यूरोप भ्रमणका रमाइला अनुभूति…(भाग ५)

यूरोप भ्रमणका रमाइला अनुभूति…(भाग ५)


आज हाम्रो यात्राको तेस्रो दिन हो । हामी मीठो नींदबाट मोबाइलको अलार्मसँगै ब्युँझ्यौं । बिहान साढे ६ बजे उठेर सबै समानहरु प्याक गर्‍यौं अनि हामी ब्रेकफास्टको लागि तैयार भएर रिसेप्शनमा समान लगेर राख्यौं । समानहरु २ जना ड्राइभरले फटाफट कोचमा राख्न थाले । त्यसपछि हामी पहिलो तल्लाको हलमा ब्रेकफास्टका लागि गयौं । उज्यालो सूर्यको किरणले वातावरण रमाइलो बनाएको थियो । समी भन्दै थिईन् … अबको हप्तैभरि घाम लाग्ने छ …। हामीलाई रमाइलो लागिरहेको थियो । भ्रमणमा पानी र चिसोले बर्बाद गर्लान् भन्ने डर हटेर गयो । हिजोसम्मको बादल छाँटिएर आजको दिन सफा उघ्रिएको थियो । सबैले टन्न ब्रेकफास्ट खाएपछि आ-आफ्नो कोठाको चाबीहरु बुझाएर हामी कोचभित्र बसेर फ्रान्सको दक्षिणपूर्व वाइन बनाउने क्षेत्र बर्गन्दीतर्फ लाग्यौं । फेरि एकपटक हिजो घुमेका तुइलेरिस गार्डेन र सेइन नदीको किनारा हुँदै पेरिसलाई पर्रि्रमा गर्दै, आइफिलटावरलाई पछि पार्दै कोच द्रूतगतिमा पेरिसको चिल्लो चाक्लो सडकमा अघि गुड्न थालेको थियो । पेरिस शहरको दक्षिणतिरको समथल भूभागहरुहुँदै हाम्रो कोच पूर्वतिर लक्षित गर्दै बढिरहेको थियो । सुदूर क्षितिजसम्म हरिया मैदान र खेतहरु देखिन्थ्यो । ती खेतहरुमाँझका ससाना गाउँहरु पछि छाड्दै कोच अघि बढ्दै थियो । यात्राको दौरान रमाइला कुराकानी गर्दै समीले हँसाइरहेकी थिईन् । तीनवटा अंग्रेजी फिल्महरु निकालेर कुनचाहिँ हेर्ने भनेर समीले हामीलाई देखाईन् । अगाडिपट्टि बसेका अमेरिकी जोडीले “डाइ हार्ड भाग ४” हेर्ने उत्सुकता देखाए । समीले फिल्म कोचको टीभीमा चालु गरिन् । बेला बेलामा फिल्म पनि हेर्ने अनि बाहिरका सुन्दर दृश्यहरुतर्फ पनि आँखा लगाउँदै युरोपबारे सोच्दै थिएँ । सुन्दर दृश्यहरु देख्ने बित्तिकै क्यामेरामा कैद गर्दै यात्रा छोट्याउँदै थिएँ म । बुरियालाई फिल्ममा उस्तो चाख थिएन । एकछिनपछि बुरिया घाँटी प्रोटेक्ट गर्ने रातो रंगको साफा घाँटीमा बेरेर मस्त नींदमा नाक बजाइरहेकी थिईन् । मैले बुरियालाई यसै भ्रमणको बेला एकदमै खुशी र निष्फिक्री भएकी पाएँ । अरुबेला सधैं केही न केही सोच लिएर फुर्सतिलो नहुने बुरियाको अनुहार अहिले शान्त, सौम्य र निष्फिक्री भएको अनुभूति गरे । म मेरो बुरियालाई जीवनमा सधै खुशी बनोस् र कहिल्यै चिन्तित हुन नपरोस् भन्दै सोच्दै थिएँ । अनि बुरियालाई बाधा नपुर्‍याई कोचको समान राख्ने ठाउँमा राखेको नोटबुक निकालें ।
म यतिबेला हिजोअस्ति भ्रमण गरेका विवरणहरु टिपोट गर्दै नोटबुकमा उतार्दै थिएँ । पेरिस शहर पछिको हाम्रो अर्कोर् गन्तव्य बर्गन्दी क्षेत्रको वाइन फ्याक्टरी रहेको थियो । म सोच्दै थिएँ फ्रान्सेली वाइनको बारेमा । सयौं वर्षसम्म वाइनलाई ब्लेण्ड (छिपाएर) गरेर ठूलठूला ब्यारलहरुमा राख्ने ऐतिहासिक चलन शुरुशुरुमा फ्रान्सको बर्गन्दी क्षेत्रबाट नै शुरु भएको भनेर सुनेको थिएँ । आज म प्रत्यक्ष त्यही क्षेत्रमा गएर वाइन फ्याक्टरी हेर्ने योजना रहेकोले मनमा खुशी लागिरहेको थियो । झण्डै तीन घण्टाको यात्रापछि हामी अलि अलि उँचाइ भएको पहाडी भूभागतिर पुग्यौं । टाढा टाढासम्म ती ससाना भिरालो पहाडहरुमा डेढफुटसम्म उँचाइ भएका काठका ठेट्ना जस्ता रुखहरु देखियो । रुखहरुबाटा ससानो त्यान्द्रो जस्तो एउटामात्र हाँगा निस्कँदै गरेका रुखहरुले ध्यान आकर्षण गर्‍यो । मलाई अङगुरको खेती भनेर चिन्न बेर लागेन । बुरियालाई मैले ती रुखहरु हेर्न उठाएँ, नभन्दै हामी बर्गन्दी क्षेत्रको एउटा भागभित्र प्रवेश गर्दै गरेको समीले बताईन् । हामी अब एकघण्टा जति पछि वाइन फ्याक्टरीमा पुग्नेकुरा समीले गरिन् ।
मैले यात्रा गर्नु अघि नै वेबसाइटबाट बर्गन्दीको बारेमा केही जानकारी लिएको थिएँ । भुगर्वविद्हरुले पत्तालगाएअनुसार दोस्रो शताब्दीताका यस क्षेत्रमा अङगुरको खेती गरेका पाइन्छन्, तर, रोमनहरुले सन् यी.पू.५१ मा गउलराज्यलाई अधिनमा ल्याउनु अघि यूनानी व्यापारीहरुको सम्पर्कमा आउँदा केल्टहरुले धेरैपहिले देखि नै अङगुर खेती गरेर वाइन उत्पादन गर्न थालेका तथ्यलाई नकार्न सक्दैनन् । युनान र रोम साम्रज्यमा वाइन धेरैपहिलेदेखि प्रचलित भइसकेका कुराहरु उल्लेख गरेको पाउँछौ । बर्गन्दी वाइनलाई प्रशंसा गरेको सबैभन्दा पुरानो दस्तावेज टू्र्सका ग्रेगोरी भन्ने व्यक्तिले सन् ५९१मा रोमन वाइन् फालेरनियनसँग तुलना गरेको पाइन्छ । त्यसपछिका समयहरुमा रोमन क्याथोलिक चर्चले बर्गन्दी वाइनको प्रसिद्धिलाई अघि बढाउँदै १४औ शताब्दीसम्म आइपुग्दा बर्गन्दि वाइन युरोपेली राष्ट्रहरुमा एउटा लेबेल नै बनिसकेको थियो । अहिले हामीले चारैतिर अङगुरका भाइनयार्डहरु (अङगुरका बगानहरु) देख्न थाल्यौं । गाडीबाट देख्न सकिने टाढा क्षितिजसम्म यस्ता अङगुरका खेतीहरु मात्र देख्यौं । क्षेत्रफलको हिसाबमा अङगुर खेती गर्ने क्षेत्र केवल ४०,५० किलोमिटरभित्र मात्र पर्दछ भनिन्छ, तर, यहाँका विभिन्न खाले वाइन विश्वभरि निर्यात भएर जान्छन् । पौने एकबजेतिर हामी बर्गन्दि वाइन फ्याक्टरी हेर्न र विविध वाइनहरु सित्तैमा चाख्नका लागि मूलसडकबाट देब्रेपट्टिको निकै पुरानो वाइन फ्याक्टरीतर्फ लाग्यौं । भ्रमणका साथीहरु गाडीबाट ओर्लने बित्तिकै उनीहरुका हातहरु क्यामेरामा सलबलाउन थालेका थिए । मैले पनि फोटो र भीडीयोमा चौतर्फी देखेका अङगुर खेती, फ्याक्टरी र वरिपरिका फोटोहरु खिंचे । हामी सबैलाई नौलो लागिरहेको थियो । भिरालो ठाउँमा तेह्रौं शताब्दीताका बनेको वाइन फ्याक्टरीलाई देख्दा छक्क परे । आठ शताब्दी पहिले बनेको फ्याक्टरीका ढुंगाहरु र पर्खालहरुले इतिहास बताइरहेका थिए । यस फ्याक्टरीलाई धेरैपल्ट मरम्मत-सँभार गर्दैआएकोहोला भन्ने प्रतीत भईरहेको थियो । समीले वाइन फ्याक्टरीका म्यानेजरलाई बोलाउन गएकी थिईन् । सबैजना वाइन फ्याक्टरीको बाहिर अर्ध-गोलाकारमा उभेर फ्याक्टरीका म्यानेजरलाई पर्खेर बसेका थियौं । वाइन फ्याक्टरीको छाना वर्षौं पुराना झिँगटीले छापेको रहेछ । वाइन फ्याक्टरीमा प्रवेश गर्नुअघि अङगुरको खेती र अङगुरहरुको प्रजाति र कुनकुन अङगुरबाट कस्ताखाले वाइन बनाउँछन् भन्ने विवरणहरुको जानकारी दिंदारहेछन् । फ्याक्टरीको अघि टन्न अङगुरका भाइनयार्डहरु थिए । एकैछिनपछि म्यानेजर आएर आफ्नो परिचय दिएका थिए । उनको नाम जोन थियो । यस्तै ४५ वर्षजति पुगेका फ्रेन्चकट दारीजुँगा राखेका अग्लो निकै प्रभावशाली व्यक्तित्व भएको व्यक्ति हाम्रोअघि आएर परिचय दिंदै अङ्ग्रेजीमा बोल्न थालेका थिए । फ्रान्सेली भए पनि उनको अंग्रेजी राम्रो थियो । गाउँको नाम सेसला रहेछ । उन्ले आफ्नो ९ पुस्तादेखि परिचालन गर्दै आएको वाइन फ्याक्टरीबारे भन्दै जाँदा एउटा तीतो घटनाबारे पनि प्रकाश पारेका थिए । उनको फ्याक्टरीको एउटा भागलाई एकपटक प्रतिद्वन्द्वी जलाएको कुरा पनि भनेका थिए । तर, हाँसो गर्दै पहिलेका दुश्मन अहिले हितैषी मित्र बनेका पनि उनले बताएका थिए ।
वाइनको बारेमा भन्नुभन्दा अघि उनले अङगुरहरुका बारेमा भन्दै थिए । अङगुरको सयौं किसिमका प्रजाति हुँदारहेछन् भनेर थाह पायौं । फलफूलसरह खाने अङगुर र वाइन बनाउने अङगुरहरुका खेती बेग्लाबेग्लै हुँदारहेछन् । फ्रान्समा अङगुरको वाइन बनाउनका लागि कडा नियमको पालना गर्नुपर्दो रहेछ । आ-आफ्नो क्षेत्रमा उत्पादन गर्ने अङगुरहरुबाट तोकिएका क्षेत्रका वासिन्दका लागि तोकिएको ब्राण्डबाहेका अर्कोखाले वाइन बनाउन निषेध रहेछ । बर्गन्दी क्षेत्रको साओन र रोन् नदीका मलिलो उपत्यका र भिरालो ठाउँहरुमा अङगुर उत्पादन गरेर वाइन बनाउने परम्परा हजारौवर्ष पहिले देखिको रहेछ । म्यानेजर जोनका अनुसार अङगुरको उत्पादन र मीठो वाइन बनाउने अङगुर माटो, मौसम र घामको किरणले प्रभावित बनाउँदो रहेछ । एउटा अङगुरको बोटले कम्तीमा सय वर्षसम्म उत्पादन गर्नसक्दो रहेछ । प्रत्येक वर्ष अङगुर फसल काटेपछि अर्को वर्षको लागि कलमी काटेर राख्दो रहेछ । सेतो वाइनको उत्पादन चारडोन्ने प्रजातिको अङगुरबाट गर्दोरहेछ र रातो वाइनको उत्पादन पीनोट नोईर प्रजातिको अङगुरबाट बनाईदो रहेछ । यहाँ उत्पादन भएका वाइनहरुलाई बरगन्दीज वाइन भन्दो रहेछ । यी अङगुरहरुबाहेक यस क्षेत्रमा उत्पादित गेमे र अलिगोटे अङगुरहरुबाटपनि रातो र सेतो खाले वाइन बनाइँदो रहेछ । मिठास ल्याउनका लागि कम मात्रमा गुलाब मिश्रित वाइनहरु र स्पार्कलिङ (शैम्पेन) वाइनपनि बनाउने प्रचलन रहेछ । फ्रान्सको सबैभन्दा नाम चलेको वाइनहरु यसै क्षेत्रबाट उत्पादित हुनेकुरा म्यानेजरले बताएका थिए । अङगुरको भाईनयार्डको विवरण दिइसकेपछि १४औ शताब्दीमा निर्माण गरिएको यो वाइन फ्याक्टरीबारे विवरण दिँदै म्यानेजरले हामीलाई फ्याक्टरीको परिसरभित्र लगे । १८औ शताब्दीको फ्रान्सेली जनआन्दोलनमा पनि यो फ्याकटरी चालु रहेको कुरा म्यानेजरले बताएका थिए । हामीलाई पहिले म्यानेजरले वाइन प्रशोधन गर्ने ठाउँमा लगे । वाइन परम्परागत तरिकाले बनाउँदै आए पनि अहिले प्रशोधन गर्ने विद्युत उपकरणहरु थिए । अङगुरलाई छानेर सफा गरेर प्रशोधन गर्दा कम्तीमा २४ घण्टासम्म ठूलो भाँडोमा राख्दो रहेछ त्यसपछि छानेर गएको रसलाई रसायन मिलाएर अर्को ठुलो ट्याङकीभित्र राख्दो रहेछ । त्यहाँ राखेको वाइन ब्लेण्ड गर्नको लागि तयार हुनलाई निकै समय लाग्दो रहेछ । त्यसपछि वाइनलाई ब्लेण्ड गर्नको लागि ठूलठूला ब्यारलमा हालेर भण्डार गर्ने कोठामा राख्दो रहेछ । वाइन बनाउने प्रक्रियामा तापक्रमको ठूलो भूमिका हुँदो रहेछ र तापक्रमको सन्तुलन नभए वाइन बिग्रँदो रहेछ भन्ने जानकारी म्यानेजरले बताएका थिए । हामीलाई वाइन बनाउने फ्याक्टरीदेखि भण्डार गर्ने ठाउँहरु एकएक गर्दै देखाउँदै, विवरणहरु दिँदै वाइन टेस्ट गर्नको लागि एउटा हलजस्तो कोठाभित्र लगे । त्यहाँ कैयौं किसिमका वाइनहरु ससाना वाइन गिलासहरुमा राखेका थिए । वाइनसँग खाने चीज र स्न्याकहरुपनि निःशुल्क राखिएका थिए । बुरियाले वाइन खाने थिईनन्, तर, आज मैले करै लगाएर चाख्न लगाएँ । धेरै प्रकारका वाइनका बोतलहरु फोडेर टेस्टका लागि राखेका थिए । बर्गन्दी क्षेत्रभएर जाने विदेशी पर्यटकहरुका लागि सित्तैमा वाइन चखाएर व्यापार प्रबर्धन गर्ने परम्परा उहिलेदेखि नै चलिआएको कुरा समीले भनेकी थिईन् ।
एकाध वाइनका टेस्टहरु गर्दै धेरै जसोले फ्याक्टरीमा होलसेल प्राइसमा वाइन पाउने हुनाले निकैले वाइनहरु किने । मैले पनि सम्झनाका लागि लण्डन गएपछि इष्टमित्रहरु घरमा आउँदा चखाउनका लागि २ बोतल मीठो वाइन किनेँ । एकदुर्इ घण्टाको समय बर्गन्दी वाइन फ्याक्टरीमा नै बित्यो । भण्डारभित्रको वाइनहरु वर्षौंसम्म ब्लेण्ड गरेर राख्दो रहेछ । तर, म्यानेजरका अनुसार अचेल व्यावसायीहरुले लामो समयसम्म ब्लेण्ड नगरी नयाँ टेक्नोलजी अपनाएर छिटो-छिटो बिक्री वितरण गर्नेतर्फ लाग्दछन् र सँसारभरि वाइनको प्रत्तिस्पर्धा भएकाले सस्तो वाइनहरु बजारमा बिक्री वितरण भइरहेको कुरा उनले बताए । त्यसैले गर्दा पहिलेको बर्गन्दी वाइनको आकर्षन घट्दै गएको कुरा पनि उनले बताए । विवाह, भोजभतेर, खेलकुदमा विजय हुँदा अथवा कुनै पनि प्रकारको खुशियाली मनाउँदा शैम्पेनको चलन कैयौं वर्षहरुबाट शुरु हुँदै आएको छ । अहिले नेपालीहरुले पनि शैम्पेन फोडेर खाने चलन चलाईसकेका छन् । यसै सन्दर्भमा समीले शैम्पेन कसरी बनिएको भन्ने एउटा रोचक कुरा भनेकी थिईन् । युगौ पहिलेदेखि फ्रान्समा वाइन बनाउने प्रचलन भएकोले यस क्षेत्रलाई पेशागत रुपमा अँगालेर बाहिर देशहरुमा उत्पादन पठाउने सिलसिला थियो । एकपल्ट एकजना वाइन बनाउने राम्रोसँग आँखा नदेख्ने अन्धो मान्छेले वाइन बनाउँदा अंगूरको वाइन बनाउने तरल पदार्थ कार्बनडाइअक्र्साईड ग्यासमा परिणत भइैसकेको अवस्थामा वाइनमा रसायन मिसाउँदा गल्ती गरेका रहेछन् । सँयोगवश पछि वाइन बनेपछि एकदमै फिँज आउने नयाँ खाले वाइनको स्वाद चाख्दा त्यस वाइनलाई मान्छेहरुले मनपराएछन्, त्यसपछि त्यही रसायन र अङगुरबाट शैम्पेन वाइन बनाउने प्रचलन शुरु भएको रहेछ । शुरुमा फ्रान्सको शैम्पेन क्षेत्रबाट वाइन् बनाउने थालनी भएकोले यस वाइनको नाम पनि शैम्पेन रहन गएको रहेछ । त्यसपछि दिनको तीनबजेतिर हामी एउटा नयाँ अनुभव र अनुभूति लिएर मेकोन शहरतर्फ लाग्यौं ।क्रमश …… अर्को श्रृंखलामा