गठबन्धनको मर्ममाथि ठाडो प्रहार, खेलकुदका सदस्य ‘तोरीलाहुरे’ साबित

गठबन्धनको मर्ममाथि ठाडो प्रहार, खेलकुदका सदस्य ‘तोरीलाहुरे’ साबित


namaste

– श्रीविक्रम भण्डारी

जुन राजनीतिक दलको खेलकुदमन्त्री उसैको सदस्यसचिव यो खेलकुदका लागि ध्रुवसत्य हो । जुन परम्परा हिजो पनि थियो आज पनि छ । यसको तोड अहिलेसम्म कुनै राजनीतिक दलका नेताहरूले निकाल्न सकेका छैनन् । पछिल्लो समयमा विकसित भएको गठबन्धन सरकारले कोटा प्रणाली लागू गरेपछि खेलकुद पनि यसको नराम्रो चपेटामा परेको छ । त्यसै त अन्य ठाउँभन्दा बढी राजनीति चलखेल र हस्तक्षेप हुने राष्ट्रिय खेलकुद परिषद्मा कोटा प्रणाली लागू हुँदा खेलकुदको बचेखुचेको साख पनि समाप्त भएको छ । परिणाम, अहिले परिषद् खेलकुदको नभई राजनीतिक कार्यकर्ताको विकास र विस्तार गर्ने थलोको रूपमा परिणत भएको छ । जसलाई राजनीतिक दलहरूले यद्यपि निरन्तरता दिइरहेका छन् । अन्यथा पचहत्तरै जिल्ला खेलकुद विकास समितिमा एमालेका अध्यक्ष र काङ्ग्रेसका उपाध्यक्ष कदापि हुने थिएनन् । गठबन्धनको मर्ममाथि सोझै प्रहार गर्दै आइरहेका राजनीतिक दलहरूले अहिले खेलकुदको अस्मितालाई समेत कुल्चेर बलात्कारीको भूमिकामा देखिएका छन् । अहिले यो प्रहारबाट निकै आहात बन्न पुगेको खेलकुदको अस्तित्वसमेत सङ्कटमा परेको छ । तर, बत्तीमुनिको अँध्यारो कसैले देख्न सकेको छैन । यसले कसैलाई प्रभावित पनि गर्न सकेको छैन । सबै आँखा चिम्लेर रमिते बनेका छन् । आफ्नो स्वार्थ मात्र पूरा गरिरहेका छन् । अहिले यो खेलकुदका लागि दुर्भाग्य बनेको छ ।

यतिबेला खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्देखि नेपाल ओलम्पिक कमिटीसम्म एमालेका कार्यकर्ताको वर्चश्व छ । उनीहरूले खेलकुदलाई खेलकुदको ऐन, कानुन र विधानभन्दा पार्टीको विधान र निर्देशनमा चलाएको अवस्था छ । तर, गठबन्धन सरकारको फाइदा उठाउँदै राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा काङ्ग्रेसको तर्फबाट नियुक्ति पाएकाहरू भने एमालेको ताण्डवप्रति मौन स्वीकृति दिँदै आफूलाई नपुङ्सक साबित गरिरहेका छन् । खेलकुदमा प्रतिपक्षको भूमिका खेलेर हरेक कुरामा सचेत, सावधान र खबरदारी गर्नुपर्नेमा उनीहरू राखेपका सदस्यसचिव केशवकुमार विष्टका अघि भ्रमण आदेश तेस्र्याउन र सदर गराउनमै व्यस्त छन् । यसरी मुलुककै सबैभन्दा ठूलो दल काङ्ग्रेसका सदस्य अहिले खेलकुदमा तोरीलाहुरे साबित भएका छन् । ती तोरीलाहुरेहरूमा कोषाध्यक्ष सुरेन्द्र हमाल, सदस्यहरूमा सैलेश कर्माचार्य, शान्ति सिंह, उपेन्द्र यादव र अस्मिता गुरुङ रहेका छन् । राखेपको २५ सदस्यीय कार्यसमितिमा काङ्ग्रेसले कोषाध्यक्षसहित पाँचजनाको कोटा पाएको थियो । सोहीअनुरूप विभिन्न खेलमा योगदान गरेबापत उनीहरूलाई राखेपको सदस्यमा खेलकुद विभागको सिफारिसमा नियुक्ति गरिएको थियो । तर, उनीहरूले आफूलाई खेलकुदमा किन नियुक्ति गरिएको हो त्यसको हेक्का नराख्दा खेलकुदमा एमाले कार्यकर्ताको दबदबा बढेर शिखर छोएको छ । परिणाम खेलकुदमा प्रतिपक्षको भूमिका नै समाप्त भएको छ । अझ केही सदस्यहरूले लोभी–पापीको भूमिका निभाउँदा आची गर्नेलाई भन्दा देख्नेलाई लाज भएको छ ।

काङ्ग्रेसका सदस्यहरू अहिले खेलकुदमा निदाएको एक वर्ष भइसकेको छ । कुुम्भकर्ण त ६ महिनामा जाग्थ्यो भने उनीहरू किन जाग्न सकेका छैनन् त्यो अहिले अहम् प्रश्न बनेको छ । एमालेका कार्यकर्ताले खेलकुुदलाई सलहसरि स्वाहा पार्दासमेत किन महाकुम्भकर्णको निद्रामा निदाइरहेका छन् त्यसको खोजखबर हुनु जरुरी भइसकेको छ । खेलकुदमा एमालेको ताण्डवमा उनीहरूको मौन स्वीकृति आफैँमा रहस्यमयी बनेको छ । तसर्थ आफ्नो रहस्यमयी भूमिकालाई पारदर्शी बनाउन उठ्ने र जाग्ने बेला भइसकेको छ । अन्यथा खेलकुदको हरिबिजोकमा मौनता साध्नेहरू सदस्यसचिव विष्टको मतियार हुन् भन्दा अतिसयोक्ति नहोला । सबैलाई चेतना भया ।

सुरेन्द्र हमाल : राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल खेलकुदका कोषाध्यक्ष मात्र नभई चर्चित ओलम्पियन खेलाडीसमेत हुन् । निकै सरल र मृदुभाषी हमालले कानुनमा स्नातक पनि गरेका छन् । सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना राख्ने हमाल आफ्नो पदीय दायित्वबारे भने अनविज्ञ छन् । हमाल खेलकुदमा आउँछन् जान्छन्, तर केही गर्दैनन् । पदीय दायित्व र जिम्मेवारी ठूलो भए पनि हमालको कार्य भनेको राखेपले दिएको थोत्रो मारुती भ्यान यताउता गर्नुबाहेक अर्को केही देखिएको छैन । परिषद्को कोषाध्यक्षजस्तो गरिमामयी पदमा पदासीन भएपश्चात् परिषद्को ऐन, कानुन र आर्थिक नियमावलीले दिएको अधिकार प्रयोग गर्न हमाल असफल भएका छन् । उल्टै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको इशारामा कठपुतलीझौ नाच्दै आएका सदस्यसचिव केशवकुमार विष्टलाई मौन समर्थन गरेर आफ्नो हैसियतलाई प्रमाणित गरिरहेका छन् । अन्यथा पूर्वसदस्यसचिव युवराज लामाका पालामा राखेपका कोषाध्यक्ष इन्द्रबहादुर थिङले आफ्नो हकअधिकारको प्रयोग गर्न पाउने, तर हमालले किन नपाउने ? यो अहम् प्रश्न बनेको छ । के राखेपको कोषाध्यक्ष पद नाम मात्रको पद हो । यसको काम, कर्तव्य र जिम्मेवारी केही हँुदैन ?

शान्ति सिंह : कबड्डीको एक होनहार खेलाडी तथा मुख्य प्रशिक्षक भइसकेको नाताले शान्ति सिंहलाई राखेपको सदस्यमा नियुक्ति गरिएको थियो । तर, विडम्बना, उनी अहिले पनि आफूलाई राखेपको पदाधिकारीभन्दा कर्मचारी बढी ठान्छिन् । सदस्यसचिव विष्टको चाकरी गर्न पाए उनलाई पुग्छ । प्रत्येक समय सदस्यसचिव विष्टको आदेश पालना गर्न उनी लालयित देखिन्छिन् । अझ असार २० गतेदेखि रसियामा आयोजना हुने एक प्रतियोगितामा विष्टले उनलाई लाने भनेपछि उनका खुट्टाले भुइँ छोडेका छन् । सिंहलाई सदस्यसचिवले आश्वासन मात्र दिएका हुन्, उनलाई लाने ग्यारेन्टी भने गरेका छैनन् । तर, पनि आश्वासनकै भरमा आफूलाई नियुक्ति गर्ने पार्टी र आफ्नो पदीय मर्यादालाई समेत नबुझ्दा उनी साँच्चिकै कर्मचारी नै भएको भान हुन्छ । यस्ती कर्मचारी भूतबाट बाहिर निस्कन नसकेकी पदाधिकारीबाट समग्र खेलकुदको विकासको अपेक्षा राख्नु मूर्खताबाहेक केही हुन सक्तैन । यसरी शान्ति सिंह हिजो पनि कर्मचारी थिइन्, आज पनि हुन् भन्दा अतिसयोक्ति नहोला ।

सैलेश कर्माचार्य : उनी कुनै खेलका खेलाडी होइनन्, तर राजनीतिक खेलाडी भने पक्कै हुन् । त्यसैले खेलकुदमा उनको नियुक्तिमा काङ्ग्रेस नेतृ अर्थात् उनकी आमा शिलुप्यारी कर्माचार्यको विशेष भूमिका रहेको छ । खेलकुदको सदस्यमा नियुक्त भएपछि पनि नेवारवादबाट टाढिन नसकेका उनी अहिले पनि जीवनराम श्रेष्ठको इसारामा नाचिरहेका छन् । अन्यथा सदस्यसचिव विष्टलाई बचाउन उनी ज्यान फालेर कदापि लाग्ने थिएनन् । अख्तियारको पत्रको विरुद्धमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकी पीएमार्फत सर्वोच्चमा रिट दायर गर्न कदापि सहयोग गर्ने थिएनन् । यसरी आफ्नो पदको मर्यादालाई समेत ख्याल नगरी काङ्ग्रेसभन्दा एमालेको सहयोगीको रूपमा देखिएका छन् सैलेश । पछिल्लो समयमा नेपाल क्रिकेट सङ्घको निर्वाचनबाट निर्वाचित आफ्नै पार्टीका अध्यक्ष चतुरबहादुर चन्दको कार्यसमितिलाई चुनौती दिँदै राखेपबाट गठित नेपाल क्रिकेट सङ्घको टिके उपाध्यक्षमा उनी कदापि बस्ने थिएनन् । यसरी सैलेश सदस्यसचिवको मतियार हुन् कि काङ्ग्रेसका शुभचिन्तक अहिले खुट्याउन गाह्रो भएको छ ।

उपेन्द्र यादव : यादवले भलिबल खेलाडीको रूपमा जति चर्चा कमाएका थिए अहिले त्योभन्दा बढी चर्चा कमाएका छन् । पार्टीले उनलाई खेलकुदमा योगदान दिएबापत खेलकुदको सदस्यमा नियुक्ति दिएको थियो । तर, खेलकुदको विकासका लागि सिन्कोसमेत नभाँच्ने यादवले राखेपमा आएपछि आफ्ना भतिज मनीष यादवलाई परिषद्को इन्जिनियरमा नियुक्ति दिलाउन भने सफल भएका थिए । तर, विडम्बना उनै मनीषलाई हालै सीबीआईले नक्कली इन्जिनियरको रूपमा पक्राउ गरेपछि उपेन्द्र यादव कुन ड्याङका मूला हुन् त्यो प्रस्ट भएको छ । यसबाट के पनि स्पष्ट हुन्छ भने उनी राखेपमा के गर्न आएका हुन् त्यो घामजस्तै छर्लङ्ग भएको छ ।

अस्मिता गुरुङ : मार्शल आर्टस्मा आफूलाई सशक्त बनाउँदै आएकी अस्मिता खेलकुदका सदस्यहरूमा सबैभन्दा कच्चा खेलाडीको रूपमा देखिएकी छिन् । अन्यथा एमालेका मन्त्री र सदस्यसचिवले हालै नगरकोटमा आयोजित रिफ्रेस नाम गरेको अन्तर्राष्ट्रिय जाँड पार्टीमा कदापि सहभागि हुने थिइनन् । यस्तो जाँड पार्टीमा अस्मिताको सहभागिताले उनलाई नजिकबाट चिन्नेहरू आश्चर्यचकित परेका छन् । उक्त अन्तर्राष्ट्रिय जाँड पार्टीमा राखेपले एक रातमा सात लाख उडाएको थियो । तर, यहाँ अख्तियार छ भन्छन् तर कहाँ छ ? किन यस्तो कुरा अख्तियारको नजरमा पर्दैन ? प्रश्न उठेको छ ।