कांग्रेसमा डेरावाला धेरै भए

कांग्रेसमा डेरावाला धेरै भए


Omkar Prasad Shrestha

– ओमकारप्रसाद श्रेष्ठ (नेता, नेपाली कांग्रेस)

ओमकारप्रसाद श्रेष्ठ, नेपाली राजनीतिमा एउटा सुपरिचित नाम । प्रजातान्त्रिक आन्दोलनका क्रममा चौध वर्ष लामो जेलसजाय भोगेका श्रेष्ठ निडर र हकी स्वभावका नेता मानिन्छन् । वि.संं १९९७ को फागुनमा जन्मिएका ओमकार श्रेष्ठको उमेर ७५ वर्ष पुगिसकेको छ, तर बुढ्यौलीका चिह्न देखिँदैनन्, युवा जोशसहितको सक्रियता यथावत् छ उनमा । राजनीतिशास्त्रमा स्नातकोत्तर श्रेष्ठले वि.सं. २०१२ सालमा काङ्ग्रेस पार्टीको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए । परोपकार नामक चर्चित संस्थाका संस्थापकहरूमध्ये एक मोहनप्रसाद श्रेष्ठका सुपुत्र ओमकारले संसदीय व्यवस्था, विज्ञान तथा प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र जनसङ्ख्या तथा वातावरणजस्ता मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको कार्यसमितिमा केन्द्रीय सदस्य रहेका श्रेष्ठ अहिले पूर्वसांसद मञ्चका उपसभापति छन्

० धेरै उचाइ प्राप्त गरिसक्नुभएका नेता तपाईं, पछिल्लो समयमा तपाईंले कांग्रेस छोड्दै जानुभएको हो कि कांग्रेसले तपाईंलाई छोड्न खोजेको हो, अलिक दूरी बढेजस्तो देखियो नि ?
– होइन, पहिलो कुरा त म उचाइमा पुगेको छैन, कांग्रेसको एउटा कार्यकर्ता मात्र हुँ । लामो समयदेखि कांग्रेससँग एफिलिएटेड छु । धेरै मानिस आफूलाई म कांग्रेसको मान्छे हुँ भन्छन्, तर मचाहिँ काङ्ग्रेसलाई मेरो भन्ने मान्छे परेँ । कसले कसलाई छोड्यो भन्दा पनि कांग्रेससँगको मेरो रिलेसनमा चाहिँ खासै फरक परेको छैन । २०१२ सालमा कांग्रेसको सदस्यता लिँदा मैले एउटा जिम्मेवारी प्राप्त भएको महसुस गरेको थिएँ । त्यसबेलादेखि अहिलेसम्म मैले आफूलाई कांग्रेसको जिम्मेवार व्यक्ति ठानेको छु । जहाँसम्म पदको कुरा छ पदबाट चाहिँ म टाढा पुगेको छ ।

० टाढा पुगेको हो कि पुर्‍याइएको ?
– पुगेको या पुर्‍याइएको भन्नुभन्दा पनि बाह्रौँ महाधिवेशनपछि मलाई अलिक असहजता महसुस भएको हो । बाह्रौँ महाधिवेशनमा म केन्द्रीय सदस्यको उम्मेदवार बनेको थिएँ, विजयी हुन सकिनँ, तर यस्ता–यस्ता मानिस विजयी भए जसको कांग्रेसमा कुनै लगानी थिएन । त्यसपछि अब मैले कांग्रेसमा कुनै पद खोज्नुहुँदैन भनेर तर्किएको हुँ । कांग्रेसलाई आफूले सकेको दिइरहुँ, तर माग्नचाहिँ केही पनि नमागौँ भन्ने लाग्यो ।

० त्यसो भए आफ्नो घरमा आफैँ परायजस्तो हुनुपर्‍यो, हो ?
– म पराय भएको होइन, घरमा डेरामा बस्नेहरूले पराय ठानेका मात्र हुन् । घरबेटी मात्र बसेको भए एउटा परिवारजस्तो हुने रहेछ, डेरावाल धेरै भए, घरबेटी कम भए । घरबेटी दुईजना मात्र, डेरावाल बाइसजना भए, बाइसजना डेरावालका अघिल्तिर घरबेटी नै पराय भएझैँ देखिएको हो ।

० तपार्इंसँग मात्र होइन, कांग्रेस बीपीसँग पनि टाढियो भन्छन्, तपाईंलाई त्यस्तो लाग्छ कि लाग्दैन ?
– बीपी कोइराला अहिले बेचेर खाने भाँडो भएका छन् । बीपीको नाम जप्ने, तर उनलाई अनुशरण नगर्ने प्रवृत्ति देखिएको छ । अप्रिय शब्दमा भन्नुपर्दा बीपीको नामको पिण्ड खाने, तर पिण्ड नचढाउने व्यवहार देखियो यहाँ ।

० कांग्रेसले बीपीको विचार छोड्यो भन्नेहरूलाई तपार्इं के भन्नुहुन्छ ?
– बीपीलाई छोडेको होइन, अलिक टाढा गरेको हो भन्छु म । बीपीको नामबाट हुने फाइदा लिइँदै छ, त्यसैले बीपीलाई चटक्कै छोडेको म भन्दिनँ, टाढा भएकोचाहिँ निश्चित हो ।

० पञ्चायतकालमा गिरिजाप्रसाद कोइरालालगायत केही नेताले वर्गीय सङ्गठनको सदस्यता लिनु नपर्ने भए पञ्चायतको चुनावमा भाग लिने भन्ने धारणा प्रकट गरेका थिए, त्यतिबेला पञ्च र कांग्रेसमा धेरै भिन्नता नभए जस्तो लाग्थ्यो । पछिल्लो दशकमा माओवादी बलियो भएपछि काङ्ग्रेस माओवादीको एजेण्डा बोक्न तयार भइदियो । मान्छेले माओवादी र कांग्रेसबीचको भिन्नता नै देख्न छोडे, कांग्रेसको आफ्नै मौलिक विचारचाहिँ के हो वास्तवमा ?
– वास्तवमा सङ्घर्षको पृष्ठभूमिबाट आएका व्यक्तिहरूको सङ्ख्या कांग्रेसमा ज्यादै न्यून भइसकेको छ । चुनावमा जानुपर्ने भएकोले पार्टीको आकार सकेसम्म बढाउन परिगयो । त्यसले गर्दा सिद्धान्त, नीति, आदर्श र विचारले भन्दा सङ्ख्याले प्राथमिकता पायो । देश र देशको हितलाई प्राथमिकतामा राखेको देखिँदैन, आफ्नो निजी आकाङ्क्षा परिपूर्तिमा धेरैको ध्यान गएको छ । त्यसैले कांग्रेस पहिलेभन्दा केही भिन्न हुन पुगेको छ । कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कहिल्लै छोड्न सक्दैन । गणतन्त्रकै बारेमा पनि पार्टीको आधिकारिक कमिटीमा छलफल गरी एउटो ठोस धारणा बनाउनु उपयुक्त हुनसक्छ । गिरिजाप्रसादले गर्नुभएको एकल निर्णयलाई सुधार गर्ने, परिवर्तन गर्ने या बदल्ने जे गरे पनि पार्टीले संस्थागत रूपमा गर्नुपर्छ भन्ने मेरो भनाइ हो ।

० तपाईं आफैँ जिम्मेवार नेता हुनुहुन्छ, कुनै बेला बमसमेत बोकेर हिँडेको र चौध वर्ष जेल बसेको योद्धा तपार्इं, तपाईं आफैँ पनि त पार्टीमा सुधारको लागि अग्रसर हुन सक्नुहुन्थ्यो ।
– सुधार गर्ने प्रयास नगरेको होइन, मैले धेरै कोसिस गरेको हुँ । पदको लागि नयाँ मान्छेहरूको प्रवेश आवश्यक छ । पार्टीको नीति, सिद्धान्त र देशहितका निम्ति चाहिँ यो ‘नम्बर गेम’ ठीक पुष्टि भइरहेको छैन । सिद्धान्तको कुरा गर्दा कांग्रेसले बोकेको चार कुरा हुन्– राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संवैधानिक राजतन्त्र कांग्रेस अपनाएको आदर्श, सिद्धान्त, नीति र कार्यक्रम हुन् । अहिलेको अवस्थामा यस्ता कुरा कसैलाई अप्रिय लाग्न सक्ला, तर कांग्रेसको मौलिकतासँग जोडिएकोचाहिँ यिनै चार कुरा हुन् । यी कुराहरूलाई छोडेर अहिले जे भन्दा आफू लोकप्रिय भइन्छ, जे भन्दा बढी भोट प्राप्त हुने गर्दछ त्यसै भन्ने गरिँदै छ । नीति, आदर्श, सिद्धान्त र निष्ठा भन्ने कुरा त अब कहाँ रह्यो र ? अहिले पार्टीको नीति यो हो, नीतिअनुरूप चल्ने भए चल्नु नत्र छोडेर जानु भन्ने हिम्मत भएका कुनै नेता छैनन् ।

० हिम्मत त तपाईंमा नै छ भन्छन्, किन अगाडि नबढ्नुभएको त ?
– त्यही हिम्मत भएकैले म बाहिर परेको हुँ । भित्र रहनेहरू हिम्मत गर्नै खोज्दैनन् । अझै म सङ्घर्षरत छु । पार्टीलाई विचार, आदर्श र सिद्धान्तको आवरणमा ढाल्न सङ्घर्ष गर्दै छु ।

० काङ्ग्रेस सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशितासहितको धर्मनिरपेक्षताको पक्षमा गएको छ, यसलाई तपाईंले कुन रूपमा लिनुभएको छ ?
– सानेपामा हाम्रो पार्टीको महासमिति बैठक भएको थियो २०६२ सालतिर । बैठकमा रामचन्द्र पौडेलजीले सङ्घीयता र गणतन्त्रसम्बन्धी प्रस्ताव ल्याउनुभएको थियो । त्यसबेला फ्लोरबाट उठेर सबभन्दा पहिले प्रश्न गर्ने मानिस मै हुँ । प्रस्ताव ल्याउनुभन्दा पहिले हामीलाई दस्तावेज दिनुहोस्, दुई–चार दिन पढेर छलफल गरेपछि देशको निम्ति यो सङ्घीयता र गणतन्त्र कत्तिको उपयुक्त हुन्छ भनी हामी भन्न सक्छौँ भनेर मैले भने । थुपै्र साथीले मेरो कुरालाई समर्थन पनि गरेका हुन् । तर, हामीलाई न प्रतिवेदन पढ्न दिइयो, न त्यहाँ कुनै छलफल नै भयो काङ्ग्रेस गणतन्त्रमा गएको निर्णय भएछ, तर हामीलाई नै थाहा भएन । अहिलेसम्म कहीँ कतै यो विषयमा छलफल र निर्णय भएको छैन । त्यसैले सङ्घीयता र गणतन्त्रलाई काङ्ग्रेसले विधिवत् अपनाएको सिद्धान्त भनेर मान्न म तयार छैन । तेह्रौँ महाधिवेशनमा मैले बोल्न खोजेको थिएँ, मलाई मौका दिइएन । सभापतित्व गरिरहेका रामचन्द्र पौडेलजीलाई मैले बोल्न नाम पठाएँ, अनुरोध गरेँ, तर उनले आ–आफ्ना अनुकूलका मानिसलाई छानीछानी बोल्न दिए, मलाई दिएनन् ।

० त्यसो भए यो सङ्घीयता र गणतन्त्र ढोकाबाट नआई जस्केलाबाट आएको भन्नुपर्छ, हो ?
– म त ऐंजेरू भन्छु यसलाई । यो जताबाट आएको भए पनि ऐंजेरू विचार हो, यसको आफ्नो जरा छैन । जराविहीन ऐंजेरू कति दिन टिक्ला म भन्न सक्दिनँ, तर यसको लामो आयुचाहिँ देख्दिनँ म ।

० कांग्रेसले धर्मनिरपेक्षता र समावेशितासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र छोडेर आफ्नो मौलिक वैचारिक भूमिमा आफूलाई फर्काउन सक्ला त ?
– गणतन्त्रको कुरा धेरै अघि बढिसक्यो, यो विषयमा जनताले के भन्लान् म यसै भन्न सक्दिनँ । तर, सङ्घीयता लागू गर्न सकिएला भन्ने कुरामा चाहिँ मलाई शङ्का छ ।

० सङ्घीयतामा जानचाहिँ हुन्छ कि हँुदैन त तपाईंको विचारमा ?
– पूर्वसांसद मञ्चको उपसभापतिका नाताले हामी देशको धेरै भागमा गयौँ र जनताको धारणा बुझ्ने कोसिस गर्‍यौँ । विभिन्न पार्टीका जिल्लास्तरीय नेताहरूलाई राखेर हामीले यस विषयमा छलफल पनि गर्‍यौँ । त्यसक्रममा दुईवटा विषयमा अधिकांश मानिस असहमत र असन्तुष्ट देखिए, एउटा गणतन्त्रको बारेमा, कोही कन्भिन्स छैनन् । धर्मनिरपेक्ष भनिएकोमा पनि जनताको असहमति पायौँ हामीले । अर्कोतिर यो सङ्घीयताको विषयमा पनि जनताको बेग्लै मत छ । जनतामा सङ्घीयताको सट्टा विकेन्द्रीकरण चाहँदारहेछन् । सातवटा प्रदेशमा गएर हामीले छलफल चलायौँ, सातवटै प्रदेशमा सङ्घीयताप्रति जनता सकारात्मक भएको पाएनौँ । हामीले फिल्डमा जे पायौँ त्यसको जानकारी संसद्लाई गराएका पनि छौँ । हामीसँग सल्लाह मागेका त छैनन्, नमागे पनि हामीले आफ्नो कर्तव्यचाहिँ पूरा गरेका छौँ ।

० तपाईं पूर्व सांसद मञ्चको उपसभापति हुनुहुन्छ, अनुभवी राजनीतिकर्मीहरूको सङ्गठन भएकोले त्यसले जति गर्नसक्छ त्यति नगरेको भन्ने लाग्दैन ?
– हाम्रो संस्थामा देश बुझेका अनुभवी व्यक्तिहरू आबद्ध छन् । हाम्रो भूमिका एडभाइजरी मात्र हो र हामीले आफ्नो स्रोत र साधनले भ्याएसम्म भूमिका निर्वाह गरिरहेका छौँ । हालै मात्र सात प्रदेशमा पुगी जनताको राय सङ्कलन गरेर दिएको कुरा मैले भनिसकेँ । हामी केही न केही गरिरहेका हुन्छौँ । अब पूर्वसांसदहरूको समस्यामा पनि केन्द्रित हुँदैछौँ । सामान्यतया एउटा राजनीतिकर्मी सांसदसम्म बन्ने अवस्थामा आइपुग्दा देशमा उसले धेरै ठूलो लगानी गरिसकेको हुन्छ । हुन त अचेल कहिल्यै राजनीतिमा देखा नपरेको मानिस रातारात सांसद, मन्त्री भएर देखापर्ने गरेका पनि छन् । तर, पहिले यस्तो अवस्था थिएन, एउटा लामो सङ्घर्षको पृष्ठभूमिबाट आएका मानिस मात्र सांसद र मन्त्री बन्थे । ती सांसद जसले राष्ट्रको लागि जीवन समर्पण गरे आज उनीहरूमध्ये कतिको बिरामी पर्दा सिटामोल किनेर खाने हैसियत पनि छैन । राज्यले पूर्वसांसदहरूको जीवननिर्वाहका लागि केही न केही गरोस् भन्ने हाम्रो आग्रह र माग छ । मानिस जन्मिएर बूढो मात्र भइदिँदा पनि उसलाई भत्ता पाउने अधिकार हुन्छ । तर, पूर्वसांसदहरूले त देशलाई योगदान दिएरै आएका हुन् । त्यसैले औषधोपचार र यातायात आदि शीर्षकमा सुविधा उपलब्ध गराइनुपर्छ र मासिक भत्ताको व्यवस्था हुनुपर्छ भन्ने माग राखेर हामी सरकारको ध्यानाकर्षण गराउँदैछौँ । सांसद भइसकेका नागरिकलाई सम्मान दिन सकिँदैन भने यो राज्यले साधारण नागरिकलाई सम्मानजनक जीवन बाँच्ने अवसर दिन्छ भन्ने विश्वास नहुन सक्छ । कतिपयले राजनीति सेवा भएकोले यसमा संलग्न व्यक्तिहरूले राज्यबाट कुनै प्रकारको सेवा लिनुहुँदैन पनि भनिरहेका छन् । तर, देशमा सेवा नै नपुर्‍याएका मानिसले चाहिँ सुविधा प्राप्त गर्ने कुरा भइरहँदा सेवा पुर्‍याउने मानिसले कुनै सुविधा प्राप्त गर्नुहुँदैन भन्नु अमानवीय, अविवेकी र अस्वाभाविक छ । मिडियाका साथीहरूलाई पनि यसमा सहयोग गरिदिन म आग्रह गर्दछु ।