पराक्रमी विक्रमलाई मौका दिन किन कञ्जुस्याइँ ?

पराक्रमी विक्रमलाई मौका दिन किन कञ्जुस्याइँ ?


mahendra pandey

– महेन्द्र पाण्डे

केही दिनअघि मारवाडी समुदायका एक व्यापारी महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेका थिए । ती व्यापारी कुनै मुद्दामामिला र शान्तिसुरक्षाका विषयमा कुरा गर्न नभई एक विशुद्ध धार्मिक कार्यक्रमको निम्तो दिन परिसरप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाको कार्यकक्षमा थिए । संयोगवश पङ्क्तिकार पनि एसएसपी थापाको कार्यकक्षमा पुगेको थियो । धार्मिक कार्यक्रमको निमन्त्रणा गर्न गएका ती मारवाडीले एसएसपी थापालाई निम्तोपत्र थमाउँदै भने, ‘एसएसपी साहेव, तपाईंले त यो आठ महिनामा कसैले नसोचेको चामत्कारिक काम गरेर देखाउनुभयो । तपाईंको साहसिक कार्यको हामीजस्ता स्वच्छ तरिकाले व्यवसाय गर्ने मानिस उच्च सम्मान र प्रशंसा गर्न चाहन्छौँ ।’ ती व्यवसायीले धाराप्रवाह रूपमा एसएसपी विक्रमसिंह थापाको कर्मको मुग्धकण्ठले प्रशंसा गरिरहेका थिए । उनी थप्दै थिए, ‘राजधानीमा तपाईंको उपस्थितिले देश र जनताप्रति उत्तरदायी हँुदै आफ्नो व्यवसायलाई कानुनको दायरामा राखेर चलाउनेहरूको मुटु दह्रो भएको छ भने जनतालाई कुल्चँदै दुई–चारजनालाई पोसेर दिन दुईगुणा रात चारगुणा कमाउन खोज्ने हाम्रै समुदायका मान्छेको चाहिँ निदहराम भएको छ । आफ्नो समुदायको भेटघाट समारोहमा तपाईंको विरोध गर्नेहरू पनि नभएका होइनन्, तर हामीजस्ता प्रशंसक पनि थुप्रै छन् है †’
हुन पनि विक्रमसिंह थापाको प्रहरी सेवाको दिनचर्या प्रशंसा गर्नलायककै छ । उनी निरीक्षक हुँदा गर्ने गरेका अप्रेसनहरू पछिल्लो समयमा धेरै प्रहरी अधिकृतले पछ्याइरहेका छन् । कुनै समय नेपालमा गुन्डागर्दीको दोहोलो काढ्ने अधिकृतका रूपमा अच्युतकष्ण खरेलको नाम चर्चामा आउँथ्यो भने पञ्चायती व्यवस्था स्थापित हुाँदासम्म हालका एसएसपी विक्रमसिंह थापाकै नाम अग्रपङ्क्तिमा आउने गर्दछ । पूर्वप्रशासक बद्रीबहादुर कार्कीको भनाइलाई सापटी लिएर भन्नुपर्दा हस्तक्षेप नगर्ने हो र जिम्मेवारी पूर्ण रूपमा दिने हो भने विक्रमसिंह थापाले कुनै पनि हालतमा त्यो पूरा गरेरै छाड्छन् । उनी कानुनविरोधीहरूसँग सम्झौता गरेर ठाउँमा बस्नुभन्दा कानुनको दायरामा ल्याएर सुरुवात हुन पाउने अधिकृतका रूपमा परिचित छन् ।

SSP-Bikram

विक्रमसिंहलाई एक न्यायप्रेमी प्रहरी अधिकृतका रूपमा प्रशंसा गर्नेहरू उत्तिकै छन् । यसरी प्रशंसा गर्नेको कोटिमा अग्रपङ्क्तिमै पर्छिन् माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पनि । सीएनएन हिरोसमेत रहेकी कोइराला विक्रमसिंह थापाले माइती नेपाललाई निडरताका साथ काम गर्न हौसला र सहयोग गरेको बतााँछिन् । जुनबेला चेलिबेटी बेचबिखनको बिगबिगी थियो त्यो बेला गौशालाको इन्चार्ज रहेका थापाले माइती नेपालको अभियानलाई मन, वचन र कर्मले सहयोग गरेको कोइराला बताउँछिन् । सतीले सरापेको यो देशमा चोरलाई चौतारो साधुलाई शूली भनेझैँ निरीक्षकबाट बढुवा हुनेबेला उनका सहपाठीहरू उनीभन्दा नम्बरमा तलमाथि भए पनि जनताले लिने एक सय पूर्णाङ्कको परीक्षामा उनी शतप्रतिशत अङ्क ल्याएर अग्रपङ्क्तिमा छन् । उनको काँधमा फूलीको सङ्ख्या कमै भए पनि जनताको मन–मस्तिष्कमा उनी ज्यादै ठूला र चट्टानसरि रहने सिपाहीका रूपमा परिचित छन् । प्रहरी निरीक्षकदेखि एसएसपीको जिम्मेवारी सम्हाल्दासम्म ज्यादै कठिन परिस्थितिलाई पर्वाह नगरी कर्तव्यप्रति अडिग थापाका अन्य दर्जामा रहँदा गरेका सयौँ कामलाई उल्लेख गर्न नसकिए पनि स्वयम् थापाले नै गर्व गर्दै आएका केही कार्य यस्ता छन् ।

डीएसपीबाट बढुवा भएर सप्तरीको जिम्मेवारी लिएका थापाले त्यहाँ पनि एक किसिमको चामत्कारिक कार्य गरेका थिए । त्यस जिल्लाको इतिहासमा संविधानसभाको पहिलो निर्वाचनमा एकै चरणमा सम्पन्न हुनु नै थापाको कार्यशैली र सक्षम व्यवस्थापन मानिएको थियो । चर्किएको मधेस आन्दोलनमा क्षतिबिना व्यवस्थापन गरेर थापाले त्यहाँका जनताको स्यावासी बटुलेका थिए । यस्तै, ललितपुर प्रमुख रहँदा दर्जनौँ उल्लेख गर्ने काम भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको युनिटीलाई कानुनी दायरामा ल्याउन थापा सफल भएका थिए । मुलुकका राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै देश सञ्चालकहरूलाई आँखामा छारो हाल्न सफल युनिटीका ठगहरूलाई तत्कालीन व्यवसाय गरेर अर्बौं रुपैयाँ अवैध कमाइ गरेर हालीमुहाली गर्दै आएका त्यसका सञ्चालकलाई जेलको छिँडीमा मात्र नबसाई उक्त अवैध संस्था नै बन्द गराउन विक्रमसिंहको ठूलो योगदान रहेको थियो । युनिटीका साथै ललितपुरमा उनले ढुङ्गाखानी पूर्ण रूपमा बन्द गराएर मातृभूमिको बचाउ गरेका थिए । युनिटी प्रकरणमा दबाब र विरोध हुँदाहुँदै पनि सफलताका साथ अवैध कार्यलाई समूल नष्ट गर्न सफल थापा अन्य जिल्लामा पनि वाहीवाही बन्न सफल भए ।

नेपाल प्रहरीमा सङ्गठनभन्दा आफू हिरो बन्न खोज्ने कैयाँै प्रहरी अधिकृत नभएका होइनन् । तर, विक्रमसिंह थापा भने सङ्गठन छ र म छु भन्दै सङ्गठनलाई आफूले गरेको कार्यको जस (यस) दिन चाहन्छन् । नेपालगन्जको प्रमुख हुँदा पनि उनले ज्यादै प्रभावकारी काम गरे । त्यहाँको प्रमुख भएर जाँदा नेपालगन्जको शान्तिसुरक्षा ज्यादै बिग्रिएको थियो । भूमिगत समूहका भगतसिंहको त्रासबाट त्यहाँका सर्वसाधारण त्राहिमाम थिए । नेपालगन्जका भारोत्तोलन खेलाडी सुरेन्द्र हमालले थापाका विषयमा पङ्क्तिकारसँग भने– ‘विक्रमसरको पहिलो कार्यक्रममा म पनि उपस्थित थिएँ । पत्रकारदेखि नागरिक समाजका प्रबुद्ध वर्ग रहेको त्यो कार्यक्रममा उहाँले ‘एउटा जङ्गलमा दुईवटा सिंह रहन सक्दैन आजदेखि कि त विक्रमसिंह हुँदैन कि भगत सिंह’ भन्दा सुरुमा त पत्यार लागेन । तर, कार्यकक्षमा ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भन्ने बडाकाजी अमरसिंह थापाको महावाणी टाँगेका विक्रमसिंहले अन्तत: नेपालगन्जको भगतसिंहको आतङ्कलाई रोकेर नेपाल प्रहरी विक्रमसिंहको काबुमा अशान्तिलाई लिएर शान्ति दिन सफल हुनुभयो ।’

साँच्चै, विक्रमसिंह नेपालगञ्ज खटिएर जाँदा बिहान विद्यालय, कार्यालय वा व्यवसायमा गएको आफ्नो परिवारको सदस्य साँझ जीवित फर्कन्छ कि फर्कंदैन भनेर परिवार चिन्ता गर्थे । विक्रमले त्यहाँ पराक्रम देखाएर शान्तिसुरक्षा मात्र कायम गरेनन् कि साँघुरो सडकलाई फराकिलो बनाउनसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरे । नेपालगन्ज सहरलाई धुम्रपानविरोधी सहर बनाउला भनेर कसैले नसोचेको कुरालाई थापाले यथार्थमै दर्शाए ।

काम गर्ने मान्छेलाई सुविधाजनक र मालदार ठाउँ नै चाहिन्छ भन्ने होइन भन्ने कुरालाई पनि विक्रमले बुटवल दङ्गाको प्रमुख हुँदा चरितार्थ गरे । सर्वसाधारण जनतासँग त्यति हिमचिम नहुने दङ्गामा रहँदासमेत उनले त्यहाँका मठमन्दिरदेखि सहर सफाइमा आफ्नो ध्यान केन्द्रित गरेर बुटवलवारि समेत उनको प्रशंसक बने । दङ्गाबाट रूपन्देहीको प्रमुख बनेका विक्रमसिंहले त्यहाँ पनि वर्षौंदेखिको तेल चोरी गर्ने गिरोहलाई रङ्गेहात पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भए । आयल निगमका कर्मचारीको समेत मिलेमतोमा जमिनमुनि गाडेको पेट्रोलियम पदार्थको कारबाही पछि त्यहाँको नागरिक समाज र मिडियाले थापाको कदमको स्वागत गरेका थिए । बुटवल तिनाउ नदीबाट निकालिने ढुङ्गागिटीलाई पूर्ण रूपमा रोक्नेसमेत सफल भएका थिए ।

Bikram Sing

तत्कालीन जिल्ला र अञ्चलका सम्बन्धित निकायका प्रमुख ढुङ्गागिटी निकासीका लागि पर्दासमेत थापाको एकल प्रयास र मिडियाको सहयोगले बुटवल मात्र नभएर देशभरै निकासी रोकिएको थियो । दामलाई भन्दा कामलाई महत्त्व दिएर सङ्गठनका नाम राख्न चाहने हो भने सफल भइनेरहेछ भन्ने उदाहरण हुन विक्रमसिंह थापा । नेपाल प्रहरीको नेतृत्वले अप्ठ्यारो ठाउँमा शान्तिसुरक्षा कायम गराउन वा नयाँ स्थापना गर्न खोजी गर्ने विक्रमले नवलपरासीको प्रहरी युक्ति महाविद्यालयको स्थापनासँगै त्यहाँका स्थानीयलाई साथमा लिएर त्यहाँका सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।

महाविद्यालयबाट सरुवा भएर काठमाडांैको सुरक्षा कमाण्ड सम्हाल्न आउँदा भारतीय नाकाबन्दीले राजधानी अस्तव्यस्त भएको थियो । कालाबजारीयाहरूले रातारात महँगी बढाएको कुरा थाहा पाउँदा–पाउँदै पनि केही समय थापाले गतिविधि नियाल्न थाले । सबैभन्दा महत्त्व जनताको चुलोसँग सरोकार राख्ने खानेतेलमा केएल दुगड समूहले दुई गुणा महँगो गराएको सूचना प्राप्त गरेका एसएसपी थापाले दुगड समूहको गोदाममा छापा हानेर दुईजनालाई नियन्त्रणमा लिना साथ आकासिएको तेलको मूल्य ह्वात्तै घटेको थियो । जिल्ला अदालत र पुनरावेदन अदालतले जेल सजाय सुनाएको केएल दुगड समूहको करोडौँ मूल्यको तेल लिलामसमेत गरिएको थियो । काठमाडौंमा पनि धुम्रपानविरोधी अभियान चलाएका थापाले हुँकार दिएपछि काठमाडौंका गुन्डाहरू आजसम्म दुला पसेका छन् । सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध गरिँदा केही समय ज्यादै प्रभावकारी भएको यो अभियान पछिल्लो समयमा भने फितलो भएको छ । बिहानपख कलंकीचोकदेखि बाबा पेट्रोल पम्पसम्म झन्डै एक सयका हातमा चुरोटको खिल्ली देख्न पाइन्छ ।

यसरी देशभर नेपाली जनतालाई आहातबाट राहत दिएका विक्रमसिंह थापाको जागिरे जीवनपछिको यात्रा कस्तो होला ? यस विषयमा यो पङ्क्तिकारले मुलुकलाई सुरक्षा दिँदा हिजो मोलिएको जोखिमका आधारमा आज खतरा कत्तिको छ भन्ने जिज्ञासा राख्दा उनले भयो– ‘मेरो जीवन बोनसको हो । हिजो द्वन्द्वमा धेरै प्रहरी योद्धाहरूले ज्यान गुमाए, तर मैले श्रवणशक्ति मात्रै गुमाएको छु । मलाई कसैसँग केही डर छैन, बरु अवकाशप्राप्त जीवनपछि अहिले गर्न नसकिएका सफेदभेषी आर्थिक अपराधीलाई जनताको नजरमा प्रस्तुत गर्नेछु । म रिटायर्ड भएपछि हात बाँधेर बस्न सक्दिनँ ।’
मुलुकका लागि कर्तव्य पूरा गर्ने विक्रमसिंह थापाजस्ता प्रहरी अधिकृत हातको औँलामा गन्ने मात्र छन्, तर दुर्भाग्य उनीहरूलाई मौका भने अत्यन्तै कम दिइएको छ ।