नयाँ शक्ति भन्दै ढाँटछलको प्रपञ्च

नयाँ शक्ति भन्दै ढाँटछलको प्रपञ्च


Baburam Bhattarain 19

नयाँ शक्तिको नाममा पुराना मान्छेहरूले खोलेको नयाँ शक्ति नेपाल नामक पार्टी अन्य दलहरूभन्दा कुनै अर्थमा ‘ठीक’ र ‘नयाँ’ नभएको सो पार्टीका नेताहरूको व्यवहारले नै स्पष्ट गरेको छ । पार्टीमा अर्थ समितिको संयोजक रहेका रामेश्वर खनालले पार्टी घोषणा गर्ने क्रममा जम्मा एक करोड चार लाख रुपैयाँ मात्र खर्च भएको सार्वजनिक गरेका छन् । तर, दैनिक पत्रिकाहरूलाई ज्याकेट विज्ञापन मात्र १ करोड २८ लाख रुपैयाँको उपलब्ध गराइएको थियो भने टेलिभिजन तथा रेडियोहरूको खर्च बेग्लै छ । क्याप, पर्चा, पोष्टर, मञ्च व्यवस्थापन, स्टेसनरी र जिल्ला–जिल्लाबाट राजधानीसम्म आउनेहरूका लागि यातायात खर्चसमेत जोड्दा पार्टी घोषणाको क्रममा दश करोड रुपैयाँभन्दा बढी खर्च भएको स्वत: अनुमान गर्न सकिन्छ ।

यसरी ‘नयाँ शक्ति’ले पनि पुरानै तरिकाले ढाँट, छल गर्न खोजेको देखिएको छ । नयाँ शक्ति नेपाल, निर्वाचन आयोगमा दर्ता भइसकेको छैन र दर्ता नभईकन उक्त दलको नाममा कुनै बैंक खाता खोल्न पनि सम्भव हुँदैन । बैंक खाताबिना नै करोडौँको कारोबार गरेर नयाँ शक्तिले आफ्नो ‘परिचय’ दिएको छ । आफूलाई इमानदार एवम् पारदर्शी दाबी गर्ने बाबुराम भट्टराई र रामेश्वर खनालबाट भएको अपारदर्शी कार्य–व्यवहारलाई लिएर समूहभित्रै पनि असन्तुष्टि बढेको बुझिएको छ ।

बाबुराम भट्टराईले बनाएका केही नारा अत्यन्त सान्दर्भिक र मानिसको ध्यान आकर्षित गर्ने प्रकारका रहे । तीमध्ये ‘सम्भव छ समृद्धि, हाम्रै जीवनकालमा’ र ‘परिवर्तन हाम्रै जीवनकालमा’ पनि हुन् । यो नारा वास्तविक नयाँ शक्ति निर्माणका निम्ति प्रयासरत ख्यातिप्राप्त पत्रकार रवीन्द्र मिश्रले तीन वर्षअघि नै तर्जुमा गरेका हुन् । उनले सन् २०१३ मै उक्त नारा आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिसकेका थिए । बाबुरामले रवीन्द्र मिश्रबाट नै ती नारा चोरी गरेको स्पष्ट देखिएको छ । त्यस्तै टुँडिखेलमा नभई रंगशालामै पार्टीको घोषणा कार्यक्रम राख्ने, एउटा व्यक्ति कुनै पनि पदमा दुई कार्यकालभन्दा नरहने र एक व्यक्ति एक पदको अवधारणालाई विधानमै व्यवस्था गरेर कार्यान्वयन गर्ने ‘आइडिया’ पनि रवीन्द्र मिश्रकै भएको र मुमाराम खनालमार्फत बाबुराम भट्टराईले चोरी गरेको बताइन्छ ।

त्यस्तै, बाबुरामले करिब बीस हजार मानिसको भेला गराएर रंगशालामा एक लाख मानिसलाई उपस्थित गराएको भनी प्रचार गर्नुलाई पनि दाबी गरिएको नयाँ शक्तिको चरित्रअनुरूप नभएको ठानिएको छ । एकजना व्यक्ति उभिन तीन वर्गफिट क्षेत्र आवश्यक पर्ने हुन्छ । दुई वर्गफिटमै एकजना मानिस उभिएको मान्दा पनि रंगशालामा बीस हजारभन्दा बढी उभिन सक्ने देखिँदैन । उपस्थित भएकाभन्दा पाँच गुणा बढी मानिस जम्मा भएको भनी झुट बोल्नुले पनि बाबुरामको समूह ‘नयाँ शक्ति’ नभई पुरानै भएको सङ्केत गरेको छ । इसाई र अन्य विदेशीहरूबाट प्राप्त आर्थिक सहयोगलाई पनि बाबुरामले लुकाएका छन् । अपारदर्शिता नयाँ शक्तिको विशेषता होइन भने उनीहरूको व्यवहारले ‘नयाँ शक्ति’ वास्तवमा नयाँ शक्ति नभएको स्पष्ट गरेको छ ।