महानगरपालिकालाई टेरेन जगदम्बा ग्रुपले

महानगरपालिकालाई टेरेन जगदम्बा ग्रुपले


22 Jagadamba

प्रहरी मुख्यालयकै नाकअगाडि निर्माण गर्न लागिएको गगनचुम्बी भवनको बेसमेन्ट बनाउने क्रममा वरपरका छिमेकी निकै पीडित बन्न पुगेका छन् । जगदम्बा गु्रपले निर्माण गर्न लागेको गगनचुम्बी होटल तीनतला बेसमेन्टसहित चौधतले हुने बताइएको छ । आफ्नै मुख्यालय परिसरका सबै कार्यकलाप देखिने तथा सुरक्षा र सञ्चार प्रविधिका गोप्यतासमेत खुलासा हुने अवस्थामा पनि उक्त भवनको निर्माणका सन्दर्भमा प्रहरीका उच्च अधिकारीले खासै चासो दिएका छैनन् ।

ठूला–ठूला मेसिनेरी प्रयोग गरेर माटो खन्ने, फलाम ठोक्ने, गाड्नेजस्ता काम निरन्तर भइरहँदा निर्माण क्षेत्रवरपरका घर थर्केर चर्कन थालेको, आवाजले घरपरिसरमा बस्नै सक्ने अवस्था नरहेको भन्दै पीडित छिमेकीले प्रहरीलाई गुहारे । त्यहाँबाट रातको समयमा काम नगर्न चेतावनी दिइए पनि उक्त आदेशको पूर्ण रूपमा पालना भएको छैन । ठूलाठूला मेसिनेरी र जेनेरेटर आफ्नै घरकम्पाउन्डसँग जोडेर राख्दा मोबाइल/टेलिफोनमा कुरा गर्ने वातावरण नरहेको, टेलिभिजन, रेडियो सुन्न नसकिएको, झ्याल खोलेर बाहिरको ताजा हावा लिने वातावरण पूरै बिग्रेको गुनासो छिमेकीको छ ।

‘एकातिर धुलोधुँवा अर्काेतिर चर्काे आवाज !’ पीडित छिमेकीले भने, ‘एकैछिन बस्न सक्ने अवस्था छैन, घर नै छाडेर हिँड्ने कुरा पनि आएन !’ हेभी मेसिनरी तथा जेनेरेटर राख्ने ठाउँ प्रशस्त हुँदाहुँदै पनि आफ्नै कम्पाउन्डसँग जोडेर राख्नुलाई गलत नियतका रूपमा बुझेका छन् पीडित छिमेकीले । पटक–पटक गुनासो गर्दा ‘हुन्छ, सारिदिन्छौं’ भन्ने तर, व्यवहारमा कार्यान्वयन नहुँदा उनीहरू पीडित भएका हुन् ।

पीडित छिमेकी आजित भएपछि महानगरपालिकामा उजुरी गर्न पुगे । त्यहाँ पनि त्यस्ता मेसिनरी सार्न सहमति जनाएको जगदम्बा ग्रुपका प्रतिनिधिले अर्काे तारेखमा जाँदा पनि त्यही सहमति दोहोर्‍याए । तर, त्यस्ता मेसिनरी जहाँको तहीँ छन्, छिमेकीले डिस्टर्व सहनै परिरहेको छ । ‘गत आइतबार नै त्यस्ता मेसिनेरी सार्ने सहमति गरेको जगदम्बा ग्रुपको प्रतिनिधि बुधबारको तारेखमा महानगरपालिका नै गएनन्,’ पीडित पक्षले भन्यो, ‘सायद पावर देखाउन खोजेको होला । जोरी खोज्ने गोरुले सिंग भाँचिएपछि मात्रै चाल पाउँछ, त्यस्तै खोजेको होला ।’

जनताको जिउधनको रक्षा गर्ने दायित्व प्राप्त प्रहरीले दिनरात ठूलो आवाज आउने र भुइँ नै थर्कने गरी ठूलाठूला मेसिनरी प्रयोग गर्दासमेत आवश्यक चासो नदिँदा स्थानीय पीडित प्रहरी निकायप्रति दु:खी मात्रै छैनन्, आश्चर्यमा समेत परेका छन् ।

‘धुलो–धुवाँ र चर्काे आवाजले स्वास्थ्यमा असर पारिसक्यो, आफ्नो घरपर्खाल कुन दिन लड्ने हो ? थाहा छैन,’ निर्माणाधीन भवनका छिमेकी होटेल क्राउन प्लाजाका सञ्चालकको गुनासो छ, ‘वर्षाैंदेखि गर्दै आएको व्यवसाय नै धरापमा पर्ने भो !’

‘तिनतलाको अन्डरग्राउन्ड बेसमेन्टले पानीको स्रोत (इनार, बोरिङ) सुकाउने चिन्ता एकातिर छ, भवन नै थर्केर गेस्टहरू बस्नै डराउन थाले,’ क्राउन प्लाजाका सञ्चालकले गुनासो गरे, ‘पछाडिपट्टि त पाहुना राख्नै छाड्यौँ, अगाडि पनि बस्न मान्दैनन् ।’

नक्सालमा वर्षाैंदेखि विदेशी पर्यटकलाई लक्षित गरी स्तरीय सेवा दिँदै आएको क्राउन प्लाजा होटेलमा ३३ कोठा पाहुनाका लागि छुट्याइएको छ । जसमा आधा कोठा निर्माण कार्यतिर पर्ने हुँदा ती कोठा पाहुनाका लागि बुक गर्नै छाडेको सञ्चालकले जानकारी दिए । ‘यस्तो अवस्था कहिलेसम्म रहने हो ?’ उनले भने, ‘वर्षांैदेखि गर्दै आएको होटेल व्यवसाय नै धरापमा पर्छ कि जस्तो भो !’

‘निर्माण कार्य नगर भन्न खोजिएको होइन, अरूको व्यवसायलाई असर नपुगोस् भन्नेतर्फ त ध्यान दिनुपर्छ नि !’ उनले गुनासो गरे, ‘दुई–चार दिन मात्र हो भन्छ, यस्ता दुई–चार दिन त के महिनौँ बितिसक्यो, तर डिस्टर्भ जारी छ ।’ एउटा कोठाको कम्तीमा पाँच हजार पर्ने सत्र कोठा निर्माणाधीन क्षेत्रतिर छ । पछाडिको भागमा बुक गर्नै छाड्दा र अगाडिका कोठामा पनि कुनै पाहुना बस्न नमान्दा क्राउन प्लाजा होटेलको अहिले दैनिक एक लाखको हाराहारीमा नोक्सान परिरहेको छ । ‘खर्च सबै उही हो, आम्दानीको बाटो रोकिएपछि कसरी धान्ने ?’ उनको प्रश्न छ, ‘यस्तो अवस्था कहिलेसम्म व्यहोर्नुपर्ने हो ?’

आफ्नै छिमेकीलाई पीडित तुल्याएर दादागिरी देखाउने विवादास्पद उद्यमी गोल्यान परिवार तथा उसकै सहयोगी सुशील श्रेष्ठलगायतले कसको आडमा यसरी ज्यादतिपूर्ण व्यवहार प्रदर्शन गरिरहेका हुन्, यो खोजीकै विषय बनेको छ । विवादास्पद उद्यमी शंकर गोल्यानको लगानीमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालिटीको उक्त होटेल अन्तर्राष्ट्रिय चेन होटेल हिल्टनको ‘डबल ट्री’सँग आबद्ध रहने बताइएको छ । पाँचतारे होटेलको मापदण्ड पूरा नभए पनि पैसाकै आडबलमा उक्त होटेलको भवन निर्माणकार्य धमाधम अगाडि बढाइँदै छ । पाँचतारे होटेलका लागि आवश्यक जग्गा नपुगेपछि केही व्यक्तिको जग्गा लिजमा लिइएको छ ।

खासगरी जगदम्बा ग्रुपका तर्फबाट उपाध्यक्ष सुशील श्रेष्ठ, ठेकेदार कम्पनीका धीरेन्द्र मिश्रलगायतको अमानवीय स्वभावकै कारण स्थानीयवासी पीडित बन्न पुगेको बुझिएको छ । यस ज्यादतिविरुद्ध स्थानीय छिमेकीहरू एकजुट बनेर प्रतिरोधमा उत्रिन लागेको पनि बताइएको छ ।