अञ्चलाधीशका नाति ठगी धन्दामा

अञ्चलाधीशका नाति ठगी धन्दामा


६३ जनाबाट पचास करोड ठगी

यस दुनियाँमा ठगहरूको कमी छैन । ठगहरूको यही पङ्क्तिमा उभिएका कलैया घर भएका शनिश मिश्र कुनैबेला हजुरबुबा अञ्चलाधीश भएको फाइदा उठाएर कलैयादेखि ठगी धन्दा चलाउँदै गर्दा त्यहाँ ठगी पर्दाफास भएपछि झण्डै २ वर्षअघि नगद १० हजार बोकेर काठमाडौं भित्रिएको थियो । आफू १५ कम्पनीको मालिक भन्दै काठमाडौंका सोझासीधा नागरिकलाई प्रलोभनमा पारी ६३ जनाबाट ५० करोड ठगी गर्न सफल ठग मित्र यतिबेला काठमाडौं प्रहरीको फन्दामा परेको छ ।

प्रनाउ रवीन्द्र रेग्मीबाट प्राप्त जानकारीअनुसार ठग मिश्रको कर्तुतहरूबारे अनुसन्धान भइरहेको छ । मिश्रकी श्रीमती सिर्जना भण्डारी र उसनिकट आफन्तसमेत मिली नेपाली सेना, प्रहरी र अन्य नागरिकसमेतसँग हाउजिङ कम्पनीमा सेयर दिने र सहकारीसरह ब्याज दिन्छु भन्दै करोडौँ रकम हत्याउन सफल भएको थियो । मिश्रदम्पती र तिनका मतियार टोलेगुण्डा सुमन विष्टसमेत केही दिन थुनामा परी हाल छुटेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मिश्रले ठगी गरेको रकम इन्डिया बैंक र काठमाडौंको मैतीदेवी एरियामा लुकाइएको एक पीडितले जानकारी दिए । नेपाल इन्भेष्टमेन्ट बैंक पुतलीसडक शाखामा रहेको लकरबाट सुनचाँदी झिकेर अन्यत्र लुकाएको पनि पीडितको दाबी छ । बौद्ध घर भएका एक पीडितले आफ्नो घर सहकारीमा धितो राखी नातिलाई पढ्न पनि सजिलो हुने भन्दै एक करोड ६५ लाख शनिश मिश्रलाई दिएको, तर हाल सो रकम फिर्ता माग्दा नदिएपछि अमेरिकामा पढ्दै गरेको नातिलाई शुल्क बुझाउन नसक्दा बिचल्लीको स्थिति रहेको बताए । यता सहकारीमा समेत ब्याज बुझाउन नसक्दा चार करोड जाने घर तीन करोडमै बिक्रीमा राख्नुपर्ने स्थिति आएको ती पीडितको भनाइ छ । यता ठग मिश्रले चाहिँ ठगीबाटै काठमाडौंमा २६ वटा घर जोड्न सफल भएको एक पीडितले बताए ।

Sanash Mishra

यतिखेर शनिशबाट ठगिएका पीडितहरूको भीड टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा बढ्दै जान थालेको छ । एउटै घर जग्गा पनि उसले कसैसँग बैना कसैसँग तमसुकको कागज गरेको बताइन्छ । सुकेधारामा रहेको उसको घरजग्गाको कागज दुई–तीनजना लगानीकर्तालाई गरेको प्रहरीले पक्राउ गरेपछि खुलासा भएको एक अर्का पीडितले बताए । एउटै सम्पत्तिको पुर्जा पनि नक्कली बनाएको हुनसक्ने पीडितहरूको अनुमान छ ।

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका एक कर्मचारीका अनुसार ठग मिश्रले आफ्ना लगानीकर्तालाई रकम केरमेट भएको चेकसमेत दिएको भेटिएको छ । ‘भर्खर एमबीबीएस सकेर आएका केही डक्टरसमेत ठगको फेलापरेको भेटियो,’ सहकारीको कर्मचारीले बताए ।

मेगा बैंक मैतीदेवी शाखाको चेक पनि उसले ग्राहकहरूलाई प्रशस्त इस्यु गरेको पीडितहरू बताउँछन् । उक्त बैंकका मेनेजरसँग चेकबारे बुझ्दा ग्राहकलाई चेक दिनैपर्ने बाध्यता रहेको तर्क गरे । तर, १० थान चेक लिएको ग्राहकले १/२ थान बाँकी रहँदा नयाँ चेकबुक लिन गएमा नानाथरी केरकार गरेर हैरान पार्नेे बैंक कर्मचारीहरूले उक्त ठगले लगेको ५० थान चेकको विषयमा जानकारी नै नलिई नयाँ चेक प्याड बुझाएबाट बैंक कर्मचारीसमेत मिश्रको धन्दामा मतियार बनेको हुनसक्ने पीडितको बुझाइ छ ।

अरू व्यक्तिका जग्गासमेत बैंक, सहकारीमा लगेर राखी पैसा मिश्रले प्रयोग गर्ने गरेको अर्की एक पीडित महिलाले बताइन् । करोडौँ रुपैयाँ जम्मा गरी अमेरिका भाग्ने र व्यवसाय सञ्चालन गर्न उक्साउन पैसा लगानीकर्तामध्येकै केही मान्छेले लागेको एक पत्रकारले बताए । जसले सुरुमा त्यस ठगलाई काठमाडौंमा चिनारी दिने काम गरे तिनीहरूकै योजनामुताबिक यसले ठग्न सुरु गरेको ती पत्रकारको दाबी छ ।

हाउजिङ व्यवसाय, पानी, फ्याक्ट्री, निर्माण, कम्पनीसहित खोलेर लोभ्याउन सफल ठगद्वय श्रीमान्/श्रीमतीबीच छोडपत्र गरेको हल्ला गर्ने र हल्ला चलाई लगानीकर्ताहरूलाई गुमराहमा राख्ने ठगको काइदा देखेर प्रहरी स्वयम् पनि अचम्मित बनेको बुझिएको छ ।

भाग्ने योजना बनाइरहँदा प्रहरी फन्दामा परेपछि चाबहिलका सुवर्ण श्रेष्ठ यतिखेर आफ्नो डुबेको पैसा उठ्ने विश्वास बढेको बताउँछन् । रिटायर्ड सुरक्षा निकायका केही व्यक्तिहरूले आफ्नो पेन्सनलाई लगानी गरी कम्पनीको सेयरमा विश्वास गर्दा जीवनभरको कमाइ गुमेको पीडामा बस्नुपरेको बताए । आफ्नो पेसामा एकोहोरो लागेको सेना, प्रहरीका रिटायर्डहरू एउटा ठगको फेला पर्दा आफ्नो दैनिकी नै सङ्कटमा पर्न थालेको बताउँछन् ।

यतिखेर चौतर्फी रूपमा प्रहरीमाथि नागरिकको सकारात्मक दृष्टिकोण बन्दै गएको अवस्था र ठग र गुण्डालाई तह लगाउन माहिर मानिएका बहुचर्चित वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले काठमाडौं प्रहरीको नेतृत्व गरिरहेको यथार्थले पनि ठग मिश्रलाई प्रहरीले तह लगाएर पीडितलाई राहत प्रदान गरिने कुरामा पीडितहरू विश्वस्त छन् ।