‘विशिष्ट अभियान’मा वेग हान्दै रोशनकुमार यादव

‘विशिष्ट अभियान’मा वेग हान्दै रोशनकुमार यादव


Roshan Yadav 5

सत्ता र सत्ता राजनीतिको वरिपरि देश घुमिरहँदा एक प्रतिभाशाली नेपाली युवाले विश्व विज्ञान सभा (वल्र्ड साइन्स काङ्ग्रेस) र नेपाल युनिटको अध्यक्ष बन्ने अवसर प्राप्त गरेका छन् । भौतिक विज्ञान, जीवविज्ञान, अदालती विज्ञान, मानवशास्त्र, कृषिविज्ञान, बनस्पति विज्ञान, भू–विज्ञान र इन्जिनियरिङ विज्ञानलगायत पृथ्वी र प्राणीजीवनमा सर्वाधिक महात्त्व राख्ने सबै प्रकारको विज्ञान गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउन विश्वका प्रतिष्ठित वैज्ञानिकहरूले वल्र्ड साइन्स कङ्ग्रेसको स्थापना गरेका हुन् । उक्त विज्ञान–सभाको नेपाल युनिटको अध्यक्षमा रोशनकुमार यादव चयन भएका छन्, जो विज्ञान र सामाजिक गतिविधिमा उत्तिकै सक्रिय छन् । सप्तरीमा जन्मिएर बायो टेक्नोलोजीमा स्नातकोत्तर गरेका रोशन वातावरणीय विकास एवम् कार्यक्रम केन्द्रका कार्यकारी सदस्य, एसियाली प्रविधि एवम् व्यवस्थापन संस्थाका उपनिर्देशक र बायो टेक्नोलोजी र वातावरणीय विकाससम्बन्धी संस्थाका कार्यकारी निर्देशकको भूमिका एकसाथ निर्वाह गर्दै छन् ।

केहीअघि नयाँदिल्लीमा भएको वैज्ञानिक सम्मेलनले रोशनकुमार यादवलाई नेपाल युनिटको अध्यक्ष चयन गरेको थियो । सो सम्मेलनमा स्विट्जरल्यान्डका मार्टिन किलिएस, बेलायतका डा. एन्ड्रयु कोर्डुकेस, अमेरिकाका डा. एम. शाहगिर शाह, बेलायतकै डा. सुखेन दास, ओमानका डा. डी.एन. धर, क्यानडाका सुवासचन्द्र मजुमदार, दुवईका डा. आर अवस्थी, जर्मनीका डा. मेड कार्ल डोनथलगायत संसारका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक तथा वैज्ञानिकहरूले भाग लिएका थिए । उक्त वैज्ञानिक सभाको आगामी सम्मेलन बङ्गलादेशको राजधानी ढाकामा नोभेम्बर २० देखि २२ सम्म हुने भएको छ । ५२ देशका वैज्ञानिकले भाग लिने सो सम्मेलनको उद्घाटन बंगलादेशका राष्ट्रपतिबाट हुने बताइएको छ । त्यसपछि २०१७ को नोभेम्बर २० देखि २२ मा अर्को सम्मेलन नेपालले आयोजना गर्दै छ र पोखराको साङ्ग्रिला भिलेज रिसोर्टमा उक्त सम्मेलन हुने निर्णय यसअघि नै भइसकेको छ ।

यसै सन्दर्भमा हामीले विश्व वैज्ञानिक सभा नेपाल युनिटका अध्यक्ष रोशनकुमार यादवसँग कुराकानी गरेका थियौँ । विश्व वैज्ञानिक सभा के हो भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै रोशनले भनेका छन्, ‘यो विज्ञानको हरेक क्षेत्रमा क्रियाशील वैज्ञानिकहरू जो समाजलाई रूपान्तरित गर्न चाहन्छन्, उनीहरूको साझा संस्था हो । यसको सम्मेलन हरेक वर्षको नोभेम्बर २० देखि २२ भित्र हुने गर्दछ र विश्वका साठीभन्दा बढी देशका वैज्ञानिकले सम्मेलनमा भाग लिने गर्दछन् । समाजसेवामा समर्पित भएका कारण विश्व वैज्ञानिक सभाले विश्वास र प्रतिष्ठा हासिल गर्दै गएको छ । यो संस्थाले एनिमेसन, एकीकरण जनपरिचालनका साथ समान सोच भएका व्यक्ति र संस्थाहरूसँग सहकार्य गरेर सौहार्दपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ एउटा आत्मविश्वासपूर्ण समाज निर्माणलाई हामीले प्राथमिकतामा राखेका छौँ ।’ यादवले अगाडि भने– वल्र्ड साइन्स काङग्रेस विश्वकै प्राथमिक महाधमनी हो, जसबाट सबैखाले विज्ञानका शाखाहरू प्रवाहित र परिचालित हुन्छन् । धमनीमा रगत बगेझैँ गरी यसले समाजको सबै क्षेत्रलाई सौहार्दपूर्ण र स्वाभाविक तवरमा सन्देश प्रवाहित गर्दछ । केही नयाँ कार्यका निम्ति हरेकलाई प्रेरित गर्दछ ।

० कुन–कुन क्षेत्रलाई यो सभाले समेटेको छ ?
– भौतिक विज्ञान, रसायन विज्ञान, जीवशास्त्र, चिकित्साशास्त्र, अदालती विज्ञान, औषधि वातावरणीय विज्ञान, समाजशास्त्र, धर्मशास्त्र, शिक्षाशास्त्र, भोगोल अर्थात् पृथ्वीविज्ञान, कृषिविज्ञान, कम्प्युटर शास्त्र, इन्जिनिरिङ विज्ञानलगायत प्रकृति र जीवनसँग सम्बन्धित हरेक विद्यामा वल्र्ड साइन्स कङ्ग्रेसले आफ्नो भूमिका स्थापित गर्ने लक्ष्य राखेको छ ।

० ढाका सम्मेलनमा नेपाली वैज्ञानिकहरूले भाग लिन के गर्नुपर्ने हुन्छ ?
– एकेडेमिक र रिसर्चसँग सम्बन्धित संस्थाहरूमा आधिकारिक तवरमै निम्ता पठाइसकिएको छ, इच्छुक व्यक्तिले इमेलमार्फत सहभागिताका लागि आवेदन दिन पनि सक्नेछन् ।