जहाजी मुसाको भन्दा साना दलकाहरूको दौडधुप चर्को

जहाजी मुसाको भन्दा साना दलकाहरूको दौडधुप चर्को


cp-vijaya-dipak

जहाज समुद्रमा डुब्न लागेपछि मुसाहरूको दौडधुप आश्चर्यजनक ढङ्गले बढ्छ भन्ने आमभनाइ छ, भूपरिवेष्टित देश नेपालमा भने समुद्र र पानीजहाज नभए पनि जहाजी मुसाको भूमिका साना दलका नेताहरूले निर्वाह गर्ने गर्दछन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तामा सहभागी दलका नेताहरूको दौडधुप निकै बढेको छ । धेरै पहिले मुसाका रूपमा चिनिने कमल थापा अहिलेसम्म हलचल नगरीकन ओलीकै समर्थनमा बसिरहेका छन् भने चित्रबहादुर केसीले पनि कुनै चलखेल गरेका छैनन् । तर, विजयकुमार गच्छदार, दीपक बोहोरा र सीपी मैनालीलगायत केहीमा भने निकै ठूलो छटपटी देखिएको छ ।

विजयकुमार गच्छदारले अनेकौँपटक प्रचण्ड र कृष्णबहादुर महरालाई भेटी आफूलाई नयाँ गठबन्धनमा सामेल गर्न अनुनयविनय गरिरहेका छन् । आफूलाई मन्त्री बनाइने सर्तसहित राप्रपाका दीपक बोहोरा पनि नयाँ गठबन्धनमा सामेल हुने ‘ढोका’ खोज्दै छन् । राप्रपामा लोकेन्द्रबहादुर चन्द वर्तमान सरकारको पक्षमा छन् भने दीपक बोहोरा मन्त्री बनाइने ग्यारेन्टी नभएसम्म वर्तमान गठबन्धनबाट बाहिरिने पक्षमा छैनन् । उनी पशुपतिशमशेर राणालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाको निवासस्थानसम्म पनि पुगिसकेका छन् । राप्रपा नयाँ गठबन्धनमा सामेल हुने प्राय: निश्चित भइसकेको छ र नयाँ सरकारमा विक्रम पाण्डेलाई सामेल गराउने सोच राणाले बनाएको बुझिन्छ ।

साउन ११ गतेदेखि लोकेन्द्रबहादुर चन्दले पार्टीको अध्यक्ष पद पशुपतिशमशेर राणालाई हस्तान्तरण गर्दै छन् । त्यसदिनसम्म अविश्वासको प्रस्तावमा मतदान भएनछ भने सोही दिन राप्रपाले विधिवत् निर्णय गरी अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने भएको छ । त्यस निम्ति चन्दलाई विश्वासमा लिन उनका छोरा जयन्त चन्द (हाल वाणिज्यमन्त्री) लाई पनि पुन: मन्त्री बनाउने विश्वास दिलाइने बुझिएको छ । चन्दलाई विश्वासमा नलिईकन सरकारबाट बाहिरिएमा राप्रपामा पुन: विभाजन आउन सक्ने सम्भावना पनि छ । यदि साउन ११ गतेभन्दा पहिले नै अविश्वासको प्रस्तावमा मतदान हुने भएमा राप्रपाको मत विभाजन हुनसक्ने बढी सम्भावना देखिन्छ ।

जे होस्, राप्रपा कुनै न कुनै रूपमा नयाँ गठबन्धनमा सामेल हुने निश्चित भएको छ । विजयकुमार गच्छदार र सीपी मैनालीले अहिलेसम्म मन्त्री बनाइने आश्वासन कांग्रेस र माओवादी नेतृत्वबाट पाएका छैनन् । मन्त्री बन्ने निश्चितता नभएका कारण उनीहरू भने बाध्य भएर ओलीकै पक्षमा उभिने सम्भावना देखिएको छ । तर, उपप्रधानमन्त्रीसहित मन्त्रालयको जिम्मा पाए उनीहरू पनि अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्ने मानसिकतामा छन् । साना दलका ठूला नेतामा देखिएको छटपटीले भूपरिवेष्टित देश नेपालमा समुद्री मुसाको स्मरण गराएको छ ।