विकलाङ्गको वैशाखी बन्दै गुल्मी पुनस्र्थापना केन्द्र

विकलाङ्गको वैशाखी बन्दै गुल्मी पुनस्र्थापना केन्द्र


22 Apanga Pic

शारीरिक रूपमा अपाङ्गता भएका नागरिकको स्वाभिमानसँग बाँच्न पाउने अधिकारलाई सुनिश्चित पार्न र उनीहरूलाई सक्षम बनाउने उद्देश्यले गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिकाको तमघासमा बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि पुनस्र्थापना केन्द्रको स्थापना गरिएको छ । बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ नामको संस्था स्थापना गरी विकलाङ्ग भएका व्यक्तिका लागि आयआर्जन तालिमदेखि पुनस्र्थापना गर्ने उद्देश्यले उपल्लो तमघासमा भवन निर्माण भइरहेको छ । विभिन्न क्षेत्रका विकलाङ्गप्रति आदर गर्ने दानवीरबाट चन्दा सङ्कलन गरी चारआना जग्गामा दुईतले घर निर्माण भइरहेको पुनस्र्थापना केन्द्रमा अब छिट्टै भोजन र आवासको व्यवस्थापन गरिने कुरा अभिभावक सङ्घका अध्यक्ष ईश्वरी पौडेलले बताए ।

०६४ मा स्थापित भएको यो संस्थामा अहिलेसम्म झन्डै दुई सय बौद्धिक विकलाङ्ग सदस्य भइसकेका छन् । अध्यक्ष ईश्वरी पौडेलका अनुसार संस्था गठन भएपछि बालबालिकालाई आयमूलक तथा सीपमूलक तालिम दिइएको र पुनस्र्थापना केन्द्रमा पनि यो कार्यलाई निरन्तरता दिइनेछ । शारीरिक रूपमा सबलाङ्गीको भन्दा कम नभएको अध्यक्ष पौडेलको दाबी छ । विकलाङ्ग हुनु उनीहरूको रहर नभएर दुर्घटना भएको भन्दै समाजमा उनीहरूलाई स्वाभिमानसँग बाँच्न र हाँस्न सक्ने बनाउने संस्थाको प्रमुख उद्देश्य भएको बताइन्छ । गाँस, बास, कपास नभएका बौद्धिक विकलाङ्गलाई सम्मानका साथ बाँच्न पाउने अधिकारलाई सुनिश्चित पार्न पुनस्र्थापना केन्द्र बनाउनुपरेको अध्यक्ष ईश्वरी पौडेलको कथन छ । जिल्लाभर झन्डै दुई हजार हाराहारीमा रहेका विकलाङ्गलाई संस्थाले विभिन्न किसिमको चेतनामूलक कक्षा सञ्चालन गर्ने सोचसमेत भएको छ । अति विपन्न विकलाङ्गलाई बाँच्न सजिलो होस् भन्ने सोचले संस्थाले यसअघि बाख्रा वितरण, मौरीको घार वितरणदेखि मैनबत्ती, चक आदि बनाउने तालिम दिइसकेको छ ।

सङ्घका सचिव मेघलाल पाण्डेका अनुसार घरमा भएका सन्तानमध्ये विकलाङ्ग र सबलाङ्गीलाई हेर्ने दृष्टिकोणमा फरक नहोस् भन्ने उद्देश्यले दक्ष विज्ञद्वारा अभिभावकलाई अभिमुखीकरण तालिमसमेत दिइएको छ । तालिम प्राप्त भएपछि अभिभावकले पनि विगतमा भन्दा अझ बढी माया–ममता विकलाङ्गलाई गरेको पाइएको सचिव पाण्डेले बताए । भवन निर्माणका लागि हालसम्म क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले निर्वाचन विकास कोषबाट १५ लाख, जिविस गुल्मीबाट पाँच लाख ५० हजार, शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट पाँच लाख सहरी विकास तथा भवन डिभिजन कार्यालयबाट दुई लाख र रेसुङ्गा नगरपालिकाबाट दुई लाख सहयोग प्राप्त भएको कुरा सचिव मेघलाल पाण्डेले बताए । सांसद चन्द्र भण्डारीबाट शिलान्यास भई निर्माण शुरु भएको पुनस्र्थापना केन्द्र अब अन्तिम चरणमा निर्माण भइरहेको छ । सांसद भण्डारीले संस्थाका पदाधिकारीको पवित्र सोच प्रशंसनीय भएको र आउँदा दिनमा समेत संस्था चलायमान गराउन आफूले सक्दो सहयोग गर्ने वचन दिएका छन् ।

अध्यक्ष ईश्वरी पौडेलले आवास, भोजनलगायत सीपमूलक कार्य गर्ने उद्देश्यले संस्थाको स्थापना गरिए पनि आयस्रोत चन्दा, सहयोग मात्र भएकोले देशी–विदेशी सङ्घ–संस्था र दानवीर महानुभावलाई सहयोगको भीख मागेका छन् । अध्यक्ष पौडेलले आज सबलाङ्ग छु भनेर घमण्ड गर्ने हामी पनि क्षणभरमै विकलाङ्ग हुन सक्छौँ भन्ने कुरालाई सबैले मनन गर्नुपर्ने कुरामा जोड दिएका छन् । नेपालकै नमुना पुनस्र्थापना केन्द्र बनाउने सपना देखेका विकलाङ्गका अभिभावकको त्यो सोचलाई विपनामा परिणत गराइदिन गुल्मी काङ्ग्रेसका सभापनि भुवनप्रसाद श्रेष्ठले आग्रह गरेका छन् । समाजसेवाको पसल थापेर त्यसैलाई भर्‍याङ बनाएर मेवा खाने कथित समाजसेवीलाई गुल्मीको बौद्धिक पुनस्र्थापना केन्द्रले पाठ सिकाएको महसुस भएको सभापति श्रेष्ठको भनाइ रहेको छ । विकलाङ्ग भएकै कारणले परिवार र समाजबाट अपहेलित भएका बौद्धिक अपाङ्गलाई अब शिर ठाडो पारेर स्वाभिमानसँग बाँच्न सक्ने बनाइने प्रतिबद्धता अध्यक्ष ईश्वरीले जनाएका छन् । मानिस जन्मिएपछि मृत्युवरण गर्नैपर्छ त्यो धुव्रसत्य कुरा हो । मृत्युवरणपश्चात् पनि बाँचिरहन यस्तै विकलाङ्गहरूको संस्थालाई सहयोग गर्नसमेत अध्यक्ष पौडेलले आग्रह गरेका छन् । गुल्मेली अपाङ्गका अभिभावकको चिन्तन र प्रयासले निर्मित पुनस्र्थापना केन्द्र तमाम असहाय अपाङ्गका लागि वैशाकी सावित हुने विश्वास लिइएको छ ।