ओलीको बोली र गैँडाको छाला

ओलीको बोली र गैँडाको छाला


– श्रीविक्रम भण्डारी

kp-oli-football

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री केपी ओलीले गतसाता एक कार्यक्रममा दिएको अभिव्यक्ति खेलकुदका लागि निकै मार्मिक थियो । प्रधानमन्त्रीको अभिव्यक्ति सुन्ने जोकोही खेलकुदका पदाधिकारीले त्यसलाई आत्मसात् गर्दै ताली बजाएर स्वागत गरेका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आफैँमा यति असरदार थियो कि खेलकुद पदाधिकारी लामो समयसम्म ताली बजाउन बाध्य बनेका थिए । स्मरण रहोस्, खेलकुदका पदाधिकारीले उक्त अभिव्यक्तिप्रति ऐक्यबद्धता जनाउँदै लामो समयसम्म ताली बजाएपछि प्रधानमन्त्रीले आफ्नो मन्तव्यलाई केही समयका लागि रोक्नुपरेको थियो । प्रधानमन्त्री ओलीले खेलकुदका पदाधिकारीप्रति कटाक्ष गर्दै खेलकुदमा सरकारले नभई खेलकुदका पदाधिकारीले नै चरम राजनीति गरेको आरोप लगाएका थिए ।
‘ओलीले खेलकुदमा राजनीति गर्नुभएन, यो नगर्नुहोस्, यो गलत कार्य हो । त्यस्तै श्रीमती, छोराछोरी र सालीलाई खेलकुदको पैसाबाट विदेश भ्रमण गराउनुभएन, तपाईंलाई घुमाउन लानु नै छ भने आफ्नो पैसाले लानुहोस्,’ प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममा उपस्थित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठप्रति इसारा गर्दै उक्त शब्दवाँण प्रहार गरेपछि अध्यक्ष श्रेष्ठको अनुहार हेर्न लायक बनेको थियो । अर्थात् श्रेष्ठको अनुहार गोरोबाट कालो हुँदै नीलो फर्किएको थियो । जुन औँलामा विष लाग्छ त्यही औँला झर्छ भनेझैँ ओलीको शब्दवाँणले जीवनराम साँच्चिकै मर्माहत बनेका थिए । उनले आफूलाई यतिबेला खेलकुदको हर्ताकर्ता भएकोसमेत प्रमाणित गरेका थिए । जब ओलीले आफ्नो अभिव्यक्ति समाप्त गरे तब जीवनरामले आफ्नो सिटबाट उठेर ओलीप्रति दश औँला जोडेर दर्शाएको बिन्तीभाउ त्यसबेला दर्शनीय बनेको थियो ।

राखेपका संरक्षक तथा प्रधानमन्त्री ओलीले खेलकुदप्रति दर्शाएको गम्भीरता आफैँमा उत्कृष्ट थियो । अझ ओलीले आफूलाई खेलकुदको अवस्था ज्ञात भएको र खेलकुदलाई नजिकबाट नियाल्दै आएको बताएपछि उहाँ नामले मात्रै खेलकुदको संरक्षक नभई वास्तविक रूपमै संरक्षक भएको आभाष हुन्थ्यो । भूकम्पपछिको दशरथ रंगशालाको जर्जर अवस्था, नेतृत्वको पहलकदमीमा शून्यता र विमल घर्तीमगरकी बहिनी मनीषा घर्तीमगरको असामयिक निधनप्रति प्रधानमन्त्रीले व्यक्त गरेको समवेदना आफैँमा चासोको विषय बनेको थियो । अझ मनीषा घर्तीमगरको असामहिक निधन र एउटा खेलाडीमाथि परेको बज्रपातप्रति नेतृत्व वर्गले गरेको कामकारबाहीप्रति ओलीले पूर्णरूपमा असन्तुष्टि प्रकट गरेका थिए । तर, विडम्बना, खेलकुदका पदाधिकारी विदेश भ्रमणमा जाँदा फोटोसहित फलानो विदेश भ्रमण भनेर छाप्ने सञ्चारकर्मीले खेलकुदका संरक्षक तथा प्रधानमन्त्रीले उठाएका खेलकुदका गम्भीर मुद्दालाई किन बाइपास गर्दै नजरअन्दाज गरे त्यो अहिले गम्भीर विषय बनेको छ । प्रधानमन्त्री तथा खेलकुदका संरक्षक जसले खेलकुदमा चरम राजनीति भएको र त्यो गर्नु नहुने गलत कार्य भएको बताउँदासमेत समाचार बन्दैन भने खेलकुदमा कस्तो मान्छेको समाचार बन्छ त्यो सोझै अनुमान र अड्कल लगाउन सकिन्छ । यो घटनापश्चात् आज जीवनरामप्रति औँला उठाएर सच्चिन आग्रह गर्ने प्रधानमन्त्रीले भोलि सञ्चारकर्मीतर्फ औँला उठाउँदै तपार्इंहरू पनि विदेश भ्रमणको प्रलोभनमा पर्नु भो कि क्या हो सञ्चारकर्मीज्यू ? भन्नुभयो भने अतिसयोक्ति नहोला ।

वर्तमान खेलकुदको वास्तविकतालाई औँल्याउँदै खेलकुदको संवेदनशीलताप्रति इमानदार हुनुपर्ने खेलकुदका संरक्षक ओलीले बताए पनि खेलकुदका पदाधिकारीका लागि भने त्यो कागलाई बेल पाक्यो हर्ष विस्मात् जस्तै भएको छ । प्रधानमन्त्री ओलीले भने, ‘खेलेर मात्रै सम्मान पाइँदैन, नत्र मैले पनि सम्मान पाउँथँे, मैले पनि अस्ति मात्रै फुटबल खेलको थिएँ, खै त मैले सम्मान पाएको ? सम्मान पाउन जित्नुपर्छ, जित्नका लागि खेलकुदमय वातावरण बनाउनुपर्छ, खेलाडीलाई सहयोग गर्नुपर्छ । तर, खेलकुदमा राजनीति कहिल्यै गर्नुहुँदैन ।’ ‘राजनीतिक शक्तिको सहयोग र निर्देशनमा खेलकुद चल्नुपर्छ, तर राजनीतिक शक्तिको दुरुपयोग गर्दै खेलकुदमा कदापि हस्तक्षेप गर्नुहुँदैन,’ प्रधानमन्त्री ओलीले भने । यतिबेला खेलकुदमा म जे देख्दै छु त्यो पूर्णरूपले राजनीतिप्रेरित छ । आफ्नालाई मात्र काखामा राख्ने प्रयत्न र प्रयास गरिएको छ । के फरक आस्था राख्नेहरूलाई मुग्लान कटाउनु जरुरी छ ? के खेलकुदमा एमालेबाहेकका अन्य खेलकुद व्यक्तित्व छैनन् ? के उनीहरूलाई खेलकुद चलाउने हक–अधिकार छैन ? सत्ता र शक्तिको आडमा मै खाउँ मै लाउँको सोचले क्षणिक फाइदा होला, दीर्घकालीन रूपमा त्यो खेलकुदका लागि पीडादायिक बन्ने प्रधानमन्त्री ओलीले कथन थियो । वर्तमान अवस्थामा खेलकुदमा एमालेको नेतृत्व स्वीकार्नुहुने प्रधानमन्त्रीले त्यो नेतृत्व पार्टीगतभन्दा पनि एमालेकै गुटबाट सञ्चालन भइरहेको संगीन आरोपसमेत लगाएका छन् । जसले अन्य राजनीतिक दलमा आस्था राख्नेलाई मात्र नभई एमालेकै कार्यकर्तालाई समेत गुटको आधारमा दु:ख दिइरहेको पर्दाफास गरेका थिए ।

खेलकुदका संरक्षक प्रधानमन्त्री ओलीले समग्र खेलकुदको विकासका लागि गम्भीर अभिव्यक्ति दिए पनि त्यो खेलकुद पदाधिकारीलाई भालुलाई पुराण सुनाएजस्तो मात्रै भएको छ । उनीहरूले खेलकुदको गम्भीरतालाई आत्मसात् गरेको पाइँदैन । उल्टै प्रधानमन्त्रीलाई चुट्किले र चाटुके भन्न थालेका छन् । जसको बोलीको कुनै भर हुँदैन त्यस्तो व्यक्तिले जे भने पनि कसले पत्याउने ? भन्न थालेका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले खेलकुदजस्तो रचनात्मक ठाउँमा राजनीति नगर्न आफ्नो बोलीवाट गोली चलाए पनि त्यो गैँडाको छालामा लाग्दा खेलकुदको दुर्भाग्य भएको छ । जीवनराम खेलकुदका यस्ता तानाशाह गैँडा हुन् उनलाई प्राय: कसैको बोली र गोलीले छुँदैन । खेलकुदमा गरेका उपद्रोले उनको छाला यति बाक्लो र कडा भइसकेको छ कि त्यसलाई गोली के क्षेप्यास्त्रले पनि केही असर गर्न सक्दैन । तसर्थ एक सम्मानित कार्यक्रममा ओलीले खेलकुदको सत्यताबारे तीतो सत्य बताए पनि जीवनरामरूपी गैँडालाई त्यसको असर नपर्नु स्वाभाविकै हो । यसर्थमा कि जीवनरामले हिजो पनि खेलकुदमा ताण्डव मच्चाएका थिए, आज पनि मच्चाइरहेका छन् र भोलि पनि मच्चाउनेछन् । खेलकुदमा ताण्डव मच्चाएकै भरमा खेलकुददेखि पार्टीसम्म आफ्नो पकड बनाउन सफल जीवनरामले ओलीको गोली सहजै पचाउने पक्का छ । यसका लागि उनले हाजमोला खाइरहनुपर्ने जरुरी छैन ।