नयाँ शक्ति वैकल्पिक पार्टी बन्ला ?

नयाँ शक्ति वैकल्पिक पार्टी बन्ला ?


Suman-Baral

– सुमन बराल

भौगोलिक एकता र राजनीतिक परिवर्तनको कालखण्ड सकिएको भन्दै तीव्र आर्थिक विकास र समृद्धिका लागि नयाँ शक्ति नेपाल औपचारिक रूपमा जेठ ३० गते संयोजक बाबुराम भट्टराईले घोषणा गरे । नेपाललाई सिङ्गापुर र स्वीट्जरल्यान्ड बनाइदिने भाषण गर्ने दल र नेताहरू धेरै आए । बाबुरामले पनि माक्र्सवाद, लेलिनवाद, माओवादको नाममा परिवर्तनकै लगि करिब चार दशक सङ्घर्ष गरे अनि १० वर्षे द्वन्द्वमा ठूलो जनधनको क्षति भयो । तर, अहिले नयाँ परिवेशमा नयाँ शक्तिले निकास र विकास दिने भन्दै अघि बढेका छन् । नयाँ शक्तिले सम्भव छ हाम्रै जीवनकालमा समृद्ध नेपाल, अबको निकास आर्थिक विकासलगायतका नारासहित सात वर्षभित्र मूल रूपमा गरिबी र बेरोजगार अन्त्य, १५ वर्षमा मध्यमस्तरको आर्थिक विकास, २५ वर्षमा संसारको एक सम्पन्न देश बनाउने लक्ष्य लिएको छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा छोटो समयमा परिवर्तनका लागि ठोस कदम अघि बढाउँछन् भन्ने आशा अधिकांश जनतालाई थियो, केही हदसम्म अझै छ । १८ महिने कार्यकालमा उनले माओवादी लडाकुको व्यवस्थापन र सडक फराकिलो बनाउन खेलेको भूमिका, टेलिफोनबाट जनताको गुनासो सुन्न मिल्ने हेलो सरकार, महिनामा एक दिन जनताको घरमा बास र मुस्ताङ गाडी चढ्नुजस्ता केही राम्रा कामबाहेक १७ हजारको रगतको सम्मान हुने गरी उनले काम गर्न भने सकेनन् । गठबन्धनको सरकार भएकाले आफूले चाहे जसरी काम गर्न पाएनन् भन्ने कुरामा भने केही सत्यता छ अनि भ्रष्टाचार, बेथिति, डनवाद र कुप्रथाहरूले जकडिएको नेपालजस्तो गरिब देशमा बाबुरामले वा अन्य कसैले रातारात कायापलट गर्लान् भन्ने आशा गर्नु पनि मूर्खता हो, तर सक्षम शासकले सबै अवरोधलाई चिर्ने साहस राख्नैपर्छ । उनले सुकम्बासीलाई उचित बासको प्रबन्ध नमिलाई डोजर चलाएर अन्य दलहरूको विरोधका कारण सुकुम्बासीलाई व्यवस्थापन गर्न नसकिएको भन्दै निरीहता देखाएका थिए ।

लडाकुको चेक लुट्ने वा उनीहरूको तलबमा घोटला गरेर भ्रष्टाचार गर्नेलाई कारबाही गर्न आवाज किन उठाएनन् ? सत्तामा रहँदा आफँैले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बुझाएको ४० सूत्रीय माग पूरा गर्न कति प्रयास गरे ? प्रधानमन्त्री कार्यकालपछि किन मुस्ताङ गाडी त्यागे ? उनको आर्थिक स्रोत के हो ? १० वर्षे हिंसात्मक आन्दोलन निर्विकल्प थियो ? १७ हजारभन्दा बढीको रगतको मूल्यमा जनताको गणतन्त्र आएका हो वा नवराजाहरूको लुटतन्त्र ? भारतलगायतका शक्तिकेन्द्रहरूले कुन स्वार्थले आफँैले आतङ्ककारी घोषणा गरेको माओवादीलाई आर्थिक र प्राविधिक सहयोग गरे ? सत्तामा पुग्ने आधार बनाउन जातैपिच्छे राज्य बाँड्ने कुराले नेपालको हित गर्‍यो ? मित्र देशहरूबाट आर्थिक एवम् अन्य सहयोग लिएर बन्ने दलले जनताको पक्षमा काम गर्न सक्छन् ? बाबुरामले केही वर्षअघिबाट नै नयाँ वैकल्पिक शक्तिको वकालत गर्दै आएका थिए, तर संविधान बनेपछि नाकाबन्दी र मधेस आन्दोलनले आक्रान्त भएको बेला एमाओवादी छोड्ने उचित समय थियो ? जनतालाई चित्तबुझ्दो जबाफ नदिएसम्म यी प्रश्नहरूले बाबुरामको पिछा गरिरहनेछन् ।

व्यवहारमा पारदर्शिता कायम राख्ने, सस्तो श्रमिकका रूपमा विदेशमा दासत्व स्वीकार्न बाध्य लाखौँ नेपालीका लागि कृषि, पर्यटनलगायतका उद्योगमा रोजगारीको ग्यारेन्टी गर्ने वा जीवनयापन हुनेगरी बेरोजगारी भत्ता दिने, तलदेखि माथिसम्म जनताबाट चुनिएका सक्षम र इमानदार नेता तथा कार्यकर्तालाई प्रोत्साहन एवम् भ्रष्टलाई निरुत्साहित गर्ने परिपाटी विकास गर्ने, दलगत र व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताका लागि काम गर्ने, कर छल्ने व्यापारीसँग चन्दा नलिने दल नेपालको आवश्यकता हो ।

उनले नेपाल, भारत र चीनबीचको गतिशील पुल बन्नुपर्ने वकालत गर्दै आएका छन् । पक्कै पनि विश्व शक्ति बन्ने लक्ष्यमा अघि बढिरहेका देशसँग सुमधुर सम्बन्ध कायम राख्दै नेपालले पनि आवश्यक सहयोग लिएर अघि बढ्नुपर्छ । आजको विश्वव्यापीकरणको युगमा मित्रदेशहरूसँग राम्रो सम्बन्ध हुनु सबल पक्ष हो, तर आन्तरिक मामलामा शक्तिकेन्द्रहरूको हस्तक्षेपकारी भूमिका स्वीकार गर्ने वा उनीहरूका अघि लम्पसार पर्ने दलले भने देश र जनताको हित गर्नै सक्दैनन् । तसर्थ आगामी दिनमा नेपालको सार्वभौमसत्ता, अखण्डता अनि आन्तरिक मामलामा हस्तक्षेप गर्दै नाकाबन्दीसमेत लगाउने अमानवीय कार्यको अन्त्य गराउन, असमान सन्धिलाई समयअनुकूल परिवर्तन गराउन, खुला सिमानाका कारण हुने सीमा अतिक्रमण र आपराधिक गतिविधि घटाउनेलगायतका विषयमा नयाँ शक्तिले ठोस नीति चाल्छ वा चाल्दैन भन्ने कुरा जनताले नियालिरहनेछन् ।
पक्कै पनि समकालीन शीर्ष नेताहरूमध्ये अधिकांश जनताले धेरै आशा गरेका नेता हुन् बाबुराम, तर उनीसँगै करिश्मा मानन्धर, सरोज खनाल, गणेश राई, रामेश्वर खनाललगायतका चर्चित पात्र भएकै आधारमा मात्र नयाँ शक्ति नेपालले सफलता प्राप्त गर्न सक्दैन । अनि सरसफाइका नाममा एक दिन कुच्चो हातमा बोकेर, छतमा सब्जी फलाएर, कर छल्ने व्यापारीसँग चन्दा लिँदै सदाचारिताको वकालत गरेर पनि विकास सम्भव हुँदैन । एकीकृत माओवादीमा रहेका बाबुरामपक्षीय नेता तथा कार्यकर्ता, विगतमा स्वतन्त्र पहिचान बनाएका कलाकार, पूर्व सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता, पद अनि प्रतिष्ठा पाउने आसमा आएका धनाढ्यहरू र परिवर्तनको आसमा देशविदेशबाट नयाँ शक्तिको अभियानमा लागेका युवालाई मिलाएर अघि बढ्नु नयाँ शक्तिका लागि ठूलो चुनौती हुनेछ ।

नयाँ शक्तिको आक्रामक प्रचारशैलीको धेरैले विरोध गर्नु एक हिसाबले जायज पनि छ, तर हिंसाको बलमा नभई विकासको नारामा दल गठन हुनु, पार्टी घोषणासभाको खर्च विवरण सार्वजनिक गर्नु, नेता मञ्चमा नभई दशर्कसँगै बस्नु, जुलुसले सडक अस्तव्यस्त अनि दलका नारा र ब्यानरले सहर कुरूप नबनाउनु, एक व्यक्ति एक पद अनि सबै कार्यकारी पदमा कुनै व्यक्ति दुई कार्यकाल मात्र रहनेलगायतका सकारात्मक पक्षको प्रशंसा र अनुसरण अन्य दलले पनि गर्नुपर्छ । यो वैकल्पिक राजनीतिक पार्टी बन्छ वा करिब १८० भन्दा बढी दलहरूको सूचीमा थप अर्को दलका रूपमा मात्र रहन्छ भन्ने कुराको पक्ष–विपक्षमा बहस जारी छ ।

संसारमा भिन्नभिन्न राज्य संरचना र शासकीय स्वरूप भएका स्वीडेन, नर्वे, अमेरिका, मलेसिया, अष्ट्रेलिया, चीन, अरब, बेलायतलगायतका सबै देश विकसित र शक्तिशाली छन् । नेपालमा पनि समाजवाद, साम्यवाद, पुँजीवादलगायतका अनेकन वादलाई मन्त्र बनाएकाको हातमा शासनसत्ता पुगेको छ, तर देशको विकास हुन सकेन । यसले पुष्टि गर्छ देश विकास कुनै तन्त्र, वाद, संरचना, स्वरूप अथवा वैचारिक आधारले निर्धारण गर्ने नभई सक्षम र इमानदार नेतृत्वले गर्ने हो । तसर्थ संसारका सबै राम्रा विचार र प्रयोगहरूबाट सिकेर नेपालमा नयाँ मोडेलको विकास गर्न सकिन्छ । पुँजीवाद, साम्यवाद, समाजवाद, माक्र्सवाद, लेनिनवाद, माओवाद नभई जनताका शिक्षा, स्वास्थ्य, आवासलगायतका सबै आधारभूत आवश्यकताको ग्यारेन्टी गर्ने नेपालवादको विकास गर्नुपर्छ । जनताको जनजीविकाको मुद्दाको सामाधान गर्ने दिशामा कर्मले अघि बढ्ने बाबुरामको नयाँ शक्ति, एमाले, काङ्ग्रेस, माओवादी केन्द्र, राप्रपा नेपाल, मधेसवादी दल वा अन्य कुनै पनि दललाई जनताले समर्थन गर्नुपर्छ । काम नगर्ने, तर जनताको नाममा समाजवाद, साम्यवाद र पुँजीवादको फोस्रा भाषण गर्ने भ्रष्ट, अक्षम नेतृत्व भएका दलले देशको विकास गर्नै सक्दैनन् । तसर्थ लोककल्याणकारी राज्य दस्तावेजमा होइन व्यवहारमा लागू गर्ने दल नेपालमा आवश्यक छ ।

शासकले अमेरिका, चीन, स्वीडेन, बेलायत, मलेसिया, चिलीलगायतका देशको विकास मोडलमा विद्यावारिधि नगरे पनि हुन्छ, तर उनीहरूमा देशको निकास र विकासका लागि नैतिक बल र इमानदारी भने हुनैपर्छ । देश र जनताप्रति इमानदार नहुने हो भने संसारमा सफल भएका मोडल पनि असफल हुन्छन् । यही कारणले नेपालमा संसारमा प्राय: प्रचलित सबै मोडल प्रयोग भइसक्दा पनि जनता गरिबीमा अझै पिल्सिन बाध्य छन् । अहिले बाबुरामलाई राम अवतार ठानेर पूजा गर्ने अनि उनीलाई रावण भन्दै सराप्ने दुवै अतिवादी हुन् । बाबुराम इमानदार छन् वा छैनन् अनि नारा व्यवहारमा लागू गर्छन् वा गर्दैनन् भन्ने कुरा भविष्यले बताउनेछ । तर, राम्रो कामको समर्थन र नराम्रोको विरोध गर्ने जनताको कर्तव्यबाट कोही पनि विमुख हुनुहुँदैन ।

कुनै वाद, तन्त्र, व्यवस्थाले मात्र विकास सम्भव छ भन्नेहरू सिद्धान्तका दास हुन्, पाखण्डी हुन् । व्यक्तिगत अनि दलीय स्वार्थबाट माथि उठेर मन, वचन र कर्मले देशको हितमा काम गर्ने बाबुराम, प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा, कमल थापा, उपेन्द्र यादव वा जोकसैलाई पनि नेपाली जनताले सहयोग र समर्थन गर्नुपर्छ । विभिन्न पेसा–व्यवसाय गर्ने सबै इमानदार मानिसले राजनीति गर्नुपर्छ भन्ने होइन, तर उनीहरूले दोष र गुणका आधारमा कुनै दलको समर्थन वा विरोध गर्ने कर्तव्य भने पालना गर्नैपर्छ ।
व्यवहारमा पारदर्शिता कायम राख्ने, सस्तो श्रमिकका रूपमा विदेशमा दासत्व स्वीकार्न बाध्य लाखौँ नेपालीका लागि कृषि, पर्यटनलगायतका उद्योगमा रोजगारीको ग्यारेन्टी गर्ने वा जीवनयापन हुनेगरी बेरोजगारी भत्ता दिने, तलदेखि माथिसम्म जनताबाट चुनिएका सक्षम र इमानदार नेता तथा कार्यकर्तालाई प्रोत्साहन एवम् भ्रष्टलाई निरुत्साहित गर्ने परिपाटी विकास गर्ने, दलगत र व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताका लागि काम गर्ने, कर छल्ने व्यापारीसँग चन्दा नलिने दल नेपालको आवश्यकता हो । भारतमा अन्ना हजारेको भ्रष्टचारविरोधी सत्याग्रहले जन्माएका केजरीवालले जस्तै नेपालमा पनि व्यवहारमा सुशासन र जनजीविकाको मुद्दालाई केन्द्रित गर्ने दललाई जनताले जिताउनेछन् । हिंसात्मक राजनीति हँुदै अर्थमन्त्री र प्रधानमन्त्रीका रूपमा जनताले भोगिसकेका बाबुरामको नयाँ शक्ति कस्तो बन्छ भन्ने कुरा भविष्यमा उक्त दलले लिने कार्यदिशाले बताउनेछ ।