यादवले देखाए अशिष्टताको पराकाष्ठा

यादवले देखाए अशिष्टताको पराकाष्ठा


Upendra Yadav

कसैसँग बसी–बसी हात मिलाउनुलाई संसारमा अशिष्ट मानिन्छ । कूटनीतिक क्षेत्रमा त बसेर हात मिलाउनुलाई अत्यन्त असभ्य व्यवहारका रूपमा लिइन्छ । यस्तै असभ्य व्यवहार परराष्ट्रमन्त्रीसमेत रहिसकेका उपेन्द्र यादवले देखाए । गत आइतबार प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग हात मिलाउने क्रममा यादवले त्यसरी असभ्य व्यवहार देखाएका हुन् । आफ्नो लामो तर रोचक र सार्थक मन्तव्य प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री ओलीले रोष्ट्रमबाट तल ओर्लिएर सबै मुख्य नेताहरूसँग हात मिलाएका थिए । त्यसक्रममा सबै नेताहरूले एक–एक गरी उठेर ओलीसँग हात मिलाए । तर, उपेन्द्र यादव भने उठेनन्, उनले ‘ङिच्च’ बनावटी हाँसो हाँस्दै बसी–बसी ओलीसँग हात मिलाए ।

यादव बिरामी थिएनन्, कम्मर दुखेको थिएन र उनी अपाङ्ग पनि भएका छैनन्, तथापि यादवले उठेर हात मिलाउने एउटा सामान्य शिष्टता पनि पूरा गरेनन् । यस घटनाबाट ‘नेपालमा परराष्ट्रमन्त्री भएकाहरू’को कूटनीतिक व्यवहार र क्षमतामाथि पनि प्रश्न उठेको छ । अति सामान्य शिष्टता देखाउन नसक्ने व्यक्तिले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्दा नेपालको कूटनीतिक क्षमता, व्यवहार र हैसियत कसरी प्रस्तुत हुने गरेको रहेछ भन्ने एउटा उदाहरण पनि यो घटना बनेको छ । प्रधानमन्त्री ओलीको भाषण माओवादी अध्यक्ष प्रचण्डका निम्ति सर्वाधिक पीडादायी भएको महसुस सुन्नेहरूले गरेका हुन् ।

प्रचण्डमाथि ओलीबाट भएको शब्दवाण प्रहार भएको सुन्दा लाग्थ्यो– प्रचण्डलाई ओलीले पानी छ्यापी–छ्यापी पिटिरहेछन् । यसरी ओलीबाट ‘पिटिएका’ प्रचण्डले ओलीसँग उठेर विनम्रतापूर्वक हात मात्र मिलाएनन्, उनले भने, ‘तपाईंमा राजनेतामा हुने गुण देखियो, भविष्यमा मिलेर धेरै काम गर्न सकिन्छ ।’ यसरी प्रचण्डले शिष्टता देखाएको उपेन्द्र यादवले पनि देखिरहेका थिए, आफूले त जानेनन्–जानेनन्, अरूबाट पनि सिकेनन् उपेन्द्रले । उनको व्यवहार देखेर धेरैले लज्जित महसुस गरेका छन् ।