भित्रभित्रै विरोधीको समर्थन प्राप्त गर्दै ओली

भित्रभित्रै विरोधीको समर्थन प्राप्त गर्दै ओली


तत्काल सरकार नढल्ने सङ्केत

KP Oli

प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै निम्ति खड्गप्रसाद ओलीलाई विस्थापित गर्ने पक्षमा अहिले कांग्रेस देखिएको छैन । अप्रत्यासित र विशेष परिस्थिति निर्माण नभएसम्म ओलीलाई हटाउन कांग्रेसले अग्रसरता लिने सम्भावना न्यून रहेको छ । कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न प्रचण्ड राजी भएको अवस्थामा मात्र सरकार परिवर्तनका निम्ति कांग्रेसले अगुवाइ गर्ने सङ्केत देखिएको छ । तर, माओवादी केन्द्र अहिलेसम्म वर्तमान गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन बनाउने पक्षमा देखिँदैन । ‘भारतसँग भिडेर’ राष्ट्रवादी छवि बनाएका प्रचण्डमा एकातिर ‘राष्ट्रवादी देखिइरहने’ इच्छा रहेको बुझिन्छ भने अर्कोतिर प्रधानमन्त्री बन्ने लोभबाट पनि उनी मुक्त भएका छैनन् । पार्टीभित्र विद्यमान वाम गठबन्धनलाई बचाउनुपर्छ भन्ने पक्ष बलियो भएकोले पनि प्रचण्ड ओलीविरुद्ध जाइलाग्ने हैसियतमा छैनन् ।

सरकारको नेतृत्व परिवर्तनका निम्ति भएका प्रयासहरू तत्काल सफल हुन मुस्किल पर्ने देखिएको छ । गत वैशाखमा कांग्रेससँग मिलेर माओवादी अध्यक्ष प्रचण्डले सरकार बदल्न चलेको चाल असफल तुल्याएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रचण्डलाई फेरि ‘थाङ्नोमा सुताइदिएका’ छन् । बजेट प्रस्तुत गरेर जनतालाई आफ्नो पक्षमा लठ्याउने योजनामा रहेका खड्गप्रसाद ओली त्यसबेला प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने वचन दिएर पद जोगाउन सफल भएका थिए । अब ‘भारत देखाएर’ प्रचण्डलाई तर्साउँदै ओली प्रधानमन्त्री पद जोगाउने योजनामा लागेका छन् । गत वैशाखमा प्रचण्डसँग ‘भद्र सहमति’ गरेका ओलीले त्यस्तो कुनै सहमति नभएको बताएका छन् र प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न ठाडै अस्वीकार गरेका छन् । यसरी ओलीले ‘धोखाधडी’ गर्दा पनि प्रचण्ड उनीविरुद्ध विद्रोह गर्नसक्ने अवस्थामा छैनन्, ओलीलाई बोकेरै हिँड्नुपर्ने बाध्यतामा प्रचण्ड परेका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको सरकारले सस्तो लोकप्रियताका लागि बजेट प्रस्तुत गर्न चाहेको र त्यस्तो बजेट प्रस्तुत हुँदा आगामी निर्वाचनलाई समेत प्रभावित गर्न सकिने नियोजित प्रयासमा ओली रहेको प्रचण्डले बुझ्न सकेनन् । नेपाली कांग्रेस एमालेले देशको अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पार्ने प्रकारको बजेट ल्याउन सक्नेतर्फ सचेत थियो र कांग्रेस प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर भए पनि ओलीलाई विस्थापित गर्ने सोचमा थियो । कांग्रेससँग सहमति गरेर पनि पछाडि हटेपछि कांग्रेस नेतृत्वको विश्वास मात्र प्रचण्डले गुमाएनन्, प्रधानमन्त्री बन्न आएको सुनौलो अवसर पनि उनले गुमाएका छन् । एमालेले बजेट प्रस्तुत गरिसकेपछि कांग्रेसले तत्काल सरकार बदल्नेतिर नलाग्ने ‘मुड’ बनाएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै निम्ति खड्गप्रसाद ओलीलाई विस्थापित गर्ने पक्षमा अहिले कांग्रेस देखिएको छैन । अप्रत्यासित र विशेष परिस्थिति निर्माण नभएसम्म ओलीलाई हटाउन कांग्रेसले अग्रसरता लिने सम्भावना न्यून रहेको छ । कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न प्रचण्ड राजी भएको अवस्थामा मात्र सरकार परिवर्तनका निम्ति कांग्रेसले अगुवाइ गर्ने सङ्केत देखिएको छ । तर, माओवादी केन्द्र अहिलेसम्म वर्तमान गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन बनाउने पक्षमा देखिँदैन । ‘भारतसँग भिडेर’ राष्ट्रवादी छवि बनाएका प्रचण्डमा एकातिर ‘राष्ट्रवादी देखिइरहने’ इच्छा रहेको बुझिन्छ भने अर्कोतिर प्रधानमन्त्री बन्ने लोभबाट पनि उनी मुक्त भएका छैनन् । पार्टीभित्र विद्यमान वाम गठबन्धनलाई बचाउनुपर्छ भन्ने पक्ष बलियो भएकोले पनि प्रचण्ड ओलीविरुद्ध जाइलाग्ने हैसियतमा छैनन् । गएको एक साताभित्र प्रचण्डले ओलीसँग दुईपटक एक्लै भेटेर पूर्वसहमतिअनुसार सत्ता आफूलाई हस्तान्तरण गर्न आग्रह गरेका थिए । दुवै भेटमा ओलीले प्रचण्डको प्रस्तावलाई अस्वीकार गरेका छन् । बरु उनले सरकारको निरन्तरता र वाम गठबन्धनको रक्षाका निम्ति सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।

ओलीको ‘यस्तो’ हठ देखेर प्रचण्ड निराश र असन्तुष्ट त भएका छन्, तर ओलीविरुद्ध केही गर्नसक्ने अवस्थामा उनी छैनन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूहरूको राष्ट्रवादी छवि बनेको स्मरण गराउँदै छविमा धक्का पुग्ने काम नगर्न प्रचण्डलाई सुझाउँदै आएका छन् । प्रचण्डसँगको भेटमा ओलीले ‘भारतसँग आवश्यक परे अझै ठूलो लडाइँ लड्नुपर्ने अवस्था रहेको’ बताउँदै आफूबाहेक अरू कसैले भारतसँग लड्न नसक्ने निचोड सुनाएका थिए । त्यसो त ओलीले भारतसँग लड्नुपर्ने र त्यस्तो लडाइँ आफूले मात्र गर्नसक्ने भनी प्रचण्डलाई मात्र भनेका छैनन्, आफ्नै पार्टीका वरिष्ठ माधवकुमार नेपाललगायतसँग र उपप्रधानमन्त्रीहरू सीपी मैनाली, चित्रबहादुर केसी र कमल थापा तथा नारायणमान बिजुक्छेसँग पनि उनले यस्तै कुरा गरेका छन् । ओलीको यस्तो कुराले चिरपरिचित भारतविरोधीहरूलाई त प्रभावित गरेकै छ, भारतसँग मित्रवत् सम्बन्ध चाहने नेताहरूसमेत ओलीको कुराबाट प्रभावित भएको बुझिँदै छ । त्यसैले बाहिर–बाहिर ओलीको आलोचना गर्दै हिँड्ने नेताहरू पनि ओलीलाई भित्रभित्रै सहयोग गर्ने मानसिकतामा छन् । ‘भारतलाई चुनौती दिने प्रकारका’ निर्णय ओलीबाट हुँदा त्यसले चीनलगायतका मुलुकसँग नेपालको अर्कैस्तरको सम्बन्ध स्थापित हुने र भविष्यमा आफूहरूले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आउँदा पनि भारतलाई चिढ्याउनु नपर्ने विश्वास ‘ती’ नेताहरूले गरेका छन् । त्यसैले ओलीका विरोधी र आलोचक भूमिकामा देखिएका कैयन प्रभावशाली नेताहरू ओली सरकारको निरन्तरताका निम्ति कुनै न कुनै प्रकारले सहयोगी बन्न पुगेका छन् ।

आगामी अगष्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण गराउने योजनामा रहेका प्रधानमन्त्री ओली उक्त भ्रमणपश्चात् आफ्नो उचाइ बढ्ने र थप बलियो हुने विश्वासमा रहेको बुझिन्छ । चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा विभिन्न मेघा आयोजनाको सम्झौता हुने र चीनले खर्बौं रुपैयाँबराबरको सहयोग घोषणा गर्ने विश्वास ओलीले गरेका छन् । त्यसरी चिनियाँ सहयोग घोषणा भएपछि आफ्नो लोकप्रियता बढ्ने र आफू बलियो हुने ओलीले ठानेका हुन् । ओलीले सत्ता नछोड्ने, अन्य दलहरूले ओलीलाई हटाउन नसक्ने र ओलीका आलोचक नेताहरूसमेत भित्रभित्रै सरकारको निरन्तरताका निम्ति सहयोगी बन्ने भएमा ओली सरकारको विस्थापनका निम्ति संसद्बाहिरबाटै कुनै कदम चालिनसक्ने सम्भावनालाई भने इन्कार गर्न सकिँदैन ।