हुलाकी सडकलाई पूर्णता दिइने आश्वासन

हुलाकी सडकलाई पूर्णता दिइने आश्वासन


15 PR Pic

हुलाकी राजमार्गसम्बन्धी विभिन्न गुनासा र अफवाह चलिरहेका बेला नेपालका लागि भारतीय राजदूत रन्जित रेले हुलाकी राजमार्ग भारत सरकारका लागि प्रतिष्ठाको विषय भएकाले चाँडोभन्दा चाँडो यो सडकलाई पूर्णता दिइने आश्वासन दिनुभएको छ । वर्षौंदेखि जीर्ण रहँदै आएको हुलाकी सडकलाई यथाशीघ्र शुरु गरिने बताउँदै उहाँले भन्नुभयो, ‘हामीले यो सडकलाई प्रतिष्ठाको विषयसँग जोडेका छौँ, यो सडक हामी चाँडोभन्दा चाँडो बनाउन प्रयासरत छौँ ।’ राजदूत रे भारतीय सहयोगमा निर्मित महोत्तरीका दुईवटा विद्यालय भवनको उद्घाटन कार्यक्रममा सरिक हुनुहुन्थ्यो ।

महोत्तरीको जलेश्वर नगरपालिका–१६, सुगास्थित सुकदेव उच्च माध्यमिक विद्यालय तथा मटिहानीस्थित राम उच्चमाध्यमिक विद्यालयको गत शनिबार एक भव्य समारोहबीच उद्घाटन गर्दै राजदूत रायले ‘परिक्रमा सडक’लाई पनि तीव्र गतिमा अघि बढाउने आश्वासन दिँदै यसप्रति विश्वस्त हुन आग्रहसमेत गर्नुभयो । नेपाल र भारतका सयौँ स्थानीय सहभागी रहेको कार्यक्रममा राजदूत रेलाई स्थानीयले २० किलोको माला पहिराएर भव्य स्वागत गरेका थिए ।

सीमा–क्षेत्रवरिपरि भारत र नेपालमा कुनै पनि सामाजिक हितका परियोजना सञ्चालन हुँदा दुवै देशका जनता लाभान्वित हुने हुनाले भारत सरकारले उच्च मूल्याङ्कनका साथ कार्य अगाडि बढाएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा थप परियोजना सञ्चालन गर्न आफूले हरसम्भव प्रयास गर्ने वचन दिनुभयो ।

सोही कार्यक्रममा वीरगञ्जस्थित भारती महावाणिज्य दूतावासका दूत अञ्जु रञ्जनले यी दुई विद्यालयको उद्घाटनले यस क्षेत्रमा थप लगानी गर्न अवसर आएको उल्लेख गर्नुभयो । उहाँले भारत सरकारको निर्माणमा भइरहेका तर यतिबेला थाती रहेका कतिपय कामलाई पनि अविलम्ब पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो ।

भारत सरकारले महोत्तरीमा चार विद्यालय भवन बनाउन सहयोग गरेकोमा राम उमावि मटिहानीको विद्यालय भवन निर्माणका लागि २८ कोठे भवनमा एक करोड ९१ लाख तथा सुगास्थित सुकदेव उमाविको १२ कोठे भवनका लागि एक करोड ३९ लाख खर्च भएको र महोत्तरीमै यतिबेला रामगोपालपुर विद्यालयमा भवन निर्माणाधीन रहेको जानकारी दिइएको छ ।

यस्तै, भारत सरकारको सहयोगमा अर्घाखाँचीको सन्धिखर्कमा निर्माण भएको जनज्योति उच्च माध्यमिक विद्यालय नेपालका लागि भारतीय राजदूत रन्जित रायले उद्घाटन गर्नुभएको छ । उक्त विद्यालय भवन एक करोड ५१ लाखको आर्थिक सहयोगमा निर्माण भएको हो । यसैगरी राजदूत रायले भारत सरकारको सहयोगमा अर्घा रजस्थल माध्यमिक विद्यालय अर्घामा निर्माण भएको भवनको पनि उद्घाटन गर्नुभएको छ । अर्घामा चार करोड ९३ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीसमेत उपस्थित विद्यालय उद्घाटन कार्यक्रममा राजदूत रायले नेपाल र भारतको सम्बन्ध लामो समयदेखि प्रगाढ रहेको दोहोर्‍याउनुभयो ।

यसैबीच नेपाल–भारत सीमा कार्यसमूहको तेस्रो बैठक सम्पन्न भएको छ । गत बिहीबार शुरु भई शनिबार सम्पन्न बैठकले सर्भे अधिकृत समिति बैठक र संयुक्त स्थलगत सर्भे टिमले प्रस्तुत गरेको प्रतिवेदनको समीक्षा गर्नुका साथै नेपाल–भारत सीमामा जारी सीमासम्बन्धी कार्यमा भएको प्रगतिको प्रशंसा गरेको बुझिएको छ । उक्त बैठकले अर्को स्थलगत कार्यको लक्ष्य र कार्यतालिकालाई पनि अन्तिम रूप दिएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि बाँकी रहेका कार्यतालिका पूरा गर्न उच्च प्राथमिकता दिने निर्णयसमेत गरेको सो बैठकले अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको नेपाल–भारत सीमास्तम्भका लागि नेपाल–इन्डिया बाउन्डरी ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टमको प्रयोगलाई पनि स्वीकृत गरेको छ । बताइएअनुसार दुवै पक्षले प्रभावकारी सीमा व्यवस्थापनको महत्त्वमा जोड दिनुका साथै स्थानीय अधिकारी र सीमा क्षेत्रमा बस्ने जनतालाई पनि टोलीका आगामी स्थलगत कार्य सम्बन्धमा सजग गराउनुपर्नेमा जोड दिएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व नापी विभागका महानिर्देशक कृष्णराज बीसीले र भारतका तर्फबाट भारतका सर्भेयर जनरल डा. स्वर्ण सुब्बा रावले गर्नुभएको थियो । सर्भे अधिकृत समितिको अर्को बैठक आगामी सेप्टेम्बरमा र सीमा कार्यसमूहको बैठक सन् २०१७ को अगस्तमा भारतमा हुने भएको छ ।