‘दुई मुलुकको सम्बन्ध अतुलनीय’

‘दुई मुलुकको सम्बन्ध अतुलनीय’


‘नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता र असमझदारी छ भनेर आशङ्का र चर्चा गरिए पनि यथार्थमा त्यो सही होइन,’ दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सहभागी भएर गत आइतबार स्वदेश फर्केलगत्तै उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट खालको भएको हुँदा अरूसँग तुलना गर्न सकिन्न ।’

परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा रहेयता छिमेकी भारतकै मात्र ६–७ पटक भ्रमण गरिसकेका मन्त्री थापा तुलनात्मक रूपमा मित्रराष्ट्र भारतप्रति पछिल्लो भ्रमणपछि निकै सन्तुष्ट देखिएका छन् । ‘दुई देशबीचको सम्बन्धमा कहीँ–कतै अवरोध नदेखिएको’ उनको कथनभित्रको अन्तर्य अर्थपूर्ण प्रतीत हुन्छ । यसले नाकाबन्दी प्रकरणले चिस्याएको सम्बन्ध पुरानै अवस्थामा फर्कन लागेको अनुभूति गराएको छ ।

परराष्ट्रमन्त्री थापाले एक प्रश्नको जवाफमा भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणपछि सबै असमझदारी हटेर आपूर्ति व्यवस्थामा सहजता आएको, सम्बन्धमा अत्यन्त हार्दिकतापूर्ण दृष्टिकोण कायम भएको तथा भ्रमणको आदानप्रदान भइरहेको छ, दुई छिमेकीको सम्बन्धका सवालमा यो महत्त्वपूर्ण कुरा हो ।’

नेपालको संविधानमा सबैको स्वामित्व कायम हुन सकोस्, नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्र बलियो हुन सकोस् भन्ने भारतीय पक्षको चासो र चिन्ता रहेको उल्लेख गर्दै मन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा समीक्षा भएको जानकारी दिए । अहिले दुवै देशबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढेकामा दुबै पक्षबाट सन्तोष व्यक्त गरिएको उनको कथन थियो । मन्त्री थापाका अनुसार नेपाल र भारतबीच आगामी जुलाईभित्र दर्जनभन्दा बढी द्विपक्षीय बैठक तथा आगामी अक्टोबरमा संयुक्त संयन्त्रको अर्काे बैठक बस्ने तयारी गरिएको छ । यस्तै, उच्चस्तरमा हुने भ्रमणको महत्त्वलाई दृष्टिगत गरी अझ सामीप्यता कायम गर्न दुवै मुलुकका राष्ट्रपतिको भ्रमणको तयारी कूटनीतिक माध्यमबाट उपयुक्त समयमा मिलाइने सहमति भएको पनि बुझिएको छ ।
Sushma-Kamal Thapa

द्विपक्षीय परामर्शता समूहको बैठक सम्पन्न
नेपाल–भारत दुईपक्षीय परामर्शदाता समूह (बीसीजी)को १२औँ बैठक सुरक्षासम्बन्धी विषयमा केन्द्रित भई नयाँ दिल्लीमा सम्पन्न भएको छ । गत जेठ २७ गते सम्पन्न बैठकमा भारतीय पक्षको नेतृत्व भारतको विदेशमन्त्रालयका संयुक्तसचिव (उत्तर) अभय ठाकुरले र दक्षिण एसियाली क्षेत्रका संयुक्त सचिव प्रकाशकुमार सुवेदीले नेपालको नेतृत्व गरेका थिए । दुई पक्षबीच द्विपक्षीय सुरक्षासम्बन्धी विषय र त्यससम्बन्धी तालिमलगायतका विषयमा छलफल भएको थियो । साथै १०औँ सूर्यकिरण संयुक्त सैनिक अभ्यास अक्टोबर–नोभेम्बरमा नेपालमा गरिने विषयमा छलफल गरिएको बुझिएको छ ।