मनाउने भएको छ । त्यस्तै, यायोक्खा सुनसरीका सचिव हिन्दुहाङ राईले किरात राईहरूले बजाउने ढोल–झ्याम्टाका तालमा किरात स्वायत्त राज्यको आवाज भेटिनुपर्ने र किरात राईहरूले नाच्ने साकेला सिलीको प्रत्येक चालहरूमा किरात स्वायत्त राज्य देखिनुपर्ने बताए । विगतका साकेला पर्वहरू आफ्नो पहिचानलाई जोगाउनकै लागि निरन्तता दिइँदै आए पनि यसपटक भने संस्कृतिको माध्यमबाट किरात स्वायत्त प्रदेश स्थापनाका लागि राज्यपक्षलाई दबाब दिइने सचिव राई बताउँछन् ।

साकेला सिलीको मौलिकतालाई बचाइराख्न आफ्नो पुर्खादेखि चलिआएको सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै भावी पुस्तासम्म यसको जगेर्ना गर्नकै लागि साकेला पर्व मनाउँदै आएका किरात राई जातिले ०५७ देखि भने वृषमान राई साकेला सिली प्रतियोगिता सुरु गरेपछि सबै किरात राईले सामूहिक रूपमा मनाउन थालेका यायोख्खा सुनसरीका सदस्य एवम् प्रचार–प्रसार संयोजक उपेन्द्र चाम्लिङ राईले बताए ।

साकेला उँभौली पर्वको पहिलो दिन शनिबार बिहान धरान १४ विजयपुरस्थित हाङ बुद्धिकर्ण राईको दरबार क्षेत्र विजयपुर गढीमा धरानलगायत सुनसरीका विभिन्न स्थानबाट आएका किरात राईहरूले विधिवत् रूपमा पूजाआजा गरी ढोल झ्याम्टासहित नाचगान गर्दै साकेला उँभौली पर्वको सुरुवात गरे । किरातीहरूको साकेला पर्व वर्षमा दुईपटक मनाउने गरिएको छ । धानबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमा उँभौली र धानबाली पाकिसकेपछि थन्क्याउने समय अर्थात् मङ्सिरे पूर्णिमामा उँद्यौली पर्वको रूपमा मनाउँदै आइरहेका छन् । किरात राईहरूले गत वर्ष भने नेपालमा आएको विनाशकारी महाभूकम्पका कारण साकेला सिली प्रतियोगिताको आयोजना गरेका थिएनन् ।

किरात राईहरूको साकेला पर्वमा नृत्यसँगै सिली (अभिनय)को महत्त्वपूर्ण योगदान रहने गरेको छ । ठाउँ र स्थानसँगै ७५ वटा सिलीको प्रयोग गरिने भए पनि मुख्य गरेर तीनवटा सिलीलाई किरातीहरूले महत्त्व दिने गरेका छन् । सिली अर्थात् अभिनयमा मानव उत्पत्ति कसरी भयो ? अन्न बाली रोप्ने र भित्र्याउने गरी तीनवटा सिली सबै राई जातिहरूले प्रयोग गर्ने गरेका छन् । १५ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको साकेला उँभौलीको समापन कार्यक्रम भने यही जेठ २२ गते धरान १७ स्थित साकेला सांस्कृतिक पार्कमा सम्पन्न हुने यायोक्खाले जनाएको छ ।
sakkk