काङ्ग्रेसबाट सम्भावित मन्त्रीमा यिनको चर्चा

काङ्ग्रेसबाट सम्भावित मन्त्रीमा यिनको चर्चा


Congress Leaders

नयाँ सरकार गठनको प्रक्रिया सुरु भएलगत्तै नेपाली कांग्रेसभित्र मन्त्री बन्नका लागि साना–ठूला नेताहरूको दौडधुप सुरु भएको छ । कांग्रेसका दुई सय सातमध्ये कम्तीमा दुई सयजना सांसद मन्त्री बन्न इच्छुक देखिएका छन् । मन्त्री बन्न अनिच्छुक सांसदहरूमा पूर्णबहादुर खड्का, डा. आरजु राणा देउवा, शिला खड्का, डा. अमरेशकुमार सिंहलगायत रहेका छन् । अधिकांश सांसद मन्त्री बन्न इच्छुक भए पनि सम्भावित मन्त्रीका रूपमा केहीको मात्र नाम अगाडि आएको छ । पार्टीको पदाधिकारीसमेत बन्न पाइने सुनिश्चितता भएमा गृह मन्त्रालय लिएर उपप्रधानमन्त्री भई कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व लिन विमलेन्द्र निधि तयार भएका छन् । तर, पार्टी पदाधिकारी बन्न अड्चन पैदा हुने स्थितिमा निधि सरकारमा जाने मनस्थितिमा छैनन् । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जान अर्जुननरसिंह केसीले विशेष रुचि देखाएका छन् । महामन्त्रीमा पराजित भएका केसीले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने अड्डी लिइरहेका छन् । त्यस्तै गोपालमान श्रेष्ठले पनि आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने इच्छा जाहेर गरेका छन् । त्यसैगरी ज्ञानेन्द्रबहादुर कार्कीले पनि पार्टीको पदाधिकारी बन्न नपाउने भए मन्त्रिमण्डलमा जाने सोच बनाएका छन् ।

डा. शेखर कोइरालाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने सम्भावना रहेको छ । रमेश लेखक, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, शङ्कर भण्डारी, चन्द्र महर्जन, एनपी साउद, पार्वती डीसी चौधरी, डिना उपाध्याय, केशवकुमार बुढाथोकी, पद्मनारायण चौधरी, इन्द्र बानियाँ, अजय चौरसिया, धनराज गुरुङ आदिको नाम सम्भावित मन्त्रीको रूपमा अलिक बढी चर्चामा रहेको छ । यसक्रममा उमेश श्रेष्ठको नामसमेत सम्भावित मन्त्रीको रूपमा लिन थालिएको छ ।

पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्कामाथि मन्त्रीको जिम्मेवारी लिन दबाब परिरहेको बुझिन्छ । पार्टीको कुनै महत्त्वपूर्ण जिम्मेवारी लिन इच्छुक खड्काले मन्त्री पद ग्रहण नगर्ने सार्वजनिक घोषणा गरेका छन् । तर, उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएमा खड्काले स्वीकार गर्न सक्ने विश्वास पार्टीका नेताहरूले गरेका छन् । स्मरणीय छ, पूर्ण खड्कालाई सफल गृहमन्त्रीका रूपमा पार्टीभित्र र गृह मन्त्रालयभित्र पनि लिने गरिन्छ ।

सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी र मन्त्रीको जिम्मेवारी एउटै व्यक्तिलाई दिने पक्षमा छैनन् । जसलाई पार्टी पदाधिकारी बनाउनुपर्ने हुन्छ उसलाई मन्त्री नबनाउने सोच देउवाले बनाएको बुझिएको छ । मन्त्रालयहरूको भागबन्डा गर्न कांग्रेसले विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीले कृष्णबहादुर महरा र वर्षमान पुनलाई विशेष जिम्मेवारी दिएको छ । माओवादीबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा प्रभाकर, हितराज पाण्डे, गिरिराजमणि पोखरेललगायतको नाम सम्भावित मन्त्रीका रूपमा चर्चामा आएको छ । मन्त्रालयहरूको भागबन्डापछि मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाइने बुझिएको छ ।