ढाँटको निम्तो खाई पत्याउनु

ढाँटको निम्तो खाई पत्याउनु


Suryendra 5

– सूर्यन्द्र

बहुदल पुनस्र्थापनापछिको पहिलो संसद् गिरिजा कोइरालाले भङ्ग गरे । त्यसमा नेपाली काङ्ग्रेसको सुविधापूर्ण बहुमत रहेको थियो । भङ्ग गर्नुपर्ने केवल एउटै कारण थियो– सबै काङ्ग्रेसी सांसद गिरिजाभक्त थिएनन् । आफ्नो लोकप्रियता छ भन्ठानेर सबै आफ्नै भक्त तुल्याउने कोसिसले हावा खायो । जनताले स्वीकार गरेनन् र एमालेलाई चिट्ठा पर्‍यो । यसरी एमालेले आफ्नो राजको ‘स्वर्णकाल’ भनेर देखाउने नौ महिना पायो । त्यो नौ महिना बढेर बाह्र महिना भएको भए के हुन्थ्यो ? अझ पाँच वर्ष नै पुगेको भए कस्तो हुन्थ्यो होला ?

यसको उत्तर त्यौ नौ महिना नियाल्नेहरूले नै जान्दा हुन् । पूर्वाद्र्धमा खोजिने गरेको ‘राम्रो मान्छे’हरूको स्थान उत्तरार्धमा ‘हाम्रो मान्छे’ले लिन थालिसकेको थियो । यदि नेपाली काङ्ग्रेसले केही समय सत्तामोह नगरेको भए एमालेले जप्ने गरेको नौ महिनाको मन्त्र नै पाउने थिएन । उठान गरेका कुराहरू कसरी बैठान हुने थियो त्यो हेर्ने धैर्य गिरिजामा थिएन । निमित्त नायकको रूपमा शेरबहादुरलाई अगाडि सारेर सत्ता खोसिदिए । जनताले ढाँटको निम्तो खाई पत्याउन पाएनन् । भोज नै रद्द भएपछि त्यहाँको परिकार कस्तो थियो ? थियो वा थिएन ? जान्नैपरेन । त्यहाँ स्वादिष्ट परिकार थिए भनेर मान्न कर नै लाग्यो ।

वर्तमानमा फेरि त्यही अवस्था दोहोरिएको छ । खड्गप्रसाद ओलीको सरकार ढाल्न खोजिँदै छ । त्यसबेलाका निमित्त नायक अहिले पूर्ण नायक भएका छन् । शेरबहादुरले एकपटक प्रचण्डको हातबाट झट्का भेटिसके । नेपाली काङ्ग्रेसको प्रशस्त थु–थु भइसक्यो । पछि फेरि त्यही भरोसा गर्न नसकिने सिँढी चढ्न खोज्नु कति बुद्धिमानी होला त ? ओलीले प्रशस्त सपना देखाएका छन् । उनले नेपाली युवालाई स्वप्नलोक नै देखाएका छन् । असम्भवप्राय: बजेटमार्फत देखाइएको सुनौलो भविष्य सम्भव छ–छैन त्यो सावित गर्न ओलीलाई नै छोड्नुपर्दछ । यसबेला सत्ता बदलिनु भनेको ‘मौका पाएका भए ओलीले नेपालीलाई सुनौलो जीवन दिन्थे’ भन्ने किंबदन्ती बनाउनु मात्र हो ।

दिनैपिच्छे नयाँ–नयाँ घोषणा गरेका ओलीलाई त्यो पूरा गर्न दिनुपर्दछ । ढाँटको निम्तोमा साँच्चै परिकार छ कि खाली भाँडा जान्न दिनुपर्दछ । ओलीका घोषणा र बजेट पूरा गर्न नसकेको दोष बोक्ने पात्र अरू हुनुहुँदैन । तर, किन शेरबहादुर त्यो दोष बोक्न अघि सरेका छन्, त्यो उनै जानुन् । प्रचण्डको पिपलपाते चरित्रको गुण–दोष उनैलाई भोग्न दिइनुपर्दछ । एमाले र माओवादी केन्द्रका मतदाता एकै धरातलका भएकाले एकको विजय अर्काको पराजय हुन्छ । अहिले एमालेले सारा श्रेय कुम्ल्याएको खण्डमा माओवादी केन्द्र पनि नेकपा माले वा चित्रबहादुर केसीको दलको आकारमा खुम्चन सक्छ ।

अहिलेको प्रचण्डको छटपटी यही हो । तर, अरूलाई नचाउँदानचाउँदै आफ्नो नाच्ने आँगन नै समाप्त भएको प्रचण्डले देखेनन् । पहिलोपल्टको सरकार परिवर्तनले उनलाई फाइदा पुग्ने थियो । तर, अहिले उनलाई ‘बसी सुख न उठी सुख’ भएको छ । एमालेमा टाँसिइरहँदा माओवादी केन्द्र सुक्ने डर छ । सत्ता परिवर्तन नै गराए पनि ओलीको अति उत्साही घोषणा र मनचिन्ते झोलीसरहको बजेट असफल हुनुको दोष उनैले बोक्नुपर्दछ । तर, त्यो दोष भने एक्लै नभएर नेपाली काङ्ग्रेससँगको साझेदारीमा बोक्ने अवसर उनलाई हासल हुनेछ ।

सत्ता परिवर्तन गराएर नेपाली काङ्ग्रेसलाई नै नेतृत्व दिने हो भने प्रचण्डलाई सबैभन्दा कम हानि हुन्छ । यसको मोल भने नेपाली काङ्ग्रेसले चुकाउनुपर्दछ । आजको दुरावस्थाको ढोका खोलिने कारण गिरिजा र शेरबहादुरको सत्ता सङ्घर्ष थियो । आफ्ना सयौँ कार्यकर्तालाई छप्काउने तात्कालीन माओवादी गिरिजालाई प्यारो सत्तालोभले नै भएको थियो । गिनिजबुकमा नाम चढाउने धुनमा उनले नेपाल नै धरापमा हाले । तिनैको चेलाबाट पनि यस्तै त होला ।

नेपालीलाई ‘ढाँटको निम्तो खाई पत्याउने’ अवसरबाट वञ्चित नगरेकै वेश । सिनेमाको हिरोले जस्तै कसैले पनि असम्भवप्राय: काम गर्न सक्छ भन्ने युवाहरूको आँखा खोल्न ओली सरकारको निरन्तरता आवश्यक छ । नौमहिने सम्मोहन प्राकृतिक रूपमा समाप्त हुन नदिनाको फल अहिलेसम्म अन्य दलले भोग्दै छन् । ओलीको सम्मोहन पनि प्राकृतिक रूपमा समाप्त हुन नदिए त्यसको असरले क–कसलाई भष्म गर्छ भन्न सकिन्न । त्यसैले ढाँटको निम्तो खाई पत्याउनु ।