अक्षम्य भूल दोहोर्‍याइरहने ?

अक्षम्य भूल दोहोर्‍याइरहने ?


सानातिना भौतिक आक्रमणलाई विस्तारित रूप दिँदै अन्तत: विहङ्गम, विध्वंसक र विष्मयकारी स्वरूप प्रदान गरिएको थियो कथित दशवर्षे जनयुद्धलाई पनि । यसका अभियन्ताहरू दुई दशकपछि आएर ‘जनयुद्ध’को नाममा आफूहरू कतै बाह्य दूराशयबाट जानी–नजानी परिचालित पो थियौँ कि ? भनी सोच्ने अवस्थामा आइपुगेका छन् ।

जनयुद्ध नामले पुकारिने दशवर्षे हिंसात्मक द्वन्द्वले मुलुकलाई विकास र समृद्धिको लक्ष्यबाट कति दशक पछिल्तिर धकेलिदियो भन्ने प्रश्नको यकिन जवाफ अझै जुरिसकेको छैन । आ–आफ्ना सोच, चिन्तन र वादका आधारमा यसबारे विवाद वा मत–मतान्तर चलिनै रहेका छन् । हजारौँ मानिस मारिएका र अहम् महत्त्वका अनगिन्ती अमूल्य सम्पदाका साथै अर्बौं–खर्बौं क्षति व्यहोर्न देश विवश हुनुको कारकतत्त्व बन्न पुगेको उक्त हिंसात्मक अभियानका एक प्रमुख अभियन्ता या रचयिता बाबुराम भट्टराई यतिबेला आर्थिक विकास र समृद्धिको नारा दिँदै नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रयत्न गरिरहेका छन् । आफू विध्वंसक नभई सर्जक र नेताभन्दा पनि एक अभियन्ता रहेको झलक दिनहेतू ‘नयाँ शक्ति’ नाम दिएर उनले तामझामसाथ नयाँ पार्टीसमेत गठन गरेका छन् । यतिबेला बाबुरामको नाम त बदलिएको छैन, तर नारा पूरै बदलिएका छन् । पछिल्लो समय आफूलाई ‘आर्किटेक्ट’ भनाउन विशेष रुचि देखाएका उनी नयाँ सिर्जना या नवनिर्माणबाहेक ध्वंसका कुरा सुन्नै पनि मन नपराउने व्यक्तिको छवि निर्माणमा लीन देखिन्छन् । अर्थात्, पात्र उही तर प्रवृत्ति फेरिएको भ्रम बाँड्न बाबुराम भट्टराई यथाशक्य प्रयत्न गरिरहेका छन् ।

नेपलको राजनीतिक इतिहासकै दुर्दान्द कालखण्डको रूपमा चाहेर पनि बिर्सन नसकिने उक्त समय–खण्डका रचनाकार एवम् प्रतिनायकमध्येका एक बाबुरामले यसरी आफूलाई ‘वाल्मीकि’मा रूपान्तरणको नौटङ्की प्रदर्शन गर्दैगर्दा उनैका चेलाहरूको एउटा झुण्ड भने उही हिंसात्मक द्वन्द्वकालीन कालखण्डको पुनरावृत्तिमा उद्यत् देखिएका छन् । कथित जनयुद्धका मूल अगुवाहरू विभिन्न नाम परिवर्तन गर्दै बकुल्लोबाट मयुर बन्ने चेष्टामा लिप्त रहँदै गर्दा आफूलाई विशुद्ध ‘माओवादी’ चित्रित गर्न रुचाउने उक्त जमातचाहिँ ०५२–६२ कै कालखण्ड दोहोर्‍याएर देशलाई पुन: विध्वंस र अवनतिको भूमरीमा फसाउने भूमिकामा उभिने दुस्साहस गर्दै छन् । मुलुकका विभिन्न स्थानमा टेलिफोन सेवाप्रदायक निजी क्षेत्रको कम्पनीका बेस–स्टेसनहरूका साथै गैरसरकारी संस्थाका कार्यालयमा हालै गरिएको आक्रमण वा आगजनीका घटनाले यही दर्शाउँछ ।

हुन त राज्यलाई कर बुझाउन आनाकानी गरेको र विकासे संस्थाको आवरणमा अवान्छित गतिविधि सञ्चालन गरेकोले कारबाही गर्नुपरेको तर्कसहित ती निकायमा आक्रमण गरिएका छन् । हो, करछली र फरक उद्देश्य देखाएर अवाञ्छित गतिविधिमा संलग्न रहनुजस्ता क्रियाकलाप कुनै पनि देशभक्त नेपालीका लागि सैह्य विषय हुन सक्दैनन् । यस्ता ‘उदाङ्ग’ या ‘गुप्त’ गतिविधिविरुद्ध उभिनु नागरिक कर्तव्य पनि हुन आउँछ । तर, कुनै पनि गलत कार्य या कर्तामाथि कारबाही गर्न मुलुकले आफ्नै वैधानिक विधि निर्माण गरेको हुन्छ । विधिसङ्गत ढङ्गबाट उचित कारबाही गर्न–गराउन सचेत नागरिक, समूह वा दलविशेषले पहलकदमी पनि लिनुपर्छ । आफूखुसी जथाभावी किसिमबाट आक्रमण, तोडफोड र आगजनीमा उत्रिनुचाहिँ समाज र देशलाई पुन: द्वन्द्वको चपेटामा लपेट्ने दुस्प्रयत्न नै ठहरिन्छ । सानातिना भौतिक आक्रमणलाई विस्तारित रूप दिँदै अन्तत: विहङ्गम, विध्वंसक र विष्मयकारी स्वरूप प्रदान गरिएको थियो कथित दशवर्षे जनयुद्धलाई पनि । यसका अभियन्ताहरू दुई दशकपछि आएर ‘जनयुद्ध’को नाममा आफूहरू कतै बाह्य दूराशयबाट जानी–नजानी परिचालित पो थियौँ कि ? भनी सोच्ने अवस्थामा आइपुगेका छन् । ढिलोचाँडो एक दिन यस्तो क्षण पक्कै आउनेछ कि तिनले ‘हो, हामी पक्कै कसैका गोटी बनेका रहेछौँ’ भनी स्वीकार गर्नेछन् । तिनी नरहे पनि तिनका पुस्ता यो स्वीकार गर्न बाध्य हुनेछन् ।

यस तिक्त यथार्थलाई विध्वंसको फिलिङ्गो बनेर पुनरोदयको प्रयासमा रहेका जमातले अहिले नै महसुस गर्न सके मुलुक पुन: द्वन्द्वको भासमा जाकिनबाट जोगिन सक्छ । आफूहरू कसैको उक्साहट या परिचालनमा विध्वंसात्मक कार्यमा उद्यत् नरहेको लागिरहेको हुनसक्छ कथित ‘क्रान्तिकारी’हरूलाई । हो, हिजोका अगुवाहरू पनि यस्तै ठान्थे, कैयन अझै ठानिरहेका होलान् । तर, यस्तो सोच आत्मरति र भ्रम मात्रै हो । उद्दण्ड जमातलाई ‘उपयोग’ गरी स्वार्थ सिद्ध गर्न मौका ढुकेर बसेका व्यक्ति, समूह या शक्तिको आन्तरिक र बाह्य रूपमा बिगबिगी कायमै छ । आज आफ्नै बुतामा टेलिफोनका बेस–स्टेसनमा आगजनी गर्न सक्ने ‘शक्ति’लाई तिनले भोलि ठूला–ठूला र अहम् महत्त्वका संरचनामाथि विस्फोट गराउन सक्ने, ठूलो मात्रामा जनधनमाथि धावा बोल्न सक्ने आकारप्रकारमा रूपान्तरण गरिदिन सक्छन् । संसार नियाल्दा यस्ता उदाहरण बग्रेल्ती छन् ।

तसर्थ, एउटै नियति बारम्बार दोहोर्‍याएर देशलाई दुर्दशाको भुमरीमा रुमल्याउने गल्ती कुनै पनि सच्चा नेपाली नागरिकले गर्नुहुँदैन । मुलुकले अझै सुशासन, सुव्यवस्था, स्थिरता, शान्ति र समृद्धिको बाटो पहिल्याउन नसकेको सत्य हो, तर असन्तुष्टि व्यक्त गर्न अराजक बाटो नै अवलम्बन गर्नुपर्छ भन्ने मान्यताचाहिँ वर्तमान परिप्रेक्ष्यमा नितान्त: गलत हो । र, परिस्थितिवश विद्रोहकै बाटो सही ठान्दै अघि बढ्न खोज्नेहरूप्रति दमनको नीति अवलम्बन गरी बिच्क्याउन खोज्ने राज्य–शासकको प्रवृत्ति पनि निन्दनीय ठहरिनेछ, हेक्का रहोस् ।

ghatana