राजनीतिक पार्टी र नेताहरू नै आर्थिक समृद्धिको बाधक

राजनीतिक पार्टी र नेताहरू नै आर्थिक समृद्धिको बाधक


Kishor Silwal 3

– किशोर सिलवाल

नेपालको राजनीतिक वा आर्थिक अवस्थाहरू कमजोर र अस्थिरता भएकै कारणबाट विकसित देशहरूको दाँजोको बर्खिलाप आर्थिक विकासको सूचक ०.७७ प्रतिशत नकारात्मक अर्थात् शून्यमै स्थिर हुनुको एक मात्र कारण राजनीतिक स्थिरता नहुनु नै हो । झट्ट हेर्दा भारतको चाहना नेपालको राजनीतिलाई स्थिर रहन नदिई दबाबमा राखिरहने भन्ने देखिन्छ भने चीनचाहिँ नेपालको आर्थिक विकास नहुनुको मुख्य कारण नै राजनीतिक अस्थिरत हो भनी समीक्षा गरिरहेको बुझिन्छ । चीनले व्यापारिक सन्धि तथा सम्झौता गर्नुका अलावा नेपाल एक सार्वभौम मुलुक हो भनी समर्थन गर्नुको पछाडि जे–जस्ता स्वार्थ लुके तापनि अहिले यो चासोको विषय होइन, सिर्फ हामीलाई विकास चाहिएको छ, जो गर्नका लागि उसको सोच सकारात्मक छ, जसलाई दोहन गर्ने क्षमता, योग्यता र सामथ्र्यता नेपाल सरकारको प्रशासनका कर्मचारी र नेताहरूमा हुनुपर्‍यो, अनि मात्र सफल होइन्छ, नत्र उही सोम शर्माले देखेको कथामा सीमित हुनुपर्नेछ ।

२१औँ शताब्दीको महाशक्तिशाली दुई छिमेकी राष्ट्र भारतभन्दा चीन निकै अगाडि बढिसकेको र नेपाल यस्ता छिमेकीको बीचमा रहँदारहँदै पनि आर्थिक विकासले गति किन लिन नसकिरहेको भन्दा मुख्य बाधक तथा कारकको रूपमा राजनीतिक पार्टी र नेताहरू नै हुन् भनी जनताले महसुस गरिसकेको, वादविवाद तथा छलफलमा आइसकेकोले अब नेताहरूले पनि बुझपचाउन नसकी सतहमा छताछुल्ल भई विकासका गतिलाई कार्यान्वयमा जोड दिन प्रधानमन्त्री ओली लागिपरेको अनुमान गर्न सकिन्छ । जे होस्, यतिबेलाको परिस्थितिका आधारमा अर्थशास्त्रीय सैद्धान्तिक आर्थिक समृद्धिका बाधक तत्त्वलाई दुई किसिमले विवेचना गर्न सकिन्छ, आर्थिक बाधक र गैरआर्थिक बाधक ।

आर्थिक अवरोधहरू :
दरिद्रताको कुचक्र : अनेक किसिमका कुचक्रबारे कुरा गर्दा अर्थशास्त्रीहरूले कसैलाई विकासको मार्गलाई कुचक्रले घेरेको हुन्छ भने कुनै धेरै घातक पनि हुन्छन् भनेर भनेका छन् । तर, प्रा. याग्नर नर्कसले भने, ‘दरिद्रको कुचक्र सबभन्दा शक्तिशाली हुन्छ ।’ एउटा देश गरिब भएकाले नै गरिब हुन्छ । त्यसैले यही दरिद्रताको स्थितिमा राख्न एक अर्कासँग चक्रीय क्रिया वा प्रतिक्रिया गर्दछन् । कम उत्पादकत्व—कम आय—कम बचत—कम लगानी—कम पुँजी, यो चक्रीय प्रणाली हो ।

पुँजी निर्माणको कमी : नेपालको राष्ट्रिय आय नै शून्य अवस्थामा हुनु अनि देश रेमिट्यान्सले मात्र धानिरहनु र व्यापार घाटा ६ खर्ब २० अर्ब हुनु साथै अन्य देशहरूमा भारत भई निर्यात हुने नेपाली वस्तुहरूमाथि हालै भारतले गैरआर्थिक अवरोधहरू खडा गरी बाधा पुर्‍याइरहेको छ । ०७३ को बजेट १० खर्ब ४८ भए तापनि साधारण खर्चभन्दा पुँजीगत खर्च आधा कम र विदेशी ऋणबाट पूरा हुने देखिन्छ जुन अपूरो छ किनभने साधारण खर्चभन्दा विकासखर्च दोब्बर चौबरले बढी भई कृषि, औद्योगिक, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत्, शिक्षा, स्वास्थ्य र पौष्टिक क्षेत्रमा खर्च गरिनु भनेको नै उत्पादन र उत्पादकत्व क्षमतामा वृद्धि हुनु भनेको निर्यात वृद्धि हुनु हो भन्नु नै राष्ट्रिय आयमा वृद्धि हुनु भन्नु हो जुन काम भइरहेको नै छैन ।

यस सम्बन्धमा थप भन्नुपर्दा थलमार्ग, जलमार्ग र हवाईमार्गको विकास र विस्तारले विकसित देशहरूले दिन र रात चौगुना विकास गरी आर्थिक समृद्धि चरम सीमामा हासिल गर्नुको अलावा अन्य चन्द्र र मंगलग्रहमा पुगिसकेका छन् । त्यसैले प्रधानमन्त्री ओलीले विकासका सपना देखेको फलस्वरूप आज पेट्रोल उत्खननको काम भइरहेको, चीनले केरुङबाट काठमाडौं–लुम्बिनी रेलमार्गको निर्माण, फ्रान्सले काठमाडौंमा चारवटा स्थानहरूमा केबलकार अध्ययन र सर्भे प्रतिवेदन पेस, अप्टिकल फाइबरमा सहयोग आदि चरम राजनीतिक अस्थिरताको बाबजुद पनि ओलीले आर्थिक समृद्धिको पाइला चाल्न र बजेटले पनि सुरुवात गरेकाले जनताको आँखाको नानी हुने सम्भावना बढेकोले प्रतिपक्षी काङ्ग्रेस बजेटमाथि आक्रामक देखिएको छ ।

गैरआर्थिक अवरोधहरू :
सामाजिक तथा राजनीतिक स्थायित्व भएका देशहरूले आर्थिक समृद्धि हासिल गर्नुको पछाडि शान्ति अपरिहार्यता थियो । सहकार्य, सहमति र राष्ट्रिय एकता कमजोर हुनाले नै देशमा अशान्ति, अविवेक, अज्ञान र मूर्खताको विगविगी बढ्यो र राजनीतिक पार्टीहरूले जानीजानी राजनीतिक अस्थिरता बढाए । केही समूहलाई मात्र फाइदा तर असङ्ख्यकलाई बेफाइदा पुग्ने काम गरे । कुनै पनि राष्ट्रले आफ्नो भाग्य आफैँ निर्माण गर्छन्, तर हामी विदेशीको मुख ताक्ने र अनुदान, ऋण र सहयोगमा विकास परनिर्भरता छौँ, यो सबै राजनीतिक दल तथा नेताहरूकै कारणले हो ।

राजनीतिक अस्थिरता : देशमा शान्ति, अमनचैन र सुरक्षामा कमीको अलावा सुशासनमा अपरिपक्वता तथा कानुनी राज्यमा जनतामाथि अत्याचार र भ्रष्टाचार लादिएको व्यवस्थामा जहाँ अशान्ति तथा अस्थिरताको वातावरणमा जनताले सास फेरिरहेका हुन्छन्, जहाँ कानुनी राज भईकन पनि जनताले कानुनी कार्यान्वयको व्यावहारिक पक्ष महसुस गर्न पाएका हुँदैनन् ।

अक्षम प्रशासन : अधिकांश अल्पविकसित देशमा प्रशासनयन्त्र अक्षम, अदक्षता, अपरिपक्व, अयोग्य, नैतिकहीन, अनुशासनहीन, भ्रष्टाचारयुक्त हुनुको कारण मानिस अपूर्ण, अज्ञानी र अविवेकी छ, त्यसैले ऊ सदाका लागि अज्ञान चक्रबाट भुक्त, विषयवासनाबाट मुक्त र इन्द्रिय र अन्तस्करणको विकृत तत्त्वबाट मुक्त अर्थात् विजय हासिल गर्न साधारण व्यक्तित्व र पुरुषार्थले सफल हुन सम्भव छैन किनभने यो शताब्दी कलियुगको हो यहाँ भगवान्को होइन अज्ञानी, मूर्ख र राक्षसीराजको शासन चल्छ र चलिरहेको पनि छ ।

मानवीय संसाधन : श्रमशक्तिको निर्यातमा वृद्धिले विप्रेषणको मात्रा बढाएको छ, राज्यको वित्तीय स्रोत बढिरहेको र आयातीत वस्तुहरू तथा उपभोगमा भएको उच्च वृद्धि र मूल्य अभिवृद्धिका कारण राज्यलाई लाभ त भइरहेको छ भन्नु बिनामिहिनेत र बिनाप्रशासनिक सुधार सरकारको राजस्व परिचालनमा वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय शक्तिहरूमा प्रतिकूल प्रभाव : भारतीय पार्टी कङ्ग्रेस आईले एउटा बुकलेट प्रकाशनमा प्रधानमन्त्री मोदीको विदेश नीतिबारे आलोचना गरिएको, उक्त बुकलेटमा नेपाल र भारतको सम्बन्ध चिसिएकोमा भारतका सबैजसो पार्टी नेपालसँग रुष्ट भएको र नेपाल स्वतन्त्र भए पनि आफ्नो स्वार्थअनुसार चलाउन खोजिएको पुष्टि पनि गरेको छ ।

अन्त्यमा, आर्थिक विकास किन र कसरी हुन्छ भनी जनता र नेता स्वयम्ले नै घोत्लिएको अवस्थामा निष्कर्षमा नेताहरू सबै मिलीे राजनीतिक स्थिरता कायम गर्ने, भ्रष्टाचार निर्मूलीकरण गर्ने, पार्टी धेरैबाट थोरै बनाउने, सरकार ढाल्नुभन्दा राष्ट्रिय सहमतीय सरकारको निर्माण गर्ने, मधेसीको जायज मागलाई मात्र पूरा गरी नेपालको संविधान २०७२ का सबै धाराहरूलाई पारित गरी कार्यान्वयनमा आएपछि तब मात्र लोकतान्त्रिक गणतन्त्र सङ्घीयतामा गएको सार्थकता देखिन्छ, बजेटले घोषणा गरेका विकासका कार्यक्रम कार्यान्वयनमा जोड दिने, २२ वटा ठूलाठूला आयोजनामा विदेशी वा स्वदेशी पुँजी लगानी गर्ने, साथै नेपालले दुवै छिमेकी देशसँग सुमधुर सम्बन्ध कायम गरी अगाडि बढ्नुपर्छ ता कि बराबर होस् र भारतले आफ्नो विस्तारवाद नीति र हेपाहा प्रवृत्ति त्यागी नेपाल गरिब र सानो एक सार्वभौम देशको जुनसुकै क्षेत्रमा समान व्यवहार गर्नुपर्छ भन्ने मानसिकताभन्दा माथि उठ्नु जरुरी छ किनभने नेपाल एक भूपरिवेष्ठित देश भएकैले दुवै छिमेकी मुलुकले राजनीतिक, आर्थिक र विदेश नीतिमा समान व्यवहार गरेर अगाडि बढेमा मात्र आर्थिक उन्नति सम्भव छ ।