कुनै बेलाका ‘बाघ’ निरीह बनेपछि…

कुनै बेलाका ‘बाघ’ निरीह बनेपछि…


– यादव शर्मा

prachanda33

राजालाई नारायणहिटी राजदरबारबाट निकाल्न सक्ने व्यक्तिका रूपमा आफूलाई इतिहासको सबैभन्दा शक्तिशाली ठान्ने प्रचण्डले गणतन्त्र घोषणा भइसकेपछि पशुपतिनाथका पुजारी हटाउन सकेनन्, सेनापति हटाउन खोज्दा आफैँ सत्ता छोडेर बाहिररिनुपर्‍यो । आफूलाई बाहिर राखेर यो मुलुकमा कसैले सरकार बनाउन र चलाउन नसक्ने ठानेका प्रचण्डलाई माधवकुमार नेपालले विस्थापित गरेका हुन् । माधव नेपाललाई पन्ध्रै दिनभित्र सत्ताबाट धपाउने जोश त्यसताक प्रचण्डमा थियो, सत्ताबाट बाहिरिनुपरेको अहिले आठौँ वर्ष बित्दै छ ।

‘किन चाउरिस् मरिच आफ्नै रागले’ भन्ने नेपाली उखान यतिबेला प्रचण्डको जीवनमा लागू भएको छ । राजनीतिक जीवनकालमा धेरैलाई उपयोग–प्रयोग गरी आफ्नो स्थान सुरक्षित बनाउँदै आएका प्रचण्ड अब अरूले नै प्रयोग–उपयोग गर्ने तहमा पुगेका छन्, त्यसो त माओवादी युद्ध नै अरू कसैले अपनाएको हथकण्डा र प्रचण्ड–बाबुराम कसैको प्यादा बनेको तथ्य विगतमा पुष्टि भइसकेको छ । प्रचण्ड–बाबुरामलाई बाह्य शक्तिले नेपालविरुद्ध प्रयोग गरेको भए पनि नेपालभित्र सर्वसाधारण जनता यी दुई नेतालाई विशिष्ट क्षमताका साहसी व्यक्तिका रूपमा लिने गर्दथे । भविष्यमा हेगको अदालतमा उभ्याइनसक्ने त्रासका कारण बाबुराम भट्टराई कम्युनिष्ट आन्दोलनबाट नै बाहिरिएका छन् ।

बाहिरिएपछि हिजो माओवादी युद्धको क्रममा भएका ज्यादती र मानवअधिकार उल्लङ्घनका घटनाको जिम्मेवारी लिनुनपर्ने सोच सम्भवत: बाबुरामले बनाएका छन् । विशिष्ट स्थिति पैदा भयो या नेपाली जनताले माफी दिने निर्णय जनमतसङ्ग्रहमार्फत दिए भने माओवादी हिंसात्मक आन्दोलनका अगुवाहरू कारबाहीको घेराबाहिर पर्न सक्लान्, होइन भने ढिलो–चाँडो प्रचण्ड–बाबुरामहरू कारबाहीको दायरामा पर्ने निश्चितप्राय: छ । कम्युनिष्ट आन्दोलनबाट पलायन भएका कारण माओवादीको नाममा भएको ज्यादतीको जिम्मेवारी लिनुपर्ने छैन भन्ने भ्रम या विश्वासमा बाबुराम भट्टराई परेका पनि हुन सक्छन् । तर, उनको यस्तो विश्वास सही हुनसक्ने मानिएको छैन ।

जसरी हत्या, बलात्कार या लागूऔषध कारोबारमा संलग्न व्यक्ति आफ्नो अपराध कर्मका निम्ति प्रायश्चित गर्दै पशुपति वनकालीमा जोगी/योगी भएर बस्दैमा कानुनी कारबाहीमा पर्नबाट जोगिन मिल्दैन, त्यसरी नै बाबुराम पनि नयाँ शक्तिको आवरणमा होइन हरिद्वारमा पुगेर सन्न्यासी नै बने पनि कानुनी कारबाहीको दायराबाट मुक्त हुन सक्दैनन् । विगतको अपराध कर्मका प्रति हजारपटक प्रायश्चित गरे पनि जसरी कुनै अपराधीलाई उन्मुक्ति दिन सकिँदैन, त्यसैगरी बाबुरामलाई पनि निर्दोषिताको प्रमाणपत्र उपलब्ध गराउन मिल्ने देखिँदैन । नयाँ शक्तिको नेताका रूपमा भट्टराईले माओवादी नेता–कार्यकर्तालाई धोखा दिनेबाहेक अन्य कुनै प्रकारको अपराध नगरेका हुँदा उनलाई गलत, बेठीक या कारबाहीयोग्य मान्नुपर्ने कारण छैन, तर माओवादीको नेताका रूपमा गरेको कर्मको भोग भने बाबुरामले यही जुनीमा भोग्नुपर्छ, प्रचण्ड मात्रलाई हिंसात्मक घटनाको पूरै जिम्मेवार मान्नु पूर्वाग्रह हुने ठानिन्छ ।

एसडी मुनिहरू र बाबुरामको सम्बन्ध तथा तिनका समान धारणाको विवेचना गर्दा हिंसात्मक युद्ध र देशको मौलिक पहिचान डिलिट गर्दै राष्ट्रियता, राष्ट्रिय एकता तथा सार्वभौमसत्ता दुर्बल तुल्याइनुमा प्रचण्डभन्दा बढी जिम्मेवार बाबुरामलाई मान्नुपर्ने तथ्यहरू सतहमा देखापर्न सक्छन् । देशमा कानुनी राज र विवेकसहितको प्रजातन्त्र स्थापना भएका दिन उल्लिखित तथ्यहरूको खोजी गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने या माफी दिने काम हुने आशा गर्न सकिन्छ । प्रचण्डचाहिँ पछिल्ला केही दिनयता आफ्नै कारण चाउरिन बाध्य हुँदै छन् । युद्धकालमा प्रचण्ड आफूलाई प्राप्त देशी–विदेशी सहयोगको बाढी आएका कारण प्रसन्न थिए, संसार जितिरहेको र जित्ने आत्मविश्वास बढ्दै जाँदा उनमा दम्भसमेत बढ्दो थियो । नेपाललाई धर्मनिरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनाउने दिनसम्म प्रचण्डको विदेशीहरूसँग पनि गजबले ‘ट्युनिङ’ मिलेको हो । पहिलो संविधानसभाबाट गणतन्त्र घोषणा भइसकेपछि भने प्रचण्डले आफ्नो औकात बुझ्दै गएको हुनुपर्छ ।

राजालाई नारायणहिटी राजदरबारबाट निकाल्न सक्ने व्यक्तिका रूपमा आफूलाई इतिहासको सबैभन्दा शक्तिशाली ठान्ने प्रचण्डले गणतन्त्र घोषणा भइसकेपछि पशुपतिनाथका पुजारी हटाउन सकेनन्, सेनापति हटाउन खोज्दा आफैँ सत्ता छोडेर बाहिररिनुपर्‍यो । आफूलाई बाहिर राखेर यो मुलुकमा कसैले सरकार बनाउन र चलाउन नसक्ने ठानेका प्रचण्डलाई माधवकुमार नेपालले विस्थापित गरेका हुन् । माधव नेपाललाई पन्ध्रै दिनभित्र सत्ताबाट धपाउने जोश त्यसताक प्रचण्डमा थियो, सत्ताबाट बाहिरिनुपरेको अहिले आठौँ वर्ष बित्दै छ । यस अवधिमा चुनाव लडेर प्रधानमन्त्री बन्ने प्रयास पनि यिनीबाट भएको हो, संसदीय निर्वाचनमा पुन: ठूलो दल बनेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने सपना पनि यिनले देखेका हुन्, तर परिस्थितिले कोल्टे फेर्दा पाइलापाइलामा प्रचण्डले असफलता व्यहोर्नुपर्‍यो । दशवर्षे हिंसात्मक युद्धकालमा आफूलाई नायक ठान्ने प्रचण्डलाई आफू वास्तवमा नायक नभएर निमित्त नायक या खलनायक मात्र रहेको अनुभूति २०६५ सालपछिका आठ वर्षभित्र भएको हुनुपर्छ । खड्गप्रसाद ओलीलाई विस्थापित गरी प्रधानमन्त्री बन्न गरिएको प्रयासमा को–को बाधक बने, यसको जानकारी प्रचण्ड स्वयम्लाई होला । गत वैशाखमा सरकार छोडेर बाहिर आउन सकेको भए जो–जसको बुतामा भए पनि प्रचण्ड प्रधानमन्त्री बन्न सम्भव थियो, पुन: प्रधानमन्त्री बन्न उनले गरेको आठ वर्ष लामो प्रयास कसका कारण सफल हुन सकेन उनले बुझेको हुनुपर्छ र प्रधानमन्त्री बन्ने मौका पाएको भए कसका कारण बनियो भन्ने महसुस पनि उनले राम्रैसँग गर्ने थिए ।

बजेटपछि ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने ‘भद्र’ सहमतिको अभद्र अवज्ञा हुँदा पनि उनी ‘अङ्गुर अमिला छन्’ भन्दै सहन बाध्य छन् । मोहन वैद्य र बाबुराम भट्टराई बाहिर हुँदा पनि आफ्नै पार्टीभित्र इच्छाबमोजिम निर्णय गराउन नसक्ने हुतिहाराको हैसियतमा पुगेको महसुस प्रचण्डले नगरेको भए पनि बाहिरबाट हेर्नेहरूले ‘त्यस्तै’ देखेका छन् । कुनै बेला चर्को रागका रापिलो बनेका प्रचण्ड यतिबेला आफ्नै रागका कारण चाउरिँदै छन्, चाउरिएको मरिचले सिलौटामा पिसिने दिनको प्रतीक्षा गर्नुपर्ने हुन्छ, तर घटनाक्रमले निरीह बनाउँदै लगेका उनी अब के प्रतीक्षा गर्दै छन्, जिज्ञासाको विषय बनेको छ ।