‘स्ट्रङ म्यान’को छवि

‘स्ट्रङ म्यान’को छवि


babita basnet 15

– बबिता बस्नेत

मुलुकमा स्टेट म्यान (राजनेता) को खोजी भइरहेका बेला ‘स्ट्रङ म्यान’ भने भेटिएको महसुस धेरैलाई भएको छ । सुरुसुरुमा आफ्नै कतिपय अभिव्यक्तिका कारण हल्काफुल्काझैँ लागेका प्रधानमन्त्री केपी शर्मा ओली बिस्तारै–बिस्तारै पहिलाका भन्दा फरक प्रधानमन्त्रीका रूपमा अगाडि बढिरहनुभएको छ । कतिपय राष्ट्रिय मुद्दामा विगतमा झुम्राका पुतलीजस्ता प्रधानमन्त्री व्यहोरेका नेपालीलाई ‘प्रधानमन्त्री अर्थात् देशको अभिभावक भनेको त यस्तो पो हुनुपर्छ त…’ जस्तो अनुभूति हुन थालेको छ । अहिले कतिपय राष्ट्रिय मुद्दामा उहाँले लिनुभएको अडानलाई लिएर मानिसले राजा महेन्द्रपछिका नेताको रूपमा पनि चर्चा गर्न थालेका छन् । यद्यपि श्री ५ महेन्द्र नेता नभएर यो देशको राजा हुनुहुन्थ्यो, राष्ट्र र राष्ट्रियताको सवालमा उहाँको दूरगामी दृष्टिकोणका कारण अहिलेसम्म हामीले नेपाल र नेपाली भन्न पाइरहेका छौँ । संविधान जारी हुँदै गर्दा विभिन्न असन्तुष्ट पक्षबाट भएका विविध अवरोधहरूकाबीच उहाँ प्रधानमन्त्री हुनुभएको थियो । उहाँ प्रधानमन्त्री हुनासाथै छिमेकीबाट निकै असहयोग झेल्नुपर्‍यो । करिब ६ महिनासम्म त्यसप्रकारको उल्झन सहनुनपरेको भए मुलुकमा अहिले केही न केहीचाहिँ हुन्थ्यो कि भनेर अपेक्षा गर्ने धेरै ठाउँ छन् । भूकम्पको मारमा परेका नेपालीले नाकाबन्दीका कारण धेरै दु:खकष्ट झेल्नुपर्‍यो । फलत: प्रधानमन्त्रीले काम गर्ने समय दु:ख व्यक्त गर्दैमा बित्यो । अब यस्तो अवस्था लामो रहँदैन धैर्य गर्नुस् भनेर अपिल गरे पनि त्यस्तो समस्या कहिलेसम्म हुने हो भन्नेचाहिँ प्रधानमन्त्री स्वयम्लाई थाहा थिएन । भूकम्पको त्यति ठूलो विपत्तिपछि तुरुन्तै आफ्नै देशका नेताहरूले त्यति धेरै नूनचूक छर्किएलान् भन्ने अनुमान शायद उहाँलाई थिएन । त्यसो त, संविधान जारी हुनुअघिदेखि नै जनताले कठिनाइहरू भोग्नुपरेको थियो । सुशील कोइरालाकै प्रधानमन्त्रित्वकालमा पनि परिस्थिति त्यति सहज थिएन ।

मुलुकबारे प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको अडान उहाँको पालामा भएको सबैभन्दा अविष्मरणीय कार्य हो । राष्ट्र र राष्ट्रियताको पक्षमा लिनुभएको अडान उहाँको कार्यकालको सबैभन्दा महत्त्वपूर्ण र ऐतिहासिक पक्ष हो । दुई छिमेकी मुलुकबीच समान सम्बन्धको प्रयास उहाँबाट भयो । एकातिर मात्रै भएको व्यापार पारवहन सन्धि अर्कोतिर पनि गर्ने आँट कसैले गरेको थिएन, उहाँले गर्नुभो । नेता हुँदैमा विदेशीसँग लम्पसार नै पर्नुपर्छ भन्ने मान्यतालाई उहाँले तोडिदिनुभयो । उहाँले आत्मसम्मान जोगाउँदै छिमेकीसँग कसरी सम्बन्ध सुदृढ गर्ने भन्ने कोसिस गर्नुभो । अझ केही समय कार्यकाल रहेमा यस्तो कोसिस जारी रहला ।

नेपालको इतिहासमा प्रधानमन्त्री धेरै भए, कतिको त मानिसलाई नामको हेक्का पनि छैन । भित्तामा फोटो झुन्ड्याउनकै लागि प्रधानमन्त्री हुनु र केही गर्नका लागि हुनुबीच ठुलो अन्तर छ । प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीका अभिव्यक्तिलाई लिएर धेरैले व्यङ्ग्य गरे । मुलुकको अवस्था र उहाँका अभिव्यक्तिबीच तालमेल नखाएका कारण सही कुरा पनि कतिपय मानिसलाई व्यङ्ग्यझैँ लाग्यो । जस्तो, नेपालको आफ्नै पानीजहाज हुनेछ भन्ने कुरा राम्रो अभिव्यक्ति थियो, विगतमा नभएको पनि होइन, नेपालको आफ्नै पानीजहाज थियो भन्ने कुरा कतिलाई थाहा पनि थिएन । देशका प्रधानमन्त्रीले विश्वका समुद्रमा नेपालको झन्डा फहराएको पानीजहाजको परिकल्पना गर्नु अस्वाभाविक थिएन । उक्त परिकल्पनालाई साकार रूप दिने समय आए धेरै नेपालीलाई गौरव लाग्नेछ । प्रजातन्त्रपछि नेतृत्वमा आएकाले राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको हालत त त्यस्तो बनाएका बेला अरू केचाहिँ होला जस्तो लागेका कारण उहाँले बोलेका कुरालाई मानिसले उडाए । यद्यपि अहिले उहाँको नेतृत्वको सरकार नै रहने या नरहने हो भन्ने कुरा निश्चित छैन तथापि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सम्भावनाहरू बाँड्ने काम भने गर्नुभएको हो । वर्षौंदेखिको निराशायुक्त वातावरणबाट अलि माथि उठेर मुलुकमा के–के गर्न सकिन्छ भन्ने सपना देखेर उक्त सपनालाई जनसमक्ष बाँड्ने काम उहाँबाट भयो । सपनाको कुनै सीमितता हुँदैन, तर सीमिततासहितको सपना नदेखी त्यसलाई पूरा गर्ने कामको थालनी पनि हुँदैन । कुनै काम गर्नका लागि सपना देख्नु जरुरी छ, परिकल्पना गर्नु आवश्यक छ । सो कुरालाई कसरी पूरा गर्ने भन्ने प्रक्रिया त त्यसपछि सुरु हुन्छ । कहिलेकाहीँ आफूसँग के छ भन्ने कुरा आफूलाई थाहा हँुदैन त्यसैले मानिसहरू आफूसँग के छैन ? भन्ने कुरामा बढी केन्द्रित रहन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हामी आफैँले गर्न सक्ने कुराहरू के–के छन् ? भन्ने कुराको खाका जनतालाई दिनुभो, पूरा गर्न पाउनुहोला–नहोला अलग कुरा हो, तर नेपालीले यति खाका दिने नेतृत्व पनि थिएनन् । केपी शर्मा ओलीको नेतृत्वले नेपाललाई केही गर्न सकिन्छ भन्ने आशा दिलायो । निराश वातावरणबाट जनस्तरमा अलिकति भए पनि आशा जाग्नु भनेको ठूलो कुरा हो ।

मुलुकबारे प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको अडान उहाँको पालामा भएको सबैभन्दा अविष्मरणीय कार्य हो । राष्ट्र र राष्ट्रियताको पक्षमा लिनुभएको अडान उहाँको कार्यकालको सबैभन्दा महत्त्वपूर्ण र ऐतिहासिक पक्ष हो । दुई छिमेकी मुलुकबीच समान सम्बन्धको प्रयास उहाँबाट भयो । एकातिर मात्रै भएको व्यापार पारवहन सन्धि अर्कोतिर पनि गर्ने आँट कसैले गरेको थिएन, उहाँले गर्नुभो । नेता हुँदैमा विदेशीसँग लम्पसार नै पर्नुपर्छ भन्ने मान्यतालाई उहाँले तोडिदिनुभयो । उहाँले आत्मसम्मान जोगाउँदै छिमेकीसँग कसरी सम्बन्ध सुदृढ गर्ने भन्ने कोसिस गर्नुभो । अझ केही समय कार्यकाल रहेमा यस्तो कोसिस जारी रहला । साथै जनताका समस्यालाई सकेसम्म सबैतिरबाट समाधानका उपायहरू खोजिऊन् र त्यहीअनुरूपको कार्य होस् भन्ने चाहना रहेका प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओलीलाई लिन सकिन्छ । प्रत्येक हप्ता टेलिभिजनमा उपस्थिति भएर जनताका कुरालाई प्रत्यक्ष ‘डिल’ गार्दा जनताप्रतिको इमानदारी झल्केको देखिन्छ ।

शारीरिक अस्वस्थताका बाबजुद मुलुकका लागि उहाँले गर्नुभएको कोसिस अरू प्रधानमन्त्रीभन्दा फरक छ । हाम्रै आँखाअगाडि यो मुलुकमा धेरै मानिस प्रधानमन्त्री भए । नेपालको प्रधानमन्त्रीका रूपमा सिंहदरबारको प्रधानमन्त्री भवनमा उहाँहरूको फोटो त टाँसियो, तर तिनले के–के गरे भन्ने कुराको सम्झना खासै रहँदैन । त्यसो त, प्रधानमन्त्रीका रूपमा केपी ओलीले के गर्नु भो ? भनेर कामको विवरणका रूपमा उहाँले गरेका कार्यको सूची लामो छैन । केही न केही कोसिस जोबाट पनि हुन्छ भन्न सकिन्छ । जस्तो देखिने कामकै कुरा गर्दा राजधानीका फराकिला सडक देख्दा या प्रयोग गर्दा प्रधानमन्त्रीका रूपमा डा. बाबुराम भट्टराईलाई मानिसले बिर्संदैनन् । अफ्गानिस्तान घटना होस् या दिल्ली भ्रमण राष्ट्रिय हित र राष्ट्रियताको सवालमा केपी ओलीलाई मानिसले बिर्सनेछैनन् । पछिल्लो समय सङ्घीयताको सवालमा उहाँले दिनुभएको अभिव्यक्ति राष्ट्रको हितमा छ । हो, भैंसीको सिङ बाख्राले बोक्न सक्दैन । जबर्जस्ती बोकाइदा सिङ मात्रै भाँच्चिए त ठिकै होला, बाख्रै मर्‍यो भने त सक्की गो नि । ‘स्ट्रङ म्यान’बाट ‘स्टेट म्यान’ बन्न उहाँ सक्नुहोला–नहोला त्यो त भविष्यले नै बताउनेछ । तर, कम्तीमा नेपालीको आत्मसम्मानलाई उच्च बनाउने कोसिस भने उहाँबाट भएको हो । राम्रो कुरालाई राम्रो भन्ने हिम्मत शायद हामीले गर्नुपर्छ ।