रातो किताबको आयोजना अदालतमा

रातो किताबको आयोजना अदालतमा


15 kulo pic

लमजुङ/ सिँचाइका लागि रातो किताबमा परेको एक आयोजना अदालतमा पुगेको छ । धेरै किसान लाभान्वित हुने गरी निर्माणका लागि रातो किताबमा परेको सुन्दरबजार–४ स्थित भुतिया मुहान कान्ले खेत सिँचाइ आयोजना विवादका कारण अदालतमा पुगेको हो । लामो समयदेखि चल्दै आएको सो कुलोलाई थप व्यवस्थित बनाई सबै किसानलाई राहत दिने योजनाका साथ सिँचाइ डिभिजन कार्यालय लमजुङले काम अघि बढाएको थियो । ‘कुल दुई लाख ३५ हजारको लागतमा निर्माण गरिन लागेको यस आयोजनामा पुरानो कुलोलाई अलिकति मर्मत गरी व्यवस्थित बनाउन मात्रै लागेका हौँ,’ सिँचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख रवीन्द्रबहादुर थापाले भने, ‘कुलो लैजाने खेतका धनी कुलबहादुर भट्टराईले असहमति जनाएपछि निर्माणको कार्य रोकिएको हो ।’

जग्गाधनी कुलबहादुर भट्टराईले पुरानै कुलोबाट पानी लैजान दिने, तर त्यसलाई व्यवस्थित बनाउन नदिने बताएका छन् । ‘पानी लैजाने भए साबिककै कुलो दिन्छु, तर सिमेन्ट लगाएर पानी लैजान दिन्नँ,’ जग्गाधनी भट्टराईले भने, ‘मेरो जग्गामा कुलोको अधिकांश जग्गा परेको छ । जग्गा मासेर कुलो बनाउन दिनेवालामा म छैन ।’

सिँचाइ डिभिजन कार्यालयले स्थानीय जग्गाधनी बलबहादुर कुँवरलाई भुतिया मुहान कान्ले खेत सिँचाइ आयोजनाको उपभोक्ता समितिको अध्यक्ष बनाएर कुलोको मर्मत थालेको थियो । कुलोको निर्माणकार्य ४० प्रतिशत सकिए पनि कुलो बनाउने भागमा जग्गा भएका भट्टराईले निर्माण भएको कुलो भत्काइदिएपछि निर्माण कार्य बन्द हुन पुगेको उपभोक्ता समितिका अध्यक्ष कुँवरले बताए । उनका अनुसार पुरानो कुलोको भरमा ७० देखि ८० मुरी धान फल्ने खेतमा सिँचाइ हुँदै आएको र यसलाई व्यवस्थित पार्न खोज्दा विवाद उत्पन्न भएको हो । विवादपछि जग्गाधनी कुलबहादुरले न्यायका लागि अदालतमा रिटसमेत दायर गरेका छन् ।

व्यवस्थापिका–संसद्का सदस्य चन्द्रबहादुर कुँवरको पनि यही क्षेत्रमा खेत भएकाले सांसद कुँवरले सिँंचाइ आयोजना निर्माण गर्न लगाएको भन्दै सिँचाइ आयोजनाको विपक्षमा लाग्ने किसानले आरोप लगाएका छन् । आयोजनाको विरुद्धमा रहेका जग्गाधनीले सांसद कुँवरले संसद् विकास कोषको रकम दुरुपयोग गरी सिँचाइ आयोजना बनाउन लागेको आरोप लगाएका छन् । तर, यो सिँचाइ आयोजना सरकारको महत्त्वको कार्यक्रम भई रातो किताबमा परेको आयोजना हो । सांसद कुँवरका अनुसार पटक–पटक मर्मत हुँदै आएको यस आयोजनालाई अहिले पनि मर्मत मात्रै गर्न लागिएको हो ।

‘सांसदले आफ्नो खेत सिँचाइका लागि संसद् विकास कोषको रकम दुरुपयोग गरी सिँचाइ आयोजना बनाउन लागेको हल्ला चलाएका छन्,’ कुँवरले भने, ‘मेरो केही जग्गा बेचिसकेँ, थोरै मात्र बाँकी छ । मलाई सिँचाइ आयोजनाको कुनै आवश्यकता छैन । माथिल्लो खेतमा आएको पानी तल्लो खेतमा यत्तिकै पनि झरिहाल्छ ।’
सिँचाइ आयोजना निर्माणका लागि गठन भएको उपभोक्ता समितिका केही पदाधिकारीलाई जग्गाधनी कुलबहादुर भट्टराईका छोरा श्रीकृष्ण भट्टराईले समितिबाट राजीनामा नदिए मुद्दा हालिदिने भन्दै राजीनामा गर्न लगाएको भुतिया मुहान कान्ले खेत सिँचाइ आयोजना निर्माण समितिका अध्यक्ष बलबहादुर कुँवरले बताए । भट्टराई भक्तपुर जिल्ला अदालतका न्यायाधीश हुन् ।

– छविलाल बगाले