बाढीले मच्चायो विध्वंश

बाढीले मच्चायो विध्वंश


गण्डक नदी नियन्त्रण

नवलपरासी/ विगत केही दिनदेखि परेको अविरल वर्षाले गण्डक नदीमा आएको बाढीबाट नदी नियन्त्रणका लागि बनाइएको बाँध र स्पर भत्किएको छ । गण्डक नदी नियन्त्रणका लागि निर्माण गरिएको बिग्याप बाँधको स्पर नं. १३ भत्किएबाट नदी आसपासका मानवबस्तीमा त्रास बढेको छ ।

त्यस्तै, नदीको वेगले गण्डक ब्यारेज पुलको ३३ नं. ढोकाको डोरी चुँडिएर १२ टनको फलामको ढोका क्षतिग्रस्त भएको छ । नदी नियन्त्रणका लागि बनेका स्पर कटान र ब्यारेज पुलका ढोका क्षतिग्रस्त भएपछि नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्लाका जिल्ला अधिकारी र सुरक्षा सिँचाइ अधिकारीसमेतले उच्च जोखिमपूर्ण क्षेत्रको निरीक्षण कार्य गरेका छन् । निरीक्षणका क्रममा भारत महाराजगञ्ज जिल्लाका जिल्ला अधिकारी वीरेन्द्रप्रसाद सिंहले गुणस्तरहीन कार्यको छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् ।

सो अवसरमा नवलपरासीका प्रजिअ पन्थले बाढीको स्पर कटान र ढुबानबाट हुनसक्ने क्षतिबारे भारतीय समकक्षीलाई जानकारी गराउनुभएको थियो । भारतीय जि.अ. सिंहसमक्ष पकलिहवा र नर्सही गाविसका स्थानीयले भारतीय ठेकेदार र प्राविधिकको मिलेमतोमा निर्माणकार्य भएबाट समस्या चुलिएको दुखेसो गरेका थिए ।

यसैबीच अविरल वर्षाले झरही खोलामा शनिबार आएको बाढीबाट परासी बजार जलमग्न भएको थियो । खोलाको पानी जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाका बज्रदल गण, राष्ट्रिय वाणिज्य बैंकलगायत कार्यालयमा पसेर क्षति पुर्‍याएको बुझिएको छ । खोलाको पानी जिल्ला प्रहरी कार्यालय र बज्र दलगणमा पसेपछि केही सवारीसाधनमा क्षति पुगेको बताइएको छ । परासी बजारको नजिक भई बग्ने झरही खोलाकिनारमा रहेका बत्तीस घरमा पानी पसेको र ठूलो धनमानको क्षति भएको छ । त्यसैगरी अविरल वर्षाले धनेवा र झरही खोलामा आएको बाढीले रामपुर खडौनाको वडा नं. ४, ५, ६, ७, ८ र ९ मा पानी पसेको छ । बाढी र जलजमाउको कारण उत्पन्न समस्याबाट त्यस गाविसका दुई हजार घरपरिवार प्रवाहित भएको स्थानीय बन्हुुप्रसाद बरईले जानकारी दिए । बाढीबाट पाँचवटा वडा प्रभावित हुँदा जिल्ला प्रशासन कार्यालयबाट अझैसम्म पनि निरीक्षण हुन नसकेकोमा उनले दु:ख व्यक्त गरे । गण्डक क्षेत्रमा कटान, ढुवान समस्या र जलजमाउको अवस्थाबारे नवलपरासी क्षेत्र नं. ६ का सांसद देवकर्ण कलवारले प्रतिनिधिसभामा पटक–पटक ध्यान आकर्षण गराए पनि समस्या ज्युँकात्युँ रहेको छ ।

– आरपी उपाध्याय