जीवनरामको ‘मनोपोली’ : टेबलटेनिसमाथि पनि आक्रमण

जीवनरामको ‘मनोपोली’ : टेबलटेनिसमाथि पनि आक्रमण


– श्रीविक्रम भण्डारी

अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको बदनियतका कारण नेपाल टेबलटेनिस सङ्घको छैटौा साधारणसभा बिथोलिएको छ । ‘सकेसम्म चतुरानन्द वैद्यलाई जिताउनू, नसके निर्वाचन बिथोल्नू’ भन्ने निर्देशन दिएका श्रेष्ठले अन्तिममा साधारणसभा बिथोलेर टेबुलटेनिसको हुर्मत लिने कार्य गरेका छन् । श्रेष्ठको हनुमानगिरीमा अग्रपङ्क्तिमा रहेका वैद्य यो निर्वाचनमा पराजित हुने पक्का भएपछि श्रेष्ठले यस्तो चाल चलेको स्रोतको दाबी छ । स्मरण रहोस्, गत वर्ष सम्पन्न ओलम्पिक कमिटीको निर्वाचनमा वैद्य अप्रत्यासित रूपमा पराजित भएका थिए । उनलाई तत्कालीन बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले पराजित गर्दै एनओसीबाट किनारा लगाउन सफल भएका थिए । वैद्य अप्रत्यासित रूपमा एनओसीबाट बाहिरिएपछि त्यसबेला श्रेष्ठले निकै आलोचना खेप्नुपरेको थियो । साँचो अर्थमा भन्नुपर्दा आफ्नो हनुमान वैद्य पराजित भएपछि श्रेष्ठको विजयसमेत नुन नहालेको तरकारीजस्तै बनेको थियो । त्यसपछि सङ्घको निर्वाचनमा जिताएर पुन: ओलम्पिक भित्र्याउने प्रतिबद्धता जाहेर गरेका श्रेष्ठले अहिले त्यो स्थिति पनि नदेखिएपछि टेबुलटेनिस सङ्घको साधारणसभा बिथोल्न लगाएको बुझिएको छ । उनले यो कार्यका लागि राखेपका विभागीय प्रमुख कुुलबहादुर थापालाई अराएको पनि बुझिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिसहित राखेपकै तीन सदस्यीय निर्वाचन कमिटी रहेको नेपाल टेबलटेनिस सङ्घको साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गरेका थिए । उद्घाटन समारोहको अध्यक्षता वैधले गरे पनि बन्दसत्रमा उनको अनुपस्थिति शङ्कास्पद बनेको थियो । अन्य पदाधिकारी बन्दसत्रमा बसे पनि वैद्य एक्कासि हराएका थिए । वैद्य निर्वाचन स्थलबाट एक्कासि हराएपछि उनको व्यापक खोजीसमेत भएको थियो । तर, निर्वाचन भाँड्ने मनसायका साथ प्रस्तुत भएका वैद्यले अन्तिम समयमा छब्बिस जिल्लामा अन्य पन्ध्र जिल्ला थपेर निर्वाचन कमिटीसमक्ष नामावली पेस गरेका थिए । त्यसपछि सङ्घका महासचिव कुवेर सिंहले २६ जिल्ला र दुई क्षेत्रबाहेक अन्यलाई मान्यता नदिने भनेपछि विवाद उत्पन्न भएको थियो । स्मरण रहोस्, विधानले व्यवस्था गरेबमोजिम निर्वाचनमा जानुपर्छ भन्दै सङ्घले तीनपटक मिटिङ राखे पनि उक्त मिटिङमा अध्यक्ष उनुपस्थित रहेका थिए ।

त्यसपछि कार्यसमितिले उपस्थिति जनाएर म्याइन्युट गरेको स्रोतले बताएको छ । तर, अध्यक्ष भएर मिटिङमा पनि नजाने अन्त्यमा कार्यसमितिले अनुमोदन नै गरेका चौध, पन्घ्र जिल्लाको नाम घुसाएर नकचरोको भूमिका भने निभाएका थिए । जसलाई राखेपबाट खटिएको डेमबहादुर बस्नेत संयोजक रहेको निर्वाचन कमिटीले समेत प्रश्नको घेरामा राखेको थियो । उक्त निर्वाचन कमिटीले प्रतिनिधिको नामावली माग्दा वैद्यले समयमै बुझाउन सकेनन् । तर, २०७२ सालमा जिल्लाहरू गठन भएको भन्दै ताजा कागतपत्र निर्वाचन कमिटीसमक्ष वैद्यले प्रस्तुत गरेपछि उनको नियतमै खोट भएको सोझै अनुमान लगाउन सकिन्थ्यो । निर्वाचन कमिटीका एक सदस्य भन्दै थिए, ‘यस्तो ताजा कागतपत्र पनि कहीँ ६–सात महिना पुरानो हुन्छ ?’ यहाँ ठूलो चलखेल भएको छ । यदि सशक्त निर्वाचन कमिटी नभएको भए उनीहरू वैद्यलाई जिताउन कुनै कसर राख्ने थिएनन् । यही कुरालाई दृष्टिगत गरी निर्वाचन कमिटीले टेबुलटेनिस सङ्घको निर्वाचन स्थगित भएको सूचना टाँसेको बताएका छन् । साथै निर्वाचनमा भएको सम्पूर्ण गतिविधिबारे भोलिपल्ट राखेपमा लिखित जानकारी गराएको निर्वाचन कमिटीका संयोजक बस्नेतले जनाएका छन् ।
jeevan-ram
कुलबहादुरको दबाब र चलखेल :
नेपाल टेबलटेनिस सङ्घको निर्वाचनमा राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले गरेको हस्तक्षेप र चलखेललाई हेर्दा उनी पनि जीवनराम श्रेष्ठको पक्का हनुमान भएको सोझै अनुमान लगाउन सकिन्थ्यो । अन्यथा कुनै सरोकार र भूमिका नभएको ठाउँमा उनले यस्तो हस्तक्षेपकारी भूमिकामा किन उत्रिनुपर्‍यो– त्यो अहिले चर्चाको विषय बनेको छ । प्राप्त जानकारीअनुसार जीवनरामको निर्देशनमा थापा टेटेको साधारणमा गएको बुझिएको छ । उनलाई वैद्यलाई पूर्णरूपमा सहयोग गर्न श्रेष्ठले अराएको पनि खुलासा भएको छ । यो कुरालाई सदस्यसचिव केशवकुमार विष्टले समेत पुष्टि गरेका थिए । विष्टले उद्घाटन कार्यक्रम सकेर फर्कने क्रममा थापाको काँध थपथपाउँदै आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुहोला भन्नुले पनि यसलाई पुष्टि गर्छ । थापा निर्वाचन कमिटीको सदस्य पनि होइनन्, तर उनी त्यहाँ गए । दिनभरि चलखेल गरे, राखेपको निर्वाचन कमिटीलाई सघाउनभन्दा उल्टै दबाब दिए । वैद्यले अवैधानिक रूपमा गठन गरेका जिल्लालाई निर्वाचनमा राख्न जोड गरे । तर, असफल भएपछि जीवनरामको निर्देशनमा निर्वाचन बिथोल्न सफल भए । निर्वाचन कमिटीलाई निर्वाचन स्थगित भएको सूचना टाँस्न लगाउन बाध्य पारे । अन्यथा तीन दिनसम्म भलिबल सङ्घको निर्वाचन चल्न सक्छ भने टेटेको किन सक्तैन ? प्रश्न तेर्सिएको छ । यहाँ कुलबहादुरले जे गरे त्यो जीवनरामको इसारामा गरेभन्दा अतिसयोक्ति नहोला । एमालेकै परिदृश्यमा भोलि राखेपको सदस्यसचिवको झल्को देखिएका कुलबहादुर थापाको व्यक्तित्वलाई आज जीवनरामले बीचबजारमा लिलाम गर्दा उनले आफ्नो विवेक किन प्रयोग गरेनन् त्यो चर्चाको विषय बनेको छ ।

नचाहिने कुराको विवाद हो : वैद्य
विवादित नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष चतुरानन्द वैद्यले टेटे सङ्घको निर्वाचन स्थागित हुनु नचाहिँदो कुरोको विवाद भएको बताएका छन् । वैद्यले अहिले सङ्घमा भित्र्याउन लागेका सबै सङ्घ वैधानिक भएकोसमेत बताएका छन् । उनले ती सङ्घहरू सङ्घको विधानअनुरूप गठन भएको भन्दै यसमा विवाद गर्नु हास्यास्पद भएको बताए । खेलकुद ऐनअन्तर्गत जिल्ला खेलकुद समितिको रोहवरमा ती सङ्घहरू गठन भएको दाबीसमेत गरेका छन् । यो कुराको जानकारी आफूलाई मात्र भएको र साधारणसभामा राखेपछि अनुमोदन हुने विश्वास गरेको बताएका छन् । वैद्यले सङ्घ–संंस्था गठन गर्दा जिल्ला खेलकुद विकास सङ्घको रोहवरमा गर्नुपर्ने भएकाले आफूले त्यसो गरेको, तर त्यसलाई मान्यता दिने–नदिने राखेप भएकोसमेत प्रस्ट पारेका छन् । त्यस्तै पहिलेदेखि नै एउटै सङ्घ अनुमोदन नभएको भन्दै उनले आफूखुसी गठन गरेका जिल्ला सङ्घहरूलाई केन्द्रीय सङ्घले मान्यता नदिए फरक नपर्ने बताएका छन् । त्यस्तै उनले राखेप र एनओसीका प्रतिनिधिको गैरउपस्थिति नभएको टेटेको नयाँ निर्वाचनप्रति आफ्नो कुनै चासो नरहेकोसमेत प्रस्ट पारेका थिए ।

वैद्यको नियतमै खोट छ : हमाल
टेबलटेनिसका पूर्ववरिष्ठ प्रशिक्षक तथा अध्यक्ष पदका प्रत्याशी वृजेन्द्र हमालले चतुरानन्दको नियत नै खराब भएको बताएका छन् । मिटिङमा बोलाउँदा नआउने, विधानले गरेको व्यवस्थाअनुसार साधारणसभा गरौँ भन्दा नमान्ने, अनि आफूखुसी विधानविपरीत जिल्ला सङ्घ गठन गरेर साधारणसभामा भाँजो हाल्ने काम गर्नु निर्वाचन बिथोल्नुबाहेक अरू केही होइन । राखेपले २०७२ सालमा सबै राष्ट्रिय सङ्घहरूमा गरेको पत्राचारलाई हेर्दा पनि वैद्यले अहिले उठाएको कदम विधानविपरीत छ । उक्त सदस्यसचिवस्तरीय निर्णयमा सङ्घले अनुमोदन गरेको जिल्लालाई मात्र राखेपले मान्यता दिनेछ, भनेर प्रस्ट रूपमा लेखेको छ । तर, वैद्यले सङ्घमा अनुमोदन गर्न त परै जाओस् त्यसको जानकारीसमेत दिएका छैनन् । तसर्थ यो उनले कतैबाट सञ्चालित भएर गरेको गैरकानुनी कार्य मात्रै हो । नेपाल टेबलटेनिस सङ्घको विधानमा कार्यसमितिले निर्णय गरेपछि मात्रै तदर्थ समितिको गठन हुन्छ । तदर्थ समिति गठन भएको तीन महिनाभित्र निर्वाचन हुनुपर्छ । २०६७ सालमा विराटनगरमा बसेको साधारणसभाले जिल्ला र क्षेत्रको अनुमोदन सङ्घले गर्ने भनेर पास गरेको छ । त्यो राखेपमा सुरक्षित छ । यसरी आफ्नै अध्यक्षतामा भएको निर्णयलाई धोती लगाउँदै वैद्यले किन अवैधानिक कार्य गरे, त्यो बुझ्न नसकेको हमालले बताएका छन् । त्यस्तै, हमालले वैद्यले चौध–पन्ध्र जिल्ला गठन गरेको बताए पनि आफूलाई अहिलेसम्म ती कुन–कुन जिल्ला हुन् त्योसमेत थाहा नभएको बताएका छन् । साथै निर्वाचन कमिटीले आफूलाई थाहै नदिई निर्वाचन स्थगित गरेको पनि आरोप लगाएका छन् । निर्वाचन कमिटीले कसको दबाबमा निर्वाचन स्थगित गर्‍यो त्यसबारे आफूले राखेपमा निवेदन दिनेसमेत बताए । उनले अन्य कतिपय सङ्घको निर्वाचन तीन–चार दिनसम्म चलेको उदाहरण पेस गर्दै टेटेको मात्रै किन एकै दिनमा स्थगित गर्नुपर्‍यो भनी प्रश्न गरेका छन् । त्यसैले यहाँ ठूलो चलखेल र षड्यन्त्रको गन्ध देखिएकाले राखेपको निर्वाचन कमिटीलाई भङ्ग गरी जिल्लाबाट उपस्थित भएका दुईतिहाइ सदस्यको उपस्थितिमा अर्को निर्वाचन कमिटी गठन गरी निर्वाचन गरिएको प्रस्ट पारेका छन् ।

सदस्यसचिवको मौनता : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नेपाल टेबलटेनिस सङ्घको निर्वाचनप्रति मौनता साँधेका छन् । आफूले टेटे सङ्घको निर्वाचन स्थगित भएको सुने पनि त्यसबारे विस्तृत जानकारी नपाएको बताएका छन् । निर्वाचन कमिटीको प्रतिवेदनपछि आफूले यसबारे कारबाही अगाडि बढाउने बताएका छन् । जे भो त्यो राम्रो भएन भन्दै विष्टले यसले खेलकुदमा विवाद तिम्त्याउने बताए । वैद्यको कदम अवैधानिक र नियमसम्मत नभएको भए राखेपले गठन गरेको निर्वाचित कमिटीले निर्वाचन स्थगित गरिसकेपछि कसरी निर्वाचन हुन्छ ? त्यो आफूले नबुझेको उनले बताए । जसले जहाँ पायो त्यहीँ आफ्नो मनखुसीले गरेको निर्वाचनलाई राखेपले मान्यता नदिनेसमेत विष्टले बताए । निर्वाचन स्थगित हुनुको कारण प्रस्ट भइसकेपछि राखेपले उचित कदम उठाउने बताए । राखेपले तसर्थ समिति बनाएपछि टेटेमा पनि दुईवटा सङ्घ हुने भयो नि भन्दा विष्टले विवाद समाधानको लागि दुवै पक्षलाई राखेर अर्को निर्वाचनको घोषणसमेत गरिने बताए ।

हमालको नेतृत्वमा नयाँ कार्यसमिति :
राष्ट्रिय खेलकुद परिषद्ले खटाएको निर्वाचन कमिटीले बहुमत सदस्यको मागलाई बेवास्ता गर्दै नेपाल टेबलटेनिस सङ्घको निर्वाचन स्थगित गरेको थियो । उनीहरूले सङ्घको निर्वाचन किन स्थगित गरे त्यो खोजीको विषय बने पनि दबाबका कारण स्थगित गर्नुपरेको सुनिनमा आएको छ । त्यसपछि बहुमत सदस्यले राखेपको निर्वाचन कमिटीलाई खारेज गर्दै छुट्टै निर्वाचन कमिटीको गठन गरेका थिए । सो निर्वाचन कमिटीले साधारणसभामा विभिन्न जिल्लाका सदस्यको उपस्थितिमा वृजेन्द्र हमालको नेतृत्वमा एघार सदस्यीय नेपाल टेबलटेनिस सङ्घको नयाँ कार्यसमितिको चयन गरेको थियो । जसको उपाध्यक्षमा चुमन शाक्य र नीलम श्रेष्ठ रहेका छन् भने महासचिवमा कुवेरप्रसाद सिंह, सचिवमा राजेन्द्र दुलाल र कोषाध्यक्षमा जयन्त बाँस्तोला रहेका छन् । त्यस्तै, सदस्यहरूमा प्रशान्त श्रेष्ठ, अभिषेक ढुङ्गाना, पुरुषोत्तम सुवेदी, नवीनबहादुर सिंह र लक्ष्मी गौतम रहेका छन् । साधारणसभामा उपस्थित सदस्यहरूबाट नयाँ कार्यसमितिको चयन भएकाले यो निर्वाचन वैधानिक भएको नवनिर्वाचित अध्यक्ष हमालले जनाएका छन् । उनले जिल्लाबाट उपस्थित ८२ सदस्यमध्ये ५८ जनाले निर्वाचनमा भाग लिएको बताएका छन् ।

यसो भन्छ राखेपको निर्वाचन कमिटी :
नयाँ थपएिका चौध–पन्ध्र जिल्लाको त कुरै छोडौँ पहिलेकै २६ जिल्लालाई टेटे सङ्घको कार्यसमितिले अनुमोदन गरेको छैन । परिणाम हामीले जिल्लाको प्रतिनिधिको नाम पठाउन अनुरोध गर्दा दुवै पक्षले नाम पठाउन सकेनन् । अन्तिममा अध्यक्ष वैद्यले २६ जिल्लासहित अन्य चौध–पन्ध्र जिल्ला थपेर ल्याउनुभयो जुन राखेपबाट स्वीकृति भएको देखिएन । त्यस्तै, महासचिव सिंहले २६ जिल्ला र दुई क्षेत्रबाहेक अन्यलाई मान्यता नदिने भनेपछि विवाद उत्पन्न भएको समितिले बताएको छ । निर्वाचन कमिटीले अन्त्यसम्म मिलेर र संयुक्त हस्ताक्षर गरेर आउन अनुरोध गरे पनि दुवै पक्षले अनसुनी गरेपछि निर्वाचन स्थगित गर्नुपरेको बताएको छ । निर्वाचन कमिटीका एक सदस्यले दिएको जानकारीअनुसार जसरी पनि चतुरानन्द वैद्यलाई जिताउनुपर्ने चलखेल भइरहेको अवस्थामा निर्वाचन कमिटीले आफ्नो साख बचाउन निर्वाचन स्थगित गरेको खुलासा गरेका छन् । यदि त्यो दिन निर्वाचन कमिटीले निर्वाचन स्थगित नगरेको भए वैद्यलाई पुन: अध्यक्ष बनाउन ओलम्पिक कमिटीदेखि राखेपका पदाधिकारी र कर्मचारी लागेको रहस्योघाट्न गरेका छन् । उनले आफूहरूलाई निकै दबाब आएको बताउँदै त्यसपछि पनि किन निर्वाचन स्थगित गरेको भनेर धम्की आइरहेको बताएका छन् ।

यसरी आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न राष्ट्रिय सङ्घहरूलाई बलिको बोका बनाउँदै आएका जीवनराम श्रेष्ठले टेबलटेनिस सङ्घलाई पनि आफ्नो पञ्जामा पार्न असफल प्रयास गरेका छन् । ओलम्पिकदेखि राखेपसम्म एमालेको कब्जा जमाउने रणनीति अख्तियार गरेका श्रेष्ठले अहिले काङ्ग्रेसी–काङ्ग्रेसीलाई फुटाएर राज गर्ने मनस्थितिमा देखिएका छन् । बक्सिङ सङ्घ र टेटे सङ्घ त्यसको उदाहरण हो । खेलकुदमा अराजकता फैलाउन एकैपटक नौवटा निर्वाचित राष्ट्रिय सङ्घलाई विघटन गरेर तहल्का मच्चाएका श्रेष्ठले त्यसपछि ओलम्पिक कमिटीमा आफ्नो स्थान सुरक्षित पारेका थिए । खेलकुदमा लाज, घिन, शर्म केही नभएका श्रेष्ठले अहिले टेटे सङ्घलाई फुटाउन जुन रोल प्ले गरे त्यसको साक्षीको रूपमा महासचिव लामा टेन्डी शेर्पा, कुलबहादुर थापा रहेका छन् । अन्यथा लामा तीनपटक निर्वाचन स्थलमा पुग्ने थिएनन् र दिनभरि निर्वाचन स्थलवरिपरि कदापि मडारिने थिएनन् । त्यस्तै, श्रेष्ठको इसारा र निर्देशनमा निर्वाचन स्थल पुगेका थापाले कदापि दबाब सिर्जना गरी साधारणसभा बिथोल्ने कार्य गर्ने थिएनन् । अब जीवनरामको इसारामा उनीहरूले टेटेको निर्वाचनमा गरेको उपद्रोलाई राखेपका सदस्यसचिव विष्टले कसरी आत्मसात् गर्छन् त्यो प्रतीक्षाको विषय बनेको छ । विष्ट पनि उही ड्याङका मूला भएकाले उनले जीवनरामबाहेक अरूलाई सहयोग गर्लान् जस्तो लाग्दैन । यसर्थमा कि विष्ट सदस्यसचिव भएदेखि श्रेष्ठकै गोटी बन्दै आएको कसैबाट छिपेको छैन ।