नयाँ शक्तिबाट सिक्नुपर्ने कुरा

नयाँ शक्तिबाट सिक्नुपर्ने कुरा


Babita Basnet 1

– बबिता बस्नेत

सन् २०१० को कुरा हो । वासिङ्गटन डीसीस्थित म्युजियमबाट बाहिर निस्किएर हिँडिरहेका बेला सडकमा केही हुल मानिस देखिए । हातमा प्लेकार्ड बोकेका उनीहरू बडो सतर्क भएर सडकपेटीमा हिँडिरहेका थिए । बाटो हिँड्ने मानिसलाई छोइएला कि झैँ गरेर शरीर खुम्चाउँदै हिँडेको त्यो जमातलाई देखेर के रहेछ यो भन्ने जिज्ञासा भयो । झट्ट हेर्दा जुलुसजस्तै लागेको थियो, तर न त त्यहाँ कसैले नारा लगाएको थियो न त सडक मिचाई नै । खै के हो के हो जस्तो लागेर सोधखोज गर्दा थाहा भयो त्यो जुलुस नै रहेछ । सभाका लागि तोकिएको स्थानतिर जाँदै गरेको जुलुसलाई खासै कसैले वास्ता गरेजस्तो पनि लागेन । उनीहरूले धेरैबेर उभिएर हरियो बत्ती बलेपछि बाटो काटेको देख्दा हाम्रो देशमा कहिले आउला यस्तो दिन ? जस्तो लागेको थियो । तर, त्यस्तो दिन यही जुनीमा देखियो, आफ्नै देशमा, यही आँखाले ।

यही ०७३ साल जेठ ३० गते आइतबार डा. बाबुराम भट्टराईले नेतृत्व गर्ने दल नयाँ शक्तिको घोषणासभा थियो । बिहानैदेखि मानसिक रूपले तयार भइयो कि आज सहरमा ट्राफिक अस्तव्यस्त हुन्छ, गाडी लिएर हिँड्न सकिँदैन । कति मानिस गाडी लिएर निस्किएनन् र कतिचाहिँ रङ्गशालावरिपरिको बाटो हिँड्न नसकिने आँकलन गर्दै उक्त बाटो छलेर हिँडे । यसो गर्नुका पछाडि विगतका राजनीतिक सभाहरू साक्षी थिए । साना–ठूला या भुरे–टाकुरे जस्ता भए पनि राजनीतिक दलका सभामा राजधानीको ट्राफिक अस्तव्यस्त हुने गरेको थियो । राजनीतिक दलका मात्र होइन जनजाति, दलित, महिला तथा अन्य विभिन्न व्यावसायिक सङ्गठनहरूका जुलुस तथा प्रदर्शनमा पनि दिनभरि सडकमा परेका अनुभवहरू प्राय: सवारीचालकहरूसँग छ । सवारीचालकहरू मात्र होइन सार्वजनिक र निजी सवारीसाधनमा बसेर यात्रा गर्नेहरू सबैको अनुभव उस्तै नै छ । सडक जाम नगरी कुनै अभियान नहुनेझैँ ठान्ने गरिएको राजधानीमा विद्यार्थी सङ्गठनका कार्यक्रममा त झन् कहिलेकाहीँ सर्वसाधारणका टाउका नै फुट्ने गरेका छन् । जुलुस सडकमै गरिन्छ । प्रदर्शनहरू सडकमै हुन्छन् । जुलुस र प्रदर्शन सडकमा भएपछि झडपहरू पनि सडकमा हुने नै भए । इँटा, ढुङ्गा–मुढा, सेफगार्डसहितका सुरक्षाकर्मी… कतिपय प्रदर्शनमा त सडकहरू युद्धक्षेत्रजस्तै देखिन्छन् ।

पार्टीका सभाहरूमा पनि त्यस्तै हुन्छ । जिल्लाबाट कार्यकर्तासहित आएका भरिभराउ बसका ताँती, जुलुस, झाँकी… खुलामञ्च या कुनै ठाउँमा आमसभा छ भने पूरै सहरको ट्राफिक अस्तव्यस्त हुन्छ । तर, यसपटक नयाँ शक्ति पार्टीको घोषणासभामा त्यस्तो भएन । कार्यक्रमको निर्धारित समय भइसक्दा पनि सडकमा सामान्य अवस्थामा गाडीहरू गुडेको देख्दा सभामा धेरै मानिस आएनन् कि के हो जस्तो पनि लाग्यो । तर, जब सडकका पेटीहरूमा मानिस देखिए, तिनले नयाँ शक्तिका ब्यानरहरू बोकेका थिए । कतिले त आफ्नो ढाडमा ‘हाम्रो कारणले तपाईंहरूलाई असुविधा परेकोमा क्षमाप्रार्थी छौँ’ भन्ने लेखेको तुलसमेत भुन्डाएका थिए । नेपालको सन्दर्भमा बडो अचम्मको दृश्य थियो त्यो । राजनीतिक दलका कार्यकर्ताहरू बडो सजग भएर पेटीबाट जुलुससहित हिँडिरहेका थिए । त्रिपुरेश्वरवरपरका सडकपेटीहरूमा लाइन लागेर हिँड्ने मानिसको जमात थियो । बाटो काट्दा पनि ट्राफिकलाई केही क्षण सवारीसाधनहरू रोकिदिन अनुरोध गर्दै अगाडि बढेको देखियो । दशरथ रङ्गशालामा उक्त दिन जति मानिस जम्मा भएका थिए, तीभन्दा धेरै थोरै मानिसको सभामा पनि घन्टौँ जाममा पर्ने भोगाइबाट गुज्रिएका विभिन्न पेसा–व्यवसायसम्बद्ध व्यक्ति तथा सर्वसाधारणका लागि अनौठो कुरा थियो त्यो । नयाँ शक्तिले अरू केही गरे पनि नगरे पनि एउटा गज्जबको अभ्यास भने गरेको देखियो । जुन कुराको प्रशंसा मात्रै होइन राजनीतिक दल र अभियन्ताहरूले सिको नै गर्दा राम्रो हुन्छ । राम्रो कुरा त आखिर जसले गरे पनि राम्रै हो र राम्रो कुराको सिको गर्न हिच्किचाउनुपर्ने कुनै कारण देखिँदैन ।

कतिपय मुलुकमा प्रदर्शनहरूमा आवाज निकाल्न पाइँदैन । तुल, ब्यानर वा प्लेकार्डमा लेखिएका कुरा अगाडि राखेर विरोध गरिन्छ । सभ्य मुलुकमा बुझ्नेलाई इसारा काफी भनेझैँ गरी ती विरोधलाई सम्बोधन पनि गरिन्छ । तर, हामीकहाँ कसैको मागलाई सम्बोधन गर्न चक्काजामदेखि गाडी जलाउने, नेपाल बन्द हुँदै हतियार उठाउने कामसम्म गर्ने गरिएको छ । कुनै माग राखेर सडक जाम गर्नु असभ्य कार्य मात्र होइन एक प्रकारको अपराध नै हो । तर, त्यही असभ्य कामले हामीकहाँ प्रश्रय पाउँदै आएको छ ।

राजनीतिक दलका मात्रै होइन, कुनै दिवसमा गरिने र्‍याली तथा सभाहरूमा पनि राजधानीको ट्राफिक पूरै अस्तव्यस्त हुने गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवस, मजदुर दिवसलगायतका दिवसहरूमा बिहानदेखि दिनभर नै सडकमा कसै न कसैका जुलुस हुने हुँदा ती दिनहरूमा सडकमा निस्कनै गाह्रो पर्छ । अब यस्ता दिवसहरूमा पनि पेटीमा हिँडेर गन्तव्यसम्म पुग्ने अभ्यास गर्नुपर्छ । आखिर सडक बन्द गरेर सडक प्रयोगकर्ताले सास्ती पाउनेभन्दा अरू केही होइन । कति मानिस सङ्कटमा हुन्छन् । कोही अस्पताल जाँदै गरेका, कोही एयरपोर्ट पुग्न हतारिएका, केही न केही जरुरी परेर नै त मानिस बाहिर निस्किएका हुन्छन् । तर, हाम्रा जुलुस, नारा र विरोधका शैली बडो निर्दयी हुने गरेका थिए । बाटो हिँड्दै गरेकालाई घन्टौँ रोकेर हुने त केही होइन, तर पूरै बाटो जाम नगरुन्जेल केही नहुनेझैँ गर्ने गरिएको थियो । कहिले सिंहदरबार घेराउका नाममा त कहिले केका नाममा आफ्नो अधिकार खोज्दा अरूको सहज रूपमा आवतजावत गर्ने अधिकारको हनन भइरहेकोतर्फ भने कसैले याद गरेको थिएन । अरू त अरू मानवअधिकारवादीका जुलुस तथा प्रदर्शनले समेत अरूको मानवअधिकारको हनन गर्ने गरेका थिए । यस पृष्ठभूमिमा नयाँ शक्तिले गरेको सडकपेटीबाट जुलुस हिँड्ने अभ्यास नितान्त नयाँ मात्र होइन त्यत्तिकै प्रशंसनीय पनि छ ।

विश्वका धेरै देशमा विरोधसभा गर्ने निश्चित ठाउँ तोकिएको हुन्छ । ती ठाउँसम्म पुग्नका लागि कसैले र्‍याली, जुलुस गर्छ भने त्यस्ता जुलुसले अरूलाई कुनै प्रकारको असर गर्न नहुने मान्यता राखिन्छ । कतिले तोकिएको ठाउँमा भेला भएर मात्रै प्रदर्शनहरू गर्ने गरेका छन् । कतिपय मुलुकमा प्रदर्शनहरूमा आवाज निकाल्न पाइँदैन । तुल, ब्यानर वा प्लेकार्डमा लेखिएका कुरा अगाडि राखेर विरोध गरिन्छ । सभ्य मुलुकमा बुझ्नेलाई इसारा काफी भनेझैँ गरी ती विरोधलाई सम्बोधन पनि गरिन्छ । तर, हामीकहाँ कसैको मागलाई सम्बोधन गर्न चक्काजामदेखि गाडी जलाउने, नेपाल बन्द हुँदै हतियार उठाउने कामसम्म गर्ने गरिएको छ । कुनै माग राखेर सडक जाम गर्नु असभ्य कार्य मात्र होइन एक प्रकारको अपराध नै हो । तर, त्यही असभ्य कामले हामीकहाँ प्रश्रय पाउँदै आएको छ । कसैले जिन्दगीभर जम्मा गरेको कमाइले किनेको ट्याक्सी या अन्य सवारीसाधन जलाउनुलाई बहादुरी ठान्ने ठाउँमा बसेर सभ्यताको कुरा गर्नु त्यति व्यावहारिक कुरा त होइन, तर गरे त हुँदोरहेछ । जब एउटा दलले गर्न सक्छ भने अरूले किन गर्न नसक्ने ? बाटो बन्द नगरी सरासर खुलामञ्च या सिंहदरबारअगाडि पुगेर जे–जे गर्नु छ त्यही गरे भइहाल्यो । आमसभामा भीड जम्मा गर्ने शैली परिवर्तन गर्न सकिन्छ भने विरोधको शैली बदल्न नसकिने के छ र ?